Thursday, September 6, 2012

सेना समायोजनको अन्तिम प्रक्रिया सुरू






होमनाथ सापकोटा
शक्तिखोर । पूर्वी चितवनको शक्तिखोरस्थित माओवादी तेश्रो डिभिजनमा बिहीबारदेखि सेना समायोजन प्रक्रिया सुरू भएको छ । सम्मानजनक समायोजनको माग गर्दै लडाकूले समायोजन प्रक्रिया बहिस्कार तथा संविधानसभाको विघटनपछि अनिश्चित बनेको सेना समायोजनको अन्तिम प्रक्रिया सुरू गरिएको हो ।
समायोजनको लागि लडाकू रेखदेख तथा पुनस्र्थापना विशेष समितिअन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्मा नेतृत्वको १७ जनाको टोली तेश्रो डिभिजन शक्तिखोरमा खटिएको छ । टोलीमा विशेष समिति सचिवालय, नेपाली सेना र लोकसेवा आयोगका प्रतिनिधिको सहभागिता छ ।
टोलीले बिहीबारदेखि नै भर्ना छनौट प्रक्रियाअगाडि बढाएको छ । सेनामा भर्ना छनौटका लागि पहिलो दिन फाराम भर्ने काम अगाडि बढाइएको सचिवालयका संयोजक शर्माले जानकारी दिनुभयो । समायोजनको लागि शिविरका दर्ता गर्ने, दरखास्त फाराम भर्ने, उमेर प्रमाणित गर्ने, तीनवटा स्टल वनाइएको छ । 
सुबेदार तहसम्मको पदका लागि भर्ना सुरू गरिएको उहा“ले बताउनुभयो ।  भदौ २७ गतेबाट अधिकृत तहको भर्ना छनौट प्रक्रिया पूर्वी चितवनको चैनपुरमा रहेको नेपाली सेनाको मध्यक्षेत्रीय महाविद्यालय र शमसेर दल गण भरतपुरमा गरिने संयोजक शर्माले जानकारी दिनुभयो ।
समायोजन प्रक्रिया एक महिनाभित्र सक्ने सचिवालय र नेपाली सेनाबीच सहमति भएको उहा“ले बताउनुभयो । सेना समायोजन विशेष समितिको भदौ ११ गते बसेको बैठकले अवरुद्ध लडाकू छनौट प्रक्रियालाई भदौ २१ गतेदेखि अगाडि बढाउने निर्णय गरेको थियो ।
लडाकूको उमेर र शिक्षाबारे विवाद भएपछि असार २१ गते समायोजन प्रक्रिया रोकिएको थियो । दुई महिनादेखि रोकिएको समायोजन प्रक्रिया विशेष समिति सचिवालय, माओवादी सेना, रक्षा मन्त्रालय, नेपाली सेना र लोकसेवा आयोगका प्रतिनिधिसहितको समन्वयात्मक बैठकपछि अगाडि बढाइएको सचिवालयका संयोजक शर्माले बताउनुभयो  ।
लडाकू रेखदेख तथा पुनस्र्थापना विशेष समितिलगायतको सर्वपक्षीय बैठकले लडाकूको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र शिक्षाको हकमा एक तह लचकता अपनाउने निर्णय गरेको थियो । ‘सचिवालयको निर्णयअनुसारै काम अगाडि बढ्छ’, संयोजक शर्माले भन्नुभयो, ‘यो प्रक्रियामा नर्छिने लडाकूहरुलाई पनि समितिले अवकाशको एकमुष्ठ रकम दिने भनेको छ, त्यसको विकल्प छैन ।
२०६३ जेठ १२ अघि १८ वर्ष पुगेकाहरुलाई भर्ना प्रक्रियामा सामेल गरिएको छ । १८ वर्ष पुगेको मितिदेखि नै सेवाअवधि गणना हुने शर्माले जानकारी दिनुभयो । लडाकूहरु १८ वर्ष पुगेको मितिलाई आधार मानेर सेवाअवधि गणना गरिने दलहरुबीच सहमति भएको उहा“ले बताउनुभयो ।
देशका सात मुख्य शिविरमा समायोजन रोजेर बसेका तीन हजार १२३ पूर्व लडाकूमध्ये ६२५ जना चितवनको शक्तिखोरस्थित तेश्रो डिभिजनमा रहेका छन् । समायोजनका लागि उमेरको हकमा नागरिकतालाई मान्यता दिने निर्णयसँगै तेश्रो डिभिजनका समायोजन रोजेकामध्ये ८० प्रतिशत लडाकू फालिने संकेत देखिएको छ ।
अनमिनले प्रमाणित गरेको काजगातका आधारमा समायोजन प्रक्रियामा सहभागी हुन बसेका लडाकूहरु नागरिकताको मितिलाई आधार बनाएर भर्ना प्रक्रिया सुरू गरिएपछि उमेर नपुगेर अवकाश लिनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । 
अनमिनको प्रमाणीकरणका बेला उमेर ढाँटेर १८ वर्ष पुगेको देखाएका लडाकूले नागरिकता बनाउँदा कम उमेर उल्लेख गरेकाले अहिले समस्या आएको सचिवालयका संयोजक शर्माले बताउनुभयो । समायोजन प्रक्रिया चलिरहेकै बेला स्वैच्छिक अवकाश लिएका असन्तुष्ट लडाकूले शिविरभित्रै नाराबाजीसमेत गरेका थिए । 
उनीहरुले भदौ मसान्तभित्र दोश्रो किस्ता पाउनु पर्ने, तत्काल रोजगारीको व्यवस्था हुनुपर्ने, घाइते अपाङ्ग लडाकूलाई उपचार र आजीवन भत्ताको व्यवस्था हुनु पर्नेलगायतका मागसहितको ज्ञापनपत्र सचिवालयको टोलीलाई बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै सेना समायोजन तथा पुनस्र्थापना विशेष समितिका सचिवालय संयोजक बालानन्द शर्माले असन्तुष्ट लडाकूहरुको मागको बारेमा समितिलाई जानकारी गराइ सामाधानको लागि पहल गर्ने बताउनुभयो ।

source: www.echitwanpost.net

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी