Wednesday, October 17, 2012

खसीको मासुमा भारि मूल्यवृद्धि, उपभोक्ता मारमा

भरतपुर । दसँैको मुखैमा खसीको मासुमा भारि मूल्यवृद्धि गरिएको छ । साविकको भन्दा झण्डै एक सय रुपैयाँले खसीको मासुको भाउ बढेको हो । मूल्यवृद्धि भएपछि आमउपभोक्ता भने मर्कामा परेका छन् ।

हिजो बुधबारबाट नयाँ दरभाउ तोकिएको छ । खसी मासु व्यवसायीले एकतर्फी रुपमा भाउ निर्धारण गरी लागू हुने जनाएका छन् । नयाँ मूल्यअनुसार बोसोसहितको मासुको भाउ खुद्रा मूल्य ५५० र बोसोरहित मासुको भाउ ६०० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो वर्ष पनि साविकको भन्दा ६० रुपैयाँले भाउ बढेको थियो । ४०० रुपैयाँ रहेको मासु ६० रुपैयाँ वृद्धि गरी ४६० मा किनबेच भएको थियो । त्यस्तै बोसोरहित मासु ५०० किनबेच भएको थियो ।

एक हप्तामा ५०० खसी काटिने

चितवनमा हप्तामा ५०० संख्याको हाराहारीमा खसी काटिने गरेका छन् । चितवनमा उत्पादित खसीले एक हप्तालाई पनि नधान्ने व्यवासायीको भनाइ छ । अधिक संख्यामा खसी भारतबाट ल्याई काटिने गरेको व्यवसायी बताउँछन् । कुल ५० खसीमा एउटामात्रै स्थानीय खसी काटिने गरेको व्यवसायी बताउँछन् ।

भारतबाट ल्याइएको खसी यहाँको स्थानीय बजारमा काट्ने गरिएको छ । भारतीय मूल्य (आईसी) सटही दर बढेको र नेपालभित्रै पनि ढुवानी खर्च बढेको भन्दै खसी व्यापारीहरुले भने मासुको मूल्यवृद्धि गर्न आफूहरु बाध्य भएको बताएका छन् ।

मुल्यवृद्धिपछि मासु तथा होटल व्यवसायीबीच मतभेद

यसरी आकस्मीक रुपमा खसीको मासुको भाउमा वृद्धि भएपछि मासु व्यापारी र होटल व्यवसायीबीच मतभेद बढेको छ । व्यवसायीहरु एकआपसमा आरोप प्रत्यारोपमा उत्रनुका साथै आ–आफ्नो समर्थनका लागि प्रशासन धाउन थालेका छन् ।

उपभोक्ताको ढाडै सेकिने गरी चाडवाडको समयमा आकस्मिक रुपमा खसीको मासुको मूल्यवृद्धि हुँदा प्रशासनले भने वृद्धि नियन्त्रणका लागि कुनै कदम चालको छैन । मासुको अनुगमनका नाममा फिक्का अनुगमनमा व्यस्त प्रशासन, नगरपालिका र उपभोक्ता अधिकार संरक्षण मञ्च भाउ वृद्धिको सवालमा भने मौन देखिन्छन् ।

उता, मासुको अधिक खरिद गर्ने होटल व्यवसायीले भने मासु व्यवसायीसँग महँगोमा मासु किन्न नसकिने भन्दै मासु नकिन्ने जनाएका छन् । ‘मासुको भाउ बढेसँगै मासुजन्य जुनकुनै परिकारको पनि भाउ बढ्छ’, चितवन होटल व्यवसायी समितिका अध्यक्ष इमान्दु बरालले भन्नुभयो, ‘आखिर जताततैबाट उपभोक्ता नै मारमा पर्ने देखिन्छ ।’

मासुको भाउ आगामी छठ पर्वबाट बढाउन प्रस्ताव गरेपनि चाडपर्वको मौका छोपी मासु व्यवसायीले कालो धन्दा थालेको होटल व्यवसायीको आरोप छ । ‘मासु व्यवसायीको सरासर उपभोक्ता ठग्ने मनाशाय हो, जसरी हुन्छ यही बेलैमा धेरै पैसा कमाउ भन्ने हो’, होटल समितिका अध्यक्ष बरालले भन्नुभयो ।

अर्कोतर्फ मासु व्यवासायीले भने होटल व्यवसायीले सस्तोमा तर मिसावट मासु भएपनि हुन्छ भनी प्रतिक्रिया दिएको खसी मासु व्यवसायीका अध्यक्ष उद्धव तिमिल्सिनाले बताउनुभयो । गाउँघरबाट ३०० प्रतिकेजी जिउँदो खसी किन्दा ५५ प्रतिशत खुट्टा, टाउको आदिमा खेर जाने र बाँकी ४५ प्रतिशतले आफूहरुको लगानी नउठ्ने मासु व्यवसायीको भनाइ छ ।



पूर्वी चितवनका मासु पसलमा अनुगमन 


रत्ननगर । जिल्ला प्रसासन कार्यालय चितवनको टोलीले बुधबार पूर्वी चितवनका बजारहरुमा अनुगमन गरेको छ । टोलीले पूर्वी चितवनका रत्ननगरमा मासु पसल र पर्सा बजारमा किराना पसलमा अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बजार संरक्षण मञ्च, उपभोक्ता संरक्षण मञ्च, खाद्य निरीक्षण इकाइ समिति, जिल्ला पशुसेवा कार्यालय, रत्ननगर नगरपालिका, उद्योग वाणिज्य संघ रत्ननगरको संयुक्त टोलीले १८ वटा मासु पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा रत्ननगरको मासु पसलमा बाख्रा काटेर बेच्ने गरेको पाइएको उपभोक्ता संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

काटेर बेच्नका लागि राखेका तीनवटा बाख्रा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मा लगाइएको श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा रत्ननगरमा रहेका सबै मासु पसलहरुमा पूर्ण सरसफाइ नभएको पाइएको थियो ।

मासु पसलमा बाख्री

त्यस्तै केही पसलहरुमा तराजुमा घटबढ भएको, मूल्य सूची नराखिएको, बाख्री काट्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै अनुगमनको टोलीले मासु विक्रेताहरुले पालाना गर्नुपर्ने र पशुपंक्षी बधकर्ताहरुले पालना गर्नुपर्ने सर्त, मासु पसल निर्माण गर्दा हुनुपर्ने विषेशताहरु लेखिएका पम्प्लेट प्रत्येक मासु पसलमा टाँसिएको पौडेलले बताउनुभयो । उपभोक्ता एवम्र जनताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै थालिएको अनुगमनलाई निरन्तरता दिइने पौडेलले जानकारी दिनुभयो ।

यसैबीच खाद्य अनुगमन इकाइ समितिको टोलीले पर्साका विभिन्न थोक किराना पसलहरुमा पनि अनुगमन गरेको खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिनुभयो । अनुगमनका क्रममा किराना पसलहरुमा अखाद्य वस्तु मिसिएको सामान फेला परेको र फेला परेको सामानलाई नष्ट गरिएको देउजाले बताउनुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी