Wednesday, February 27, 2013

प्रन्या ज्यू आफ्नो छविमा राजनीतिक रंग दल्नु भो !

माननिय प्रधान न्यायाधीश ज्यू,
नमस्कार ।
जताततै तपार्इँकै चर्चा चलिरहेको समयमा म यती खेर तपाईँलाई आम जनताको रुपमा यो पत्र कोर्दै छु । समयले तपाईँलाई माग्यो या त समयसँग तपार्इँले माग्नुभयो यो त म जान्दीन तर पनि तपाईँसँग आमा जनताका दिमागमा केही प्रश्नहरु उव्जिएका छन । ती प्रश्नको जवाफको अपेक्षा गरेको छ तपाईँको यो शुभचिन्तक ।

देश अस्थिर भइरहेको अवस्थामा हामी नेपालीको मन पनि स्थिर छैन । कुन दिन नेपालीले आफ्नो भविष्यको सुनौलो विहानी देख्न पाउने हुन त्यसको पर्खाइमा बसिरहेका छन । सर्वाेच्च अदालतको नेतृत्व समालेर बसिरहनु भएको छ तपार्इँ । अहिले तपार्इँका पाउहरु सिँहदरबारको प्रधानमन्त्री कार्यालय तर्फ उचालिन लाइरहेका छन । बालवाटारको आलिसान महलतिर सोझिन लागेको छ । तपाईँलाई म शुभकामना दिन चाहन्छु । समस्याको समाधान तपार्इँबाट होस कामना पनि गर्न चाहन्छु । देशले निकास पाउने छ तपार्इँको नेतृत्वमा आम आशावादी नेपाली जनता यही आशाको त्यान्द्रो लिएर बस्दा म पनि त्यही आशामा छु । यद्यपी यहाँ तपार्इँलाई पत्र कोर्नुको तात्पर्य तपाईँलाई सुझाव दिन मात्रै होइन तपार्इँले आम नेपालीका केही यक्ष प्रश्नहरुको जवाफ दिनु छ ।
 
source : www.telegraphnepal.com

प्रधानन्यायाधीश ज्यू,
के नेपालमा यो पक्रिया सफल होला ? यो आम प्रश्न हो । अब न्याय दिनेले समेत राजनीतिमा हात हाले अन्यायीमा परेका पीडित नेपालीलाई न्याय कसले देला भन्ने चिन्ता हो मेरो । अब तपाईँ चाहेर पनि नचाहेर पनि अब सर्वाेच्चको प्रधानन्यायाधीशको हैसियतले काम गर्न सक्नुहुने छैन । आफ्नो छवि राजनीतिको छविमा तपार्इँले राजनीतिको रंग दलिसक्नुभएको छ । तपाईँले आँफै नहोल सही तर अरुले दल्न खोज्दा तपाईँ थापिनु भएकै हो । तपाईँले इच्छाएरै यस्तो भइरहे छ ।

बंगलादेशमा प्रयोगमा आएको यो केयर टेकर गभरर्मेण्ट नेपालमा कति सफल होला नहोला त्यो हेर्न बाँकि छ । लामो समयको राजनीतिक सून्यता पछि त्यहाँको पार्टिले आन्दोलन गरेर सिटीजीको व्यवस्था संविधानमा गराएको थियो । नेपाली राजनेताहरुले पनि यही व्यवस्थालाई संविधान संसोधन गरेर ल्याउन चाहेका छन । उनीहरुले यो बुझेका छन कि छैनन् ? जुन पार्टिले जसको नेतृत्वमा बंगलादेशमा सीटीजीको व्यवस्था ल्याइएको थियो आज त्यही पार्टि त्यही नेताको नेतृत्वमा सरकार रहँदा यो व्यवस्थालाई त्यहाको अदालतले खारेज गरेको छ । यस्तो अवस्था नआओस भन्ने तर्फ म माननिय श्रीमानलाई ध्यानकेन्द्रीत गराउन चाहन्छु ।

बंगलादेशमा सन् १९९०मा तीन पार्टिको गठबन्धनले माग गरेपछि त्यहाँको सर्वाेच्च अदालतका प्रमुख न्यायाधीश सवुद्दिन अहमद सल्लाहाकार परिषद्को प्रमुखको रुपमा नियुक्त भए यो नै पहिलो केयर टेकर गभर्मेन्टको रुपमा देखिन्छ । त्यस्तै १९९६ मा बंगालादेशमा नै त्यहाँको संविधानको संसोधन गरेर यसको प्रावधानलाई स्थापना गरियो । यसपछि सन् १९९६ सँगै २००१  र २००८ मा त्यहाँ केयर टेकर गभर्मेन्टले निर्वाचन गराएको इतिहास छ । त्यही इतिहासलाई हेर्दा बंगलादेशमा अहिलेसम्म निर्वाचित सरकारले पुनः निर्वाचन गराएको देखिँदैन् । यसरी यो प्रावधानलाई संविधान संसोधन गर्न बाध्य पारेको दल बंगलादेश अवामी लिगकी नेतृ शेख हसिनाले सरकारको नेतृत्व समालिरहेको अवस्थामा उक्त प्रावधानलाई संविधान संसोधन गरि हटाइएको छ । अन्य देशमा असफल भएको उक्त परिपाटिलाई नेपालमा भित्राउँदै दलहरुले तपाईँलाई सरकारको ललिपप देखाएका छन । तपार्इँ त्यही ललिपप चुस्न खोज्दै हुनु हुन्छ । कतै तपाईँ आफ्नो अस्तित्वलाई धरापमा लागेर पद र मोहको जालमा त पर्दै हुनुहुुन्न ? यो प्रश्न हो तपाईँलाई ।

तपाईँले प्रधानमन्त्रीको लागि तयार हुदैँ गर्दा विरोधका आवाजहरु बाहिर आएका छन । ति आवाजहरुलाई तपार्इँले कसरी संवोधन गर्न सक्नुहोला यो आम जनलाई प्रतिक्षाको विषय हो जो मलाई पनि । नेपाल बार एसोसिएसनले तपाईँको यो कदमको विरोध गरिरहेका छ । तपाईँलाई सर्वाेच्चको न्यायिक आसनमा बस्ने नैतिक अधिकार समेत नरहेको प्रश्न उठिरहेको छ ।

प्रधानन्यायाधीश ज्यू,
तपाईँले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सफल हुनुहोला त्या आफ्नो ठाँउमा छ तर पनि चारैतिरबाट विरोधका स्वरहरु उठिरहेको सन्दर्भमा तपाईँले  पूर्ण साथ पाउनुहुने छ भन्नेमा म चाँहि सशसंकित नै छु । तपाईँलाई सफलताको शुभकामना त दिन चाहन्छु । यसबेलामा राजनीतिक मुद्दाहरुको छिनोफानो भएको छैन । तपाईँले गराएको निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिहरुले पनि नेपाललाई नयाँ संविधान दिने कुरामा शंका नै छ । राजनीतिको खिचातानीबाट तपार्इँले मुक्ति पाउनुहोस यही शुभकामना ।
बाँकि अर्काे पत्रमा लेख्नेछु उही तपार्इँको शुभचिन्तक अल्टर कान्छो ।

Monday, February 18, 2013

सरकारले बनाएको प्रस्तावको प्रमुख अंश जस्ताको त्यस्तै

ब्यवस्थापिका संसद नभएको अवस्थामा संविधानसभा निर्वाचन गराउन, सर्वोच्च अदालतका  न्यायाधीश, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुन्धान आयोग लगायत बिभिन्न देशमा राजदुत नियुक्ती गर्न अन्तरिम संविधान २०६३ का बिभिन्न धारामा रहेको सवबैधानिक प्रावधानले बाधा अवरोध सृजना गरेकाले बाधा अड्काउ फुकाउन नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ बमोजिम देहायको बाधा अड्चन फुकाउने आदेश जारी भएको छ । 
 
१.  धारा ३३ को (क) मा ‘२०६४ साल भित्रमा संविधानसभाको चुनाव गर्ने’ उल्लेख भएकोमा “२०७० जेठ मसान्त सम्म अर्को संविधानसभाको निर्वाचन गराउने भन्ने उल्लेख गर्ने ।” 
 
२. धारा ३६ को (ग) मा ‘राष्ट्रपतिको पदावधि संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुने छ’ भन्ने उल्लेख भएकोमा अव “राष्ट्रपतिको पदावधि अर्को संविधानसभा गठन भई त्यसले संविधान जारी गरेर त्यो संविधान प्रारम्भ नभएसम्म हुने छ”  भन्ने ब्यवस्था गर्ने । 
 
३. धारा ३८ (१) मा ‘राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ’ भन्ने उल्लेख भएकोमा अव “राजनीतिक सहमतीका आधारमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने” उल्लेख गर्ने ।  
 
४. धारा ३८ (३) मा ‘अन्तरिम मन्त्रिपरिषद्को संरचना र कार्य बिभाजन आपसी सहमतिबाट तय गरिनेछ’ भन्ने उल्लेख भएकोमा “मन्त्रिपरिषद् अध्यक्षले मन्त्रिपरिषद् गठन र कार्यबिभाजन गर्ने” उल्लेख गर्ने । 
 
५. धारा ३८ (५) मा ‘प्रधानमन्त्रीले मन्त्री नियुक्ति गर्दा सम्बन्धित दलको सिफारिसमा व्यवस्थापिका संसदको सदस्यहरू मध्येबाट नियुक्ति गर्नु पर्नेछ’ भन्ने उल्लेख भएकोमा अब “मन्त्रिपरिषद्को अध्यक्षले मन्त्री नियुक्ति गर्ने” उल्लेख गर्ने । 
 
६. धारा ३८ (८) को (ग) मा सम्बन्धित दलको सिफारिसमा वा सम्बन्धित दलसँगको सल्लाहमा प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा मन्त्री। राज्यमन्त्री तथा सहायक मन्त्री पदबाट मुक्त रहने व्यवस्था भएकोमा अब त्यहाँ कुनै पनि दल सहभागि नहुने भएकोले “मन्त्रिपरिषद् अध्यक्षले मन्त्रीलाई पद मूक्त गर्न सक्ने” उल्लेख गर्ने । 
 
७.  प्रधानमन्त्री भन्ने शब्दले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि गठन हुने मन्त्रिपरिषद् अध्यक्षलाई समेत जनाउने छ । 
 
८. धारा ४३ (१) मा उल्लेख गरिएको “राजनीतिक दलको सहमतीको आधारमा” भन्ने शब्द हटाउने । 
 
९. भाग ७ मा “अर्को संविधानसभाको चुनाव गर्ने ब्यवस्था” उल्लेख गर्ने । 
 
१०. धारा ६३ (३) (क) मा “२०६४ सालमा निर्धारण भए बमोजिम २४० निर्वाचन क्षेत्र” नै कायम गर्ने ।
 
११. धारा ६३ (७) संविधानसभाको निर्वाचनको प्रयोजनको लागि सम्वत् २०६३ साल मंसिर मसान्तसम्म अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ’ भन्न्े उल्लेख भएकोमा अब, “२०६८ साल चैत्र मसान्तसम्म १८ बर्ष उमेर पूरा भएको नेपाली नागरिकले कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार पाउने” उल्लेख गर्ने । 
 
१२. धारा ६४ मा ‘संविधानसभाले प्रस्ताव पारित गरी अगावै विघटन गरेकोमा बाहेक संविधान सभाको कार्यकाल संविधान सभाको पहिलो बैठक बसेको मितिले दुई वर्षको हुनेछ । तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसकेमा संविधान सभाले प्रस्ताव पारित गरी संविधान सभाको कार्यकाल थप छ महिनासम्म बढाउन सक्नेछ’ भन्ने उल्लेख गरिएकोमा अब “संविधानसभाको कार्यकाल ५ बर्षको हुने । संविधान निर्माणको काम सकिए पछि ब्यवस्थापिका संसदको रुपमा स्वतहः रुपान्तरण हुने” उल्लेख गरिनेछ । 
 
१३. धारा १०६ (१) मा उल्लेख भएको ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन । तर नेपाल सरकारले न्याय परिषद्सँग परामर्श लिई सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिको लागि कानून वा न्याय सम्बन्धी अनुसन्धान, अन्वेषण वा राष्ट्रिय सरोकारको अन्य कुनै काममा खटाउन सक्नेछ ।’ ले प्रधानन्यायाधीशलाई अन्य जिम्मेवारी दिन बाधा परेकाले “संविधानसभाको निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि राजनीतिक सहमतिका आधारमा निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने” ब्यवस्था गर्ने । 
 
१४. धारा १०६ (२) सर्वोच्च अदालतका प्रधानन्यायाधिश र न्यायाधिश भइसकेको ब्यक्ति धारा  १३१ को (१) (क) बमोजिमको पद (राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तथा सदस्यको पद) मा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिको लागि ग्राह्य हुने छैन र निजले कुनै पनि अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्न पाउने छैन ।’ भन्ने व्यवस्था रहेकोमा “निजलाई राजनीतिक वा कानूनद्वारा योग्यता तोकिएको अन्य सरकारी पदमा समेत नियुक्ती गर्न सक्ने” उल्लेख गर्ने ।
 
१५. सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने मन्त्रिपरिषद्ले संविधानसभा चूनाव गराएपछि अर्को मन्त्रिपरिषद् गठन भएपछि निज आफ्नो साविकको प्रधानन्यायाधिशको पदमा फर्कने ।  
 
१६. धारा १४२ (५) मा ‘निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनको लागि कम्तीमा दस हजार मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन आवश्यक पर्नेछ । तर अन्तरिम व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरूको हकमा यो प्रावधान लागू हुने छैन’ भन्ने उल्लेख भएकोमा अब “अगामि संविधानसभाको चुनावको लागि तत्कालिन संविधानसभाका दलहरुले दश हजार हस्ताक्षर बुझाउनु नपर्ने” एललेख गर्ने । 
 
१७. धारा १४९ को उपधारा १ को (घ) मा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न बन्ने संवैधानिक परिषद्मा प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री सदस्य रहने’ व्यवस्था भएकोमा त्यसको सट्टा “मन्त्रिपरिषद्का अध्यक्षले तोकेका तीन मन्त्री रहने” उल्लेख गर्ने । 
 
१८. धारा १५५ को उपधारा १ मा ‘यस संविधान बमोजिम नियुक्त हुने संवैधानिक पदहरूमा नियुक्ति पूर्व निजहरूको कानूनमा व्यवस्था भए बमोजिम संसदीय सुनुवाइ हुनेछ’ भन्ने व्यवस्था भएकोमा “संविधान बमोजिम नियुक्ती गर्ने, संविधानसभा निर्वाचन व्यवस्थापिका संसदको रुपमा अधिबेशन प्रारम्भ भएको मितिले १ महिना भित्र व्यवस्थापिका संसदमा यस्ता नियुक्तिहरु प्रस्तुत गर्ने” कुरा उल्लेख गर्ने । 
 
१९. धारा १५८ बमोजिम यो आदेश अनुमोदन गराउन संवैधानिक बाधा उत्पन्न भएकोले यो आदेश अर्को संविधानसभाको निर्वाचन भई ब्यवस्थापिका संसदको रुपमा अधिवेशन प्रारम्भ भएको मितिले १ महिना भित्रमा व्यवस्थापिका संसदबाट अनुमोदन गराउने गरी जारी गरिएको छ । 

Source : Outline news service

Thursday, February 14, 2013

स्वतन्त्र पत्रकार संघका केन्द्रीय पदाधिकारी हेटौंडामा

हेटौँडा । स्वतन्त्र पत्रकारहरुको संस्था स्वतन्त्र पत्रकार संघ (आईजेए) केन्द्रीय पदाधिकारीसहितको टोली आज बीहिबार हेटौँडामा पुगेको छ । संघको मकवानपुर शाखाको प्रथम जिल्ला अधिवेशनमा सहभागिताका लागि टोली हेटौँडा पुगेकोे हो।  
संघको मकवनपुर शाखाको अधिवेशन भोली शुक्रबार हेटौंडामा हुँदै छ । माघ ७ गते सम्पन्न भेलाले सुरेश श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको समेत उपस्थितिमा भोली प्रथम जिल्ला अधिवेशन हुन लागेको हो ।

जिल्लामा क्रियाशील दुई दर्जनभन्दा बढी स्वतन्त्र पत्रकारलाई संगठित गराउन अधिवेशनले वैधानिकता प्रदान गर्ने संयोजक श्रेष्ठले बताउनुभयो । मंसिरमा पोखरामा पहिलो अधिवेशन सम्पन्न गरेको स्वतन्त्र पत्रकार संघको मकवानपुर नवौं जिल्ला शाखा हो । अधिवेशनका लागि अध्यक्ष कृष्णप्रसाद बास्तोला, उपाध्यक्ष विवि आले सिन्धुलीया, महासचिव कमल पौडेल अथक, सचिव नन्दराम पौडेल, कोषाध्यक्ष दिनानाथ बराल, मध्यमाञ्चल संयोजक राजेश घिमिरे, केन्द्रीय सदस्यहरु तारा शर्मा, राजेन्द्रजंग रायमाझी, सुरज पौडेल, विधुर ढकाल, चितवन शाखा अध्यक्ष सुर्यप्रकाश क“डेल बिहीबार सा“झै हेटौंडा पुगेका हुन् ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको उपस्थितिका साथै केन्द्रीय समितिको बैठक समेत आजै हेटौंडामा सम्पन्न भएको छ । बैठकले श्रमजीवि पत्रकारहरुको जिउधनको सुरक्षाका साथै राजनीतिक संकट समाधानकालागि सरकार तथा राजनीतिक दल गंभिर बन्नुपर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष बास्तोलाले जानकारी दिए । साथै वैठकले वार्षीक कार्ययोजना समेत तयार गरेको छ । 

Wednesday, February 13, 2013

हाम्रो प्रेमका बारेमा इतिहासकारहरुले ठेली तयार पार्नेछन्

च्याटमा भेटिएकी भर्चुअल प्रेमिका,
प्रेमदिवसको अवसरमा लाखलाख शुभकामना स्वीकार ल..!
हाम्रो भेटको पहिलो वर्ष नाघ्यो आजको यो दिनसँगै । हाम्रो भेट हुँदा त्यो दिन म च्याटमा मस्त थिएँ । तिमी पनि अनलाइनमा रमिरहेकी रहिछ्यौ । फेसबुकमा नोटिसिफिकेसन आउँदा म झुक्किँए । तिमीले मलाई साथी बनाएकी रहिछ्यौ । मैले पनि स्वीकार गरेँ । त्यतिले मात्र पुगेन, ट्वीटरमा पनि मलाई फलो गरिछ्यौ । मैले पनि फलो ब्याक गरेँ । यो वर्षदिनको यात्रा कति चाँडो बितेछ ! न त हाम्रो भेट नै भएको हो, न त प्रत्यक्ष कुराकानी नै । खाली अनलाइनमा टुटेफुटेका रोमन अक्षरहरुको साक्षात्कारले झांगिएको हाम्रो स्नेह आज अर्काे भ्यालेन्टाइन डेसम्म आइपुगेको छ । तिमीलाई शुभकामना यो दिनको साथै, हाम्रो सम्बन्धको वर्षगाँठको पनि ।

कसरी होला भेट, त्यो थाहा छैन तर पनि हाम्रो सम्बन्धले पार गरेको यो दूरी अझै पर पुग्नेछ भन्ने आज आएको अर्काे भ्यालेन्टाइनले मलाई आश जगाएको छ । तिमीलाई पनि यो महसुस भएको होला । फेसबुकको च्याटबाट भएको वार्तालापले नपुगेर आज यो पत्र कोर्दैछु, अन्यथा नलिनू ल...! सायद, प्रेम प्रकट गर्न फेसबुक च्याटले पुगेन होला । ट्वीटरमा मेन्सिँदा पनि १४० अक्षरले मनका सारा भाव व्यक्त भएनन् होला, र त यो पत्र कोर्ने कष्ट गर्दैछु ।

सायद प्रेमपत्र कोर्नुको मज्जा बेग्लै भएर पनि होला र यो पनि होला मनका सबै कुरा निर्धक्क व्यक्त गर्न पनि सकिन्छ भनेर । थाहा छैन, तर पनि कोर्दैछु । पत्रको जवाफ अवश्य पनि पाउने छु । भन्छन्, प्रेमदिवसमा राखिएको प्रस्ताव अस्वीकृत हुँदैन, तर पनि मनमा धक राखेरै पनि पत्र कोर्ने जमर्काे गरेको छु ।

अनलाइनमा तिमीले मलाई सम्बोधन गर्ने शब्द सोच्छु र कल्पना गर्छु, यही त हो नि माया ! सायद, तिमी र मबीचमा अहिलेसम्म अघोषित रुपमा प्रेमको सफर भइरहेको छ । यही सफरलाई एउटा परिभाषाको दायरामा पु¥याउने प्रयास हो । हुन त, म को हुँ ? मेरो पूर्ण परिचय तिमीलाई सायदै थाहा होला । मलाई पनि तिमी को हौ ? तिम्रो वास्तविकता मलाई पनि सायदै थाहा छ । तर, पनि अहिलेसम्म हामी एकअर्काबीच भर्चुअल प्रेमी र प्रेमिकाका रुपमा फेसबुकको च्याटमा रह्यौँ । ट्वीटरको प्राइभेट म्यासेजमा रह्यौँ । तिमीसँग कति बातचित हुँदा च्याटमा न तिमीले मेरो सम्पर्क नम्बर नै माग्यौ, न मैले नै तिम्रो मागेँ । न तिमीले म कस्तो छु जान्न नै चाह्यौ, न मैले नै । तर, पनि हामीबीचको यो सम्बन्ध कति नजिकको भयो भन्ने फेसबुकमा गरिएका कमेन्टले पनि झल्काउँछ । ट्वीटरमा मेन्सिएका ट्वीटले पनि जनाउँछ, हाम्रो सामिप्यता ।

सायद, यो एक वर्षमा त्यस्तो कुनै दिन होला, जुन दिन तिम्रो र मेरो च्याट नभएको होस् ! तिमी भन्ने गथ्र्यौ तिमीसँग च्याट नगरी मलाई निद्रादेवीले पनि माया गर्दिनन् । मलाई पनि त त्यस्तै हुन्छ । कुनै दिन लोडसेडिङले हाम्रो भेट हुन दिएन भने र कुनै दिन इन्टरनेट स्लो भएर कुरा हुन पाएन भने कस्तो हुन्थ्यो तिमी र मलाई ? यहाँ के वर्णन गर्नु छ र ! समयमा तिमीसँग बातचित गर्न नपाउँदा कहिले विद्युत् प्राधिकरणलाई सराप्ने तिमी अनि कहिले म नेपाल टेलिकमलाई सराप्ने गथ्र्यौं नि होइन ? सायद यसलाई नै माया भन्ने गरिन्छ होला ! कस्तो सम्बन्धको सुरूवात भएको हो हाम्रो, कसरी र कुन प्रसंगमा भेट भो अनलाइनमा र कसरी सम्बन्ध बढ्यो, त्यो अहिले पनि म सम्झना गरिरहेको छु । तिमी अल्टर भन्दै सम्बोधन गर्दा मायालु पाराले म फुरूङ्ग ! तिमी मलाई जिस्काइरहेकी हुन्थ्यौँ, म त्यसै मख्ख परिरहेको हुन्थेँ ।

सायद हामीबीचको सम्बन्ध तिम्रो र मेरो भेट भएको भए यति धेरै झाङ्गिने र यति प्रगाढ पनि हुने थिएन होला, अहिले जुन सामिप्यता हाम्रो सम्बन्धले पाएको छ । सायद हाम्रो भूगोलको दूरी टाढा होला, हामी जुन र जस्तो दुनियाँबाट सम्पर्कमा छौँ, तर हाम्रो सम्बन्धको प्रगाढता ल्याइदिने यो सामाजिक सञ्जाललाई धन्यवाद दिनैपर्छ । फेरि यो व्यवस्था नभएको भए हाम्रो दुनियाँ जसरी एक वर्षभन्दा अगाडि फरक थियो, त्यस्तै फरक अहिले पनि हुने थियो । यो भर्चुअल दुनियाँमा तिम्रो र मेरो सम्बन्ध एक भर्चुअल प्रेमी र प्रेमिकाका रुपमा स्थापित भएको छ । त्यही सम्बन्धको विधिवत् रुपमा उद्घाटन गर्न चाहेको छु, म । तिम्रो सामु न त म यतिबेला कुनै गुलाबको साक्षात् थुँगा नै चढाउन सक्छु, खाली चढाउन सक्छु त अनलाइनकै भर्चुअल गुलाब अर्थात् मायाका चुम्बनहरु । यो भर्चुअल सम्बन्धले अजरता पाउने छ भन्ने आशा छ । सम्बन्धको अजरताका लागि तिमीसँगै जीवनभरको यो भर्चुअल सम्बन्धका लागि प्रस्ताव राख्दैछु, स्वीकार ल...!

सायद, मैले चाहेँ भने र तिमीले पनि चाह्यौ भने हाम्रो भर्चुअल प्रेम रियल प्रेममा बदलिन पनि सक्छ, तर पनि म चाहन्नँ कि हाम्रो माया रियल होस् । तिमीले पनि त्यस्तै चाहेकी छौ । हाम्रो माया भर्चुअलिटीमा नै पवित्र छ । सायद, हाम्रो मायालाई रियालिटीतर्फको गोरेटोमा डो¥याउन खोज्यौ भने अहिलेको पवित्रता हामीले गुमाउँदै जान्छौँ होला र हाम्रो सम्बन्धको प्रगाढता पनि घट्दै जान्छ होला ! त्यसैले पनि म चाहन्नँ, हाम्रो मायाले यो प्रगाढता गुमाओस्, पवित्रता गुमाओस् अनि तिम्रो पनि चाहना त्यही हो । तिमीले पनि सुनेकी छौ र मैले पनि नसुनेको कहाँ हो र ! हिजो भर्चुअल दुनियाँमा भेटिएका नवयुवायुवतीहरु आज रियल प्रेमको रंगमञ्चमा मञ्चिन पुग्छन् । यौनको समागमबाट तिर्खा मेटाएपछि रियल प्रेम भन्नेहरु नै प्रेम धोखा हो, प्रेम कसैले पनि नगर भन्दै दर्शन छाँट्दै हिड्छन्, पवित्र प्रेमको खिल्ली उडाउँदै । त्यसैले, हामी त्यस्तो गर्न सक्दैनौँ, किनकि हाम्रो पवित्र प्रेम भर्चुअलमा नै रमाइरहेको छ ।

तिमी र म आज यो दिवसको दिन कसम खाऊँ कि हाम्रो प्रेम आजको दुनियाँका लागि एउटा पवित्र प्रेमको उदाहरण हुनेछ र भोलिका प्रेमीप्रेमिकाहरुलाई नमुना हुनेछ । हाम्रो प्रेमका बारेमा इतिहासकारहरुले इतिहासका ठेली तयार पार्न सकून् । साहित्यकारहरुले लाखौँ सिर्जना कोर्न सकून् । प्राध्यापकहरु थेसिसका विषयहरु छनोट गर्न सकून् । त्यसैले त मेरी भर्चुअल प्रेमिका, तिमीलाई यो प्रेमदिवसको अवसरमा भर्चुअल प्रेमका लागि यो प्रेमपत्र भेटीका रुपमा चढाउने प्रयास गर्दैछु, अवश्य पनि मेरो साथ तिमीले दिनेछौ ।

दुनियाँमा प्रेम कस्तो हुनुपर्छ भन्ने कुराको उदाहरण बन्नु छ हामीले आज, किनकि आज संसारबाट प्रेम नै अपहरणमा परेको छ । अपहरणमा परेको प्रेम फिर्ताका लागि आज यौनको फिरौती मागिरहेको बेला हामी पनि यसको अपहरणमा संलग्न हुनेछैनौँ । प्रेम अहिले यौनका रुपमा परिभाषित भइरहेको बेला यो परिभाषालाई बदल्ने हाम्रो काँधमा जिम्मेवारी आइपुगेको छ । म तयार छु यसका लागि र तिमी पनि तयार छौ, हैन ? सुन्दरताको परिभाषा रुपलाई दिइरहेका बेला हामी भने भावनालाई दिने प्रण गरौँ । तिमी र म भावनात्मक प्रेमको भर्चुअल संसारमा नवीन प्रेमीप्रेमिकाका रुपमा उदय हुनेछौँ ।

मेरी भर्चुअल प्रेमिका, हाम्रो प्रेम सुखान्त र ऐतिहासिक हुनेछ । आजको यो प्रेमदिवसले यो प्रेरणा हामीलाई प्रदान गर्नेछ । सायद, यसका जन्मदाता पादरी भ्यालेन्टाइन पनि हाम्रो प्रेमदेखि प्रसन्न हुनेछन्, किनकि यहाँ रियल प्रेमका नाममा धोखाबाजी भइरहेको छ ।

हाम्रो मित्रताको वर्षगाँठमा नवीन भ्यालेन्टाइनका अवसरमा भर्चुअल प्रेमका लागि भर्चुअल प्रेम–प्रस्ताव राख्दछु– आई लब यु, माई भर्चुअल लब थ्रु दी कर्नर अफ दी भर्चुअल हार्ट ।

ल त, बिदा लिन्छु है । हाम्रो भेट हरेक दिनजसो फेरि पनि भर्चुअल संसारमा अनलाइन च्याटमा हुनेछ । टाटा, बाई ! 

उही तिम्रो भर्चुअल प्रेमी
अल्टर कान्छो ।

Tuesday, February 12, 2013

भोलीका पत्रकारको सहायक क्याम्पस प्रमुखले आज कपि च्याते फोटोफिचर

 परिक्षाहलमा परिक्षा दिँदै गरेकी मुना थपलिया रातो घेरामा ।
भरतपुर । भरतपुरमा परिक्षा दिँदै गरेकी एक पत्रकारीताकी विद्यार्थीको उत्तरपुस्तीका आज क्याम्पसका सहायक प्रमुखले नै च्यातिदिएका छन् । त्रीभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षको नेपाली पत्रकारीता (३१६)को परिक्षा दिइरहेकी मैयादेवी कन्या क्याम्पसकी मुना थपलियाको उत्तरपुस्तिका वीरेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दुर्गा अधिकारीले च्याति दिएका हुन् ।
परिक्षार्थिको उत्तरपुस्तिका च्यातिदिए पछि केही बेर परिक्षाहलमा तनाव भयो । विद्यार्थीहरुले सहायक प्रमुखको विरुद्धमा नारावाजी समेत गरेका थिए । ३८६००१८ सेम्वोल नं. भएकी थपलियाको १०८७१९५ नं.को उत्तरपुस्तिका अधिकारीले च्यातिदिएका हुन् ।
‘आँफूले केही नवोली लेखिरहेकी थिएँ, एक्कासी आएर कपी तान्नुभयो’, विद्यार्थी थपलियाले च्यातिएको कपी देखाँउदै भनिन्, ‘कपि च्यातियो ।’ उनीसँगैको वेन्चमा सोही विषयको परिक्षा दिइरहेका सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी सूर्य ढकालले विना कारण उनको कपी च्यातिदिएको जानकारि दिए ।
‘समय सकिन ५ मीनट जति थियो, घण्टी लागेको थिएन्’, उनले भने, ‘एक्कासी आएर कपी च्यातिदिए ।’ विद्यार्थीको कपी च्यातिदिए पछि विद्यार्थीहरुले केही बेर परिक्षा हलमा नारा लगाएका थिए । आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिन क्याम्पस भित्रै प्रहरी पसेको थियो ।
विद्यार्थीहरुले दोषी अधिकारीले माफि माग्नुपर्ने पीडित विद्यार्थीले पुन ः जाँच दिनु पाउनुपर्ने तथा आगामि परिक्षामा सहायक प्रमुख  अधिकारी परिक्षा हल प्रवेश गर्न नपाउने भन्दै क्याम्पसमा नाराबाजी गरेका थिए ।
विद्यार्थीको प्रदर्शनपछि क्याम्पसले थपलियालाई पुन कार्यालयमा परिक्षा दिने व्यवस्था मिलाएको क्याम्पस प्रमुख केशवभक्त सापकोटाले जानकारि दिनुभयो । ‘उहाँलाई कारवाही गरिने समेत उहाँले विद्यार्थीमाझ प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यता स्ववीयु सभापति निरज भट्टले सहायक क्याम्पस प्रमुखबाट गम्भिर गल्ती भएको जानकारि दिनुभयो । उहाँ आगामि परिक्षामा परिक्षा हल प्रवेश गर्न नदिने बताउनुभयो । आज त्रीवीको मानविकी संकाय अन्तर्गतको कार्यमुलक पत्रकारीता तथा पर्यटन विषयको परिक्षा थियो ।

उत्तरपुस्तिका च्यातिए पछि निरास मुना नजिकै सेतो टोपी लगाएका सहायक क्याम्पस प्रमुख अधिकारी ।

उत्तरपुस्तिका च्यातिए पछि विद्यार्थीहरु आक्रोसित हुँदै ।

आक्रोशित विद्यार्थीहरु सहयाक क्याम्पस प्रमुखलाई घेर्दै, साथमा मुना ।

परिक्षा हल बाहिर पर्दर्शन  गर्दै विद्यार्थीहरु ।
उत्तरपुस्तिका च्यातिएपछि पुन परिक्षा दिँदै मुना साथमा च्यातिएको उत्तरपुस्तिका ।


Monday, February 11, 2013

हातखुट्टा बाँधिदा पनि परिवर्तनको झण्डा उठाउन छाडेनौँ ः प्रधानमन्त्री भट्टराई

नारायणगढ । आफ्नहरुको हातखुट्टा बाँधिदा पनि परिवर्तनको झण्डा उठाउन नछाडेको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ । सोमबार नारायणगढको बालकुमारी कन्या उच्चमाविको स्वर्णजयन्ती समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारलाई विपक्षीहरुले केही पनि गर्न नदिएको अवस्थामा सरकार हातखुट्टा बाँधिएको अवस्थामा रहेको उहाँको भनाई थियो । ‘हामीले धेरै गर्नुपर्ने थियो तर सकेनौँ’, प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, ‘तर पनि यो हातखुट्टा बाँधिएको अवस्थामा परिवर्तनको झण्डा भने उठाउन छाडेका छैनाँै, यही नै ठूलो कुरा हो ।’ सरकारले चाहेर पनि केही गर्न नसकेको उहाँले बताउनुभयो । ‘हामीले चाहेर पनि केही गर्न सकेनाँै किनकी यो सरकारलाई नीति तथा कार्यक्रम ल्याउन दिइएन, बजेट पनि ल्याउन पाएनौँ’, उहाँले थप्नुभयो, ‘हामीले लगेका विधेयक पास गर्न दिनुपथ्र्याे, त्यो पनि भएन् ।’
एक हप्ताभित्र प्रधानन्यायाधिशको नेतृत्वमा सरकार

एक अर्काे प्रसंगमा माओवादीले अगाडि सारेको प्रधानन्यायाधिशको नेतृत्वमा चुनावि सरकारको गठन निर्विकल्प सहमतिको बुँदा भएको प्रधानमन्त्री डा. भट्टराईको दावि थियो । बहालवाला न्यायाधिसको नेतृत्वमा स्वतन्त्र चुनावि सरकार गठन अहिलेको निर्विकल्प विकल्प हो’, उहाँले भन्नुभयो, ‘यसलाई पनि पञ्छाउने हो भने परिवर्तनमा आत्मासाथ कसले गरेने त्यो बुझिन्छ ।’
उहाँले स्वतन्त्र सरकारको पक्षमा छिट्टै सहमतिमा पुग्ने समेत दावि गर्नुभयो । ‘बार्ता चलिरहेको छ, हामी सहमति नजिक पुगिसकेका छौँ’, डा. भट्टराईले भन्नुभयो, ‘एक हप्ताभित्र बहालवाला न्यायाधिसको नेतृत्वमा चुनावि सरकार गठन हुन्छ ।’

जनयुद्धको झल्को दिँदै भट्टराईको सवारी

नारायणगढ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज जनयुद्धको झल्को दिँने गरि चितवन आउनुभएको छ । जिल्लामा आउँदा नारायणगढको सडक सुनसान पारिएको थियो । जुन जनयुद्धकालमा माओवादीले आह्वान गरेको बन्दमा देखिन्थ्यो ।
जनयुद्धको झल्को ः प्रधानमन्त्री डा. भट्टराईको सवारीका लागि खालि गरिएको नारायणगढको सडक । उनी आँउदा बाटो पूर्ण ठप्प पारिएको थियो । जुन जनयुद्धकालमा माओवादीले आह्वान गरेको बन्दमा देखिन्थ्यो ।


प्रधानमन्त्री आउने भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रधानमन्त्र आउन सडक पूर्ण रुपले खालि गरिएको थियो । प्रधानमन्त्री भरतपुर विमानस्थल ओर्लने भएपछि नारायणगढ लायन्सचोक देखि भरतपुर विमानस्थल सम्मको सडक पूर्ण खालि पारिएको होे  । सडकमा कुनै सावरी साधन चलेका थिएनन् भने यात्रुलाई समेत सुरक्षा घेराबाहिरबाट हिड्न निर्देशन दिइएको थियो ।
प्रधानमन्त्री अहिले वालकुमारी कन्या माविको स्वर्ण जयन्ती समारोहमा सहभागि हुँदै हुनुहुन्छ । उहाँले विद्यालयमा स्थापना गरिएको स्वर्णद्वार तथा स्वर्ण स्तम्भ अनावरण गर्दै हुनुहुन्छ ।
सडक बडार्न निर्देशन

प्रधानमन्त्री डा. भट्टराई आउने भएपछि जिल्ला प्रहरी कार्यालयले सडक पूर्ण सफा राख्न निर्देशन दिएको थियो । सडकमा पूर्ण खाली गर्न नेतृत्वमा खटिएका प्रहर नायव उपरिक्षक अरुण पौडेलले सडक सफा गर्न निर्देशन दिँदै भन्दै थिए, ‘बाटो सब स्वीप गर, कोहीलाई सडकमा आउन नदे ।’
अस्पताल समेत बन्द

प्रधानमन्त्रीको सुरक्षाको लागि भन्दै प्रहरीको अवरोधका कारण भरतपुर चौविस कोठीका अस्पताल समेत बन्द गरिए । चौविसकोठीमा विपक्षी दलले कालो झण्डा देखाउने कार्यक्रम राखे पछि विपक्षिलाई नियन्त्रणमा लिन बाटो खाली गर्ने क्रममा अस्पताललाई समेत बन्द गरिएको हो ।
प्रहरीले भरतपुरको चितवन अस्पताल प्रालीको गेट लगाएको थियो ।
कालो झण्डा देखेनन् प्रमले

नारायणगढको कार्यक्रममा सहभागि हुन आएका प्रम भट्टराईलाई कालो झण्डा देखाउन भनेर चौविसकोठीमा जम्मा भएका विपक्षी दलले देखाएको झण्डा प्रमले कालो झण्डा भने देखेनन् । भरतपुर विमानस्थलबाट बाहिरिदा प्रधानमन्त्रीको सुरक्षाको लागि खटिएको प्रहरीको गाडि विपक्षी दलका कार्यकर्ता बसे तिरबाट बाटोमा धुलो उडाउदै गए पछि अर्काे तिरबाट प्रधानमन्त्री चडेको गाडि हुँइकिएको थियो ।

Sunday, February 10, 2013

नवलपरासीमा नयाँ लघुवित्त संस्था सञ्चालनमा

स्थानीयलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’
विधुर ढकाल
गैँडाकोट । नवलपरासी जिल्लाको रजहरमा आइतबार मात्र राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले उद्घाटन गर्नुभएको विजय विकास लघुवित्त संस्था लिमिटेड यहाँका स्थानीयलाई भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ । स्थानीय बासिन्दालाई व्यावसायिक बनाएर गरिबी न्यूनीकरणमा योगदान बनाउने लक्ष्य लिएको संस्थाले नवलपरासीमा आफ्नो वित्तीय कारोबार गर्न नपाउने भएपछि यस्तो भएको हो ।


नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी सेवा आरम्भ गरेको संस्थाले नवलपरासी मात्र नभई आफ्नो सेवा आरम्भको अवसरमा लुम्बिनी तथा नारायणी अञ्चलमा समेत सेवा प्रवाह गर्न नपाउने भएको हो । राष्ट्र बैंकले संस्थालाई धौलागिरी अञ्चलका तीन र गण्डकी अञ्चलको एक जिल्लामा सेवा प्रवाह गर्ने अनुमति दिएको संस्थाका महाप्रबन्धक नारायण सापकोटाले जानकारी दिनुभयो ।

‘हामीले सुरूमा धौलागिरि अञ्चलको बाग्लुङ, पर्वत, म्याग्दी तथा गण्डकी अञ्चलको लमजुङमा आफ्नो सेवा प्रवाहका रुपमा अनुमति पाएका छौँ’, उहाँले भन्नुभयो, ‘आगामी पाँच वर्षमा २० वटा जिल्लामा सेवा बिस्तार गर्ने लक्ष्य लिएका छौँ ।’ कार्यक्षेत्र एक स्थानमा रहेको संस्थाले अर्काे स्थानमा कार्यालय स्थापना गर्दा प्रभावकारी नहुने हो की ? भन्ने चितवन पोष्टको जिज्ञासामा महाप्रबन्धक सापकोटाले भन्नुभयो, ‘त्यस्तो लाग्न सक्छ तर हाम्रो नाता नवलपरासीसँग गहिरो छ, हामीले हाम्रो सेवालाई चाँडै नै यहाँ पनि बिस्तार गर्छाैँ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर डा. खतिवडाले सहरी तथा तराईका जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने संस्था धेरै भएकोले यहाँको लागि इजाजत नदिएको जानकारी दिनुभयो । ‘वित्तीय संस्थाहरु धेरै छन्, तर उत्तरतिरका जिल्लाहरुमा यसको पहुँच कम छ’, उहाँले भन्नुभयो, ‘त्यही भएर नै पहाडी जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने स्वीकृति दिइएको हो ।’

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय कारोबार सञ्चालनको अनुमति प्राप्त गरेको संस्थाको जारी पुँजी १४ करोड रहेको छ भने चुक्ता पुँजी नौ करोड ८० लाख रहेको छ । १८४ व्यक्तिगत र दुई संस्थागत गरी कुल १८६ जना सेयर सदस्य रहेको संस्थाले साधारण, आकस्मिक, मौसमी वैदेशिक रोजगारी, शैक्षिक तथा लघुउद्यम कर्जा प्रवाह गर्ने जानकारी महाप्रबन्धक सापकोटाले जानकारी दिनुभयो ।

Wednesday, February 6, 2013

आज पुण्य मिल्यो कि ?

तस्विरमा हातमा भएको मोवाईलले लिईएको हो । तर पनि यसले महत्व भने अवश्य राख्द छ । यो तश्विर खिच्ने वेलामा तश्विरमा देखिएका वृद्ध दम्पती रोइरहेका थिए । उनलाई सहयोग स्वरुप नगद छ हजार प्रदान गर्दै थिए दुई सहयोगी हात ।

यसको म एक्लो साँछि बन्न पुगेँ । मलाई अपिसमा नै लिन आएर ति खुला दिल भएका व्यक्तिले छ वर्ष अगाडिको बाढिले आफ्नो जायजेथा बगाए पछि भरतपुरका विभिन्न चौपारी र प्रतिक्षलयमा रात कटाउँदै आएका माडी गर्दी गाविस शितलपुरका वृद्ध दम्पतीलाई आफ्नो तर्फबाट एक हजार रुपैयाँ र आफूले काम गर्ने काठमाडौँको क्यारियर इन्टरनेशनल सर्भिस प्रालिको तर्फबाट छ हजार रुपैयाँ सहयोग गरे मलाई साँछि राखेर । 

भरतपुरको जिल्ला ट्राफिक कार्यालय अगाडिको प्रतिक्षालयमा बस्दै आएका पूर्णप्रसाद तथा भक्तमाया धमलालाई संस्थाका प्रतिनिधि पार्वतिपुर घर भएका तुलाराम विकले संस्थाको तर्फबाट नगद रु पाँच हजार र आफ्नो व्यक्तिगत तर्फबाट एक हजार रुपैयाँ गरि जम्मा सात हजार रुपैयाँ प्रदान गनुभएको हो ।

बाडीले आफ्नो एक विगाहा जमिन सहित सबै सम्पति बगाए पछि उहाँहरु भरतपुरका विभिन्न स्थानमा रहेका प्रतिक्षालयहरुमा बस्दै आउनुभएको छ । छ वर्ष देखि निरन्तर यसरी नै खुला ठाउँमा बस्दै आएका दम्पतिबारे स्थानीय तथा राष्ट्रिय सञ्चार माध्ययमहरुमा समाचार प्रकाशित भएको थियो । उहाँबारे समाचार बाहिर आएपछि विभिन्न संघसंस्थाहरुले उहाँलाई सहयोग गरिरहेका छन् ।

उहाँ अहिलेसम्म भरतपुरको विशालचोक, बसेनी चोकलगायतका स्थानमा बस्दै आएका अशक्त धमला दम्पति अहिले दुई महिना देखि चौविसकोठी नजिक ट्राफिक कार्यालय अगाडिको प्रतिक्षलयमा बस्दै आएका छन् । वृद्ध दम्पतिका आफ्ना भन्ने काही छैनन् । यस्तै सहयोगी हातहरुले दिएको ९० हजार रुपैयाँ विशाल चोकको प्रतिक्षालयमा बस्दा चोरी भयो । रुँदै वृद्ध धमलाले भने । बाबु तपाईँहरुलाई आशिर्वाद छ ।

उनको पैसा चोरिएको घटना सुनेर झस्केको मैले अगाडिको ट्राफिक कार्यालयमा पुगेर ख्याल गरिदिनुहोला है भनेर फर्किएँ । सरकारले हेर्नुपर्ने यी हाम्रा आमा बाबाहरुलाई हेर्न सकिरहेको छैन । आफ्नो आफनो ठाँउबाट हामीले नै सहयोग गरौँ ।

Tuesday, February 5, 2013

परिक्षाको धुमधाम तयारी

तस्विर ख्यालख्यालैमा लिइएको हो । मेरा तश्विरमा देखिएका दुई युवा विद्यार्थी एक प्रकाश रेग्मी ‘हर्क’, हुन अर्का सूर्य ढकाल ‘मुकेश’ हुन् । स्नातक तह तेस्रो वर्षको परिक्षा दिइरहेका छन् उनीहरुले । हिजो लिइएको यो तश्विरमा उनीहरुले आमसञ्चार तथा पत्रकारीता विषय अन्तर्गत जनसम्पर्क र विज्ञापन(जेएमसी ३१४) को तयारी गरिरहेका हुन् ।
यी दुवै मित्रहरुसँगै म पनि परिक्षाको तयारीमा छु । नेपालमा हामी विद्यार्थीहरु अन्तिम परिक्षाको माझमा यसरी चरम लोडसेडिङ्को मारमा छौँ । कोठामा राखेको चार्ज गर्न मिल्ने लाइट पनि विजुली नहुँदा चार्ज गर्न पाँइदैन् । सँधै रातपरेपछि यसरी नै मैनको सहायतामा परिक्षाको तयारी धुमधाम गरिएको छ । तर अहँ केही दिमागमा पस्ला जस्तो छैन् । लाग्दै छ जसरी मैन पग्लदै छ । हाम्रा शैक्षिक स्तर पनि यसरी नै खस्किएको छ । कसरी पढ्ने यो माहोलमा ? हुन त प्रधानमन्त्री लालध्वजले दुई घण्टा घटाउने भने पनि प्राधिकरणले के टेथ्र्याे बरु लोडसेडिङ् नभएको बेलामा समेत लाइन काटिरहेको छ ।

Friday, February 1, 2013

अध्यक्ष प्रचण्ड ज्यू, रंगमञ्चमा नेपालीले तपाईँको नाटक किन हेर्ने ?

महाधिवेशनको सन्दर्भमा अध्यक्ष प्रचण्डलाई अल्टरकान्छोको पत्र
अध्यक्ष प्रचण्ड ज्यू,
लालसलाम,
आम नेपाली जनताको मुक्तीका लागि भनेर थालिएको जनयुद्धको आज अर्थ खोज्नको लागि यो पत्र कार्दै छु । यो प्रश्न मेरो मात्र होइन् आम मुक्तिकामी नेपालीको हो । आज देखि सुरु हुँदै गरेको एकीकृत नेकपा माओवादीको साताँै महाधिवेशनको सन्दर्भमा गरिएको यो प्रश्न तपाईँलाई महाधिवेशनमा सहभागि आम प्रतिनिधि तथा प्रयेवेक्षकहरुको हो ।

माओवादीले जनयुद्ध सुरु गर्दा उठान गरिएका मागहरु आज माओवादीको तपाईँहरुको नेतृत्वमा गठन भएको सरकारलाई नै फेरी थपेर बुझाईएको छ । घटेनन् ति मागहरु तपाईँहरुले नेतृत्व गरेको सरकारलाई ति मागहरु बुझाँउदा ति घटेका हुनुपथ्र्याे बल्ल जनयुद्धले केही गरे छ भनेर हामीले विस्वास गर्ने ठाउँ हुने थियो । आज जनताको लागि भनेर लडेर आएको माओवादी पाटिीलाई लाग्ने गरेका आरोपहरु हिजो पञ्चायत कालमा पञ्चेहरुलाई लाग्ने भन्दा कम छैनन् । हिजो माआवोदीले संसदीय दललाई लगाएका आरोपहरु भन्दा पनि तल्लो दर्जामा दर्ज भएर आएका छन् । यही सेरोफेरोमा विसौँ वर्ष पछि सम्पन्न हुन गइरहेको केन्द्रीय महाधिवेशनमा तपाईँले यी यक्ष प्रश्नहरुको जवाफ अवश्व दिनुपर्ने छ ।

आज दशौँ हजार सहिदहरुको रगतले मुछिएको नेपाल आमाको छातिलाई यही बेला माओवादीले जवाफ दिनुपर्छ । के नेपाल आमाका सन्ततीहरुले दिएको रक्त बलिदानीको मूल्य एमाओवादीलाई जंगलबाट शिंहदरबार सम्म पु¥याउने भ¥याङ् मात्र हो ? यतीवेला सहिदका ति विधवा पत्नीहरुले प्रश्न गरिरहेका छन् । टुहुराका आँशुले रुञ्चे बोलीमा आफ्ना बाबुको खोजी गर्दा के जवाफ दिँदा हुन् ति विधवाहरुले ? यसको जवाफ पत्ता लगाउन सक्छ यो महाधिवेशनले ? प्रतिक्षाको विषय हो । संविधान नेपाली जनताले कहिलेसम्म पाउने यो प्रश्नको जवाफ पाउनु पर्छ । सुख शान्ति र सम्वृद्धिको प्रश्न कसरी पुरा हुन्छ । हिजो तपाईँहरुले जनयुद्ध थाल्दा ताकाको माओवादी बन्ने हो की अझ ठूलो तपार्इँहरुको यो महाधिवेशनले प्रष्ट पार्ने छ । तपाईँले हिजो अस्ति भाषण गर्दै हिड्नु भएको छ , अझै १० वर्ष माओवादीले सरकार छाड्दैन । के आधार छ । नेपालीले तपाईँलाई सरकारको नेतृत्व दिइरहनुपर्छ भन्ने ? प्रष्ट त पार्नु प¥यो नि ? नेपाली जनतालाई के दियो यो छ वर्षमा माओवादीले र फेरी तपाईँहरुलाई सत्तामा राखिरहने ।
 
अध्यक्ष कमरेड प्रचण्ड ज्यू,
संविधानसभाको निर्वाचनको बखत नेपाली जनताले अपेक्षकृत पाटि बनेको माओवादी अहिले तिरस्कृत बन्दै गएको त छैन ? तपाईँहरुले सोच्नुभएको छ की छैन् ? आम जनताले तपाईँलाई कुन दृष्टि दिएका छन् ? सोच्नुपर्ने बेला छ तपाईँको । महाधिवेशनको तयारीमा तपार्इँले के के बोल्नुभयो त्यो सरोकारको विषय होइन् । तपार्इँले हिजो पनि बोलेर आउनुभएको हो तर पुरा भएनन् । आज पनि बोल्नुहुँदैछ ति पुरा हुन्छन् या हुँदैनन् यो हो प्रतिक्षाको विषय ।

सहिद दिवस मनाएर अस्ति मात्र आएका छौँ हामीले तपाईँले सहिद दिवस कसरी मान्नुभो म यो सोध्द चाहन्न तर पनि सहिदको रगतलाई कत्तिको सम्झने छ यो महाधिवेशनले परिक्षाको विषय हो । हिजो संविधान सभाको चुनाबमा तपार्इँलाईँ गणतन्त्र नेपालका प्रथम जननिर्वाचित राष्ट्रपति बनाउन भित्तामा सहिदका रगतले वाल पेंटिङ् गरेकै हुन् आम युवाहरुले । आफ्नो जिउ ज्यान उत्सर्ग गर्न पछि परेका होइनन् । किनकी जनताको लागि युद्ध लडेर आएको पार्टिको नेता गयो भने केही हाम्रो लागि अवश्य होला भन्ने आशा त थियो नी ? त्यही आशाका कारण ठूलो बनाएका हुन् नेपाली जनताले । तपाईँलाई थाहा होला नहोला त्यसमा मेरो एक भोट पनि अवश्य थियो । त्यसको मुल्य सोध्न आएको हुँ । यो पत्र लिएर तपाइँ माझ ।
 
अध्यक्ष प्रचण्ड ज्यू,
तपाईँले आम नेपालीलाई यही बेला जवाफ दिनुपर्छ । किन नेपालीले आफ्नो चाहानाको नवविहानी देख्न पाएनन् ? जुन विहानीको प्रतिक्षामा कैयौँ आमाहरु आफ्नो साहाराको लाठि टेकेर रातभर पिडीँमा जाग्राम बसेका थिए । नवविहानीमा अन्तिम सास लिने अभिलासाका साथ बसेका ति बूढि आमाको मनले तपाईँलाई प्रश्न गरिरहेको छ । सुन्दरताको नविन विहानी ल्याउने भन्दै तपाईँले आमासँग सापटि लिएर गएको उनको खुसी आज कता गयो ? यही हो मेरो प्रश्न । आज  १८ वर्षले नेटो काट्न लागेको छ । तपार्इँले सापटी लगेको ति बूढि आमाको खुसी फर्किएको छैन् । व्याजको त कुरै छाडौँ साँउ पनि फिर्ता भएन् । ति वेपत्ताहरुको अवस्था के छ ? जवाफ चाहियो । संविधान सभाको निर्वाचनमा अब तपार्इँहरुको नारा के हुने छ ? त्यो पनि पर्खेका छौँ हामीले । हिजो ‘अरुलाई हे¥यौँ पटक पटक माओवादीलाई हरौँ एक पटक’ भनेर कति भोट लिएको हो माआवोदीले । अब कसलाई हेरेर माओवादीलाई भोट दिने यो प्रष्ट भएको हेर्न चाहन्छन् म लगायतका अनेक युवाहरु । यसको जवाफ तपार्इँ सँग छ ?

महाधिवेशनले जनविद्रोहलाई अगाडि ल्याउला नल्याउला त्यो हेराँैला तर अब जनविद्रोहमा को जान्छ भन्ने प्रश्न हो । जनविद्रोहमा नेपाली जनता जानु नै छ । तर पनि तिनीहरुले तपार्इँहरुको नेतृत्व स्वीकार गर्छनकी गर्दैनन् भन्ने हो । हिजो तपार्इँले जनयुद्धलाई नेतृत्व  गरेर कतिको सफल बनाउनु भो समिक्षाको घडि हो यो । अब लागाँै अर्काे यक्ष प्रश्न तिर । हिजो तपार्इँको नेतृत्वमा भएको जनयुद्धमा भएको जघन्य अपराध छ तिनका अपराधिहरुलाई कारवाहीको कुरा । हिजो वर्ग वैरी भनेर माओवादीले कति निहत्थाको हत्या ग¥यो । त्यही नाममा आतंककारीको विल्ला भिराएर सरकारले कति मा¥यो । ति पीडित परिवारले न्यायको पर्खाइमा बसेका छन् । तिनीहरुले न्याय पाउने की नपाउने ? जानकारी गराउँ मेरो छोरोलाई घरमा नै सुतिरहेको ठाँउबाट घिसारेर मार्ने ति अपराधीलाई कारवाही भएको हेरेर मर्ने मेरो इच्छा छ भनेर कति वूढी आमाहरु कुरेर बसेका छन् । तिनको इच्छा पुरा हुने की नहुने ? निहत्ता जनतालाई मारिनु अपराध हो की होइन् ? मारिएका जति सबै गलत थिए भनेर करार दिन सक्नुपर्छ तपार्इँहरुले र तत्कालिन सरकारको नेतृत्वमा भएकाहरुले । युद्धमा बन्दुक बोकेर हिडेकाको म प्रश्न गर्दिन किन की तिनीहरुसँग आत्म रक्षाको लागि हतियार थियो । जो हतियार नै नबोकेका निहत्थाको हत्यारालाई सरकारले किन पुरस्कृत गर्दै छ ? मेरो प्रश्न हो यो । जवाफको प्रतिक्षा छ । महाधिवेशनलाई सम्बोधन गर्दै गदा सम्बोधन हुने छ भन्ने अपेक्षा गरेको छु ।

अध्यक्ष ज्यू,
अर्काे प्रश्न तपाईँलाई र तपार्इँको पार्टिलाई लागेका भ्रष्टाचारको मुद्द । आम कार्यकर्ता धोती न टोपी भएर खाली खुट्टा हिड्ने तिनै कार्यकर्ताको लेविले तपार्इँहरु आलिसान महलमा बस्ने । तपाईँहरुलाई हिजो जुन अवस्थामा झुपडिले जति विश्वास गरेर बास दिएको थियो त्यो विश्वासमा अब तपाईँले बास पाउनुहुने छैन् किनकी हिजोको प्रचण्ड त गरिव थियो । लाग्थो तिनै झुपडिको प्रतिनिधि हो । तर आज प्रचण्ड सुकिलो मुकिलो बनेको छ । पार्टिमा आर्थिक अनियमितता लाई कसरी संबोधन गरिन्छ हेर्नु छ । हजार रुपैयाँ वार्षिक वचत हुने पार्टी अहिले करोडमा कसरी पुग्यो ? यसको जवाफ तपाईँका कार्यकर्ता मात्र होइन् सबै नेपालीले सोधेका छन् । पार्टि भित्रको हर हिसावकिताव तपाईले यो महाधिवेशनमा बुझाउनै पर्छ ।

अध्यक्ष ज्यू,
यो महाधिवेशनमा म स्वयं त उपस्थित हुन सक्दिन् तर पनि यही पत्रले तपाईँसँग प्रश्न सोध्न चाहेर कोरेँ जवाफ पाउने छु भन्ने अपेक्षा छ । हुन त मैले सोधेका कतिपय प्रश्नहरु तपार्इँका कार्यकर्ताले महाधिवेशनको बन्दसत्रमा उठाउने छन् । तिनीहरुले जवाफ पाउनुपर्छ मेरो मान्यता हो । यी मेरा मात्र प्रश्न होइनन् । समयले तपाईँलाई सिगाें माआवादीलाई अझ भनौँ विगठित संविधानसभाको सबैभन्दा ठूलो दललाई सोधेको प्रश्नहरु हुन् । समयलाई जवाफ दिनै पर्छ तपार्इँहरुले । अन्यथा समयले तपार्इँलाई पनि बडार्ने छ । समयको धुनसँग चल्न जान्नुपर्छ अनि मात्र समयले तपाईँलाई साथ दिन्छ । समयले आधुनिक धुन निकाल्दै गर्दा तपाईँहरु झ्याउरे पारामा नाचिरहनु भएको छ । यस्तोमा तपाईँलाई रंगमञ्चमा हामी किन हेराँै ? रंगमञ्चमा धुन सुवाउदो नृत्य देखिनु पर्छ नाटक मञ्चन हुनु पर्छ अनिमात्र दर्शकले तपाईँको वाही वाही गर्ने छन् नत्र रंगमञ्चबाट पहिलो दृश्य सकिना साथ नै तपाईँले अर्काे दृश्य देखाउन पाउनुहुने छैन् । ख्याल गर्नुस नेपाली राजनीतिको रंगमञ्चमा तपार्इँलाई नाच्न मन छ की छैन् ?
धन्यवाद, लालसलाम ।
उही तपाईँको शुभचिन्तक अल्टर कान्छो ।


अवैध विद्यालय कारबाहीका लागि प्रशासन गुहारिने

आठको दर्ता खारेजको तयारी, १७ लाई जरिवाना    भरतपुर । अवैध रुपमा विद्यालयको नाम राखी विद्यार्थी तथा अभिभावक ठगी गर्ने सात संस्थालाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गर्नेभएको छ । शुक्रबार कार्यालयमा बसेको जिल्ला शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उनीहरुसँगै समितिले अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने १७ वटा विद्यालयलाई समेत कारबाही गरेको छ । त्यस्तै अनुमति लिएर पनि लामो समयसम्म पठनपाठन नगराएका आठ विद्यालयको दर्ता रद्द गर्ने निर्णय गरेको छ । शुक्रबार शिक्षा विभागको अनुमतिविना विद्यालयको नाममा केही संस्थाहरुले विद्यार्थी तथा अभिभावक ठग्ने काम गरिरहेको समाचार
नमस्ते विहानीमा समेत  प्रकाशित भएको थियो । 
read it : विद्यालयको नाममा चितवनमा अवैध धन्दा

समितिले अनुमतिविना विद्यालयको नाममा कक्षा सञ्चालन गरिहेका संस्थाहरु चैनपुरमा आदर्श इंग्लिश बोर्डिङ, बुद्ध शान्ति इंग्लिश बोर्डिङ, हिमालय एकेडेमीको नाममा विद्यार्थी तथा अभिभावकहरुलाई ठग्ने काम गरिरहेका संस्थालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले गरेको निर्णयमा पिप्लेमा साङ्ग्रीला इंग्लिश बोर्डिङ्, दीपज्योति बोर्डिङ स्कुलका नाममा दुईवटा र गर्दासमा चतुर्मुखी इंग्लिश बोर्डिङ स्कुल र त्रियक इंग्लिश बोर्डिङ स्कुलको नाममा अवैध रुपमा चलिरहेका संस्थालाई कारबाही गर्न पत्राचार गर्ने निर्णय गरिएको छ ।

शुक्रबार निर्णय भए पनि जिल्ला शिक्षा कार्यालयमा शैक्षिक अनुमतिपत्र परीक्षाको फाराम भर्नेको भीड र कार्यालयहरु आधा दिनमात्र खुल्ने भएका कारणले आइतबारमात्र प्रशासनलाई पत्राचार गरिने कार्यालयका विद्यालय निरीक्षक बाबुराम दवाडीले चितवन पोष्टलाई जानकारी दिनुभयो ।

समितिको बैठकले अनुमति लिएभन्दा बढी कक्षा सञ्चालन गर्ने १७ वटा विद्यालयहरुलाई जनही पाँच हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।
समितिको बैठकले जरिवाना तिराउने निर्ण गरेका विद्यालय तथा तरिवाना रकम
क्र.स.    विद्यालयको नाम अनुमति कक्षा     सञ्चालित कक्षा    जरिवाना रकम
१.  नमुना इं. बो स्कुल, मेघौली–७     १–५     १–८    १५,०००/-
२.    नर्थ प्वाइन्ट इं. स्कुल, पिठूवा    १–७    १–१०    १५,०००/-
३.    पिसल्याण्ड इं. बो. स्कुल, बगौडा    १–८    १–९    ५,०००/-
४.    साकुरा एकेडमी, वीरेन्द्रनगर    ६–१०    १–१०    २५,०००/-
५.    जेनिथ इं. स्कुल, खैरहनी    १–५    १–७    १०,०००/-
६.    नेशनल आमावि, खैरहनी   ६ –१०    १–१०    २५,०००/-
७.    मातृभूमि शिक्षा सदन, खैरहनी    ६ –१०    १–१०    २५,०००/-
८.    सिर्जनशील शिक्षा निकेतन, कठार   १–५    १– ७    १०,०००/-
९.    ओशियन एकेडमी     १ –८    १–९    ५,०००/-
१०.    जुटपानी जनप्रिय शिक्षा सदन, पिठुवा    १–०    १–५    २०,०००/-
११.    इन्टरनेशनल एकेडमी, खैरहनी    ६ - १०    १ - १०    २५,०००/-
१२.    कुमरोज एकेडमी    १–५    १–७    १०,०००/-
१३.    अन्नपूर्ण शिशु निकेतन, रनपा–२    ६–१०    १– १०    २५,०००/-
१४.    कविलास सामुदायिक इं. बो. स्कुल     १–३    १–५    १०,०००/-
१५.    होलीगार्डेन इं. बो. स्कुल, कठार –२    १–५    १–८    १५,०००/-
१६.    पिसल्याण्ड इं. बो. स्कुल, वीरेन्द्रनगर–२     १–८    १–९    ५,०००/-
१७.    स्काइभिजन शिक्षा सदन, पिठूवा –९     १–५    १–८    १५,०००/-
 
लामो समयसम्म शिक्षा विभागबाट अनुमति लिए पनि सञ्चालन नभएका तथा बन्द भएका आठ विद्यालयको प्रक्रिया पु¥याएर दर्ता खारेजी गर्ने निर्णय भएको छ ।
यसरी दर्ता खारेजीमा पर्ने विद्यालयहरुमा कम्युनिटी इंग्लिश बोर्डिङ स्कुल भनपा –१ रामनगर, राधामाधव बैद्धिक गुरूकुल भनपा–१ देवघाट, नेपाल एजुकेशन सेन्टर रनपा–६ मोहना, ग्लोबल इंग्लिश बोर्डिङ स्कुल रनपा–९ शिवालय, जेनिथ इंग्लिश बोर्डिङ स्कुल रनपा–२ टाँडी, शान्ति शिक्षा सदन दारेचोक, होलिल्याण्ड इन्टरनेशनल इंग्लिश बोर्डिङ स्कुल चैनपुर र मुनाल शिशुसदन मंगलपुर–२ रहेका छन् ।
यी संस्थाहरुलाई जिल्ला शिक्षा कार्यालयका तथ्याङ्क फारामसमेत नभरेको तथा पठनपाठनसमेत नगराएको कारण दर्ता रद्द गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको समितिको बैठकले समितिको चालु आर्थिक वर्षको बजेटसमेत पारित गरेको शर्माले बताउनुभयो ।
त्यस्तै अनौपचारिक शिक्षा समितिमा जिल्ला गैरसरकारी संस्थाका संयोजकलाई सदस्य पदमा मनोनयन गर्ने निर्णय भएको छ । शुक्रबार नै बसेको समितिको बैठकले १३ वटा गाउँ शिक्षा समितिमा एक÷एक जना गाउँ शिक्षा समितिमा मनोनित गर्ने निर्णयसमेत गरेको छ ।
 

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी