Monday, May 28, 2012

प्रचण्डलाई राजेश हमालको बधाई !

काठमाडौं, जेठ १५ - सैनिक मञ्च टुडिखेलमा सोमबार नेताहरुको अनुपस्थितीले गणतन्त्र दिवस समारोहको कार्यक्रम नै खल्लो बनायो । तर दिउँसो शितल निवासमा भएको चियापान कार्यक्रममा नेता, कलाकार, विदेशी कुटनितिक नियोगका प्रमुखहरु, सेना प्रहरी लगायत थुप्रैको उपस्थिती थियो ।

आइतबार मात्र संविधान जारी गर्न नसकेर संविधानसभा नै भंग भएपछि नेताहरुको अनुहारले भित्री मन खुशि थिएन भन्ने बुझ्न कुनै कठिनाई थिएन ।
शितल निवासमा नेताहरुका लागि छुट्टै पालको व्यवस्था थियो । त्यही पालमुनि खाली कुसी खोज्दै बस्दै थिए । शिर्ष नेताहरुको मौनता भंग गर्दै अरु नेता संविधानसभा भंग भएको विषयलाई लिएर जिस्क्याई रहेका थिए । कहिले हाकु पटासु त कहिले टिसर्ट र प्यान्टमा झुल्किने प्रधानमन्त्री पत्नी हिसिला यमीले पहिरेको राटो साडीको विषय पनि चर्चाको विषय थियो ।
छेवैमा रहेका एमाले नेता अग्नि खरेल जिस्क्याउँदै माओवादी अध्यक्ष प्रचण्डलाई भन्दै हुनुहुनुहुन्थ्यो ‘उहाँ चाँही हिसिला जि ।’ प्रचण्डको छोटो जवाफ थियो ‘अरु बेला त चिन्दैन थिए होला । तर आज त लाजिम्पाटबाट संगै आएकोले चिन्छु ।’
अर्का नेताले भने ‘तपाईको त पत्रकार सम्मेलन पनि छ क्यार ? कति बजे हो ?’ पाँच बजे भनेर प्रचण्डको जवाफ आउन नभ्याउँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो  ‘ए... तपाईको पत्रकार सम्मेलनका बारेमा मलाई सबै थाहा छ । बाबुराम जिकै सरकारलाई निरन्तरता दिनु पर्छ । सबैलाई यही सरकारमा आउन आग्रह गर्छु भन्ने त हो नि होइन ?’ प्रचण्ड खित्त्खित्त गर्दै हाँसेर माधवकुमार नेपालको तिघ्रामा धाप मार्नुभयो ।
पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरेका प्रचण्ड चिया र नास्ता लिन जाँदै गर्दा बाटोमा नायक राजेश हमालसँग भेट भयो । हमालसँगै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा र मेगा बैंकका सिईओ अनिल शाह पनि हुनुहुन्थ्यो । प्रचण्डले झ्याप्पै हात मिलाई हाल्नुभयो उहाँहरुसँग ।

हात मिलाउँदै राजेश हमालले प्रचण्डलाई बधाई पनि दिनुभयो । हमालको बधाई निक्कै ब्याङग्यात्मक थियो । हात मिलाउँदै हमालले भन्नुभयो ‘यो बधाई संविधान नबनाई संविधानसभा भंग भएर दिएको चाँही नठान्नुहोला, यो वधाई त तपाईका छोरा प्रकाशले सगरमाथा चढेकोमा दिएको हो ।’ नायक हमालले प्रकाशलाई पनि वधाई सुनाई दिन भने पछि प्रचण्ड पनि ड हवस् हवस भन्दै हाँस्दै चिया लिन जानुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी