Thursday, June 12, 2014

थाहा छैन् म फेरी गाँउ फिर्छु या फिर्दिन्

विधुर ढकाल
हतारमा छु म
हतारमा छु म यतिवेला
यो शहरको भिडबाट गुज्रिरहेका मानिस जस्तै
सुन्दर सपना खोज्ने रहरमा राजधानी छिरेको
यो ठिटो
अनिश्चयको घेरमा बन्देज छ,
फेरी गाँउ फिर्छु या फिर्दिन् ।

राजधानीको धुलोमा नै विलिन हुँदै जाँदा सपना
राजधानीबाट पलायन हुने विरक्त विचारसँगै
गाँउ फिर्ने चाहना पनि मरेका छन् ।
हो आँमाको सपना बोकेर
बाबाको चाहना बोकेर छिरेको म
सपना पुरा नहुने संघारमा उभिँदा
चाहना पुरा नहुने जंघारमा फसिँदा
फेरि भाँसिने लालचले छोएरको छ
मरभुमीतिर ।

न्यूरोडका गल्लीमा हिड्ने युवतीका
सेता तिग्राहरुसँगै सपनाहरु भुलेको म
ठमेलका गल्लीहरुमा पुग्दै गर्दा
सोमरसको लतले झुलेको म,
रत्नपार्र्कमा यौवनलाई लिलाम गर्न
बसेका नगरबधुको यौनको ठेक्का बोल्दै गर्दा
फसेको म
फेरी आफ्नो धरातलमा फर्कन सक्छु या सक्दिन्
म फेरी गाँउ फिर्छु या फिर्दिन् ।
चाँदनीको उचाई नाप्न छिरेको म
यो राजधानी खाल्डोमा भाँसिदै गर्दा
गाँउमा सुकाइएका सपनाका विस्कुनहरु
एक–एक भँगेराले छिरोल्दै छन् ।
सायद गाँउमा म भाँसिदै गर्दा
भोकमरी लाग्ने छ ।
सपनामा देखेको
सिटामोलको ट्यावलेट नपाएर गाँउ नै लास बन्ने छ ।
तर पनि
भाँसिएको म फेरी उकासिन्छु या उकासिन्न,
थाहा छैन् म फेरी गाँउ फिर्छु या फिर्दिन् ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी