Tuesday, October 2, 2012

चिकित्सकले हातपात गरेको आरोप


भरतपुर । उपचारमा संलग्न चिकित्सकमाथि बिरामीका आफन्तले हातपात र दुब्र्यवहार गरेको घटना धेरै आउने गरेका छन् । तर चितवनमा एकजना स्वास्थ्य व्यवसायीले आफूलाई चिकित्सकले कुटपिट र गालीगलौज गरेको आरोप लगाएका छन् । भरतपुर वडा नं. ७ का शम्भुप्रसाद सुवेदीले मंगलबार पत्रकार सम्मेलन नै राखेर सो कुरा बताएका हुन् । 
सुवेदी भरतपुर वडा नं. १० मा रहेको चितवन एकेडमी फर टेक्निकल एजुकेशन प्रालि तथा चितवन भ्याली मोडल अस्पताल प्रालिका प्रबन्ध सञ्चालक हुन् । आफूलाई चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालका फिजियिन डा.विजय पौडेलले सोमबार साँझ लात्ती र मुक्काले शरीरका विभिन्न भागमा हानेको सुवेदीको भनाइ छ ।
‘म चितवन अस्पताल प्रालिमा थिएँ । डा.पौडेललाई देखेपछि नमस्कार गरेँ । तर उहाँले त एक्कासि मेरो कठालो समाउनुभयो । लतारेर कोठामा लैजानु भयो । टाउको र शरीरका विभिन्न ठाउँमा मुक्का हान्नु भयो’ सुवेदीले भने । सुन्न नसकिने शब्दहरु भन्दै डा.पौडेलले आफूलाई गाली गरेको सुवेदीले बताए । 
डा.पौडेल सरकारी अस्पतालको फिजिसियनका साथै चितवन अस्पताल प्रालिका अध्यक्षसमेत हुन् । डा.पौडेलले एमाले निकट हुन् । उनले हालैमात्र सम्पन्न चितवन एमालेको जिल्ला अधिवेशनमा उम्मेद्वारी दिएका थिए । सुवेदी एमाले चितवनको पूर्वस्वास्थ्य विभाग प्रमुख हुन् । सुवेदीमाथि कुटपिट हुँदा अर्को एमाले नेता रामसिंह विक पनि घटनास्थलमै थिए ।
‘त्यस्तो विवाद केही भएको सुनिएन । डा.विजयले सुवेदीलाई एक्कासि भित्र लैजानु भयो । कोठामा गएर हेर्दा कुट्दै गर्नु भएको देखेँ’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा विकले भने । ‘मेरो दुश्मनलाई  कुरा लगाउने तै होस् भन्दै एक्कासि कुटपिट गर्नुभयो । योभन्दा अघि उहाँसँग कुनै विवाद थिएन । उहाँको दुश्मन को रहेछ उसलाई मैले के भने मलाई केही मेसो छैन’ सुवेदीले भने । 
सुवेदी डा.पौडेललाई एमालेको संगठनमा आफैँले ल्याएको दावी गर्छन् । ‘उहाँ मेरै कार्यकर्ता हो । उहाँको अस्पतालसँग मेरो पहिला सहकार्यसमेत थियो । यस्तो कुटपिट गर्ने तहका केही कुरै थिएनन् । एक्कासि किन यस्तो भयो म छक्क परेको छु’ सुवेदीले भने । घटनापछि प्रहरीमा उजुरी दिने तयारी गरे पनि मंगलबारसम्म उजुरी दर्ता गर्न नसकेको उनले बताए । 
घटनाको बारेमा आफूले पनि पत्रकार सम्मेलन नै राखेर धारणा सार्वजनिक गर्ने डा. विजय पौडेलको भनाइ छ । मंगलबार साँझ उनले भने ‘सुवेदीजी र म त एउटै घरका दाजुभाइजस्ता हौं । उहाँले पत्रकार सम्मेलन राख्न हुँदैन थियो । अब उहाँले राख्नु भयो भने मैले पनि पत्रकार सम्मेलन नै राखेर सबै कुरा भन्नु पर्ने हुन्छ । अहिले केही बोल्दिन ।’


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी