Monday, July 9, 2012

शान्ति ल्याउँछु भन्थे बिना पो लगेछन्


२६ असार, काठमाडौं । सबैभन्दा ठूलो पार्टीका शक्तिशाली नेताका छोराले आँटेपछि आँट्यो आँट्यो । उसले गर्छु भनेको काममा रोक लगाउने हिम्मत कसको ? आफ्नो बाबु र बाबु सरहका अरु नेताहरुले गर्न नसकेका काम उनले आफैं गरेर देखाउँछु भनेर ढिपी गरे । शीर्ष नेताहरुले दिनरातको वार्ता र छलफलबाट पूरै ल्याउन नसकेको शान्ति आफूले सगरमाथाको चुचुरोमा पुगेर ल्याउँछु भनेर उनले उल्कै गरे ।
आखिर बालहठको अगाडि कसको के लाग्थ्यो ? बाबुआमालाई यो र त्यो चाहियो भनेर कराइरहने छोराले झैं उनले सगरमाथा जान भनेर सरकारसित करोडौं मागे । जिद्दी छोरालाई टार्न नसक्ने बाबुआमाले झैं सरकारले पनि जे जे भन्यो त्यही पुर्याउन खोज्यो । पछि जनस्तरबाट बिरोध भएपछि पैसा दिने कुरा त फिर्ता भयो । तर रोयल्टी निःशुल्क भयो ।
तिनै शक्तिशाली बाबुका छोराले शान्ति ल्याउँछु भन्दै दलबल सहित सगरमाथा चढे । सगरमाथा जानुअघि र फर्केपछि पनि उनको चर्चा उत्तिकै रहृयो । पहिले सगरमाथा चढ्नको लागि चन्दा मागेकोमा चर्चा भयो । पछि शक्तिशाली नेताका छोराले सगरमाथा चढेकोमा चर्चा भयो । सगरमाथाबाट फर्केर आएपछि धेरैले उनको जयजयकार गरे ।
यसरी केही दिनअघिसम्म सगरमाथा चढेको भनेर चर्चामा रहेका तिनै व्यक्ति अहिले अर्को काण्डले चर्चामा छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शिर निहुराउन बाध्य उनका पुत्र प्रकाशले सगरमाथाबाट शान्ति त ल्याउन सकेनन् । तर सँगै सगरमाथामा गएकी विद्यार्थी नेता विना मगरलाई लिएर उनी बेपत्ता छन् ।
पहिले सगरमाथा चढ्न लागेको बेला प्रकाश के उदेश्यले किन जान लागे भनेर न बाबु र पार्टीका अरुले हेक्का राखे । न दलबलमा रहेका अरुले । सगरमाथा आरोहण दलमा रहेकी बिनासित उनको पहिल्यै हिमचिम थियो भन्ने कुरा गाईंगुईं भएपनि धेरैले यसको वास्ता गरेनन् । साथमा मन परेको मान्छे छ भने त्यो मान्छे सगरमाथा त के जाने बाटो भए चन्द्रमा पनि जान्छ । माया र प्रेममा चुर्लुम्म डुबेको मान्छेले यताउता, दायाँबायाँ सब कुरा बिर्सन्छ । बस् उसलाई उसको साथ भए पुग्छ । साथमा मन पर्ने तिनै बिना भएकै कारण प्रकाशलाई सगरमाथा चढ्ने रहर जागेको अहिले पुष्टी भएको छ । सगरमाथा आरोहणको क्रममा पनि उनले बिनासित लसपस गरेको खबर सार्वजनिक भएको थियो ।
प्रचण्डका अनुसार उनले यो खबर सार्वजनिक भएकै बेला प्रकाशलाई सम्झाएका हुन् । तर प्रकाशले होइन भनेर ढाँटे । त्योबेला छोरोको कुरा पत्याएका प्रचण्ड अहिले नाक काटिएपछि मात्र झसँग भएका छन् । पहिलो घरबार बिगारेर दोस्रो बिवाह गरेको, सन्तानको बाऊ समेत भएको छोरो फेरि केटी लिएर बेपत्ता हुँदा साधारण परिवारको बाऊ त तनावमा हुन्छ । प्रचण्ड त देशकै सर्वोच्च नेता । उनको मान, प्रतिष्ठा र इज्जतलाई नै दाग लगाउने गरी छोरो प्रकाशले बेइमानी गरे । शान्ति ल्याउँछु भन्ने प्रकाश बिना लिएर बेपत्ता भएको खबरले अहिले सबैतिर चर्चा छाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी