Monday, November 12, 2012

सुनिन छाडेनन् पटाकाका आवाज

नारायणगढ । तिहार लाग्दै गर्दा प्रहरीले पटका तथा विष्फोटजन्य बस्तुको किनबेचमा रोक लगाए पनि नारायणगढ तथा भरतपुरमा पटका विष्फोटका आवाजहरु सुनिन छाडेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय भरतपुरले विष्फोटक पदार्थ पटकालगायतका बस्तु किनबेचमा रोक लगाउँदै कडा निगरानी गरिरहे पनि यसको कारोवार भइरहको हो । नारायणगढ तथा भरतपुरका पसलहरुमा भारतबाट अवैध रुपमा भित्रिएका पटकाहरु निर्वाधरुपमा बिक्री भइरहँदा पनि कुनै अनुगमन हुन सकेको छैन ।

प्रहरीले अवैध रुपमा भारतीय बजारबाट पटका भित्रनबाट रोक्नका लागि राजमार्गमा भारतीय नाकाबाट आउने यात्रु तथा मालवहाक साधनमा कडा निगरानी तथा चेकजाँच गरेको जनाए पनि चोरी बाटो प्रयोग गर्दै पटका भित्रिएको छ । बजारमा पटका बिक्री रोक लगाए पनि उपभोक्ताको मागका कारण बिक्री गर्नु परेको व्यापारीहरु बताउँछन् ।

भारतीय व्यापारी नै ल्याउँछन् पटका

‘पसलमा पटका खोज्दै आउँछन् अनि के गर्ने ?’ नारायणगढका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा भने । भित्री नाकाबाट भारतीय व्यापारीले साइकल तथा मोटरसाइकलमा पसलसम्म पटका ल्याइदिने गरेको उनको भनाइ छ ।

‘हामी जानु पर्दैन, उनीहरु नै आफँै ल्याइदिन्छन्’, उनले भने, ‘हिजोमात्र दस हजार रुपैयाँको पटका राखेको सकिन लागिसक्यो ।’ यता, सर्वसाधारण भने प्रहरीले अनुगमन नगरेको आरोप लगाउँछन् ।

‘मिडियामा भित्रिन दिन्नौँ भनेरमात्र हुन्छ र ?’, भरतपुर–१३ का वीरेन्द्र अधिकारीले प्रश्न गर्नुभयो । उहाँले प्रहरीले अनुगमन नगरेको आरोप लगाउनुभयो ।

यता, जिल्ला प्रहरी कार्यालयले पटका भित्रिने नाकाहरु लोथरखोला, नारायणी पुल तथा माडीमा सादा तथा पोसाकसहितका प्रहरी परिचालन गरी अनुगमन गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी