Wednesday, June 20, 2012

चितवनमा छैन दुव्र्यसनीको यकिन तथ्याङ्क

भरतपुर । चितवनमा लागूऔषध प्रयोगकर्ताहरुको यकिन तथ्याङ्क नभएको यसको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले जनाएका छन् । सरकारले लागूऔषध दुव्र्यसनीको तथ्याङ्क संकलन गर्न नसकेको समेत उनीहरुले आरोप लगाएका छन् ।
सन् २००७ मा गृहमन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले १४ जिल्लामा गरेको सर्वेक्षणअनुसार चितवन जिल्लामा दुई हजार ८१ जना लागूऔषध प्रयोगकर्ता रहेको जनाएको थियो । त्यसयता कुनैपनि संघसंस्थाले आधिकारिक रुपमा प्रयोगकर्ताहरुको सर्वेक्षण गरेका छैनन् । यसको क्षेत्रमा काम गरेका संघसंस्थाहरुले फरकफरक अनुमानित तथ्याङ्क प्रस्तुत गर्ने गरेका छन् ।
लागूऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्ने सपोर्ट एण्ड केयरले चितवन जिल्लामा करिब चार हजारको हाराहारीमा लागूपदार्थ दुव्र्यसनी रहेको जनाएको छ । २०६१ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको पुनस्र्थापना केन्द्रले लागू पदार्थबाट मुक्त भएका पूर्वदुव्र्यसनीहरुलाई आवासीय सुविधासहित व्यावसायिक एवम् रोजगारमूलक सीप प्रदान गर्ने गरेको केन्द्रका निर्देशक दीपक पौडेलले जानकारी दिनुभयो ।
हालसम्म ६९ जना पूर्वदूव्यसर्नीहरुले सेवा लिएको उहाँले बताउनुभयो । केन्द्रबाट तालिम लिएका उनीहरुमध्ये २२ जना स्वरोजगार, २६ जना समाजमा पुनस्र्थापित भएको, आठ जना अध्ययनमा फर्किएको, सात जना वैदेशिक रोजगारमा रहेको चार जना पुनस्र्थापना केन्द्रमा स्वयम्सेवकको रुपमा काम गर्दै आएको र तीन जना पुनः दुव्र्यसनमा फर्केको उहाँले जानकारी दिनुभयो ।
यता, चितवनमा करिब दुई हजार ३२० जना लागूपदार्थ सेवनकर्तारहेको नमुना एकीकृत विकास परिषद् चितवनले जनाएको छ । नमुना चितवनका कार्यक्रम संयोजक विनोदकान्त शर्माले नमुनाको सम्पर्कमा आएका दुव्र्यसनकर्ताहरुको आधारमा यो तथ्याङ्क निकालिएको बताउनुभयो ।
त्यस्तै जिल्ला एड्स समन्वय समिति चितवनले ६ महिनाअगाडि सार्वजनिक गरेको तथ्याङ्कमा करिब दुई हजार लागूपदार्थ प्रयोगकर्ता रहेको जनाइएको छ ।
लागूपदार्थको क्षेत्रमा काम गर्ने भन्दै खोलिएका संस्थाहरु लागूपदार्थको यकिन तथ्याङ्कविना अनुमानित तथ्याङ्कका आधारमा हिँड्दा बगे्रल्ती खोलिएका पुनस्र्थापना केन्द्र र यसको क्षेत्रमा खोलिएका विभिन्न संघसंस्थाको औचित्यमा प्रश्न खडा भएको छ । उनीहरु तथ्याङ्क संकलन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै पन्छिन खोज्ने गरेका छन् ।
‘तथ्याङ्क संकलन सरकारले गर्नुपर्ने हो तरपनि पाँच वर्षअगाडि भएको सर्वेक्षणका आधारमा हामीले तथ्याङ्क प्रस्तुत गर्दै हिँड्नु परेको छ’, नमुनाका कार्यक्रम संयोजक शर्माले भन्नुभयो । तथ्याङ्क संकलन गर्ने काम गाह्रो रहेको उहाँको भनाइ छ ।
यसैबीच ‘लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ चितवनमा साताव्यापि रुपमा मनाइने भएको छ ।
हरेक वर्ष जुन २६ तारिकका दिन मनाइने दिवस यस वर्ष असार १२ गते परेको छ । दिवस यस वर्ष संसारभर ‘लागूऔषधरहित स्वास्थ्य समुदायको लागि सर्वव्यापि अभियान’ भन्ने नाराकासाथ मनाइन लागिएको हो ।
दिवसको अवसरमा आज बिहीबार जिल्ला प्रहरी कार्यालय भरतपुरमा ‘लान्छना र भेदभाव विषयक कार्यशाला गोष्ठी’को आयोजना गरिएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी