Wednesday, October 31, 2012

help me

दसैँ दशा दिएर गयो धनबहादुरको परिवारलाई

गरिबी का कारण आत्महत्या गरेका धन बहादुर बि क को पत्नी गीता परियार
माडी । ‘दसैँ नै हो की यो मेरो दशा किन आएको?’ सायद यी शव्दहरुको शिलसिला यसरी मिलेर आउने नै थिएनन् होला यस्तो नहुने भएको भए । यस्तै दशा दिएर गएको छ यसपालिको दसँैले चितवन माडीको अयोध्यापुरी गणेशगञ्जका धनबहादुर परियारको परिवारलाई ।

घरको कमाइ गर्ने १२ बालबालिकाका एकमात्र मूली थिए धनबहादुर परियार । जसोतसो गरेर ती बालबालिकाका आवश्यकता टार्दै आएका थिए परियारले ।

परिवारको बाँच्ने आम्दानीको स्रोत उनैमात्र थिए । तर गरिबीका कारण दसैँजस्तो महान चाडमा समेत आफ्ना परिवारलाई मासु किनेर खुवाउन नसकेको पीडामा धनबहादुरले सदाका लागि यस संसारबाटै बिदा लिएपछि अहिले ती बालबालिकाको अवस्था अत्यन्त नाजुक बनेको छ ।

दसैँको विदाइसँगै कति नेपाली तिहारको स्वागतका लागि दियो बालेर कुरिरहेका होलान तर धनबहादुरको घरमा भने रुवाबासी चलेको छ । घरमा अन्नपात केही छैन, गाउँलेले दिएकै भरमा कति दिन गुजारा चलाउने यो परिवारले ।

गरिबीका कारण उनले मृत्युको बाटो रोजेपछि अहिले माडीको अयोध्यापुरी गाउँ नै शोकमा डुबेको छ । स्थानीयहरू भन्छन्– ‘उनीहरूका लागि दीर्घकालीन आम्दानीको बाटो हुनसके ती लालाबालाका लागि केही राहत मिल्थ्यो कि ।’

घरमै मादल, सिलौटो, लोहोरो र जाँतो बनाउने काम गर्दैआएका धनबहादुरको दसैँको गर्जाे पनि जाँतो र सिलौटो बेचेर नै टार्ने विचार थियो । उनले दसैँको मुखमा श्रीमतीसँग पनि जाँतो बेचेरै दसैँका लागि मासु किन्ने सल्लाह गरेका थिए ।

तर त्यो सल्लाह अन्तिम सल्लाह हो भन्ने कुरा विचरी गीतालाई के थाहा । महानवमीको दिन बिहान जाँतो बेचेर दसैँ मान्ने योजनाका साथ भान्छाभित्र छिरेका उनी एक्कासि श्रीमान्को झुन्डिएको लास देखेपछि छाँगाबाट खसेजस्तो भइन् ।

अघिल्लो दिनका आफ्ना सबै सपना त्यहीँ चकनाचुर हुन पुग्यो । दसैँमा बालबालिकालाई मासु खुवाउनु त कता हो कता, त्यसैको पीडामा श्रीमान्ले भान्छामा आत्महत्या गरेको देख्दा गीताको होस नै रहेन ।

दसैँका लागि भनेर बनाइएको जाँतो नबिकेपछि रकम अभावमा मासु खोज्न गाउँभरि भाँैंतारिए । धनबहादुरले अष्टमीको दिन उधारोमा मासु पाउन सकेनन् ।

नवमीको दिनमा पनि जाँतो बेचेर मासु किन्ने योजना बुनेर सुतेको भोलिपल्ट यस्तो घटना हुन पुग्यो–३६ वर्षीया श्रीमती गीताले भावविह्वल हुँदै भनिन्– ‘हामीबीच कुनै झैझगडा भएको थिएन् घरसल्लाह राम्रै थियो ।’

‘केही दिन अघिदेखि नै पैसा छैन, कसरी दसैँ मनाउने होला भन्दै हुनुहुन्थ्यो, पछि एक्कासि यस्तो पो गर्नु भएछ–श्रीमती गीताले आँसु झार्दै भनिन्–अब यी लालाबालाको पेट कसरी भर्ने होला भन्ने चिन्ता छ ।’ उनका घरमा पाँच महिनाको शिशुदेखि २६ वर्षसम्मका गरी १२ जना छन् ।

धनबहादुरका तीन पत्नीमध्ये दुईवटीको गरिबीकै कारण मृत्यु भएको स्थानीय देवु सुनारले बताइन् । बिरामी अवस्थामा रहेकी जेठी श्रीमतीको उपचारकै अभावमा ज्यान गएको तीतो अनुभव देवुसँग छ ।

हाल कान्छी श्रीमतीले परिवार सबैको हेरबिचार गर्दै आएकी छिन् । कान्छीका छ, जेठीका पाँच र माइलीतर्फका एक सन्तान जन्मिएका छन् । २६ वर्षकी कोपिला, १९ वर्षका दिलीप, १७ वर्षकी शान्ति, १५ वर्षकी जुना र १३ वर्षका बुद्धि जेठी श्रीमतीपट्टिका हुन् ।

माइली श्रीमतीका २२ वर्षीय नवराज छन् भने कान्छीका तर्फबाट १२ वर्षकी सीमा, आठ वर्षका सुरज, सात वर्षका किरण, चार वर्षका सुदीप, डेढ वर्षका अमृत र पाँच महिनाका गणेश छन् । ‘बच्चा नजन्माउँ पुग्यो’ भनेर आपूmले बारम्बार भनेको तर नमान्दा अहिले यतिका धेरै सन्तानको बोझ आपूmलाई भएको गीताले बताइन् ।

गाउँलेले पनि धेरै बच्चा नजन्माउन सल्लाह दिए तापनि सफल हुन सकेन । जसले गर्दा अहिले ती लालाबालाको अवस्था बिजोग बनेको छ ।


दुई जनाको मजदुरीले नपुगेपछि कति दिन बालबालिकाले भोकै रात बिताउनु परेको अनुभव जेठी छोरी कोपिला परियारसँग छ । अब बुवा हुनुहुन्न कसरी परिवार पाल्ने भन्नेमा उनी पनि चिन्तित छिन् ।

परिवारको कमाइ गर्ने मूली नै ढलेपछि उनीहरूमा सङ्कटमाथि सङ्कट थपिएको छ । जसोतसो गाउँलेले अहिलेसम्म सहयोग गरिरहेका छन् ।

यस्तो सहयोग अस्थायी भएकाले उनीहरूका लागि स्थायी आयस्रोत बनाउन जरुरी रहेको अयोध्यापुरी गाविसका सचिव देवप्रसाद पौडेल बताउनुहुन्छ । धनबहादुरले गरिबीकै कारण आत्महत्या गरेको समाचार विभिन्न सञ्चारमाध्यममार्पmत थाहा पाएपछि काभ्रेपलाञ्चोक घर भई हाल अमेरिकामा बस्दै आएका अर्जुन मैनालीले उनका परिवारलाई रु १५ हजार आर्थिक सहयोग गरेका छन् ।

गाउँलेले मृतकको काजकिरियाका लागि केही रकम सङ्कलन गरेका छन् । गरिबीकै कारण धनबहादुर मकवानपुरको दुवीचौरबाट २५ वर्षअघि चितवनको माडीस्थित जङ्गल छेउको ऐलानी जग्गामा झरेका हुन् ।

अहिलेसम्म परिवारका सदस्य कसैको नागरिकता छैन । आर्थिक अभावकै कारण मजदुरी गर्न बाहिर गएका दिलीप दसैँ पनि मान्ने र नागरिकता पनि बनाउने सोचमा घर आएका थिए । तर उनको योजना पनि अधुरै बन्न पुगेको छ ।

Tuesday, October 30, 2012

विद्यार्थीलाई ठग्ने विद्यालयसँग स्पष्टिकरण, नियम मिच्दै कक्षा चलाउँदै विद्यालय

भरतपुर । जिल्ला शिक्षा कार्यालय भरतपुरले अनुमति लिएभन्दा माथिको कक्षा सञ्चालन गरि विद्यार्थि तथा अभिभावक ठग्ने विद्यालयहरुसँग स्पष्टीकरण माग गरेको छ । शिक्षा विभागमा दर्ता भएर सञ्चालनमा रहेको १२ वटा निजी तथा आवासीय विद्यालयहरुलाई स्पष्टीकरण सोधेको हो ।

यसरी स्पष्टीकरण सोधिएका विद्यालयहरुले आफूले अनुमति लिएको भन्दा माथिल्लो तहका कक्षा सञ्चालन गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण सोधेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो । उनीहरुलाई अनुमति लिएको तहको कक्षामात्र सञ्चालन गर्न निर्देशन दिइएको समेत उहाँको भनाइ थियो ।

यसरी अनुमति नलिई सञ्चालन गरिएका विद्यालयहरुमा अधिकांश पूर्वी चितवनका रहेका छन् । जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण सोधेका १२  विद्यालयमध्ये नौवटा पूर्वी चितवनका रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

पूर्वी चितवन वीरेन्द्रनगर–२ को साँकुरा एकेडेमी, वीरेन्द्रनगर–४ को नेशनल आवासीय मावि, इन्टरनेसनल सेकेन्डरी स्कुल खैरहनी–७ र खैरहनी–६ को मातृभूमि शिक्षा सदनले कक्षा ६ देखि १० सम्मको अनुमति लिए पनि कक्षा एकदेखि १० सम्म नै कक्षा सञ्चालन गरिरहेका छन् ।

त्यस्तै खैरहनी–८ को जेनिथ र्इंग्लिश बोर्डिङ स्कुल र कठार–७ को सिर्जनशील शिक्षा निकेतनले कक्षा एकदेखि पाँचसम्मको अनुमति लिए पनि सातसम्म कक्षा सञ्चालन गरिरहेको छ ।

नर्थ प्वाइन्ट एकेडेमी पिठुवा–३ ले एकदेखि सात कक्षासम्मको अनुमति लिएर १० सम्मको कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिनुभयो । त्यस्तै जुटपानी–१ मा रहेको जुटपानी जनप्रिय शिक्षा सदन र जुटपानी शिक्षा सदनले कक्षा एकको मात्र अनुमति लिएर पाँच कक्षासम्म कक्षा सञ्चालन गरेको अनुगमनका क्रममा पाइएको छ ।

यता एकदेखि पाँच कक्षासम्मको अनुमति लिएको मेघौली–७ को नमुना ईंग्लिश बोर्डिङ स्कुल र मेघौली–४ को अलमाइटी एकेडेमीले आठ कक्षासम्मको कक्षा सञ्चालन गर्दै आएका छन् । माडीको बघौडा–३ मा रहेको पिसल्याण्ड इ. बोर्डिङ स्कुलले कक्षा आठसम्मको अनुमति लिएर नौ कक्षा पनि सञ्चालन गरिरहेको पाइएको छ ।

कक्षा सञ्चालन नगर्न निर्देशन

सम्पूर्ण विद्यालयहरुलाई अनुमतिभन्दा बढी कक्षा सञ्चालन नगर्न र भर्ना भएका विद्यार्थीहरुलाई अन्य विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो ।

यसरी अनुमतिभन्दा बढी कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले २० हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने उहाँले जानकारी दिनुभयो । त्यति गर्दासमेत अटेरी गरेमा जिल्ला शिक्षा कार्यालयले शिक्षा विभागमा अनुमति खारेजीका लागि सिफारिस गर्न सक्ने प्रावधान रहेको उहाँले शर्माले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय चितवनले काटेको स्पष्टीकरणपत्र शिक्षा विभाग सानोठिमी भक्तपुर, क्षेत्रीय शिक्षा निर्देशनालय हेटाँैडा र सम्बन्धित विद्यालय निरीक्षकलाई बोधार्थ दिइएको छ ।

यसैबीच जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरी भौतिक संरचना तथा प्रक्रिया नपुगे विद्यालयहरुलाई समेत स्पष्टीकरण सोधेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको नियुक्तिपत्र, पोसाक तथा तलबभत्ता नियमानुसार दिनसमेत निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

स्पष्टीकरण सोधिएका विद्यालयहरुले निर्देशनअनुरुप गरेनगरेको अनुगमन गर्न समेत विद्यालय निरीक्षकहरुलाई निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो ।



फ्याउरे गुण्डा भनेकोमा युवा संघलाई किन टाउको दुखाइ ?

भरतपुर । प्रहरीको दैनिक तारेखमा रहेका आफ्ना कार्यकतालाई फ्याउरे गुण्डा भनेको भन्दै युवा संघले आपत्ति जनाएको छ । पूर्वाग्राही ढंगबाट आफ्ना संगठनका जिम्मेवार नेतालाई प्रहरी प्रमुखले अपशब्द बोल्ने, पत्रपत्रिकामार्फत गालीगलौज गर्ने गरेको भन्दै युवा संघ चितवनले आपत्ति जनाएको हो ।

संघका चितवन जिल्ला अध्यक्ष प्रल्हाद प्रधानले सजायका लागि कानुनी बाटोको विकल्प हुदाँहुदै यसविपरीत चितवनका प्रहरी प्रमुख दीपककुमार थापाले शान्ति सुरक्षाका नाममा आफ्ना नेतालाई दुःख दिएको भन्दै विज्ञप्तिमार्फत खेद व्यक्त गरेका छन् । 

प्रहरीकहाँ दैनिक हाजिरी तारेखमा रहेका भनिएका दस जना युवाहरुमध्ये सुरज शाही युवा संघ भरतपुर नगर कमिटीका उपाध्यक्ष हुनु । शाहीसहित तारेख धाइरहेका दस जना युवाहरुको प्रहरीले गत सोमबार नाम सार्वजनिक गरेको थियो ।

केहीदिनअघि एक सार्वजनिक कार्यक्रममै प्रहरी प्रमुख थापाले भन्नुभयो, ‘आफूलाई डन भन्न रुचाउने युवाहरु फ्याउरे गुण्डा हुन् र उनीहरुलाई तह लगाउन दैनिक तारेख तोकिएको छ ।’ आँखिर सम्भावित दुर्घटना बाट जोगाउन दैनिक प्रहरी तारेखमा रहेका आफ्ना कार्याकर्ता हुन भन्दैमा युवा संघलाई किन टाउको दुखेको हो कुन्नी ?
 

स्वर्ग जाने आश थियो पिचास पो भइन्छ की.......?

भरतपुर । बाँकी जीवन धार्मिक क्षेत्र देवघाटमा बिताउने उद्देश्यले रोटरी करुणालय वृद्धाश्रममा बस्दै आउनुभएकी ७९ वर्षीया वृद्धा उमादेवी खनाललाई बाँदरले चिथोरेर ज्यान लिने हो कि भन्ने चिन्ता छ । नजिकैको वन क्षेत्रबाट वृद्धाश्रममा दैनिक आउने बाँदरबाट उहाँ त्रसित हुनुभएको हो ।

‘केही दिनअघिमात्रै मैले नै शरीरमा लगाएको मेक्सी सबै च्यातिदियो’, उहाँको दुःखेसो छ, ‘बूढेसकालमा धार्मिक क्षेत्रमा मर्न पाए स्वर्ग गइन्छ भन्ने थियो तर बाँदरको आक्रमणबाट मरेर ‘पिचास’ पो भइन्छजस्तो लाग्न थालेको छ ।’

‘रातभरी÷रातभरीसमेत टिनको छानामा हिँडेर बसीखानु दिएन’, खनालले गुनासो गर्दै भन्नुभयो, ‘के गर्ने त्यसलाई धपाउन गयो, उल्टै उसैले हामीलाई चिथोर्न खोज्छ । अनि डराएर भाग्नुपर्ने बाध्यता छ ।’


वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुमात्रै हैनन्, देवघाट क्षेत्रमा बाँदर आतङ्क छ । बाँदरले अहिलेसम्म दर्जनभन्दा बढीलाई आक्रमण गरिसकेको छ ।

बाँदरले बढी मात्रामा बालबालिका र महिलाहरुलाई बढी आक्रमण गरिरहेको छ । वृद्धाश्रमका कर्मचारी असिनकुमार सापकोटा विशेषतः दिनमा र बिहान बेलुका खाना खानेबेलामा बाँदरले बढी दुःख दिने गरेको बताउनुहुन्छ ।

स्थनीयलाई पनि सास्ती


‘उसको प्रतिरोध गर्नै प¥यो, अनि के गर्ने उसैले आक्रमण गर्छ । वृद्धाश्रममा रहेका मात्रै हैनन् । देवघाट क्षेत्रका बासिन्दाहरु पनि बाँदर आतङ्कले धेरै सास्ती भोग्नु परेको छ’, सापकोटाले भन्नुभयो ।

देवघाट क्षेत्रका बासिन्दालाई  २०६३ सालबाट बाँदरले बढी दुःख दिन लागेको हो । ‘सन्ताउन्न अन्ठाउन्न सालबाटै एक÷दुईवटा बाँदर देखिन्थे तर बढीचाहिँ २०६३ पछि भएको हो’, उहाँले भन्नुभयो ।

अझै पछिल्लो समय स्थानीयले बाँदरको आतङ्क बढी खेप्नु परेको छ । रोटरी करुणालयका अध्यक्ष उपेन्द्र रिजाल पनि बाँदर नियन्त्रणका लागि सरकारी निकायबाट कुनै पहल नभएको गुनासो गर्नुहुन्छ ।

‘हामीले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिलाई पनि सहयोग माग गरेका छांै । तर समस्या समाधान हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘बाँदर आतङ्क नियन्त्रण नगर्ने हो भने देवघाटमा रहेका वृद्ध बुबा–आमालाई धेरै समस्या पर्नेछ ।’

स्थानान्तरण गरे समस्या हट्थ्यो की

सो क्षेत्रका बाँदरलाई नियन्त्रणमा लिएर अन्यत्रै स्थानान्तरण गर्ने व्यवस्था मिलाउने हो भने पनि समस्या समाधान निस्कने अध्यक्ष रिजालको भनाइ छ । ‘कमसेकम चितवन राष्ट्रिय निकुञ्जभित्रमात्रै लगेर छाड्न सकियो भने केही राहत हुने थियो कि ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जसरी पनि बाँदर आतङ्कको अन्त हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

बीस÷पच्चीसवटासम्मको समूहमा बाँदरहरु आउने र घरमा भएका फलफूल तथा खाद्यान्न बस्तुहरु खाइदिने गरेका छन् । बाँदरको प्रतिरोध गर्नेलाई नै उसले बढी आक्रमण गरिरहेको छ ।  मानिसलाई बादरले बढी आक्रमण गर्ने गरेको छ ।

देवघाट क्षेत्रमा अहिले दुई हजारभन्दा बढी बाँदर भएको अनुमान गरिएको छ । पछिल्लो समयमा देवघाट क्षेत्रमा बाँदर एक्कासि बढेका छन् । ती बाँदर कहाबाट आए भन्ने यकिन गर्न सकिएको छैन ।

पशुपतिका दुई ट्रक बाँदर देवघाटमा

तर पनि स्थानीय बासिन्दाहरु पाँच वर्षअघि काठमाडांैको पशुपति मन्दिर क्षेत्रबाट दुई ट्रक बाँदर ल्याएर देवघाट क्षेत्रको वनमा छाडिएको र अहिले त्यसको संख्या बढ्दै गएर गाउँमा बढी दुःख दिएको स्थानीयहरु बताउँछन् ।

बाँदरलाई मानवबस्तीमा आउनबाट रोक्न सक्ने उपाय अपनाएर देवघाटवासीलाई मात्रै हैन, त्यहाँ कल्पवासमा बस्ने वृद्धवृद्धाहरुलाई समेत बाँदर आतङ्कबाट जोगाउन जरुरी छ ।



जुवा खेल्ने पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले जुवाखेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बछ्यौली गाविसबाट दुई लाख २० हजार ३३० रुपैयाँसहित १० जना र माडीबाट रु.२३ हजार नगदसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक टंक भट्टराईले बताउनुभयो । उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस:
चाडपर्वमा उच्च सुरक्षा सतर्कता 
चाडपर्वसँगै प्रहरी सक्रियता बढ्दो , चालीस पक्राउ, पौने दुई लाख राजस्व संकलन  

Monday, October 29, 2012

चालीस पक्राउ, पौने दुई लाख राजस्व संकलन

चाडपर्वसँगै प्रहरी सक्रियता बढ्दो 


भरतपुर । चाडपर्वसँगै चितवन प्रहरीले आपराधिक क्रियाकलाप न्यूनीकरणको कारबाहीलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले यस सालको दसँैको सुरुवातदेखि अन्त्यसम्ममा विभिन्न आरोपमा चालीस जनालाई पक्राउ गरेको जनाएको हो ।

गत असोज ३० गते घटस्थापनाको दिनदेखि फूलपातीको अघिल्लो दिन आइतबार कात्तिक १२ गतेसम्म प्रहरीले विभिन्न आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमध्ये छ जना कौडा खेल्ने रहेका छन् भने ३२ जना लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने रहेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । कौडा खेल्नेहरुसँगबाट प्रहरीले नगद ७२ हजार ६५० रुपैयाँ र एक सेट कौडासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

मुद्दा चलाउने तयारी

कौडा खेल्दै गर्दा पक्राउ परेका छ जनालाई जुवातासअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । ‘उनीहरुविरुद्ध दसैँ बिदा खुलेपछि (मंगलबार) नै जिल्ला अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ’, प्रहरी नायव उपरीक्षक पौडेलले भन्नुभयो । बाँकी ३२ जनालाई भने सामान्य सोधपुछ गरी आइन्दा यस्तो नखेल्ने÷नखेलाउने सर्तमा छाडिएको उहाँले जानकारी दिनुभयो ।

जाडपर्व नजिकिँदै गर्दा जुवातास खेल्ने खेलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न प्रहरी लागिपरेको उहाँको भनाइ थियो । दसैँ सकिएसँगै विष्फोटक पदार्थ पटका भित्रिने हुँदा त्यसतर्फसमेत प्रहरी सचेत रहेको उहाँको भनाइ छ ।

प्रहरीले जिल्ला भित्रिने नाकामा सवारी चेकजाँचलाई समेत कडा पारेको छ । चितवनको लोथर, नारायणी पुल तथा माडी क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

नाकाहरुमा कडाका साथ चेकजाँच

‘विष्फोटक पदार्थ भित्रिने सम्भावित नाकाहरु लोथर, नारायणी पुल र माडी क्षेत्रमा कडाइका साथ कारबाहीलाई अगाडि बढाइएको छ’, प्रहरी नायव उपरीक्षक पौडेलले भन्नुभयो । चाडपर्वका बेला चोरी डकैतीका घटना बढ्ने हुँदा साधा पोसाकका प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षकको नेतृत्वमा साधा पोसाकका प्रहरी परिचालन गरेको उहाँले बताउनुभयो ।

यता, प्रहरीले तिहारलाई मध्यनजर गरी विशेष सुरक्षा योजना लागू गरेको छ । हरेक प्रहरी दैनिक १८ घण्टा खटिने भन्दै त्यसका लागि हरेक जवान फरक लक्ष्यका साथ उत्रिने उहाँको भनाइ छ । ‘हामी ‘वान् मेन वान् टिम, वान् मिसन’को नाराका साथ काम गर्दैछौँ’, पौडेलले थप्नुभयो, ‘त्यसका लागि हामी चौबीसै घण्टा खटिन तयार छाँै ।’

चोरीको मोटरसाइकलसहित दुइ पक्राउ


त्यस्तै प्रहरीले चोरीको मोटरसाइकलसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ । गत असोज २८ गते भरतपुर बेलटाँडीबाट चोरी भएको केदार सिवाकोटीको नाममा रहेको ना १२ प २२५८ नम्बरका मोटरसाइकलसहित भरतपुर–११ बस्ने १६ वर्षीय निशान राई र भरतपुर–५ बस्ने २८ वर्षीय विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

४१ चालक कारवाहीमा पौने दुई लाख राजस्व

यता, सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सावारी नियम उल्लङ्घन गर्ने एक हजार ४१ जना चालकलाई कारबाही गरेको छ । उनीहरुबाट कार्यालयले एक लाख ७१ हजार ६५० रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले जानकारी दिनुभयो । सोही अवधिमा ६१ जना ‘मापसे’ काराबाहीमा परेको समेत उहाँले जानकारी दिनुभयो ।

अन्य १० दिनको तुलनामा चितवन भएर चल्ने यातायातका साधनहरु दसैँको १० दिनमा बढेको उहाँले जानकारी दिनुभयो । दैनिकजसो यस जिल्लाबाट करिब छ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गरेको उहाँको भनाइ थियो ।


दस युवा दैनिक तारेखमा   

भरतपुर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा दस जना युवाहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले दैनिक हाजिरी तारेख तोकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार थापाले भन्नुभयो, ‘आपराधिक गतिविधिमा संलग्न दस जना डन भनिने फ्याउरे गुण्डाहरु अहिले हामीकँहा दैनिक तारेख धाइरहेका छन् ।’

यसरी दैनिक तारेख धाउनेहरुमा नीति राई, कुमार गुरुङ, सन्तोष गुरुङ, सञ्जीव लामा, उमेश कोइराला, सुरज शाही, प्रकाश गुरुङ, विनय लामा, गगन केसी, र मनोज तामाङ रहेका छन् ।

यसअघि जिल्लामा आपराधिक घटना गराई गुण्डागर्दी मच्चाउने आरोप लागेका उल्लेखित व्यक्तिहरुबाट कुनै थप घटना नदोहोरियोस् भन्नका लागि दैनिक तारेख तोकिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यी नाम गरेका व्यक्ति फ्याउरे गुण्डा हुन्, उनीहरुलाई डन भनेर उपाधि दिनु हास्यास्पद हुन्छ ।’ चितवनमा प्रहरी प्रमुख भएदेखि नै गुण्डागर्दी नियन्त्रणलाई मुख्य काम बताउँदै आउनुभएका प्रमुख थापाले आपराधिक गतिविधि गर्ने गराउने जोकोहीलाई प्रभाव र दबाबको भरमा नछाडिने बताउनुभयो ।




दशैँ पेश्की माग्दा बर्खास्तीमा परेका पत्रकारको पुनर्वहाली

भरतपुर । रेडियो त्रिवेणी १००.६ मेगाहर्ज बाट हटाइएका दुई पत्रकारहरुको पुर्नवहाली गर्न रेडियो सहमत भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको रोहवरमा उनीहरुलाई सोमबारबाटै काममा फर्कने वातावरण बनाउन सहमत रेडियो सञ्चालक सहमत भएको हो ।

दसैँ खर्चको विषयमा भएको विवाद पछि रेडियोले समाचार कक्षमा कार्यरत सुवाष पण्डित र अनिल ढकाललाई वर्खास्त गरेको थियो । सोही कारण रेडियो त्रिवेणीबाट हरेक राति आठ बजे प्रशारण हुँदै आएको त्रिवेणी व्रेकथ्रु समेत प्रशारण हुन सकेको थिएन् ।

रेडियो प्रशासन पत्रकार महासंघको हेल्प डेक्स पत्रकार तथा रेडियो सञ्चालक वीच सोमबार भएको वार्ता पछि रेडियमा रोकिएका कार्यक्रमलाई निरन्तरता दिनुका सासै कर्मचारी तथा पत्रकारलाई कुनै पनि बाधाअवरोध विना काम गर्ने÷गराउने सहमति भएको हो ।

त्यस्तै रेडियोमा कार्यरत सम्पूर्ण श्रमजीवि पत्रकारलाई नियमानुसार मंसिर महिनाभित्र चाडपर्व खर्च उपलव्ध गराउने, कात्तिक महिना भित्र नियुक्तिपत्र दिने तथा कामको जिम्मेवारी महासंघको रोहवरमा वितरण गर्ने र पत्रकार तथा व्यवस्थापकले श्रमजीवी पत्रकार ऐन अक्षरसः पालना गर्ने सहमति भएको छ ।

सहमति भए सँगै निलम्वनमा परेका पत्रकारहरु कार्यक्षेत्रमा लागेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले गरेको पत्रकार सम्मेलनमा भेटिएका पत्रकार ढकालले पुनवार्हाली सम्पूर्ण श्रमजीवी पत्रकारहरुको जित भएको प्रतिक्रिया दिनुभयो । पत्रकार निलम्वन गरेको घटनाको सर्वत्र विरोध भएको थियो ।

पारिश्रमीक माग्दा निकालीए पत्रकार

चितवन । चितवनको रेडियो त्रिवेणीले दशैं पेश्की माग गर्ने श्रमजिवि पत्रकारहरुलाई कामबाट नै निकस्कासन गरेको छ । दशैं पेश्की माग गर्ने समाचार शाखा प्रमुख सुवास पण्डित र पत्रकार अनिल ढकाललाई रेडियो व्यवस्थापनले कामबाटै निस्कासन गरेको हो । आफूलाई ‘जनताको आवाज’ भन्ने रेडियो त्रिवेणीले वास्तविक जनताको आवाज बोल्ने रेडियो कार्यक्रम ‘त्रिवेणी व्रेक थ्रु’ प्रशारणमा समेत रोक लगाएको बताईएको छ ।
यसैबीच चितवनमा क्रियाशील पत्रकारसँग सम्बन्धित पेशागत संगठनहरुले सबै सञ्चार माध्यमहरुलाई श्रमजीबि पत्रकार ऐन तत्काल लागुगरी नियुक्तिपत्र दिएर मात्र काममा लगाउन माग गरेका छन् । आईतबार विहान बसेको चार संगठनको संयुक्त बैठकले दशै पेश्की माग गरेका भरतपुरस्थित रेडियो त्रिवेणीमा कार्यरत श्रमजीबि पत्रकारहरु सुवास पण्डित र अनिल ढकाललाई व्यवस्थापन पक्षले निष्काशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिना शर्त पुर्नबहाली गर्न माग गरेको छ ।
बैठक पछि प्रेश युनियन चितवन शाखाका अध्यक्ष बसन्त पराजुली, प्रेस चौतारी चितवन शाखाका अध्यक्ष शालिग्राम नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवन शाखाकी अध्यक्ष शान्ता अधिकारी र क्रान्तिकारी पत्रकार महासंघ चितवनका संयोजक नबराज ढकालले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा तत्काल पुर्नबहाली नभए श्रमजीबिका पक्षमा आन्दोलन गर्ने चेताबनी दिइएको छ । विज्ञप्तीमा दशै पेश्की नदिएका जिल्लाका सम्पूर्ण सञ्चारगृहलाई तत्काल नियमसंगत दशै भत्ता उपलब्ध गराउन माग गरिएको छ । रेडियो त्रिवेणीमा कार्यरत १४ जना सञ्चारकर्मीहरुले व्यवस्थापन पक्षले दशै पेश्की नदिएको भन्दै पत्रकार महासंघ चितवन शाखाले केही हप्ता अघि मात्रै पत्रकारहरुको गुनासो सुन्न र समाधान गर्नका लागि सञ्चालनमा ल्याएको हेल्प डेक्समा उजुरी दिएका थिए । महासंघमा उजुरी दिएको जानकारी पाएपछि व्यवस्थापनले कामबाट निकालेको सञ्चारकर्मी अनिल ढकालले जानकारी दिनुभयो ।
पत्रकारितासँग सम्बन्धित पेशागत संगठनहरुले नियुक्तिपत्र लिएर मात्र काम गर्न पनि श्रमजीविहरुलाई आग्रह गरेका छन् । बिज्ञप्तिमा श्रमजीबि पत्रकारहरुका मुद्दामा पत्रकारहरुका संघसंगठनहरुसँग सहकार्य गरेर अघि बढ्न नेपाल पत्रकार महासंघ चितवन शाखालाई आग्रह पनि गरिएको छ । श्रमजीबि पत्रकारहरुका बिरुद्ध श्रमजीबि पत्रकारहरुनै क्रियाशिल देखिएको भन्दै यसो नगर्न पनि बिज्ञप्ति मार्फत सचेत गराइएको छ ।

Saturday, October 20, 2012

साइवरलाइ इडीभी फारम भराउन भ्याइनभ्याइ


नारायणगढ । एकातिर आम नेपालीलाई दसैँ लागिरहेको छ भने अर्कातिर चितवनका साइवर तथा फोटो स्टुडियोलाई अमेरिकाको स्थायी बसोवासका लागि भरिने इलोक्ट्रोनिक डाइभर्सिटी भिजा (ईडीभी) फर्म भराउन भ्याइनभ्याई छ । अमेरिकाले हरेक वर्ष नेपाललगायतका मुलुकबाट स्थायी बसोवासका लागि ईडीभीको आवेदन खुल्ला गर्ने गर्दछ । 

वर्ष २०१३ को लागि यतिबेला आवेदन खुल्ला गरिएको छ । सर्वसाधारणले आफँै पनि आवेदन भर्न सक्ने भन्दै केही समयअगाडि अमेरिकन दूताबासले आवेदन फारम भराएवापत लिइने शुल्क रोक्न मागसहित नेपाल सरकारलाई आग्रह गरेको थियो । सोहीअनुरुप सरकारले पनि फारम भरेको शुल्क नलिन निर्देशन दिएको थियो । तर पनि उक्त निर्देशन चितवनका साइवर तथा कम्युनिकेसन सञ्चालक र फोटो स्टुडियोहरुले पालना गरेको पाइएको छैन । 

यता, उनीहरुले भने त्यस्तो अनावश्यक शुल्क नलिएको बताउँछन् । आफूहरुले न्यूनतम सेवा शूल्कमात्र लिएको उनीहरुको भनाइ छ । ‘हामीले फोटो खिचेको र फर्म भरेको इन्टरनेटको चार्जमात्र लिएका हाँै’, नारायणगढ पुलचोकमा रहेको मनाकामना कम्युनिकेसनका सञ्चालक यतीराज सापकोटाले भन्नुभयो, ‘ग्राहकले आफँैले भर्न नसक्दा हामीले सहयोग गरेका हाँै त्यो शुल्क त लिनै प¥यो नि ।’

चितवनमा कतिको संख्यामा पसलहरुले यस्तो फाराम भराउने गरेका छन् त्यस्तो आधिकारिक तथ्याङ्क भने छैन । चितवनमा सञ्चालनमा रहेका अधिकांश साइवर तथा कम्युनिकेसनले यो सेवा दिएको उहाँले जानकारी दिनुभयो । ‘कतिले यो काम गरेका छन् भन्न सक्ने अवस्था छैन्’, सापकोटाले भन्नुभयो । फोटो स्टुडियोहरुले समेत यो काम गर्ने गरेको उहाँको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालय भने यस्तो काम भएकोप्रति बेखबर छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले चितवनमा यस्तो काम भएकोबारे जानकारीमा नआएको बताउनुभयो । 

‘अहिलेसम्ममा त्यस्तो कुनै गुनासो आएको छैन, आए कारबाही गर्छाँै’, उहाँले भन्नुभयो । साइवर तथा फोटो स्टूडियोहरुले फोटो खिचेको शुल्क लिएका हुन सक्ने उहाँले बताउनुभयो । आफूले यस्तो काम गर्नेलाई कारबाही गर्ने भन्ने सुने पनि आधिकारिक निर्देशन भने नआएको उहाँको भनाइ थियो । 

‘केही पहिला यसबारेमा सञ्चारमाध्यमहरुबाट सुनेका थियाँै तर अहिलेसम्म आधिकारिक निर्देशन जिल्ला प्रशासन कार्यालयलाई आएको छैन’, स्थानीय बजार अनुगमन संयन्त्रका संयोजकसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो । 

यता, उपभोक्ताहरु भने आफँैले भर्दा नपर्ने हो कि भन्ने आशंकामा साइवरमा गएर भर्ने गरेको बताउँछन् । ईडीभी भर्न नारायणगढको साइवरमा आएका नवराज पाण्डेले घरमा नै नेट भए पनि साइवरदेखि भर्दा पक्का हुने भएकोले आएको बताउनुभयो । 

‘आफैले भर्दा केहो केहो यहाँदेखि भरे पर्छ कि भनेर आएको’, उहाँले भन्नुभयो । घरमा भर्दा फोटो नमिल्ने उहाँले बताउनुभयो । यहाँका साइवर सञ्चालक तथा फोटो स्टुडियोहरुले ईडीभी भरेको १५० देखि ४०० रुपैयाँसम्म लिने गरेका छन् । 


Friday, October 19, 2012

पोहोरको दसँै र फेरिएको मेरो परिचय ‘चेन स्मोकर अल्टर कान्छो’


यो सालको दसँै आगनमा आएको छ । सबैलाई दसैँको शुभकामना दिन चाहन्छु ।  सबैको घर घरमा सुख शान्ति र सम्वृद्धिको बास होस कामना छ मेरो । दसैँ आउँदा म अहिले पोहोरको दसैँलाई म सम्झि रहेको छु । जसले मेरो परिचय साथिहरुमाझ परिवर्तित गरिदियो ।

सबैले दसैँ भन्दा सम्झिने बस्तु भनेको रातो टिका, जमारा हो । त्यो भन्दा अर्काे पिङ् । त्यसभन्दा माथि उठेर हामी युवाहरुले सम्झने भने म्यारिज हो । तासका गड्डिसँगै म्यारिजको मस्तीमा रम्ने दिन हो दसैँ । सबै साथिलाई जुटाउने थलो हो तासको खाल । चाडका बेला सबै साथीहरु गाँउमा जम्मा भए पनि भेटघाट हुँदैनथ्यो मेरो अघिल्ला वर्षहरुमा तर पोहोर भने म सबै साथिको माझमा रहिरहेँ यसको श्रेय भनेको म्यारिजको खाल नै हो ।

सबैले भन्छन तास खेल्न हुँदैन घर बार जान्छ । म पनि यसलाई मान्छु । सानो सानो गर्दै गर्दा ठूलो जुवाडे बन्ने सम्भावना पनि रहन्छ । जुट पत्ति मैले सबै भन्दा बढि जानेको तासको खेल हो । त्यस पछि दैलामारा । याद छ मलाई सानोमा फाँट खुल्दा हाम्रो विद्यालयको वार्षिक परिक्षा पनि सकिएको हुन्थ्यो र एक दुई महिनाको छुट्टी पनि । अनि के नै चाहियो र साथिहरु जम्मा भयो विहान र वेलुका गोठालो बन्यो घरमा भएका पुरानो तासको गड्डी लियो अनि जुवाडे बन्यो । घरमा त्यही तास खेल्नका लागि म र मेरो दाईको कति पटक झगडा भएको छ गोठालो जान । मलाई थाहा छ त्यो भनेको गोठालो बन्न नभइ दैला पकड्न हो ।

याद आइरहेको छ । एक पटक बाहुन्ने हानेको । कोट त कति लाइयो कति खाइयो हेक्का नै छैन । म तासमा पैसाको खेलेर हारेको इतिहास नै नहोला भन्छु । किनकी म पैसाको तास भने पछि खेल्न साह्रै डराउने । त्यही भएर पनि होला मसँग दसैँ मा घर गएका वेला साथिहरुको जमघट नै त्यति हुँदैनथ्यो । मलाई अचम्म लाग्थ्यो यी केटाहरु कता जान्छन हँ । कोही नभए पछि एक्लै के गर्ने म पनि वल्लो पल्लो घरका साना केटाकेटी बटुलेर जुटपत्तिमा रमाउँथे ।

तर पोहोरको दसँै भने त्यस्तो भएन् । म साथिसँग भए वा साथिहरुसँग म भए । जे भने पनि उस्तै हो हामी सबै म्यारिजसँगै थियो । दिनभर रातभर । साथिहरुको नियम मलाई मन परेको के भने जसले जिते पनि बोकेर जान नपाउने । सबै सबैलाई खुवाउनु पर्ने अझ पार्टी दिनु पर्ने । कस्तो गजवको नियम यार ल । तैले जागिर खाएको हामीलाई पार्टि दिनुपर्छ भनेर हैरान पारेका थिए साथिहरु मलाई मैले पनि सोँचे यार यो पैसा त त्यसै खर्च हुने ने भयो । तास खेलेरै पैसा खर्च गर्ने हारे मेरो पार्टी त्यही हो भन्न पाइने जिते पनि मैले जितेको पैसाले पार्टि गरेको भन्न पाइने । गज्जवको जुक्ती निकालेँ । अनि म पनि बसेँ म्यारिजको खालमा । जानी नजानी । सुरु सुरुमा मा त म जितेर पनि हारेँ किनकी मलाई नियम नै थाहा थिएन् ।

पछि पछि त अलि भेउ पाउन थाले । माल हेर्न थाले पछि त के कहिले म्यारिज कहिले अल्टर केही न केही त हुने । पैसा सोहोर्न थाले । ल्याम्फेको टरेला पहिलो हातमा नै देखाँउदा विसको माल सेक्वन्स मिलाउँदै जाँदा म्यारिज फेरी १५ को माल अनी हातमा दुई वटा अल्टर के चाहियो । अरु माल कति थिए । त्यो लेखा जोखा भएन् । खेलमा जित्न त साथिले जित्यो तर के गर्ने पैसा पो मैले जिँते । अन्तिममा हिसाब गर्दा सबै माल मसँग मात्र । केहो एकैपटक साठिको माल हात पारेँ । होइन यो अल्टर नै रहेछ यार जतिखेर पनि अल्टर मात्र पारेको छ के हो ? एउटा मिल्ने साथिले भनि हाल्यो । अनि त के चाहियो मेरो परिचय नै फेरियो यार ‘अल्टर कान्छो’ । कान्छो किन भने म परिवारको कान्छो त्यही भएर ।

पोहोरको दसँैमा मैले जितेको अझ जागिर खाएको पार्टी दिनु नै थियो साथिहरुलाई दिनु त प¥यो । साथिहरुले मोज गरेर खाए मैले चुरोटको सर्काे नलिने मेरो अगाडि सबै डराउँथे तर पनि मलाई थाहा थियो साथिहरुले अलिअलि रमरम लिँदा धुवाँको नशा पनि लिने गर्छन् । यो पार्टिलाई धुँवा विना के खल्लो बनाईदिने । मगाए एक वट्टा सूर्य । अनि मैले नै खोक्दै सुरु गरेँ । त्यसपछि त साथिहरुलाई पनि के खोज्छस कानो आँखो भयो नी ? सबैले पिए लिए । मैले लिए अरे सबै भन्दा बढि भुसाहा । त्यही भन्दै थिए साथिहरु । नशामा भनेकी सद्देमा थाहा भएन ।

तर पनि मैले नखाएको पनि होइन खिल्लीहरु । ‘अल्टर कान्छो’ बनिसकेको म त्यसमा फेरी अर्काे विशेषण थपिदिए ‘चेन स्मोकर’ अनि भएँ ‘चेन स्मोकर अल्टर कान्छो’ साथिहरुले फोनमा खोजिरहेका छन् । के हो ‘चेन स्मोकर अल्टर कान्छो’ आउने होइन ? अरे यार आउँछु । मोज गर्नुपर्छ पोहोरको जस्तो परिचय नै फेरिने गरेर त होइन यार । ल ल म हिँड्दै छु यो लेख लेखर सकिए पछि अनि त साथिहरुसँगको भेट भइहाल्छ नी । गाँउका साथिहरुसँग त भेट हुने भयो यार तर फेरी दुःखको कुरा हरेक दिन अनलाइनमा भेटिने यी साथिहरुसँग भने एक हप्तालाई विदा माग्नै प¥यो । लहै साथिहरु अनलाइनको दुनियाँबाट म एक हप्ताको छुट्टिमा छु । गाउँमा राम्रोसँग नेटवर्क टिप्दैन् । टिपिहाले त भेट भइनै रहन्छ नभए एक हप्तालाई यो ‘चेन स्मोकर अल्टर कान्छो’ विदा हुन्छ है ।

चाडपर्वमा उच्च सुरक्षा सतर्कता

नारायणगढ । आपराधिक गतिविधिमा संलग्न तथा अपराध घटाउन सक्ने सम्भावित व्यक्तिहरुको नामावली आफूले सँगै लिएर हिँड्ने गरेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले बताउनुभएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल चितवन शाखाले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान एवम् ‘चाडपर्वमा जिल्लाको शान्ति सुरक्षा’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

आपराधिक घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सचेत रहेको उहाँले बताउनुभयो । ‘शान्ति सुरक्षाको प्रत्याभूति गराउनका लागि दिन रात खटिएका छौँ’, उहाँले भन्नुभयो, ‘प्रहरी प्रशासन चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनालाई टार्न लागी परेको छ ।’ चाडपर्वका बेला जिल्ला सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने उहाँको धारणा थियो ।

सबै सरकारी कार्यालयका गाडि प्रहरीले प्रयोग गर्ने

जिल्लाका सबै सरकारी पिकअप गाडी बिदाका बेला प्रहरीले गस्तीका लागि प्रयोग गर्ने उहाँले जानकारी गराउनुभयो । ‘शनिबारदेखि नै सम्पूर्ण सरकारी कार्यालयका गाडी प्रहरीको गस्तीका लागि प्रयोगमा ल्याइने छ’, प्रजिअ दवाडीले भन्नुभयो, ‘दिनमा आलोपालो गरेर सशस्त्र र जनपथ प्रहरीले एक÷एकवटा सरकारी कार्यालयका गाडी प्रयोग गरी गस्ती गर्ने छन् ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार थापाले कुनै पनि दल वा व्यक्तिको दाबाबमा आएर अपराधीलाई उम्कन नदिने दोहो¥याउनुभएको छ । उहाँले अहिलेसम्म त्यस्तो कुनै दबाबसमेत नआएको दावी गर्नुभयो ।

चितवनमा ठूला डन नै छैनन् ः एसपी थापा

चितवनमा कुनै पनि ठूला डनहरु नभएको उहाँको दावी थियो । ‘यहाँ मैले त्यस्ता कुनै पनि डनहरु पाइनँ’, उहाँले भन्नुभयो, ‘उनीहरु सबै सानातिना गुण्डाहरु हुन्, पाखा लाग्दै छन् ।’

चाडपर्वका बेला आपराधिक घटना हुनसक्ने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । ‘आपराधिक घटना हुने सम्भावित स्थानहरु सुन पसल, बैंक तथा मनि चेन्जरहरुमा सादा तथा पोसाकका प्रहरी परिचालन गरिएको छ’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो ।

दसैँ र तिहारलाई भनेर भारतीय बजारबाट विष्फोटक पदार्थ पटकालगायतका बस्तु भित्रन सक्ने हुँदा त्यसतर्फ प्रहरी सचेत रहेको उहाँको भनाइ थियो । ‘पटकालगायत विष्फोटक पदार्थ भित्रिने समय भएकोले हामी त्यसतर्फ सचेत छाँै’, उहाँले भन्नुभयो, ‘त्यसलाई नियन्त्रण गर्नका लागि राजमार्गमा भारतीय बोर्डरबाट आउने सवारी चेकजाँचलाई कडा पारेका छाँै ।’

राजमार्गमा यात्रु तथा सवारी लुटिने पनि उत्तिकै सम्भावनालाई ख्यालमा राख्दै राजमार्गमा सशस्त्र र जनपथको छुट्टाछुट्टै चेक प्वाइन्ट स्थापना गरेर चेकिङ भइरहेको उहाँले जानकारी दिनुभयो । दसैँ तथा तिहारलाई जुवातासमुक्त पार्ने उहाँको दावी थियो ।

दसैँ तिहारलाई जुवातासमुक्त बनाउँछाँै


‘दसैँ र तिहारलाई जुवातासमुक्त बनाउने अभियानमा छौँ, यहाँ गरिएको कडाइका कारण जुवाडेहरु बाहिरी जिल्लामा गएको सुनिएको छ तिनीहरुलाई त्यहाँका प्रहरीको सहयोगमा नियन्त्रण लिने छौँ’, उहाँको प्रतिबद्धता थियो ।

जनशक्ति कम हुँदा समस्या उत्पन्न भएको प्रहरी उपरीक्षक थापाको भनाइ थियो । ‘कम जनशक्ति छ, एक जना प्रहरीले एक हजार २२ जनसंख्या हेर्नुपर्ने बाध्यता छ’, उहाँले थप्नुभयो ‘तर पनि हामी सुरक्षाका विषयमा कुनै पनि सम्झौता गर्दैनौँ, पहिले १२ घण्टा खटिन्थ्यौँ अहिले १८ घण्टा ।’

यातायात व्यवसायीले यात्रीलाई ठग्ने गरेको गुनासो आएको भन्दै पुलचोक तथा बसपार्कमा प्रहरी परिचालन गरिएको थापाले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सहनलाल प्रधानलगायतले बोल्नुभएको थियो ।

संघका शाखा अध्यक्ष सूर्यप्रकाश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममाथि कार्यक्रमका संयोजक तथा संघका शाखा उपाध्यक्ष विनोदबाबु रिजालले प्रकाश पार्नुभएको थियो ।

प्रहरी पनि प्रतिबद्ध    

खैरहनी । खैरहनी उद्योग वाणिज्य संघले शुक्रबार चितवनका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत गरेको छ । पूर्वी चितवनको पर्सामा एक कार्यक्रमको आयोजना गरी भर्खरै जिल्लामा सरुवा भएर आएका प्रहरी उपरीक्षक दीपककुमार थापा र गढीमाई गण भण्डाराका गणपति गणेशबहादुर थापालाई स्वागत गरिएको हो ।

कार्यक्रममा जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न चितवनका प्रहरी प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक थापाले आफ्नो पहिलो प्राथमिकता चितवनमा बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्ने रहेको बताउनुभयो ।

जिल्लामा शान्ति सुरक्षा कायम गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उहा“ले गुण्डागर्दी धेरै दिन नटिक्ने बताउनुभयो । दलहरुले गुण्डाहरुलाई राजनीतिक संरक्षण दिइरहेको भन्दै उपरीक्षक थापाले त्यसलाई त्याग्न आग्रहसमेत गर्नुभयो । उहा“ले चाडपर्वलाई मध्यनजर गरी जिल्लामा सुरक्षा संयन्त्र कडा परिएको जानकारी दिनुभयो । 

त्यस्तै गढीमाई गण भण्डाराका गणपति गणेशबहादुर थापाले जनतालाई शान्ति सुरक्षाको महसुस गराउन आफूहरु पनि दिनरात खटिरहेको भन्दै नेपाल प्रहरीसँग मिलेर काम अघि बढाइरहेको बताउनुभयो । प्रहरीले मात्र अपराध न्यूनीकरण गर्न नसक्ने भएकाले सबै पक्षको समन्वयको आवश्यकता रहेकोमा थापाले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले चितवनमा रहेको प्रहरी प्रमुखहरुको टिम सक्षम भएको र समन्वय गरी अघि बढेकाले शान्ति सुरक्षामा कायम राख्न कुनै कसर बा“की नराखिने बताउनु भयो ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष केशवराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका गोपाल परियार, का“ग्रेसका भजनप्रसाद मुडवरी, एमालेका राजु सेढाईं, मालेका शिवप्रसाद खनिया, हिमालयन बैंक पर्र्सा शाखा प्रमुख शान्ता अधिकारी, उद्योग वाणिज्य संघ खैरहनीका सल्लाहकार समिति संयोजक राजेन्द्र बुर्लाकोटी, सदस्य प्रेम रिमाल, निवर्तमान अध्यक्ष बलराम अर्याललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


मासुको मूल्य घटाउन बाध्य भएका छन् ।

भरतपुर । उपभोक्ता, स्थानीय प्रशासन र भरतपुर नगरपालिकाले दबाब दिएपछि व्यवसायीहरु खसीको दुई दिनअघिमात्रै ५५० रुपैयाँ प्रतिकिलो मासु बिक्री गर्ने निर्णय गरेका व्यवसायीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा भएको त्रिपक्षीय वार्तामा मूल्य घटाउन सहमत भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीका अनुसार ५२५ रुपैयाँ प्रतिकिलोका दरले मासु बिक्री गर्ने सम्बन्धमा सहमति भएको छ । दुई दिनअघि व्यवसायीहरुले ५५० र ६०० रुपैयाँ गरी दुईथरि मूल्य कायम गरेका थिए । त्यसको उपभोक्ता अधिकार संरक्षण मञ्चलगायतले विरोध गर्दै आएका थिए ।

यसअघि भरतपुर नगरपालिकामा भएको त्रिपक्षीय वार्ता भने विनानिष्कर्ष टुंगिएपछि जिल्ला प्रहरी कार्यालयमा दोश्रो चरणको वार्ता भएको हो । वार्तामा जिल्ला प्रशासन कार्यालय, मासु व्यवसायी संघ र भरतपुर नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

दसँैको मुखमा व्यवसायीहरुले खसीको मासुमा मूल्यवृद्धि गरेपछि उपभोक्ताहरु आक्रोशित भएका थिए । उपभोक्ताहरुले शुक्रबारै भरतपुर–१० स्थित सिनर्जीचोकको मासु पसलमा राखिएको मूल्यसूची च्यातेर विरोध जनाएका थिए ।

यता, मासु व्यवसायीहरुले नारायणगढमा गरेको अनुगमन बालकुमारी मण्डी लम्बु मासु पसलबाट बाख्रीको मासु बिक्री गरेको फेला पारेको छ । खसीको भन्दै बाख्रीको मासु बिक्री गर्ने लम्बु आतहुसेनलाई प्रशासनको जिम्मा लगाइएको मासु व्यवसायी संघले जनाएको छ ।



Thursday, October 18, 2012

कसरी मनाउने खै देवहरुको विजय भएको मानेर यो दसँैलाई ?

विधुर ढकाल
नेपालीले बडादसैँ राम्रोसँग मनाउन नपाएको पनि अहिले करिब १८ वर्षभन्दा बढी भइसकेको छ । सम्पूर्ण नेपालीको चाहना सुन्दर, सुसंस्कृत नेपालमा नयाँ र लोकतान्त्रिक दसैँ मनाउने थियो तर पनि यो चाहना पूरा हुन सकेको छैन । दसैँ असुर शक्तिको पराजय तथा दैवी शक्तिको विजयका रुपमा मनाउने गरिन्छ । नेपालमा भने ठीक उल्टो भएको छ ।



नेपाली सबैले यसको उत्सव मनाउन पाउनुपर्छ तर यस्तो मान्यता राख्दैमा कहाँ पूरा हुन्छ र ? यहाँ कतिले आफ्ना वेदनाहरुका कारणले यसलाई ‘आयो र गयो’ का रुपमा मात्र लिएका छन् । नयाँ बिहानीको पर्खाइमा बसेकाहरुले कसरी बिहानी र दिनको उत्सव मनाउन सक्थे र ! त्यस्तै भएको छ दसैँ, नेपालीका लागि सुन्दर कल्पनामा हराएका मनहरु यतिबेला सुन्दरताको धरातलमा नपुग्दै भासिएका छन् अन्धकार भुमरीमा ।
खुशीका लागि घर बाहिरिएको छोरो आउने आशामा कयौँ आमाहरुले घटस्थापनाका दिन छरेका जमरा छोराको शिरमा चढाउन नपाउँदै ओइलिन थालेका छन् । कतिका खुशीका रङहरुले रङ्गिंने बेलामा ती बूढीआमा पीर र व्यथाले थला पर्दै छोरोले एक बचन ‘आमा ढोग छ है’ भन्ने–सुन्ने आशामा दमले घुट्किएका छन् । यस्तो बेलामा सहरमा बसेर गाउँलाई राज गर्नेलाई दसैँ आए पनि वास्तविक नेपालीलाई यो कसरी आउन सक्छ ?

मलाई सम्झना छ, अहिलेसम्म कति वर्ष भयो पल्लाघरकी आमाले दसैँमा जमरा छरेर कोजाग्रत पूर्णिमाका दिन घरछेउको जुठेल्नामा सेलाउने गरेकी ! उनलाई यो रहर पक्कै पनि थिएन नै होला । तर के गर्नु, आफ्नो बुढेसकालको सहारालाई पर्खंदा पर्खंदा टीकाको साइत नै बितिसक्छ । कति साइत बिते र अझ कति साइत बित्ने हुन्, थाहा छैन । ‘आमा, सुन्दर बिहानीका लागि जान्छु । म आउँदा सुन्दर बिहानी तिम्रो ओठमा मुस्कानसहितका लालिमा लिएर आउन छ’, भनेर गएका दाइ (उनका एकमात्र छोरा) ती वाणी मैले पनि त सम्झन्छु । न त तिनका छोरा नै आए, न त उनले कबुल गरेझैँ ती बूढीआमाको ओठमा लालिमासहितको बिहानी नै आयो, सब सपना सपनामात्र रहे ।

सपनाको सुन्दरतामा मात्र विलीन भएका कल्पनाहरुले ती आमाका आँखाका कापबाट सोझै चाउरिएका गालालाई स्पर्श गर्दै ओठलाई नुनिलो पार्दै आँसुहरु कति बगे, लेखाजोखा नै छैन । सायद आँसुको मूल नै रित्तियो कि राता आँखाबाट आँसु त झर्दैनन् तर पनि चाउरिएका गालामा आँसुले बनाएको बगर भने स्पष्ट नै देखिन्छ । यसपालिको दसैँमा पनि दाजु आउने सुर छैन । खोइ, उनको खबर ल्याएर कोही पनि आएन अहिलेसम्म । बिहानीपख सुकेको बाँसमा आएर कराउने कौवालाई उनले सधैँ नै हकार्ने गर्छिन् । मलाई थाहा छ, त्यो रिस कौवाप्रतिको होइन । उनको मातृत्व हो, आफ्नो एक्लो छोराप्रतिको स्नेह ।

आज कयौँ नेपाली आमाबाबाहरु आफ्नो गुमेको छोरोको प्रतीक्षामा बसेका छन् तर पनि उनीहरुको प्रतीक्षा व्यर्थ बनेको हो र त्यो व्यर्थ पनि छ । उनीहरुका लालाबालाहरु फर्केर नआउने निश्चित छ तर एउटा झीनो आशाको त्यान्द्रो लिएर बाँच्नुबेगर अन्य विकल्प नै के रह्यो र ! बेपत्ता छोरोभन्दा पहिले त उनीहरुलाई लिन मृत्यु आउने छ । हराएको छोरोको खोजीमा उनीहरुका कति दसैँ खाली निधार बिते, त्यसको मूल्याङ्कन कसले गर्ने !

याद आउँदा यदाकदा म पुग्छु ती बूढीआमाको घर, भक्कानिँदै उनी मलाई अँगालो हाल्छिन् । पहिले त मलाई केही सम्झाउने हिम्मत आउँथ्यो यो छ महिनामा, त्यो पनि हराएर गएको छ । ‘आमा सब ठीक हुन्छ ।’ मैले सम्झाउँदा उनले प्रश्न गर्थिन्, ‘खै के ठीक होला र बाबु ?’ ‘हुन्छ आमा, अवश्य हुन्छ ।’ मैले गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सम्झेर उनलाई सम्झाइरहेको हुन्थेँ । ‘बाबु, त्यो आउने छ । हुरी बनेर, तिमी पात बनेर पछ्याउने छौ ।’ यी तिनै आमाकी प्रतिनिधि पात्र हुन्, जसले आफ्ना सन्तानलाई सुन्दर बिहानीको कल्पनामा सपनाको क्रान्तिपुरूषको पछाडि पात बनेर पछ्याउन लगाएकी थिइन् । तर न त त्यो बिहानी आयो, न त पात बनेर पछ्याएको उनको छोरो नै फिर्ता भो ।

कस्तो विडम्बना, तिनै क्रान्तिवीरकी आमा नै आफ्नो हराएको छोरोको पछाडि दौडिरहेकी थिइन् । आज ती सुन्दर बिहानीको कल्पनाको खेती गर्ने क्रान्तिपुरूष कहाँ छन्, जसको पछाडि यी आमाले आफ्नो छोरोलाई हुरीको वेगमा पात सरी पछ्याउन प्रेरणा दिएकी थिइन् ! हिजो मलाई सम्झाउने ती आमालाई मैले सम्झाउन के हिम्मत राख्न सक्थेँ र ? यदि जेठ १४ को कालो रात नै आएको भए त त्यो पनि सम्भव हुने थियो होला तर त्यो आयो । सुन्दर बिहानीको पर्खाइमै बसेका नेपालीलाई कालो रातपछि बिहानी झुल्कन नै पाएन अनि यस्तो हालतमा कसरी मनाउने त देवहरुको विजय भएको दिन मानेर यी १० दिनलाई ! कसैसँग उत्तर होला ?
आमा त्यो आउँछ, जेठ १४ को मध्यरातपछि बिहानीमा नवकिरण लिएर तिम्रो चेहरामा नूतन लालिमा छर्दै भन्ने मेरा ओठ आज ती बूढीआमाको छेउ पर्नासाथ काँप्न थाल्छन् । अझ म नै पुग्न सक्दिनँ उनको छेउमा । मलाई याद यतिखेर के आएको छ भने ती आफ्नो सुन्दर बिहानीको कल्पनामा जीवनलाई लाहाछाप लगाएको दिन । आमा आउनुहोस्, एउटा सुन्दर बिहानीका लागि क्रान्तिपुरूषलाई अगाडि बढाउनुपर्छ । मेरो हात समाएर गएकी थिइन् उनी आफ्नो छोरो फिर्ता आउने आशमा बुथसम्म र डामेकी थिइन् स्वस्तिक छाप मतका रातो र नीलो पत्रमा तर खोइ ? मलाई अझ पनि याद छ, सुन्दर बिहानीको पर्खाइमा चार वर्ष बिताएकी ती आमाले फेरि १० दिनसम्म रमाउन पाउने कि नपाउने ? भन्ने प्रश्न जगजाहेर रहेको छ । यो दसैँ पनि त खाली निधार रहेर नै बित्ने भो ती आमाको ।

अहिलेसम्म पनि कयौँ बेपत्ताको अवस्था सार्वजनिक हुन सकेको छैन । हजारौँ सहिदको सपना साकार भएको छैन । सहिदका लालाबालाको चेहरामा खुसीको चमक नदेखिएको अवस्थामा दसैँको रौनकता कसरी आउन सक्छ हाम्रो गाँउमा ! घरमा पुगको बेला मलाई अर्काे प्रश्नले पनि सताइरहन्छ । ‘अंकल, मेरो बाबु कहिले आउनुहुन्छ ?’ एउटा अबोध बोलीले मलाई पछ्याइरहन्छ । यसको जवाफमा म के दिऊँ ? म आफैँलाई पनि थाहा छैन । तिम्रो बाबु सहिद भयो भनेर जवाफ दिने ठाउँ पनि मैले पाउन छाडेको छु, किनकि परिवर्तनका लागि भनेर आफ्नो प्राण उत्सर्ग गरेको मेरो साथी ! तर परिवर्तनको आभाष ती सिंदूर पुछिएकी भाउजूले गर्न पाएकी छैनन् भने कसरी सहिद भो भनौँ र !

‘बाबु, के यही हो र परिवर्तन भनेको ?’ यस्ता प्रश्नहरुले म थिचिन्छु, ममा सामथ्र्य नै छैन यी प्रश्नको रासबाट उम्किने । म आफैँले पनि जानेर वा नजानेर आफ्नो मनलाई पनि झूट बोलेको छु, कति पटक त मैले आफ्नै मनलाई पनि ढाँटेको छु । यही झूटको सपना मैले ती बूढीआमा, त्यो अबोध भतिज, ती भाउजूलाई पनि बाँडेकै हुँ, जानेर वा नजानेर । मैले पनि भनेकै हुँ– अब केही हुन्छ, केही सुधार हुन्छ । नेपाली सबैले कल्पना गरेकै हुन् । कुनै न कुनै ठाउँबाट, कुनै न कुनै कोणबाट हरेक नेपालीले कसै न कसैलाई यो झूट बोलेकै हुन् । त्यो झूट सायद झूटको रुपमा होइन, आफ्नो भित्री मनको चाहनाको रुपमा बाँडेका थिए । तर ती सुन्दर सपनाहरु बिपनामा परिणत हुन नपाउँदा तीतो यथार्थबीच सबैको मन खिन्नताले भरिएको छ । यस अवस्थामा दसैँको रौनक कति नै पो छाउन सक्छ र ? सपनाहरु पूरा हुँदा मनाउन चाड र सपनाहरु टुक्रिँदा आउने चाडहरुमा कतिको फरक हुन्छ, त्यो नेपालीले महसुस गरिरहेका छन् । सुन्दर सपनाको खोजीमा यथार्थको देशबाट सपनाको प्रदेशमा पसेका हाम्रा दाजुभाइ, दिदीबहिनीको बिछोडमा मनाउने दसैँमा के रौनक रहला र !

तर पनि कामना त गर्नु नै छ, ती सपनाको प्रदेशमा प्रदेशिएका हाम्रा चाहनाहरु फर्केर आउने छन् । यो विजयादशमीको नूतन बिहानीसँगै फेरि नेपालीले परिवर्तनको महसुस गर्न पाऊन्, यही कामना छ यतिबेला । ‘बाबु, तिम्रो बाबु सहिद भए यो देशका लागि– तिम्रो लागि, मेरा लागि, हामी सबैका लागि ।’ ‘आमा, दाजु महान् हुनुहुन्छ– हाम्रो खुसीका लागि, हाम्रा सपनालाई साकार पार्नका लागि ।’ यो भन्न पाऊँ, ‘भाउजू, तपाई महान् हुनुहुन्छ, दाजु परिवर्तनका संवाहक हुनुहुन्छ ।’ यो सालको दसैँमा सबैलाई शुभकामना छ मेरो । 

Wednesday, October 17, 2012

डिजिटल बन्दैछ प्रेम

विधुर ‘प्रिय सिर्जन’मेरी बूढी हजुरआमा मलाई भन्ने गर्थिन्
बाबु, प्रेम गरेर गरेको बिहे तँ सफल हुन्छ भन्ने नठान्
मेरो बिहे नि वाबु, तलाई थाहा छ
उनको मायालु काखमा लठ्ठिएर म सुनिरहेको हुन्थेँ
प्रेम त बाबु बिहेपछि आफैँ हुन्छ
मेरी आमा मलाई भन्ने गर्छिन्
बाबु, तिम्रो बा र म
एकै बिहेपछि प्रेममा बाँधिएका
पहिले न त उहाँले मलाई चिन्नुहुन्थ्यो
न त मैले नै उहाँलाई देखेकी थिएँ ।

प्रेम हुन बाबु पहिला मिलन हुनुपर्छ
अनि सम्झौता पनि

आठ वर्षको हुँदा बिहे भएका मेरा आमाबुबा
आज आफ्नो नाति खेलाउने उमेरका भइसके
आफैँमा केटाकेटी खेल खेल्दै झांगिएको उनीहरुको प्रेम
उनीहरुकै प्रेमका परिणामहरु हामी आज भन्छौँ
प्रेमपछि बिहे हुन्छ
बिहेपछि हुने कुराहरु पनि
हामी भन्छौँ, बिहेअगाडि नै जायज छ ।

आजभोलि हाम्रो प्रेम फेसबुक र र ट्वीटरबाट झांगिन्छ
तिनै फेसबुक र ट्वीटरबाटै बांगिन्छ र टाढिन्छ
र पनि भन्छौँ, बिहेअगाडि प्रेम हुनुपर्छ,
सायद यो हामीले बुझ्न सकेनौँ कि प्रेमको
लागि सम्झौता हुनुपर्छ
वा बुझ्न चाहेनौँ कि
विनासम्झौताको सम्बन्ध कहाँ हुन्छ र ?
म दोधारमा छु ।

हाम्रो प्रेम गर्ने शैली नै उत्तराधुनिक भयो कि ?
खै, यो कस्तो प्रेम हो !
प्रेममा त जीवन खोज्नुपर्ने हो
जीवनको अर्काे नाम नै प्रेम हो
तर हामी प्रेमलाई मृत्युसँग दाँजिरहेका छाँै,
तिम्रा लागि म मर्न पनि तयार छु
थाहा छैन मरेर उसलाई कसरी माया गर्छु !
प्रेम ज्योति हो, प्रकाश हो
हामी प्रेम गर्ने नाममा अन्धकारलाई अँगाल्न चाहन्छौँ ।
भन्छौँ, तिम्रा लागि आकाशको जून टिपिदिन्छु
अरे, खै के हो ! हामीले बुझ्न नसकेको कि के हो ?
आकाशको जून झारेर हामी सधैँ आँैसीमा किन बस्न चाहेको !


अझ हामी भन्छौँ समय बदलियो
अरे, समय बदलिएको कि हाम्रो सोच
हामी बदलिएको कि यो जमाना
सोच्दैछु, आज प्रेम पनि बदलिएको छ
प्रेमको परिभाषा नै बदलिएको छ,
आज डिस्को र बारमा झांगिन थालेको छ प्रेम
फेसबुक र च्याटमा टाँगिन थालेको छ प्रेम
समयसँगै सायद प्रेमको परिभाषा नै डिजिटल बन्दैछ
सायद हामी प्रेम गर्नेहरु पनि डिजिटल बन्दैछाँै कि
प्रेमलाई बदलेर !



खसीको मासुमा भारि मूल्यवृद्धि, उपभोक्ता मारमा

भरतपुर । दसँैको मुखैमा खसीको मासुमा भारि मूल्यवृद्धि गरिएको छ । साविकको भन्दा झण्डै एक सय रुपैयाँले खसीको मासुको भाउ बढेको हो । मूल्यवृद्धि भएपछि आमउपभोक्ता भने मर्कामा परेका छन् ।

हिजो बुधबारबाट नयाँ दरभाउ तोकिएको छ । खसी मासु व्यवसायीले एकतर्फी रुपमा भाउ निर्धारण गरी लागू हुने जनाएका छन् । नयाँ मूल्यअनुसार बोसोसहितको मासुको भाउ खुद्रा मूल्य ५५० र बोसोरहित मासुको भाउ ६०० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो वर्ष पनि साविकको भन्दा ६० रुपैयाँले भाउ बढेको थियो । ४०० रुपैयाँ रहेको मासु ६० रुपैयाँ वृद्धि गरी ४६० मा किनबेच भएको थियो । त्यस्तै बोसोरहित मासु ५०० किनबेच भएको थियो ।

एक हप्तामा ५०० खसी काटिने

चितवनमा हप्तामा ५०० संख्याको हाराहारीमा खसी काटिने गरेका छन् । चितवनमा उत्पादित खसीले एक हप्तालाई पनि नधान्ने व्यवासायीको भनाइ छ । अधिक संख्यामा खसी भारतबाट ल्याई काटिने गरेको व्यवसायी बताउँछन् । कुल ५० खसीमा एउटामात्रै स्थानीय खसी काटिने गरेको व्यवसायी बताउँछन् ।

भारतबाट ल्याइएको खसी यहाँको स्थानीय बजारमा काट्ने गरिएको छ । भारतीय मूल्य (आईसी) सटही दर बढेको र नेपालभित्रै पनि ढुवानी खर्च बढेको भन्दै खसी व्यापारीहरुले भने मासुको मूल्यवृद्धि गर्न आफूहरु बाध्य भएको बताएका छन् ।

मुल्यवृद्धिपछि मासु तथा होटल व्यवसायीबीच मतभेद

यसरी आकस्मीक रुपमा खसीको मासुको भाउमा वृद्धि भएपछि मासु व्यापारी र होटल व्यवसायीबीच मतभेद बढेको छ । व्यवसायीहरु एकआपसमा आरोप प्रत्यारोपमा उत्रनुका साथै आ–आफ्नो समर्थनका लागि प्रशासन धाउन थालेका छन् ।

उपभोक्ताको ढाडै सेकिने गरी चाडवाडको समयमा आकस्मिक रुपमा खसीको मासुको मूल्यवृद्धि हुँदा प्रशासनले भने वृद्धि नियन्त्रणका लागि कुनै कदम चालको छैन । मासुको अनुगमनका नाममा फिक्का अनुगमनमा व्यस्त प्रशासन, नगरपालिका र उपभोक्ता अधिकार संरक्षण मञ्च भाउ वृद्धिको सवालमा भने मौन देखिन्छन् ।

उता, मासुको अधिक खरिद गर्ने होटल व्यवसायीले भने मासु व्यवसायीसँग महँगोमा मासु किन्न नसकिने भन्दै मासु नकिन्ने जनाएका छन् । ‘मासुको भाउ बढेसँगै मासुजन्य जुनकुनै परिकारको पनि भाउ बढ्छ’, चितवन होटल व्यवसायी समितिका अध्यक्ष इमान्दु बरालले भन्नुभयो, ‘आखिर जताततैबाट उपभोक्ता नै मारमा पर्ने देखिन्छ ।’

मासुको भाउ आगामी छठ पर्वबाट बढाउन प्रस्ताव गरेपनि चाडपर्वको मौका छोपी मासु व्यवसायीले कालो धन्दा थालेको होटल व्यवसायीको आरोप छ । ‘मासु व्यवसायीको सरासर उपभोक्ता ठग्ने मनाशाय हो, जसरी हुन्छ यही बेलैमा धेरै पैसा कमाउ भन्ने हो’, होटल समितिका अध्यक्ष बरालले भन्नुभयो ।

अर्कोतर्फ मासु व्यवासायीले भने होटल व्यवसायीले सस्तोमा तर मिसावट मासु भएपनि हुन्छ भनी प्रतिक्रिया दिएको खसी मासु व्यवसायीका अध्यक्ष उद्धव तिमिल्सिनाले बताउनुभयो । गाउँघरबाट ३०० प्रतिकेजी जिउँदो खसी किन्दा ५५ प्रतिशत खुट्टा, टाउको आदिमा खेर जाने र बाँकी ४५ प्रतिशतले आफूहरुको लगानी नउठ्ने मासु व्यवसायीको भनाइ छ ।



पूर्वी चितवनका मासु पसलमा अनुगमन 


रत्ननगर । जिल्ला प्रसासन कार्यालय चितवनको टोलीले बुधबार पूर्वी चितवनका बजारहरुमा अनुगमन गरेको छ । टोलीले पूर्वी चितवनका रत्ननगरमा मासु पसल र पर्सा बजारमा किराना पसलमा अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बजार संरक्षण मञ्च, उपभोक्ता संरक्षण मञ्च, खाद्य निरीक्षण इकाइ समिति, जिल्ला पशुसेवा कार्यालय, रत्ननगर नगरपालिका, उद्योग वाणिज्य संघ रत्ननगरको संयुक्त टोलीले १८ वटा मासु पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा रत्ननगरको मासु पसलमा बाख्रा काटेर बेच्ने गरेको पाइएको उपभोक्ता संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

काटेर बेच्नका लागि राखेका तीनवटा बाख्रा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मा लगाइएको श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा रत्ननगरमा रहेका सबै मासु पसलहरुमा पूर्ण सरसफाइ नभएको पाइएको थियो ।

मासु पसलमा बाख्री

त्यस्तै केही पसलहरुमा तराजुमा घटबढ भएको, मूल्य सूची नराखिएको, बाख्री काट्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै अनुगमनको टोलीले मासु विक्रेताहरुले पालाना गर्नुपर्ने र पशुपंक्षी बधकर्ताहरुले पालना गर्नुपर्ने सर्त, मासु पसल निर्माण गर्दा हुनुपर्ने विषेशताहरु लेखिएका पम्प्लेट प्रत्येक मासु पसलमा टाँसिएको पौडेलले बताउनुभयो । उपभोक्ता एवम्र जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै थालिएको अनुगमनलाई निरन्तरता दिइने पौडेलले जानकारी दिनुभयो ।

यसैबीच खाद्य अनुगमन इकाइ समितिको टोलीले पर्साका विभिन्न थोक किराना पसलहरुमा पनि अनुगमन गरेको खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिनुभयो । अनुगमनका क्रममा किराना पसलहरुमा अखाद्य वस्तु मिसिएको सामान फेला परेको र फेला परेको सामानलाई नष्ट गरिएको देउजाले बताउनुभयो ।



नवलपरासीमा रुघाले बाख्रा मर्न थाले

कावासोती । नवलपरासीको रामनगरमा रुघाले धमाधम बाख्रा मर्न थालेका छन् ।

सामान्य रूपमा रुघा देखिएका बाख्राहरु बिस्तारै मर्न थालेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । डेढ महिनादेखि देखिएको यो रोग नियन्त्रण हुन नसक्दा महामारीको रूप लिन लागेको छ ।

बाख्रामा भाइरल देखिएकाले औषधि गर्दा पनि नियन्त्रणमा आउन कठिन भएको जिल्ला पशुसेवा कार्यालयका चिकित्सक डा उत्तम आचार्यले बताउनुभयो ।

रामनगरको साना किसान कृषि तथा पशु फार्ममा पालिएका बाख्रामा रुघा देखिएको हो । बिरामी परेका बाख्रालाई बचाउन कठिन भएको फार्मका सञ्चालक दामोदर लामिछानेले बताउनुभयो । बाख्रामा रातिराति भाइरल देखिने गरेको उहाँको भनाइ छ ।

यो फार्ममा मात्रै हालसम्म ५० वटा बाख्रा मरिसकेको सञ्चालक लामिछानेले बताउनुभयो । ‘अब बाख्रा मरे भने वरिपरी गाड्ने ठाउँसमेत खाली छैन’, उहाँले भन्नुभयो ।

भारतबाट ल्याइएका खसी बाख्राभन्दा नेपालका खसी बाख्रा स्याउला र स्थानीय दाना खुवाएकाले दरिला हुने भए पनि यस पटक बाख्रामा देखिएको रुघाखोकीले किसानलाई मर्का परेको छ । प्रतिकेजी रु २३० मा जीउँदो खसी बिक्री हुने गरेको अवस्थामा खसी बाख्रा बिरामी पर्न थालेपछि किसानहरु निराश बनेका छन् । रासस



गुण्डागर्दी नियन्त्रणमा दलले प्रहरी सघाउने

भरतपुर । चितवनका राजनीतिक दलहरुले जिल्लामा बढ्दै गएको गुण्डागर्दी लुटपाट तथा अपराधजन्य घटना घटाउने जोकोहीलाई पनि नियन्त्रण गर्नको लागि प्रहरीलाई सघाउने भएको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकले चाडपर्वको समयमा हुने लुटपाट, चोरी डकैती तथा अपराधजन्य कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिई कडा कारबाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेको छ ।

‘अपराधीको कुनै आस्था, धर्म नहुने भएकाले अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न पुनः प्रतिबद्ध जनाउँछौं’ बैठकपछि दलहरुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘भयरहित ढंगबाट चाडपर्व मनाउने वातावरण तयार गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दछौँ । त्यसको लागि दलहरुको प्रहरी प्रशासनलाई पूर्णरुपमा सहयोग हुन्छ ।’

बैठकमा उपस्थित एमाओवादीका जिल्ला इन्चार्ज घनश्याम दाहाल, काँग्रेस जिल्ला सभापति टेकप्रसाद गुरुङ, एमाले अध्यक्ष थपलिया, नेकपा माओवादी जिल्ला सेक्रेटरी मधुर नेपाल, माले जिल्ला सचिव पर्शुराम लामिछाने, राजमो अध्यक्ष मोहनमणि ढकाल, राप्रपा अध्यक्ष रामहरि कँडेल, राप्रपा नेपाल अध्यक्ष बद्री तिमिल्सिनाले संयुक्त विज्ञप्ति जारी गरी सो कुरा बताउनुभएको हो ।


Tuesday, October 16, 2012

नक्कली परिचयपत्र बनाउने पक्राउ

भरतपुर । भरतपुरका नाम चलेका कलेजको नक्कली विद्यार्थी परिचयपत्र बनाउने काममा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार भरतपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसअगाडि लिंक साइबरका सञ्चालक भरतपुर–११ का प्रदीप गौतम र बालकुमारी कलेजअगाडिको ज्ञानज्योति पुस्तक पसलका सञ्चालक खैरहनी–७ का शिव सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको साथबाट रंगीन प्रिन्टरसहित दुईथान कम्प्युटरसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच मादक पदार्थ सेवनविरुद्धको अभियानमा असोज महिनाभरि चितवनमा १३१ जना कारबाहीमा परेका छन् । प्रहरीले उनीहरुबाट एक लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रहरी सोही अवधिमा चितवनका विभिन्न स्थानमा अवैध रुपमा बिक्रीवितरणका लागि बनाएको एक हजार ८२० लिटर घरेलु मदिरा नष्ट गरेको समेत कार्यालयले जनाएको छ ।
तीन सय १६ चालक कारवाहीमा

त्यस्तै सोही महिनामा ट्राफिक प्रहरीसँगको सहकार्यमा गरिएको यातायात चेकजाँचका क्रममा ३१६ चालक कारबाहीमा परेको भट्टराईले जानकारी दिनुभयो । सोक्रममा ट्राफिक प्रहरीले पाँच लाख ५२ हजार २०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैबीच दसैँ तिहारको नाममा जुवा तास खेल्ने २० जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

गत महिना प्रहरीले अवैधरुपमा देहव्यापार सञ्चालन गराउँदै आएको अवस्थामा दुईवटा होटलका मालिकसहित चार पुरूष र पाँच जना महिलालाई नियन्त्रणमा लिई सार्वजनिक अपराधअन्तर्गत कारबाही चलाएको उहाँले बताउनुभयो ।
सामान चोरेको आरोपमा दुई पक्राउ

यसैबीच नवलपरासी जिल्लाको मुकुन्दुपुर गाविसस्थित जनशक्ति निमाविका विभिन्न सामान चोरेको आरोपमा दुई जना पक्राउ परेका छन् । विद्यालयको ढोका फोरेर कम्प्युटरलगायतका सामग्री चोरेर फरार भएकाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको इलका प्रहरीक कार्यालयका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा नवलपरासी जिल्लाको मुकुन्दपुर–१ बस्ने रमेश महतो र नवलपरासी जिल्लाकै अमरापुरी–४ बस्ने पारस महतो रहेका छन् । प्रहरीले उनीहरुसँग चोरी गरी लगेको सामान पनि बरामद गरेको छ ।

प्रहरी प्रमुख पाण्डेले पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गँैडाकोटले दसँै तिहारजस्ता ठूला चाडपर्व सुरू भएसँगै आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरी हबल्दार कारागार चलान

गैँडाकोट । नदीमा नुहाउँदै गरेकी महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

नवलपरासी जिल्लाको गैँडाकोट–२ बोटे टोलनजिकै नारायणी नदी किनारमा नुहाइरहेका महिलालाई धम्की देखाएर करणी गर्ने सशस्त्र प्रहरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय गँैडाकोटले मंगबलार पुर्पक्षका लागि जिल्ला कारगार नवलपरासी पठाएको हो ।

सीमा सुरक्षा कार्यालय आँपटारीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हबल्दार रमेशभगत माली र नवलपरासीको गैँडाकोट–२ बस्ने २९ वर्षका विष्णु शर्मालाई प्रहरीले सुराकीको आधारमा केही दिनअघि करणी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

पीडितका आफन्तले दिएको जाहेरीका आधारमा रमेशभगत माली र विष्णु शर्मालाई अनुसन्धानपछि जिल्ला कारागार पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । ती महिलाहरुलाई डर त्रास देखाउँदै दुबै जनाले पालैपालो करणी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘खाटको स्टेज’ निर्माण हुने

भरतपुर । स्वर्णिम बहुउद्देश्यीय समाज माडी चितवनले ‘खाटको स्टेज’ नामक वृत्तचित्र निमार्ण गर्ने भएको छ । मंगलबार भरतपुरमा विकास पाण्डेको गीतीसंग्रह ‘क्यान वी’ (हुन सक्छ) को प्रमोशनका लागि गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष विमल पौडेलले माडीमा समाज स्थापनादेखि यहाँसम्म आइपुग्न गरेका संघर्षका कथाहरुलाई वृत्तचित्रमा उतारिने बताउनुभयो । वृत्तचित्रको निर्देशन समाजका सदस्य सन्तमान प्रवीणले गर्ने बताइएको छ ।

वृत्तचित्रका लागि भनेर समाजले माडीमा नै अभिनय प्रशिक्षण दिइने जनाएको छ । माडीका चार गाविसका ४० जनालाई तालिम दिइने र त्यसबाट छानिएका पाँच जनालाई वृत्तचित्रमा अभिनयको मौका दिइने निर्देशक प्रवीणले जानकारी दिनुभयो ।

शैली थिएटरका नाट्य निर्देशक प्रेम पौडेलले तालिम दिने बताइएको छ । यसैबीच कार्यक्रममा बोल्दै नवोदित गायक पाण्डेले स्थानीय सञ्चारमाध्ययमहरुलाई गीतीसंग्रहको प्रसारप्रसारका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको थियो ।

Monday, October 15, 2012

अनुगमन टोलीद्वारा गुणस्तर मापनको धज्जी

नगरपालिकाका जिम्मेवार अधिकारी अनुपस्थित
भरतपुर । भरतपुर नगरपालिकाले थालेको मासु पसल अनुगमनमा नगरपालिकाका कर्मचारीहरु नै अनुपस्थित देखिएका छन् । गत २६ गते शुक्रबारबाट नगरपालिकाले थालेको अनुगमनलाई कार्यालयले निरन्तरता दिएको देखाउन खोजे पनि सोमबार भएको अनुगमनमा भने नगरपालिकाको तर्फबाट कुनै पनि कर्मचारी देखिएनन् । सिङ्गो भरतपुर नगरपालिकाको उपस्थिति नगर प्रहरीले गरेका थिए ।

भरतपुर नगर क्षेत्रभित्र दसैँ नजिकिँदै गर्दा थालिएको अनुगमन झारा टार्ने काममात्र भएको भान अनुगमनको सुरुवातको दिनदेखि नै भएको हो । नगरपालिकाले गुणस्तर कायम गर्न थालेको भनिएको अनुगमनमा हिँडेको टोलीले गुणस्तर मापनको धज्जी नै उडाएको विश्लेषकहरु बताउँछन् ।

अनुगमनका क्रममा टोलीले मासु पसलमा बासी मासु फेला पारे पनि कुनै कारबाही नै नगरी जुन अवस्थामा थियो त्यही अवस्थामा छाडेर हिँडेको हो । मासु पसलको फ्रिज खोलेर हेर्दा कुहिएको अवस्थामा मासु फेला परे पनि त्यसलाई नियन्त्रणमा लिएर नष्ट गर्नुका सट्टा त्यसलाई तपाईँ आफँै सफा गर्नुस् भनेर टोली फर्किएको हो ।
अनुगमन गरेका सबै पसल अवैध

त्यस्तै टोलीले अनुगमन गरेका सबै २१ मासु पसलहरु सरकारका कुनै पनि निकायमा दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । अनुगमनका लागि पुगेको टोलीले पसल सञ्चालकलाई दर्ता गर्न निर्देशन दिएर छाडेको छ ।

स्मरण रहोस्, चितवन पोष्ट राष्ट्रिय दैनिकमा पहिलो पटकको अनुगमनमा उठाएका अनुगमनको समयलाई यसपटक पनि टोलीले ख्याल गरेको पाइएन । बिहान र बेलुका सञ्चालनमा आउने मासु पसलहरुको अनुगमनका लागि मध्यान्हपछि मात्र टोली पुगेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलहरु स्वस्थ्य नभएको पाइएको छ । पशु बधस्थल फोहोर थियो । अनुगमन जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक नवीन देउजा, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा भएको थियो ।
नगरपालिका नै उपस्थित नहुनु दुर्भाग्य

भरतपुर नगरपालिकाको प्रतिनिधिको उपस्थिति नै नहुनु दुर्भाग्य भएको खाद्य निरीक्षक देउजाले बताउनुभयो । ‘नगरपालिकाको नेतृत्वमा गर्ने भनिएको अनुगमनमा नगरपालिकाका प्रमुख वा प्रतिनिधि त आउनु पर्ने हो नि ?’, उहाँले प्रश्न गर्नुभयो ।

भरतपुर नगरपालिकालाई पटकपटक खबर गरिए पनि उपस्थित नभएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘मैले पटकपटक फोन गरेको छु, नगर प्रहरी पठाएर झारा टार्ने काममात्र गरे’, उहाँले भन्नुभयो ।

पसलहरुमा खाद्य अनुगमन

यसैबीच जिल्ला प्रशासन कार्यालयको खाद्य निरीक्षण टोलीले नारायणगढका केही पसलहरुमा खाद्य अनुगमन गरेको छ । खाद्य निरीक्षक नवीन देउजासहितको टोलीले गरेको अनुगमनका क्रममा क्रेजी इन्टरप्राइजेज तथा जी एण्ड एस इन्टरप्राइजेज पोखरा बसपार्कबाट म्याद गुज्रेको स्टिम चाउमिन नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

त्यस्तै टोलीले लीलाचोकको शप एण्ड गो डिपार्टमेन्टल स्टोर्सबाट म्याद गुज्रेको पेप्सी, ड्रंक अमला जाम नियन्त्रणमा लिई नष्ट गरेको छ । सोही पसलबाट अखाद्य बस्तु मिसिएको आशंकामा खाद्य परीक्षणका लागि जीएमसी मसला उद्योगको यूगोल्ड मिक्स मसला नियन्त्रणमा लिएको छ ।

चितवनको ज्वरो ‘स्वाइन फ्लु’ भएको पुष्टि

भरतपुर । चितवनमा केही समययता फैलिएको उच्च ज्वरो स्वाइन फ्लु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनको टोलीले चितवनमा अनुगमन गरी नमुना रगत संकलन गरी परीक्षण गरेर चितवनमा स्वाइन फ्लु रहेको पुष्टि गरेको हो ।

यसअघि इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाले पनि चितवनमा स्वाइन फ्लु रहेको जनाएको थियो ।  स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरकै सबैभन्दा ठूलो निकाय विश्व स्वास्थ्य संगठनले पनि चितवनमा स्वाइन फ्लु भएको पुष्टि गरेको हो । अनुसन्धानको लागि हालै ज्वरोले चितवनमा १२ हजारभन्दा बढी प्रभावित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

जिल्लाभरी ज्वरो फैलिएपछि विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा ज्वरोको अध्ययन गरेको थियो । अध्ययनपछि अनुसन्धानका लागि ३२ वटा नमुना गत १६ गते परीक्षणका लागि प्रयोगशालामा लगिएको थियो ।
प्रयोगशालामा गरिएको अनुसन्धानअनुसार ३२ मध्ये दुईवटा नमुनामा इन्फ्लुयन्जा ए एचवान्एन्वान् अर्थात् स्वाइन फ्लुको भाइरस पाईएको हो ।

यस्तै ६ वटा नमुनामा इन्फ्लुयन्जा बी पोजेटिभ र दुईवटा नमुनामा ल्याप्टोस्पाईरोसिस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । चितवनका अस्पतालमा अहिले ज्वरोको उपचार गराउन आउने बिरामीको संख्या भने क्रमशः घट्दै गएको छ ।


Sunday, October 14, 2012

चाडपर्वमा पनि सुनचाँदी पसल सुनसान


नारायणगढ । अघिल्लो वर्ष यसै समयमा सुन प्रतितोला ३७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष उही समयमा सुनको भाउ बढेर प्रतितोला ५९ हजार ७ सय ५० पुगेको छ ।

यसमा झण्डै २२ हजार ५० रुपैयाँको फरक देखिन्छ । चाँदी प्रतिदस ग्रामको १ हजार ३७ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ तलमाथि हुँदा विश्व बजारमा नै सुनको कारोबारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।

ग्राहकको किन्ने क्षमता नबढ्नु तर सुनको भाउ भने दैनिकजसो लगातार उकालो लाग्दा ग्राहकहरु सुनचाँदी किन्न सकिरहेका छैनन् । बजारमा मागभन्दा कम सुन आउनु र पछिल्लो समय सुनको भाउ उच्च रहनुले व्यापारमा प्रभाव पारेको छ ।

नारायणगढमा हाल हप्तामा ४ किलोमात्र सुन आउने गरेको छ । नारायणगढ बजारमा सुनचाँदी किन्न नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्लाबाट ग्राहकहरु आउने गरेका छन् ।

चाडपर्वमा दिनमा विस किलो सम्म विक्थ्यो


त्यसो त गरगहनाको मारामार व्यापार हुने समयमा पनि नारायणगढका सुनचाँदी व्यवसायीहरु फूर्सदिला देखिन्छन्् । सुन किन्नका लागि ग्राहकहरु नआउँदा व्यवसायीहरु फुर्सदिला बनेका हुन् ।

अघिल्लो वर्ष चाडबाडको समयमा ग्राहकलाई सुन बेचेर भ्याइनभ्याइ हुन्थ्यो न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्यले भने, ‘यस वर्ष चाडबाडको समयमा पनि हामी फुर्सदिलो भएर बसेका छौं ।’

‘चाडबाडबाहेकका समयमा पनि दैनिक ५ किलो सुन किनबेच हुन्थ्यो र चाडबाडको समयमा १५ देखि २० किलोसम्म सुन किनबेच हुन्थ्यो तर अहिले चाडबाडको समयमा पनि कममात्र सुन किनबेच भएको छ’ नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष एवम् हालका केन्द्रीय सदस्यसमेत रहनुभएका शाक्यले बताउनुभयो ।

राज्यले सुन आयातमा कडाइ गरेपछि सुन व्यवसायीहरु चर्को मारमा परेका छन् । सिँगो नेपालमा हाल दैनिक १५ किलो मात्र सुन भित्रन्छ । यो पनि राजधानीमै खपत हुन्छ ।

यस्तै रहे व्यवसायबाट हात धुने पक्का


जसले राजधानी बाहिरका ठाउँमा सुन नपुग्दा व्यवसायीहरु चिन्तित बनेका छन् । ‘थप केही महिना यो अवस्था उस्तै रहे चितवनका मात्र एक दर्जन सुनचाँदी व्यवसायीले यो व्यवसायबाट हात धुने पक्का छ’, शाक्यले भन्नुभयो ।

सुनचाँदी कारोबारमा गिरावट आउनुमा देशको शान्ति सुरक्षाको अवस्था जिम्मेवार रहेको व्यवसायीको प्रतिक्रिया छ । ‘न सुन किनेर लगाउनेको सुरक्षा छ, न त सुन व्यवसायीको नै सुरक्षा छ’, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष विपिन रामुदामुले भन्नुभयो ।

राज्यले शान्ति सुरक्षाको प्रत्याभूत गर्न सकेमा मात्र पनि सुनचाँदीको व्यापार बढ्ने बु्रनाई सुनचाँदी पसलका सञ्चालक अर्जुन रसाइलीले बताउनुभयो । चितवन शाखाअन्तर्गत हाल तीन सय जति सुनचाँदी पसल सञ्चालनमा रहेको संघले जनाएको छ ।


नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी