Monday, October 1, 2012

माडीमा रु.एक करोडको विपत् व्यवस्थापन योजना

माडी । विपत् व्यवस्थापनका लागि माडी क्षेत्रका चार गाविसमा जिल्ला विकास समिति चितवनले यूएनडीपीको सहयोगमा करिब एक करोड बराबरको परियोजना सञ्चालन गर्ने भएको छ ।
सोमबार माडीमा आयोजना गरिएको ‘समुदायमा आधारित विपत् जोखिम व्यवस्थापन कार्यक्रमको जिल्लास्तरीय परियोजना परिचयात्मक कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
माडी जिल्लाका गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविसमा जोखिम न्यूनीकरणका लागि संरचना निर्माण, वृक्षरोपण, तालिम, उद्धार सामग्री खरिदका लागि उक्त रकम विनियोजन भएको हो । यी गाविसलाई यूनडीपीको बृहत्तर जोखिम व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिमार्फत २२ लाख ८० हजार रुपैयाँदेखि २४ लाख २५ हजार रुपैयाँसम्म उपलव्ध गराइने छ ।
योजनाअन्तर्गत कुल चार गाविसमा दुई हजार ५०० बिरुवाका दरले कुल २० लाख बराबरको एक लाख बाँसका बिरुवा रोपिने जनाइएको छ । त्यस्तै नदी व्यवस्थापन तटबन्ध निर्माण नदीको दिशा परिवर्तनलगायतका भौतिक पूर्वाधार निमार्णका लागि करिब आठ लाख रुपैयाँका दरले करिब ३३ लाख ५० हजार रुपैयाँ बराबरको रकम विनियोजन गरिएको जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लुईंटेलले जानकारी दिनुभयो ।
त्यस्तै परियोजनाअन्तर्गत माडीका सबै गाविसमा पाँच लाख रुपैयाँका दरले २० लाख रुपैयाँ बराबरको विपत् जोखिम खोज तथा उद्धार सामग्री खरिद गरिने छ । त्यसका अलावा सामुदायलाई जनचेतना जगाउन तथा विपत् न्यूनीकरणका लागि अभिमुखीकरणका लागि कुल १२ लाख रुपैयाँ विनियोजन भएको छ ।
बर्सेनि माडी क्षेत्रमा रापती, रिउ, बकैयालगायतका नदी तथा स्थानीय खोलाहरुले लाखाँैका जनधनको क्षति पु¥याउँदै आएका छन् ।
कार्यक्रममा बोल्दै स्थानीय विपत् व्यवस्थापन समितिका अध्यक्षहरुले यूएनडीपी र जिविसको सहयोगले स्थानीयहरुलाई राहत पुगेको बताएका थिए । ‘४६ वटा खोला तथा नदिले चारैतिरबाट घेरेको गाविसलाई बर्सेनि लाखौंको क्षति बेहोर्नुपर्ने बाध्यता थियो, अब योसँगै समस्या न्यून भएर जाने आशा छ’, अयोध्यापुरी गाविसस्तरीय समितिका अध्यक्ष घनश्याम पौडेलले भन्नुभयो ।
उहाँसहित गर्दीका अध्यक्ष देवन्द्रप्रसाद पौडेल, कल्याणपुरका अध्यक्ष रामकृष्ण अधिकारी, बघौडाका अध्यक्ष बलराम महतोले आ–आफ्नो गाविसमा सञ्चालन गरिने योजनाका बारेमा जानकारी दिनुभएको थियो ।
भदौ १८ गतेदेखि सञ्चालित योजनाहरु आगामी २०७० वैशाख १८ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ ।
कार्यक्रममा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, यूएनडीपीका प्रतिनिधि दीपक केसी, गाविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष वेदप्रसाद बजगाँईं, प्राक्टिकल एक्सनका दीननाथ भण्डारीलगायतले बोल्नुभएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि युएनडीपीका कार्यक्रम व्यवस्थापक मानबहादुर थापा हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी