Thursday, May 31, 2012

लजाई-लजाई बोनस बुझे सभासदले


काठमाडौं । चार वर्षमा पनि संविधान बनाउन सकेनन् भनेर सभासदको सर्बत्र आलोचना र खिसीटिउरी भैरहेको छ । पहिले म्याद थप्ने बेला पनि व्यंग्यको पात्र बनेका सभासदलाई अहिले संविधानसभा बिघटन भएपछि त झन् बढी हाँसीमजाकको विषय बनाइने गरिएको छ ।

कतिले सभासदको श्राद्ध गरेका छन्, कतिपयले गाउँमा आए लखेट्ने भनेका छन्, कतिपयले चाहिं सभादसले अहिलेसम्म लिएको तलब भत्ता फिर्ता गर्नुपर्ने माग पनि गरेका छन् ।

सबै सभासदलाई यसरी एकै ठाउँमा मुछेर आलोचना गर्नु उचित कुरा त होइन नै । यसबीचमा राम्रा काम गर्ने सभासद पनि थुप्रै छन् । रातदिन लगाएर काम गरेका सभासदकै कारण केही संविधानका मस्यौदा तयार पनि भएका छन् । यस हिसाबले उनीहरुको एकोहोरो आलोचना गर्दै तलबभत्ता नै फिर्ता गर्नुपर्छ भन्ने माग जायज होइन । तर सभासदलाई काम गरेको अवधिभन्दा थप तलबभत्ता दिनु अहिलेको यो अवस्थामा कुनै हालतमा पनि जायज मान्न सकिँदैन । तर संविधानसभा सचिवालयले सबै सभासदलाई थप अवधिको तलबभत्ता अर्थात बोनस बाँडेको छ ।

संविधानसभा भंग भएपछि घर फिर्ता जान लागेका पूर्व सभासद्लाई सचिवालयले थप सुविधा सहित बोनस बाँडेको हो । बिहीबार बोनस लिन सिंहदबार स्थित सचिवालयमा सभासदको भीड नै लागेको थियो । ‘पालैपालो गरेर झण्डै एक सयजना जति सभासद आउनुभयो’ सचिवालयका एकजना कर्मचारीले भने -’सञ्चारकर्मी देखेर उहाँहरुले लजाई लजाई चेक लिनुभएको थियो ।’

सचिवालयले ४ सय १० जना पूर्व सभासदको तलबभत्ता बैंकमा नै पठाउँछ । बाँकी अरुलाई चाहिं बिहीबारदेखि चेक वितरण थालेको हो । पूर्व सभासदलाई जेठ १५ सम्म पाउने नियमित तलब भत्ता बाहेक सचिवालयले थप ३४ हजार तलब र ३ हजार २ सय कोठाभाडाको दरले बोनस बाँडेको छ । यस्तै घर फिर्ताको लागि सचिवालयले हवाईजहाज र बसभाडाको लागि चाहिने खर्च पनि वितरण गरेको छ । पूर्व सभासद्लाई दिईने तलब र घरभाडा मात्र २ करोड १९ लाख ९५ हजार २ सय, हवाई खर्चमा ६९ लाख ७० हजार गरी कुल २ करोड ८९ लाख ६५ हजार २ सय रुपैंया लाग्ने सचिवालयको लेखा शाखाले जनाएको छ ।

संविधान दिन नसक्ने सभासदले बोनस समेत खाए भनेर आलोचना भएपनि संविधानसभा सचिवालयले भने यो बोनस नभएर नियमानुसार पाउने सुविधा मात्रै भएको दावी गरेको छ । तर संविधान दिन नसकेकोमा जताततै आलोचना र बिरोध भैरहेको बेला पूर्व सभासदलाई दिइएको यो थप सुविधाले जनतालाई थप आक्रोशित बनाएको छ ।
vie : olinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी