Wednesday, October 3, 2012

अझै उद्घाटन हुन सकेन माडी क्याम्पस, प्राध्यापक तथा कर्मचारीले एक वर्षसम्मको तलब पाएनन्

माडी । निर्माण भएर पनि भवन जीर्ण भइसक्यो तर पनि माडी बहुमुखी क्याम्पसको भवन अझै उद्घाटन हुन सकेको छैन । भारत सरकारको  सहयोगमा निर्माण भई २०६६ सालमा नै उद्घाटन गर्ने भनिएको भवन तत्कालीन जनमोर्चा नेपालको अवरोधका कारण उद्घाटन हुन सकेको थिएन ।
‘२०६६ साल माघ ३ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो तर पनि केही समूहको अवरोधका कारण उद्घाटन हुन सकेन’, क्याम्पस प्रमुख बद्रीनाथ अधिकारीले भन्नुभयो, ‘फेरि उद्घाटनको तयारी भइरहेको छ ।’
भारत सरकारको लगानीमा जिल्ला विकास समितिमार्फत निर्माण भएको भवन उद्घाटनका लागि पहल भइरहेको उहाँको भनाइ छ । ८७ लाख २३ हजार २६९ रुपैयाँको लागतमा निर्माण भएको आठ कोठे पक्की भवनको केही भाग भत्किसेको छ, माथि टिनको छानोसमेत हावाले उडाएको छ । राजदूतावासमा यसबारेमा जानकारी भएको र पुनर्निर्माण गरी उद्घाटनपश्चात् हस्तान्तरण गरिने तयारी भएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच गत आइतबार सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको टोलीले क्याम्पसको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा स्थानीय विकास अधिकारी बास्तोलाले राजदूतावासमा खबर भइसकेको र चाँडै उद्घाटन हुने बताउनुभयो ।
‘क्याम्पसको मर्मत गर्नुपर्ने भाग मर्मतपाश्चात् रंगरोगन गरेर उद्घाटन हुन्छ’, उहाँले भन्नुभयो । अहिले पहिलेजस्तो कुनै अवरोध नहुने पनि उहाँले दावी गर्नुभयो ।
वि.सं २०५३ सालमा सप्तगण्डकी बहुमुखी क्याम्पससँग सम्बन्धन लिएर सप्तगण्डकी बहुमुखी क्याम्पसको बिस्तारित कार्यक्रम माडीका नाममा स्थापना भई अध्ययन गराउन थालेको क्याम्पसले २०५३ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर माडी बहुमुखी क्याम्पसको नाममा सञ्चालन भएको हो । 
यता, स्थानीयस्तरबाट सञ्चालनमा आएको क्याम्पसले नियमित रुपमा प्राध्यापक तथा कर्मचारीहरुलाई तलब खुवाउन नसकेर पटकपटक प्राध्यापक तथा कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।
अहिलेसम्म क्याम्पसका प्राध्यापक तथा कर्मचारीले एक वर्षको तलब नपाएको क्याम्पसका सहप्राध्यापक भविश्वर ढकालले बताउनुभयो । ‘अहिलेसम्म क्याम्पसले एक वर्ष बराबरको तलब दिएको छैन’, उहाँले भन्नुभयो, ‘करिब दुई लाख बराबर क्याम्पसबाट बुझ्न बाँकी होला ।’
स्थानीय क्याम्पस भएको र आफ्नो पनि सञ्चालन गर्ने दायित्व भएकोले आफूहरुले कडा आन्दोलन नगरेको उहाँको भनाइ छ ।
१८ जना प्राध्यापक तथा सहप्रध्यापक र पाँच जना कर्मचारी रहेको क्याम्पसमा गत वर्ष तलब नदिएको भन्दै सबै प्राध्यापक तथा कर्मचारीले राजीनामा दिएका थिए । सोही क्रममा आगामी एक वर्षभित्र किस्ताकिस्तामा सम्पूर्ण बेरुजु रहेको तलब दिने क्याम्पस सञ्चालक समितिले सहमति गरेको थियो ।
उक्त सहमतिअनुरुप क्याम्पसले कर्मचारीहरुलाई तलब दिन नसकेको सहप्राध्यापक ढकालको आरोप छ ।
यता क्याम्पस सञ्चालक समिति भने कर्मचारीलाई अहिलेको तलबभन्दा पनि पहिलेको बेरुजु फस्र्याैट गर्न नसकेको बताउँछन् । आफूहरुले सुरूसुरुका वर्षमा क्याम्पसको आम्दानी नहुँदा कर्मचारीलाई तलब खुवाउन नसकोले त्यही बेरुजु रहेको सञ्चालक समितिका उपाध्यक्ष हरि पौडेलले बताउनुभयो ।
‘२०५३ सालमा क्याम्पस सुरू गर्दा २० जना विद्यार्थीबाट सुरू गरेका हौँ, विद्यार्थीबाट शुल्क कम उठ्ने र अन्य आम्दानी नहुँदा तलब खुवाउन सकेका थिएनौँ’, उहाँले भन्नुभयो, ‘त्यही बेरुजु धकेलिँदै आएको हो ।’ अहिलेसम्म प्रत्येक कर्मचारी तथा प्राध्यापकहरुले डेढदेखि दुई लाखका दरले करिब ४० लाख रुपैयाँ तलबवापतको बेरुजु रहेको उहाँको भनाइ छ ।
त्यसलाई पनि अन्य स्रोतहरु खोजेर व्यवस्थापन गर्ने प्रयास भइरहेको पौडेलले बताउनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी