Thursday, November 8, 2012

अटेर गर्नेलाई कारबाही गर्छौं ः जिशिअ

निजी विद्यालय स्पष्टीकरण प्रकरण      
भरतपुर । पश्चिम चितवनको पार्वतीपुरमा रहेको ग्यालेक्सी पव्लिक स्कुलले विनादर्ता कक्षा दससम्म विद्यालय सञ्चान गरेको तथा १२ वटा विद्यालयहरुले अनुमतिभन्दा माथिका कक्षा सञ्चालन गरेको समाचार सार्वजनिक भएपछि चितवनका निजी विद्यालय सञ्चालकहरु हच्किएका छन् । सो विषयमा चितवन पोष्ट दैनिकले समाचार प्रकाशित गरेको थियो ।

प्याव्सन चितवनले बिहीबार प्राचार्यहरुको भेला आयोजना गरी जिल्ला शिक्षा कार्यालयलाई चालु शैक्षिकसत्रसम्म कारबाही नगरिदिन आग्रह गरेको छ । प्याव्सनका केन्द्रीय सदस्य श्रीप्रसाद ढुङ्गानाले शैक्षिकसत्रको बीचमा आएर कारबाही गर्न खोजेर निजी संस्थामाथि पक्षपातपूर्ण व्यवहार देखाएको आरोप लगाउनुभयो ।

उहाँले नीतिगत अस्पष्टताका कारण समस्या उत्पन्न भएको बताउनुभयो । ‘विनाअनुमति कक्षा सञ्चालन गरे ऐनले अवैधानिक भन्छ, त्यही ऐनले कक्षा सञ्चालन नगरी अनुमति दिँदैन’, उहाँले भन्नुभयो, ‘नीतिगत त्रुटिका कारण समस्या भएको छ ।’ उहाँले आगामी शैक्षिकसत्रबाट यसलाई लागू गर्नुपर्ने माग गर्नुभयो ।

यता, गलत कार्य गर्ने विद्यालयका कारण सम्पूर्ण निजी विद्यालयहरु बदनाम हुँदै गएको डेजी आवासीय उच्च माविका प्राचार्य प्रेमराज रिमालले आरोप लगाउनुभयो । उहाँले विनाअनुमति कक्षा सञ्चालन गर्ने विद्यालयलाई कारबाही गरिनुपर्ने मागसमेत गर्नुभयो । ‘यी कमीकमजोरी हाम्रो तर्फबाट भएका हुन्’, उहाँले भन्नुभयो, ‘बेलैमा प्याव्सनले कदम चालेको भए यस्तो हुँदैनथ्यो ।’

प्याव्सन नेतृत्व भोट बचाउका लागि यस्ता कुरालाई नजरअन्दाज गरिरहेको उहाँको आरोप थियो ।

उता, जिल्ला शिक्षा कार्यालयले कुनै पनि हालतमा अटेर गर्ने विद्यालयलाई कारबाही गरेरै छाड्ने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विनादर्ता विद्यालय चलाएको पार्वतीपुरको ग्यालेक्सी पव्लिक स्कुल, अनुमतिवेगर कक्षा सञ्चालन गर्ने १२ संस्थागत विद्यालयसहित चितवनका अधिकांश विद्यालयलाई स्पष्टीकरण सोधिएको भए पनि जवाफ नआएको बताउनुभयो ।

चितवनमा १६४ वटा निजी विद्यालयहरु दर्तामा छन् । कार्यालयले सबैजसो विद्यालयलाई शिक्षकलाई नियुक्तिपत्र दिए नदिएको, कक्षा व्यवस्थित भए नभएको, व्यवस्थापन समिति गठन भए नभएको भन्नेबारे असोज २६ गते पत्र काटेर स्पष्टीकरण सोधेको थियो ।

‘तपार्इंकोमा कस्तो छ, किन यस्तो भयो ?, भनेर हामीले सोध्दा किन अत्तिनु ?’, उहाँले प्रश्न गर्नुभयो, ‘अहिलेसम्म दुईवटा विद्यालयबाहेक कसैले पनि जवाफ दिएका छैनन् ।’ यसरी अटेर गर्ने विद्यालयलाई कुनै पनि हालतमा नछाडिने उहाँको भनाइ थियो ।

‘नियमनमा आउनुस् भन्दा किन नमान्ने ?, यो सरासर अटेरी होइन ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘तपार्इंहरु नियमनमा आउनुस् केही सहुलियत हुन सक्छ ।’ विद्यालयहरु तयार भए अन्य विद्यालय स्थानान्तरणका लागि पहल थालिदिने समेत जिल्ला शिक्षा कार्यालयले गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला शिक्षा कार्यालय चितवनले कर नतिर्ने निजी विद्यालयहरुको परीक्षा फारम नलिइने जिल्ला शिक्षा अधिकारीले शर्माले चेतावनी दिनुभएको छ । ‘सरकारले तोकेको कर तिर्नुस्, नत्र तपाईंले पहिले नै जानकारी दिएन भन्न पाउनुहुन्न’, उहाँले भन्नुभयो, ‘ऐन र नियम सबैले मान्नै पर्छ ।’

शिक्षा अधिकारी शर्माले विद्यालयका विद्यार्थीलाई दिइने छात्रवृत्तिलाई पारदर्शी  बनाउन, विद्यालय व्यवस्थापन समिति गठन गर्न, सबै कर्मचारी तथा शिक्षकलाई तोकिएको ढाँचामा नियुक्तिपत्र दिन र विद्यालयमा बडापत्रको व्यवस्था गर्नसमेत निर्देशन दिनुभएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी