Wednesday, October 3, 2012

‘ऐन परिवर्तन गरेर संरक्षित चराको संख्या बढाऊ’

सौराहा ।    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा हाल सूचीकृत संरक्षित चराहरुको संख्या नौमात्रै रहेकोमा त्यसलाई बढाएर ९२ पु¥याउन चरा संरक्षणकर्मीले माग गरेका छन् । नेपालभरका चरा संरक्षणकर्मीको सौराहामा सम्पन्न तीन दिने भेलामा यो माग उठेको हो ।
नेपालका चराहरु दिनप्रति दिन संकटमा परेका छन् । तर संरक्षण गर्नु पर्ने सूचीमा रहेका चराहरुको संख्या ४० वर्षदेखि परिवर्तन भएको छैन । विसं २०२९ सालमा जारी भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले नौ प्रकारका चरालाई संरक्षित सूचीमा राखेको थियो ।  
‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुरोधमा विश्व वन्यजन्तु कोषको सहयोगमा दुई वर्षअघि हामीले एउटा अध्ययन गरेका थियौं । अध्ययनपछि हामीले संरक्षित चराहरुको संख्या नौबाट बढाएर ९२ पु¥याउन सिफारिस गरेका थियौं’, प्रकृति हिमालयन नामक संस्थामा आबद्ध प्राध्यापक करणबहादुर शाहले जानकारी दिनुभयो ।
चितवनको सौराहामा सोमबारदेखि देशभरका चराविज्ञहरु भेला भएका थिए । नेपालमा पाइने चराहरुको ‘रेड डाटा बुक’ तयार पार्नका लागि भेला भएका पंक्षीविज्ञहरुका सामुन्ने शाहले सो कुरा गरेका हुन् । नेपालमा हाल ८७१ प्रजातिका चरा पाइने भए पनि ९२ प्रजातिका चराहरु संरक्षणका दृष्टिले उच्च जोखिममा रहेकाले ऐनमा संरक्षित प्रजातिको रुपमा सूचीकृत हुनु पर्ने उहाँको भनाइ छ ।
‘सूचीकृत गरे संरक्षणप्रति जागरुकता बढ्छ । त्यस्ता चरालाई हानी गर्नेहरुले कानुनी कारबाही भोग्ने छन्’, चराविज्ञ डा.हेमसागर बरालले भन्नुभयो । नेपालमा पाइनेमध्ये नौ प्रजातिका चरा लोप भइसकेको उहाँले जानकारी दिनुभयो । खैरो धनेष, गुलाबी टाउके सारश र कचबलगायतका चराहरु लोप भएका छन् । थप प्रजाति लोप नहुन भन्नका लागि सरकार सजग हुनु पर्ने उहाँले बताउनुभयो ।
नेपालमा १४९ जातिका चराहरु संकटमा परेका छन् । तराई क्षेत्रमा पाइने चराहरु झनै संकटमा छन् । त्यसैले झण्डै ४० वर्षअघि बनेको ऐनमा सूचीकृत चराहरुको संख्या बढ्न अपरिहार्य देखिएको हो । सो ऐनले राष्ट्रिय पंक्षी डाँफे, धनेष, चीर, खर मजुर, सानो खर मुजुर, कालो भुँडीफोर, सेतो भुँडीफोर, मुनाल र सारशलाई संरक्षित चराको सूचीमा राखेको छ ।
संरक्षित पंक्षीलाई हानी नोक्सानी गरेमा १० हजार रुपैयाँसम्म जरिवाना वा बढीमा दुई वर्ष कैद अथवा कैद र जरिवाना दुबै हुन सक्ने ऐनमा व्यवस्था छ ।  दण्ड जरिवानाको व्यवस्थाले अवैध चोरीसिकार नियन्त्रण हुने डा.बराल बताउनुहुन्छ । ‘संकटमा रहेका अरु चराहरुलाई जथाभावी रुपमा हानी पु¥याउने काम रोक्न पनि संख्या बढाउनु पर्ने भएको हो’, बरालको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन परिवर्तन नभएकाले २९ सालदेखि नै एउटै सूची कायम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट महेश्वर ढकालले बताउनुभयो । ढकालले भन्नुभयो, ‘संरक्षित सूचीमा रहेका चराहरुको संख्या बढाउन आवश्यक छ । यसका लागि हामीले केही काम पनि अगाडि बढाएका छौं । ऐन परिवर्तन गर्दा विज्ञको सुझावलाई आधार मानिने छ ।’
‘चरा लोप हुनु प्राकृतिक समस्या’
सौराहा । प्रकृतिमा आएको समस्याका कारण नेपालमा चरा संकटमा परेको निष्कर्ष निकाल्दै सौराहामा आयोजित चराविज्ञहरुको राष्ट्रिय सम्मेलन बुधबार सकिएको छ ।
सम्मेलनमा सहभागी ६० जना चराविज्ञहरुको अध्ययन प्रतिवेदन र छलफलपछि विज्ञहरु बासस्थानको बढ्दो विनास नै चरा लोप हुनुको मुख्य कारण रहेको निष्कर्षमा पुगेका हुन् । नेपालमा ८७१ प्रजातिका चरा पाइने भए पनि एक वर्ष लगाएर २४१ प्रजातिका चराहरुको बारेमा गरिएको अध्ययन प्रतिवेदन र विज्ञबाट आएका सुझावको आधारमा प्रकृतिमा आएको समस्या नै मुख्य कारण देखिएको वरिष्ठ चराविद् डा.हेमसागर बरालले जानकारी दिनुभयो ।
चरा संरक्षणको लागि प्रकृति अनुकूल बनाउँदै बासस्थान सुधारको लागि सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोलिकल सोसाइटी लण्डन र हिमालयन नेचरको आयोजना रहेको सम्मेलनमा तीन विदेशीसहित ६० जना चराविद्, विज्ञ तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।
www.echitwanpost.net







No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी