Thursday, September 6, 2012

धेरै व्यावसायिक फर्म करको दायराबाहिरै

विधुर ढकाल
नारायणगढ । सरकारले करको दायरामा नआएका पसलहरुलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि चितवनमा भने कार्यान्वयनमा आउन सकेको छैन । चुरोट तथा सुर्तीजन्य सामग्रीहरु बिक्री हुने अधिकांश किराना पसल, पान पसलहरु र होटल तथा साना खाजाघरहरु करको दायरामा आएका छैनन् ।
आन्तरिक राजस्व कार्यालय चितवनको तथ्याङ्कमा नवलपरासीको दाउन्नेदेखि पूर्वी चितवनका सबै भू–भागमा सञ्चालनमा अएकामध्ये २२ हजार ३०० व्यावसायिक फर्महरु दर्ता भएका छन् । जसमध्ये १८ हजार ८०६ वटा स्थायी लेखा नम्बर (पान) मा दर्ता भएका छन् ।
पानमा दर्ता भएका सम्भावित सुर्तीजन्य पदार्थ बिक्री हुने किराना पसलहरु दुई हजार २९१ वटा रहेको कार्यालयका कर अधिकृत गुणराज पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै विविध खाद्यान्न भनेर दुई हजार ८६ फर्म दर्ता भएका छन् भने चुरोटको मात्र कारोवार गर्ने भनेर जम्मा २० वटा व्यावसायिक फर्महरुले पानमा दर्ता गराएको उहाँले बताउनुभयो ।
चुरोट उद्योगहरुले पानमा दर्ता नभएका पसलहरुलाई चुरोट बिक्री गरेको पाइए कारबाही गरिने कर अधिकृत पोखरेलको भनाइ छ । ‘उद्योग तथा डिलरहरुले नै पान नं. नभएका पसलहरुलाई चुरोट वितरण गर्दैनन्, हामीले त्यस्तो पसलपसलमा गएर अनुगमन नगरेपनि उनीहरुले बिक्री गरेको पाइए उद्योगलाई नै कारबाही गर्छौँ’, उहाँले भन्नुभयो ।
कारबाहीको डरले पनि उनीहरुले करको दायरामा नआएका पसललाई चुरोट बिक्री नगर्ने उहाँको भनाइ छ । अधिकांश पानमा दर्ता नभएका पसलहरुले चुरोट तथा सूर्ती वितरण गरिरहेको भने उहाँ स्वीकार गर्नुहुन्छ ।
‘सरकारले दुई लाख रुपैयाँ भन्दामाथि वार्षिक आम्दानी हुने पसललाई मात्र करको दायरामा ल्याउने नीति लिएको छ’, पोखरेलले भन्नुभयो, ‘साना साना पानको पसल तथा ठेलामा राख्नेहरुले नै चुरोट बढी बेच्ने गर्छन् ।’ सहरी क्षेत्रमा मात्र नभई अधिकांश किराना, पान पसल तथा चिया पसलहरु समेत चुरोट तथा सूर्तीको कारोवार गर्ने गरे पनि उनीहरु करको दायरामा आउन सकेका छैनन् । यस्ता साना पसलहरु चितवनमा कति छन् यकिन तथ्याङ्क भने कसैसँग छैन ।
यस कार्यालयको कार्यक्षेत्रभित्र नवलपरासीको दिव्यपुरीमा प्रफेक्ट व्लेण्डस नेपाल नामको चुरोट उद्योग सञ्चालनमा छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी