Sunday, June 30, 2013

अ-नागरिक


BHANU ARYAL
परिवारले उसको बिचार मा गोली दाग्यो,
समाजले उसको स्वतन्त्रतामा
तारो लगायो,
ठेकेदारले उसलाई अपजसे बनाएर 
हातहरुमा गोली मार्यो,
समयले उसलाई छिर्के हान्यो
अनगिन्ति गोली
ठोक्यो खुट्टाहरुमा, 
प्रेमीकाले उसलाई 'रानीमहल' देखाई
र थुकि
अनि उसको भावनालाई
प्वाईन्ट ब्लाकं रेञ्जमा शुट गरी,
अनी सत्ताले उसको
अहिसां बिरुद्ध
छातिमा मेसिनगन चलायो । 


आज उसको दाह-संस्कार
सल्ला, पिपल र सति-साल
अग्निबर्षा गर्दैछन चितामा
तर.....
उसको शरिरका गोलीका प्वालहरुबाट
बिशादका बाँसुरी धुनहरु बजिरहेछन..
पर कतै शहिद-गेटबाट ओर्लेर
गंगालाल र दशरथ चन्दहरु....
धर्मभक्त र शुक्रराजहरु....
टुडीखेलमा
फेरी आत्महत्या गर्न
खरीको बोट र पासो खोजि रहेछन
हरेक संवतहरुमा
२००४, २००७, २०११, २०१७, २०३६, २०४२, २०४६, २०६३, २०......! ??

Sunday, June 23, 2013

विक्षिप्त सुदूर र राष्ट्रपतिको महँगो उपचार

तिम्रो वर्षादी मनले यो मन बगाएको छ
हेर सुदूरलाई विक्षिप्त छ धन बगाएको छ
 
आँखैअगाडि बग्दैछन् लालाबाला सन्ततिहरु
तिम्रो आगमनले कति जन बगाएको छ


वर्षात् लाग्दा किसानहरु आकाशबाट वर्षिने पानीको पर्खाइमा पर्खिरहेका हुन्छन् । कयाँै वर्षहरु नेपालीले आकाश हेरेर पानीको कामना गर्दै पूजा, अर्चना गरे । आमनेपाली आफ्नो वर्षभरिको फसल उमार्नका लागि यसरी नै आकाशको आशमा पर्खिरहे । तर, यसपटक उनीहरुले आकाशको बादललाई हेर्दै कहालीलाग्दो दिन गुजार्नुप¥यो र परिरहेको छ ।

 सुदूर यतिबेला विक्षिप्त छ । त्यहाँका मानिसहरु अहिले पनि त्रासमा दिनरात कटाइरहेका छन् । सामान्यभन्दा यी दिन भयानक भए । गत शनिबारदेखिको अविरल वर्षा सुदूरका लागि विक्षिप्त सपना बनेर आइपुग्यो । सधैँ त्यही वर्षात्का पर्खाइमा बस्ने झन्डै तीन दर्जनभन्दा बढी नेपालीले मृत्युको उपहार पाए । विडम्बना, अझै कति बेपत्ता छन् । खोजीको काम भइरहेको सुनिएको छ । यतिबेला संवेदनाको आँशुले भरिएका छन्, नेपाली भूमिभित्र र बाहिर रहेका नेपालीहरुका नयनहरु ।

सुदूरको दार्चुला, अछाम, बैतडी, कालीकोट, बर्दिया अझै पनि डुबानमा छन् । एकातिर काली र कर्णालीको भेलमा भने अर्काेतिर आफ्ना आफन्तसँगको बिछोडको पीडामा । अझ त्यतिमात्र होइन, आफ्नो जीवनभरको कमाइ गुमाएर बेघर हुनुको पीडामा ।

सबै नेपाली नागरिक विक्षिप्त हुँदा नेपालका राष्ट्राध्यक्षको हैसियत बोकेका नेपालका राष्ट्रपतिको जापानको सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको छ । यतिबेला गम्भीर प्रश्न उठेको छ, राष्ट्र डुबेको बेला राष्ट्रपतिको मात्र स्वास्थ्यको चिन्ता ? ‘नेपाली हामी रहाँैला कहाँ नेपालै नरहे’ माधवप्रसाद घिमिरेको यो गीत राष्ट्रपतिलाई सुनाउनु पर्ने हो कि ? सुदूर नरहे अथवा नेपाल नै नरहे नेपालको राष्ट्रपतिका हैसियतले डा. यादव जापानमा उपचार गराउन पुग्थे कि कुनै नेपालकै सरकारी अस्पताल (त्यो वीर पनि हुुन सक्थ्यो) या कुनै सैनिक अस्पतालमा आमजनताजस्तै कोचाकोच बेडमा फालिएका हुन्थे ?

जब राष्ट्रपति उपचारका लागि भन्दै जापानका लागि जहाज चढ्दै थिए, दार्चुला आफ्ना सन्तति गुमाउँदै थियो । बैतडी कालीमा बग्दै थियो र आकाशतर्फ फर्केर बचाऊ भन्दै विलाप गर्दै थियो । कहीँ, कतै माथिबाट आएर कसैले उद्धार गरिदिन्थ्यो कि ? तर विडम्बना, जापान लान राष्ट्रपतिलाई जहाज तयार थियो । तर, डुब्दै गरेका सुदूर पश्चिमेलीलाई उद्धारका लागि हेलिकप्टरसमेत थिएन ।

अर्काे ठूलो विडम्बना के भने उता सुदूरेलीहरु विक्षिप्त अवस्थामा खुला आकाशमा उद्धारका लागि प्रतीक्षा गरिरहेका थिए, भोकभोकै कतै सरकारले राहतको कुनै कोसेली पठाउँछ कि भन्दै । तर, सरकारलाई पहिले सुदूरलाई राहतभन्दा पनि राष्ट्रपतिका लागि उपचारको लागि रकम विनियोजन गर्ने हतार थियो । तर, बग्दै गरेको दार्चुलाको उद्धारका लागि रकमको जोहो गर्ने कुनै चिन्ता देखिएन ।

सरकारले सुदूरका दुई जिल्लाका लागि ५०÷५० लाखको राहत रकम र राहत सामग्री पूरा गर्ने निर्णय गरेर त्यसतर्फ पठाएको सुनिएको छ । तर, के यो रकम सुदूरेली बाढीपीडितहरुका हातमा कतिका दरले पुग्ला वा नपुग्ला ? यो हेर्न बाँकी छ । रकमको विषयका बारेमा अर्काे हास्यास्पद कुरा के हो भने सारा सुदूरेलीको भागमा एक करोडमात्र पर्दा एक जना राष्ट्रपतिको उपचारका लागि साठी लाख ! त्यही पनि पेश्कीस्वरुप हातमा तीस लाख रूपैयाँ । आमसुदूरपश्चिमले बुझाएको करले यतिबेला राष्ट्रपति जापानमा उपचार गराइरहेका छन् । तर, आफैँले बुझाएको करबाट सरकारले राहत दिनसमेत किन ढिलाइ गरिरहेको छ ? यतिबेला यो सोचनीय विषय हो ।

१०० भन्दा बढी घर बगेका छन दार्चुलाका । बर्दियामा एक हजारभन्दा बढी घर डुबानमा छन् । कालीकोटमा बीसभन्दा बढीको मृत्यु भएको छ । अछाममा एक परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । कैलालीमा बुधबार राति मात्रै एक दम्पतीको पुरिएर ज्यान गएको छ, त्यसको असर पाल्पामा समेत पुगेको छ । त्यहाँ पनि एकै परिवारका तीनले ज्यान गुमाए । यी साराको जीवनभन्दा देशमा नेताको उपचार ठूलो भइदिँदा आमनेपालीले राष्ट्रप्रति के सोच्ने ! परिआए देशका लागि मरिमेट्ने नेपाली हुन् । आफ्नो स्वाधीनताको रक्षाका लागि आहुति दिने नेपाली जाति हो । त्यही जाति अहिले आफ्नो रक्षाको भीख मागिरहेको छ । कसले जोगाउने उनीहरुको जीवन ?

नेपाली बस्ती डुब्नुको मुख्य कारण भारतको लापारबाही भएको स्थानीय पीडितहरुको आरोप छ । भारतले बस्तीभन्दा माथि बनाएको विद्युत् गृह र त्यसको बाँध बाढी आएका बेला खोलिदिँदा नेपाली भूमि डुबानमा परेको उनीहरुले आरोप लगाएका छन् । भारतले पनि गल्ती स्वीकार गरेको कुरा सञ्चारमाध्यममा आएको छ । यसभन्दा अगाडि यस्तै उर्लिएर काली आउँदासमेत नेपाली भूमिलाई कुनै नोक्सान नपु¥याएको इतिहास सम्झिरहेका सुदूर पश्चिमेलीहरुको यो आरोपलाई सरकारले कसरी लिन्छ ! अन्तर्राष्ट्रिय अदालतमा लैजान्छ कि लैजाँदैन ? त्यो पनि हेर्न बाँकी नै छ ।

यता, यस बेला आमनेपालीले सुदूरलाई सहयोग गर्नुपर्ने भएको छ । विक्षिप्त भएको सुदूरको आँशु सबै नेपाली मिलेर पुछ्नुपर्ने बेला आएको छ । भग्नावशेषमा परिणत भएको सुदूरको पुनर्निर्माणमा सबै नेपाली जुट्नुपर्ने बेला भएको छ । सरकारका तर्फबाट सहयोग आओस् वा नआओस्, आमनेपालीले सहयोगको हात अगाडि बढाउनु पर्ने बेला आएको छ । यही बेला हो हामीले आफ्नो बन्धुत्वको भावना प्रकट गर्नुपर्ने । हाम्रो यो सहयोगले सरकारको पनि आँखा खोल्नुपर्ने छ । राजधानीको आलिसान महलमा बसेर सपना देख्नेहरुको आँखामा विक्षिप्त सुदूरले भोगेको पीडा महसुस गराउनु पर्ने बेला भएको छ ।

 राजधानीको सिंहदरबार अझै पनि मौसम सफा हुने दिन कुरेर बसिरहेको छ । उता, महाकाली र कर्णालीको भङ्गालोमा अझै पनि उद्धारको पर्खाइमा बसिरहेका छन्, नेपालीहरु । उनीहरुको उद्धारका लागि किन कसर बाँकी राखिँदै छ ? चाउचाउ र चिउरा खाएर रातदिन बिताइरहेका उनीहरुलाई अझैसम्म सुरक्षित स्थानमा पु¥याउन किन सकिएको छैन ? एउटा राम्रो टेन्टको ओतसमेत दिइएको छैन । खानेपानी, स्वास्थ्यको समस्या झन् विकराल बन्दै गएको छ । एक स्थानमा हजाराँै मानिस बस्दा अर्काे महामारी फैलन सक्नेतर्फ कसैको ध्यान गएको छैन । यही बेला फोहोर पानीका कारण फैलने हैजाको महामारी रोकथामका लागि स्वास्थ्य उपचारको व्यवस्थासमेत हुन सकेको छैन । दार्चुलाको जनस्वास्थ्य कार्यालय त बगायो, तर पनि प्राथमिक उपचारसम्मको व्यवस्था नहुनु भनेको दुर्भाग्य नै हो !

महाकालीको बबन्डरले नेपालमा मात्र होइन, भारतमा समेत क्षति पु¥याएको छ । त्यहाँ नेपालमा भन्दा बढी जनधनको क्षति भएको छ । तर, त्यहाँ उद्धारमा केन्द्रीय सरकार र उत्तराञ्चल राज्यले देखाएको तदारूकतालाई हेर्दा नेपाल सरकार अझै निदाएर बसिरहेको भान भइरहेको छ । जनताको उद्धारका लागि करिब ४० को हाराहारीमा हेलिकप्टरहरु परिचालन भएका छन् ।

हुन त, भारत विकसित राष्ट्र हो । ऊसँग उद्धारका लागि पर्याप्त सुविधा होलान्, तर नेपाल सरकारले उपलब्ध सुविधाको समेत परिचालन गर्न सकिरहेको छैन । नेपालमा भएका सबै सेनाका हेलिकप्टर प्रयोगमा ल्याए उद्धार कार्य चाँडो हुनेथियो । यही र यस्तै बेला हो, भएका साधनको प्रयोग गर्ने, नत्र तिनीहरुको के काम ? नेताहरुको भ्रमणका लागि प्रयोग हुने यिनको प्रयोग यतिबेला किन नगराउने ? उद्धारका लागि जनशक्तिको कमी भएको अवस्थामा ब्यारेकमा बसेका थप नेपाली सेनाको प्रयोगसमेत गर्नुपर्ने देखिन्छ ।

सुदूरको यो पीडामा सबै नेपालीले मलम लगाउनु पर्ने बेला भएको छ । सरकारले चाँडोभन्दा चाँडो सबैको उद्धार गरोस् । राहत पु¥याओस्, सुरक्षित बासस्थानको व्यवस्था गरिदेओस् । नेपाली जनताको जीउधनलाई मह¤वका साथ हेरियोस् । नेपाली जनताको जीवन एक राष्ट्रपतिको जीवनभन्दा कदापि  पनि सस्तो हुन सक्दैन । सरकारलाई चेतना भया ।
 

Wednesday, June 12, 2013

अप्रत्याशित नतिजा

चितवनको नारायणगढस्थित बालकुमारी इङ्गलिश स्कुलका छात्र देवेश अधिकारीको एसएलसीमा आएको अप्रत्याशित नतिजाले सबैलाई आश्चर्यमा पारेको छ । नेपाली विषयमा ७१, बाँकी ६ ओटा विषयमा ९० भन्दा धेरै अंक, सामाजिक अध्ययनमा मात्र १८, अनि नतिजा अनुत्तीर्ण ।

स्कुलमा सधैँ प्रथम हुँदै आएका देवेशको एसएलसीको नतिजा देखेर उनीलगायत विद्यालयका सबै आश्चर्यचकित भएका हुन् । साथै उनीहरुले परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको आरोप लगाएका छन् ।

देवेशले टेस्ट परीक्षामा ८८ प्रतिशत अंक ल्याएका थिए । उनी कक्षा एकदेखि सधैँ प्रथम हुँदै आएका विद्यार्थी हुन् । सामाजिक अध्ययनमा आएको १८ अंक राखेरै पनि उनको ८१।७५ प्रतिशत हुन्छ । देवेश स्वयम्ले १८ नभई ८१ हुनुपर्ने दावी गरेका छन् । यदि उनले भनेअनुसार ८१ अंक नै आएमा उनको कुल प्रतिशत ८९।६२ हुन्छ । 

Friday, June 7, 2013

खुलेयाम संक्रमित कुखुरा हाटबजारमा बिक्री

भरतपुर । ‘ल हजुर ! गोटाको १२० । सस्तोमा ल हजुर, आउनुहोस् गोटाको १२० !’, हरेक हाटबजारमा सुनिन्छ यस्तो आवाज । शुक्रबार भरतपुरको तीनखोले गुम्बानजिकको हाटबजारमा समेत यस्तै आवाज सुनियो । अन्य हाटबजारमा व्यापारीहरु कपडा वा अन्य उपभोग्य बस्तु बिक्रीका लागि चिच्याइरहेका हुन्थे । तर यहाँ जीउँदो कुखुरा प्रतिगोटा १२० रुपैयाँमा बिक्री भइरहेको थियो ।

पछिल्लो समयमा चितवनमा बर्डफ्लुको संक्रमणले दर्जन बढी फार्मका कुखुरा नष्ट गरिएको थियो । कुखुरामा बर्डफ्लुको संक्रमण सेलाएको छैन । तै पनि भरतपुर–८ मा रहेको ओरेण्टल ह्याचरी उद्योग भने संक्रमित कुखुराहरु खुलेआम बिक्री गरिरहेको छ । अघिल्लो हाटमा समेत कुखुरा बेचेको ओरियन्टलले शुक्रबार पनि खुलेआम कुखुरा बेचिरहेको थियो ।

आम उपभोक्ताको स्वास्थ्यमा असर गर्ने गरी यसरी खुल्ला रुपमा कुखुराको बिक्री गर्न नपाइने भए पनि खुलेआम रुपमा यसरी बेच्दा समेत सरोकारवाला निकाय भने कारबाही नगरी बसिरहेको छ । सडक किनारमा कुखुरा थुपारेर उपभोक्तालाई बेचिरहेका ओरियन्टलका कर्मचारीहरु कुखुरा बजार व्यवस्थापन संघ, कुखुरा मासु व्यवसायी संघका पदाधिकारी र पत्रकारहरु पुगेपछि बाँकी कुखुरालाई गाडीमा हालेर त्यहीँबाटै केही कुखुरा बेचेका थिए ।

कुखुराहरु केही गाडीमा नै मरेका थिए भने केही उपभोक्ताले सस्तो मानेर लगेपछि मरेका थिए । स्थानीय मानबहदादुर परियारले सस्तोमा पाएपछि कुखुरा किनेर लानुभयो । तर कुखुरा जिउँदै घर पुग्न सकेन र उहाँ फर्काउन आइपुग्नुभयो । ‘सस्तो छ र स्वस्थ छ भनेर बेचे, घर पु¥याउन नपाउँदै म¥यो’, उहाँले भन्नुभयो, ‘रोगी रहेछ र त सस्तोमा बेचेका रहेछन् ।’

किनेर लगिसकेको केही समयमा नै कुखुरा मरेपछि फर्काउनेहरु समेत उत्तिकै थिए । आम जनताको स्वास्थमा असर पुग्ने गरी खुला स्थानमा कुखुरा बेच्न नपाइने नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय सदस्य उद्धब तिमिल्सिनाले बताउनुभयो । ‘यसरी खुलेआम रुपमा जिउँदा कुखुरा बिक्रीवितरण गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘के कारणले यसरी बेचिएको हो संघको बैठक बसेर कारबाही गर्छ ।’


यसरी खुला रुपमा संक्रमित कुखुरा बिक्री गर्दा कुखुरा मासु व्यवसायमा नै असर पर्ने हुँदा अनियमित गर्नेलाई कारबाही हुनुपर्ने कुखुरा मासु व्यवसायी संघका अध्यक्ष गणेशप्रसाद कँडेलले बताउनुभयो । ‘जिउँदो प्रतिकिलो १३५ रुपैयाँमा बिक्री भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसरी खुला रुपमा सस्तोमा कुखुरा बेच्नु शंकास्पद छ, यसले हाम्रो व्यवसायलाई समेत असर पार्छ ।’

कुखुरा बेच्न खटिएका ओरिण्टलका कर्मचारी हिमाल कँडेलले भने फार्मबाट कुखुरा नबिकेपछि बजारमा ल्याएर बेच्नुपरेको बताउनुभयो । यता, उक्त कुखुरा स्वस्थ भएको भन्दै डा. रामप्रसाद पौडेलले शुक्रबार नै प्रयोगशाला परीक्षण गरेको प्रमाणपत्र देखाउँदै उहाँले कुखुरा संक्रमित नभएको दावी गर्नुभयो । ‘कुखुरा स्वस्थ हुन्, गर्मीमा राख्दा एक÷दुईवटा मर्नु त स्वाभाविक हो ।’, उहाँले भन्नुभयो ।

शुक्रबारकै मितिमा डा. रामप्रसाद पौडेलले २३० वटा कुखुरा परीक्षण गरेको प्रमाणपत्र दिएका छन् । उहाँसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेन । आफ्नै ह्याचरी, आफ्नै साझेदार फिड्स उद्योग (हिमालय फिड्स) हुँदा समेत ५२ दिनको कुखुराको तौल एक किलो पनि नहुनु शंकास्पद रहेको कुखुरा बजार मासु व्यवसायी संघका अध्यक्ष कँडेलले बताउनुभयो ।

ओरियन्टल ह्याचरी तथा हिमालय फिड्का सञ्चालक उपेन्द्र रिजालले प्रश्न गर्नुभयो, ‘हाटबजार सबैको हो, मेरो उत्पादन बजारमा किन बेच्न नपाउने ।’ उहाँले खोर खाली गर्नुपर्ने भएकाले खोरबाटै कुखुरा नबिक्दा हाटबजार लानु परेको बताउनुभयो ।




नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी

Sociable