Wednesday, November 7, 2012

अटेरी गरे अवैध कक्षा चलाउने विद्यालयले

भरतपुर । अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गरिरहेका चितवनका निजी विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयको स्पष्टीकरण सोधाइलाई समेत बेवास्ता गरेका छन् । कार्यालयले स्पष्टीकरण सोधेको महिना दिन हुन लाग्दासमेत उनीहरुले कार्यालयमा स्पष्टीकरण पेश गरेका छैनन् ।

शिक्षा विभागबाट शिक्षण अनुमति लिएका भन्दा माथिल्लो वा बढी कक्षा सञ्चालन गरेका १२ संस्थागत विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालय चितवनले गत असोज २४, २६ र २८ गतेको फरकफरक मितिमा स्पष्टीकरण सोधिएको पत्र काटेको थियो ।

अहिलेसम्म स्पष्टीकरण सोधिएका कुनै पनि विद्यालयहरुले जवाफ नपठाएको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव भक्तबहादुर सेञ्चुरीले जानकारी दिनुभयो । ‘हामीले दसैँअगाडि नै स्पष्टीकरण सोधेका थियौँ, अहिलेसम्म जवाफ आएको छैन’, उहाँले भन्नुभयो, ‘फेरि पनि ताकेता स्वरुप पत्र काट्ने निर्णय भएको छ ।’ कार्यालयले तिहारअगाडि नै ताकेतासहितको पत्र काट्ने उहाँले जानकारी दिनुभयो ।

पूर्वी चितवन वीरेन्द्रनगर–२ को साँकुरा एकेडेमी, वीरेन्द्रनगर–४ को नेशनल आवासीय माध्यमिक विद्यालय, इन्टरनेसनल सेकेन्डरी स्कुल खैरहनी–७ र खैरहनी–६ को मातृभूमि शिक्षा सदनलले कक्षा ६ देखि १० सम्मको अनुमति लिए पनि कक्षा १ देखि १० सम्म नै कक्षा सञ्चालन गरिरहेका छन् ।

त्यस्तै खैरहनी–८ को जेनिथ ईंग्लिश बोर्डिङ स्कुल र कठार–७ को सिर्जनशील शिक्षा निकेतनले १ देखि ५ कक्षासम्मको अनुमति लिए पनि सात कक्षासम्म कक्षा सञ्चालन गरिरहेको छ । नर्थ प्वाइन्ट एकेडेमी पिठुवा–३ ले १ कक्षादेखि ७ सम्मको अनुमति लिएर १० कक्षासम्मको कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिनुभयो ।

त्यस्तै जुटपानी–१ मा रहेको जुटपानी जनप्रिय शिक्षा सदन र जुटपानी शिक्षा सदनले कक्षा १ कोमात्र अनुमति लिएर पाँच कक्षासम्म कक्षा सञ्चालन गरेको अनुगमनका क्रममा पाइएको छ ।

यता, १–५ सम्मको अनुमति लिएको मेघौली–७ को नमुना र्इंग्लिश बोर्डिङ स्कुल र मेघौली–४ को अलमाइटी एकेडेमीले ८ सम्मको कक्षा सञ्चालन गर्दै आएका छन् । माडीको बघौडा–३ मा रहेको पिसल्याण्ड इ. बोर्डिङ स्कुलले कक्षा ८ सम्मको अनुमति लिएर नौ कक्षा पनि सञ्चालन गरिरहेको पाइएपछि कार्यालयले स्पष्टीकरण सोधेको थियो ।

ताकेता अटेर गरे कारवाही

कार्यालयले ती विद्यालयहरुले पुनः ताकेता गर्दासमेत कुनै जवाफ नआए कारबाहीअगाडि बढाउने तयारी गरेको छ । ‘हामीले तिहारअगाडि ताकेता गर्छांै, जवाफ नआए अनुमतिविना सञ्चालन गरेका कक्षा रद्द गर्छाैँ’, उपसचिव सेञ्चुरीले भन्नुभयो । सो विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई अन्यत्र स्थानान्तरणको तयारीसमेत भएको उहाँले जानकारी दिनुभयो ।

यसरी अनुमति लिएका कक्षाभन्दा बढी कक्षा सञ्चालन गर्ने विद्यालयलाई २५ हजार रुपैयाँ जरिवानासहित जिल्ला शिक्षा कार्यालयले दर्ता खारेजीका लागि शिक्षा विभागमा सिफारिस गर्न सक्ने व्यवस्था ऐनमा छ । यसअगाडि ती १२ वटा विद्यालयहरुको सम्बन्धमा चितवन पोष्ट दैनिकले स्पष्टीकरण सोधिएको बारे समाचार प्रकाशित गरेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी