Monday, March 18, 2013

स्थानीयकै पौरखबाट खानेपानी समस्या समाधान

नवलपरासी । तल कालिगण्डकी, माथि नाक छुने भीर । बीचको सुन्दर बस्ती । तर सँधै खाने पानीको हाहाकार । पानी लिनको कि एक घण्टा हिँडेर कालिगण्डकी पुग्नुपर्ने, कि मुहानसम्म पुग्न उकालो उक्लनुपर्ने । नवलपरासी रतनपुर–२ गड्यम्दीका २० घरपरिवार यस्तो कठिन जीवन बिताइरहेका छन् ।

सरकारको आस गरेरमात्र नहुने । आफ्नै लगानीमा अहिले उनीहरुले करिब १५ हजार लिटरको अन्डरग्राउण्ड पानीट्याङ्की निर्माण गरेका छन् । स्थानीय भुपाल आलेको अध्यक्षतामा समिति गठन गरेर आफ्नै श्रमदानबाट उनीहरुले उक्त ट्याङ्की निर्माण गरेका हुन् ।


करिब एक लाख रुपैयाँ खर्चमा निर्माण भएको ट्याङ्कीको उनीहरुले सोमबार विधिवत् सञ्चालनमा ल्याएका हुन् । २०५५ सालमा सोही स्थानमा निर्माण भएको तीन वर्ष नबित्दै भत्किएपछि पानीको समस्या भोग्दै आएका थिए ।

‘पानीको समस्या थियो, प्रत्येक घरका एकएक जनाले श्रमदान ग¥यांै’, अध्यक्ष आलेले भन्नुभयो, ‘तल कालिमा पुगेर आवश्यक ढुंगा गिटी र बालुवा लियौँ, इँटा आफँैले बनायौँ ।’ गाउँमा बनेको ट्याङ्कीबाट अब जतिबेला पनि खानेपानी घर आँगनमै पुग्ने भएपछि स्थानीय खुसी छन् ।

‘हामीले सानोमा जुन समस्या भोगेका थियौँ । अब त्यो समस्या हाम्रा सन्तानहरुले भोग्नु नपर्ने भएको छ’, जनता प्राविका सहप्रधानाध्यापक कर्णबहादुर सुनारीले भन्नुभयो, ‘हामीले एक घण्टासम्म हिँडेर बिहान बेलुका पानी ल्याउँथ्यौँ ।’

निर्माण भएको ट्याङ्कीमा आठ किलोमिटरमाथि डाँडाको मुहानबाट पानी ल्याएर जम्मा गरिएको छ । माथि मुहानमा समेत एक हजार लिटर पानी अटाउने गरी रिर्जभ ट्याङ्की बनाएका छन् स्थानीयले ।

पानी ट्याङ्की बनाउका लागि स्थानीयले सक्दो आर्थिक लगानी पनि गरेका छन् । ट्याङ्की निर्माण गर्न नारायणगढका ज्ञानेन्द्र बरालीले १२ बोरा सिमेन्ट सहयोग गरेका थिए । बाँकी सबै खर्च स्थानीयले जुटाएको स्थानीयवासी मोतीलाल सुनारीले बताउनुभयो । ट्याङ्की बनाउन एक लाख पचास हजार रुपैयाँभन्दा बढी खर्च लागेको उहाँले जानकारी दिनुभयो ।

ज्ञानेन्द्र बरालीले रिबन काटेर पानी ट्याङ्कीको कार्यक्रमका बीच सञ्चालन गर्नुभएको हो । उपभोक्ता समितिका अध्यक्ष भुपाल आलेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी