Monday, November 12, 2012

नगरका केही मिठाई पसलमा अखाद्य बस्तु

चाडपर्वमा बजार अनुगमन    
नारायणगढ । तिहारमा दाजुभाइलाई खुवाउन मिठाई किन्न खोज्दै हुनुहुन्छ ? होसियार हुनुहोला, कतै मिठाईमा अखाद्य बस्तु त मिसाइएको छैन ? जिल्ला प्रशासन कार्यालय चितवन तथा वाणिज्य विभागले सोमबार गरेको छड्के अनुगमनका क्रममा मिठाईमा अखाद्य बस्तु मिसाइएको पाइएको छ ।

अनुगमन टोलीले गरेको छड्के अनुगमनका क्रममा नारायणगढ तथा भरतपुरका केही मिठाई पसलहरुमा चिनीको पास्नीलाई सफा गर्न तथा मिठाईलाई सुन्दर देखाउनका लागि अखाद्य बस्तु ‘हाइड्रो’ प्रयोग गरेको फेला पारेको हो । टोलीले सोमबार गरेको अनुगमनमा तीनवटा मिठाई पसलहरुले ‘हाइड्रो’ तथा एउटा मिठाई पसलमा म्याद गुज्रेको मिठाईमा प्रयोग गर्ने रंग फेला पारेको हो ।

टोलीले नारायणगढ तथा भरतपुरका १४ वटा मिठाई पसल अनुगमन गरेको थियो । भरतपुर हाकिमचोकको हिमचुली रेष्टुरेण्ट तथा मिष्ठान्न भण्डार, अमित मिष्ठान्न भण्डार तथा नारायणगढ संगमरोडको शिवशम्भु मिठाई पसलमा अखाद्य बस्तु ‘हाइड्रो’ फेला परेको हो ।

नाम चलेको पसलबाटै म्याद गुज्रेको रंग

त्यस्तै टोलीले नारायणगढ, सहिदचोकको वैष्णव मिष्ठान भण्डारमा ‘बुस’ ब्राण्डको ‘टोमाटो रेड’ नामको खाद्य रंग म्याद गुज्रेको अवस्थाको फेला पारेको हो । अखाद्य बस्तु तथा म्याद गुज्रेको रंग प्रयोग गर्ने पसललाई खाद्य ऐनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय भरतपुरका खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिनुभयो ।

मिठाईमा प्रयोग गरिने हाइड्रोले क्यान्सर निम्त्याउने उहाँले बताउनुभयो । अनुगमनका क्रममा अनुगमन गर्दा अधिकांश पसलहरुमा सरसफाइ नभएको खाद्य निरीक्षक देउजाले जानकारी दिनुभयो । ‘सम्पूर्ण पसलहरुलाई खाद्य निर्देशिकाअनुरुप पसल सुधार गर्न निर्देशन दिएका छौँ’, उहाँले भन्नुभयो, ‘एक हप्ताभित्र सुधार नभए कारबाही गर्ने छाँै ।’

मूल्यसूचि नै राख्दैनन् मिठाई पसले

त्यस्तै टोलीले धौलागिरि होटलबाट अधिक मात्रमा रंग मिसाइ बनाइएको ‘बुनियाँ’ मिठाई नष्टसमेत गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्यसूची नराखिएको पाइएको वाणिज्य विभागका बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेलले जानकारी दिनुभयो ।

यता, भरतपुर धर्मचोक लंकुको शम्भु साहको मिठाई पसल दर्ता नभएको फेला पारेको छ । साहलाई एक हप्ताभित्र दर्ता गर्न निर्देशन दिइएको बजार संरक्षण अधिकृत पौडेलले बताउनुभयो ।

खाद्य निरीक्षक देउजाको नेतृत्वमा बजार संरक्षण अधिकृतसहित पत्रकारहरुको टोलीले मिठाई पसलहरु अनुगमन गरेको थियो ।


मिठाई पसलको अनुगमन माग 
मकवानपुर । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार सुरू भइसक्दा हेटौंडाका मिठाई पसल तथा होटलमा अखाद्य रंग मिसाइएको मिठाई बिक्री रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाइमा बजार अनुगमन हुने गरे पनि मिठाई पसलमा भने अहिलेसम्म अनुगमन हुन सकेको छैन ।

तिहारमा मिठाईको बिक्री बढी हुने भएकाले अहिलेदेखि नै मिठाई पसलमा भीड लाग्न थालेको छ । तर होटलहरुले अखाद्य बस्तु मिसावट गरेको मिठाई बिक्री गरिरह“दा पनि प्रशासनबाट अनुगमन नभएको हो ।

बासी मिठाई समेत विक्रिमा
मिठाई पसलेहरुले अखाद्य बस्तु मिसावट गर्नुका साथै धेरैअघि तयार पारेको मिठाइ बिक्री गरिरहेको उपभोक्ता सुनिल रेग्मीले बताए । ‘मिठाई पसलले रंग मिसाएको मात्र होइन, पहिला नबिकेका मिठाईसमेत बिक्री भइरहेको छ’, उनले भने । उनले प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चाडपर्वमा अनुगमन गर्नुपर्ने बताए ।

मिठाई पसलले तिहारका लागि एक महिना अघिदेखि मिठाई निर्माण गर्ने गरेका छन् । कतिपय पसलले मिठाईको भण्डारणसमेत फोहोर हुने गरेको  छ । जिल्ला प्रशासनका शाखा अधिकृत कपिल रेग्मीले एकदुई दिनमै मिठाई पसलको अनुगमन गर्ने बताए । उनले उपभोक्ताको स्वास्थ्यप्रति प्रशासन सचेत रहेकाले अनुगमन हुने बताए ।

उपभोक्ताले पनि रंग प्रयोग भएका मिठाई आकर्षक भए पनि नकिन्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।  


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी