Monday, June 25, 2012

पानीका लागि दुई घण्टा पैदल हिँड्न बाध्य


कविलास । खानेपानीका लागि चितवनको कविलास गाविस वडा नंं ७ चौकी गाउँका बासिन्दाले निकै कष्ट बेहोर्नु परेको छ । उनीहरु कुवामा पानी लिन दुई घण्टा टाढा जानु पर्छ । गाउँमा धारा नभएका होइनन् तर त्यसबाट पानी आउन छाडेको छ ।
‘हामीले त अहिले कुवाको पानी गाग्रीमा भरेर ल्याउने र खाने गरेका छौं’, चौकी गाउँका काजीमान गुरुङले भने । गाउँलेहरु कोप्चेखोला र गुण्डाखोलाको कुवामा पानी लिन जाने गरेका छन् । कोप्चे केही नजिक भए पनि गुण्डाखोला टाढा छ ।
‘कोप्चेखोला खाली गाग्री जान बाटो ओरालो भएकाले आधा घण्टा लाग्छ । पानी भरेपछि घर आउन ठ्याक्कै एक घण्टा लाग्छ । त्यस्तै गुण्डाखोला पुग्न एक घण्टा र पानी भरेर आउन दुई घण्टा लाग्छ’ स्थानीय गणेश गुरुङले भने । 
चौकी गाउँका बासिन्दाले ३६ किलोमिटर टाढाको काउले गाविसमा पर्ने सिकारी खेप भन्ने ठाउँको मुहानको पानी ल्याएर धाराबाट पानी खाइरहेका थिए । तर योजना पुरानो हुँदै जाँदा धारा सुक्दै गयो । गाउँलेहरु कुवा जान बाध्य हुनु परेको छ ।
‘त्यो मुहानको पानी दाहाखानी गाविसको कापे, गढी, सालडाँडा र कविलासको ढोडेनी हाँडी गाउँ आहाले र हाम्रो गाउँकाले खाने गरेका थियौं’, स्थानीय अगुवा देव गुरुङले भने । तर पाइप पुरानो हुँदै गएर ठाउँठाउँमा चुहिन थालेपछि पुछारमा रहेको चौकीमा पानी आउन बन्द भयो । 
सिकारी खेपमा पानीको अभाव भने छैन । राम्रो पाइप हुने हो भने पुग्दो पानी आउन सक्छ । पुराना सबै पाइप फेर्न आवश्यक देखिएको छ । यसका लागि एक करोड ३६ लाख रुपैयाँ आवश्यक पर्ने गाविसको अनुमान छ ।
‘हामीले लागत अनुमान गर्दा त्यति लाग्ने देखियो । हामीसँग बजेट छैन । योजना आयोगमा माग भएको छ । हेरौं के हुन्छ’, कविलास गाविसका सचिव प्रद्युम्न खड्काले जानकारी दिए । सरकारले बेलैमा नसुने आफूहरु पानी खान नपाउने अवस्थामा पुग्ने स्थानीयहरु बताउँछन् ।
‘कुवामा पानी सानो छ । कुनै बेला त्यो पनि सुक्यो भने हामी त काकाकुल हुने छौं’ काजिमान भन्छन् । पानी मान्छेले मात्रै होइन, गाइबस्तुलाई पनि चाहिँन्छ । खानमात्रै होइन, सरसफाइलाई पनि उत्तिकै आवश्यक हुन्छ । तर टाढाको पानीले यो काम गर्न गाह्रो भएको स्थानीयले बताए ।
‘नजिक पानी नहुँदा केटाकेटी स्कुल जानसमेत पाएनन्’, स्थानीय राष्ट्रिय निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका देव गुरुङले भने । टाढाबाट पानी लिएर आउँदा समयमा खाना तयार गर्न नसकिएको उनको भनाइ छ ।
चितवन एक वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषाण भयो । अब खानेपानीको सहज सुविधासमेत पुगेको पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा हुन गइरहेको छ  तर यही जिल्लाको एउटा गाउँमा खानेपानीका लागि गाउँलेले बेहोरेको सास्तीबारे सरकारी अधिकारी बेखरबर छन् । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी