काठमाडौं । डेढ वर्षदेखि कार्यालयमा नियमित जान छाडेका न्यायाधीश रणबहादुर बम बिहीबार बिहान ललितपुरको बंगलामुखी पुगेका थिए । बंगलामुखीमा पूजाआजा सक्दा बिहानको ११ बज्यो । त्यसपछि उनी त्यहाँबाट फर्के । साथमा उनका मिल्ने साथी रामजी गिरी -कलाकार दिपकराज गिरीका पिता), अंगरक्षक र गाडी चालक थिए । चालकसँगै अगाडि अंगरक्षक बसेका थिए । पछाडिपट्ट बम र गिरी ।
साँघुरो बाटो भएकाले गाडी सुस्त गतीमा थियो । शंखमूल पार्कमा पुगेपछि एउटा पल्सर मोटरसाइकल अगाडि आएर रोकियो । मोटरसाइकलमा दुईजना थिए । न्यायाधीशको अंगरक्षक ओर्ले र बाटो किन छेकेको भनेर सोधे । त्यसपछि मोटरसाइकलको पछाडि बस्नेले अंगरक्षकलाई गोली हान्यो । गोली चलेपछि बम र गिरी गाडीबाट निस्केर भाग्न खोज्दै थिए, त्यहीबेला उनीहरुमाथि पनि गोली वर्षा भयो । चालक आत्तिँदै भागे । अरु चाहिं गोली लागेर त्यहीं ढले । त्यसपछि वरपर जम्मा भएकाले गोली लागेकालाई अस्पताल पुर्याए । त्यसपछि प्रहरी पुगेर घटनास्थललाई नियन्त्रणमा लियो ।
किन भयो होला आक्रमण ?
न्यायाधीश बम केही वर्षदेखि विवादको घेरामा थिए । पैसा खाएर मुद्दाको छिनोफानो गरेको आरोप उनीमाथि लागेको थियो । यसकै कारण डेढ वर्षअघि न्यायपरिषदले उनीमाथि महाअभियोगको सिफारिस गर्यो । सञ्चारकर्मीले आफूमाथि बदनाम गरेको भन्दै न्यायाधीश बम आक्रोशित पनि हुँदै आएका थिए । कतिपयले पैसा खाने न्यायाधीशलाई कार्वाही हुनुपर्छ भनेर माग पनि गर्दर्र्ै आएका थिए । कतै पुरानो रीसवीले कसैले यो घटना गराएको त होइन भन्ने आशंका गर्नेहरु पनि छन् । तर अहिलेको परिस्थितिमा यो घटनालाई यस रुपमा व्याख्या गर्न नहुने तर्क बलियो छ ।
‘पछिल्लोपटक संविधानसभाको म्याद थप गर्न नमिल्ने सर्बोच्चको फैसला र भ्रष्टाचारीलाई जेल पठाउने सर्बोच्चको कदमको कारण कसैले रीसवीले यो घटना गराएको अनुमान गर्न सकिन्छ’ न्यायलयको बारेमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार विकास भट्टराईले भने ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भैरहेकाले तत्काल यसै हो भन्न नमिल्ने बताएको छ । जे होस् यो घटनाले अरु न्यायाधीशहरुलाई पनि सन्त्रास उत्पन्न गराएको छ । केही वर्षअघि पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायमाथि पनि आक्रमण भएको थियो । प्रधानन्यायाधीश हुनुभन्दा पहिले भएको आक्रमणबाट उहाँ सकुशल रहनुभयो । त्यो घटनापछि सरकारले सबै न्यायाधीशको लागि अंगरक्षकको व्यवस्था गर्यो । तर अंगरक्षक साथमा हुँदाहुँदै पनि न्यायाधीश बम आक्रमणबाट मारिनुपर्यो ।
No comments:
Post a Comment
Thanx for your comment