Friday, June 7, 2013

खुलेयाम संक्रमित कुखुरा हाटबजारमा बिक्री

भरतपुर । ‘ल हजुर ! गोटाको १२० । सस्तोमा ल हजुर, आउनुहोस् गोटाको १२० !’, हरेक हाटबजारमा सुनिन्छ यस्तो आवाज । शुक्रबार भरतपुरको तीनखोले गुम्बानजिकको हाटबजारमा समेत यस्तै आवाज सुनियो । अन्य हाटबजारमा व्यापारीहरु कपडा वा अन्य उपभोग्य बस्तु बिक्रीका लागि चिच्याइरहेका हुन्थे । तर यहाँ जीउँदो कुखुरा प्रतिगोटा १२० रुपैयाँमा बिक्री भइरहेको थियो ।

पछिल्लो समयमा चितवनमा बर्डफ्लुको संक्रमणले दर्जन बढी फार्मका कुखुरा नष्ट गरिएको थियो । कुखुरामा बर्डफ्लुको संक्रमण सेलाएको छैन । तै पनि भरतपुर–८ मा रहेको ओरेण्टल ह्याचरी उद्योग भने संक्रमित कुखुराहरु खुलेआम बिक्री गरिरहेको छ । अघिल्लो हाटमा समेत कुखुरा बेचेको ओरियन्टलले शुक्रबार पनि खुलेआम कुखुरा बेचिरहेको थियो ।

आम उपभोक्ताको स्वास्थ्यमा असर गर्ने गरी यसरी खुल्ला रुपमा कुखुराको बिक्री गर्न नपाइने भए पनि खुलेआम रुपमा यसरी बेच्दा समेत सरोकारवाला निकाय भने कारबाही नगरी बसिरहेको छ । सडक किनारमा कुखुरा थुपारेर उपभोक्तालाई बेचिरहेका ओरियन्टलका कर्मचारीहरु कुखुरा बजार व्यवस्थापन संघ, कुखुरा मासु व्यवसायी संघका पदाधिकारी र पत्रकारहरु पुगेपछि बाँकी कुखुरालाई गाडीमा हालेर त्यहीँबाटै केही कुखुरा बेचेका थिए ।

कुखुराहरु केही गाडीमा नै मरेका थिए भने केही उपभोक्ताले सस्तो मानेर लगेपछि मरेका थिए । स्थानीय मानबहदादुर परियारले सस्तोमा पाएपछि कुखुरा किनेर लानुभयो । तर कुखुरा जिउँदै घर पुग्न सकेन र उहाँ फर्काउन आइपुग्नुभयो । ‘सस्तो छ र स्वस्थ छ भनेर बेचे, घर पु¥याउन नपाउँदै म¥यो’, उहाँले भन्नुभयो, ‘रोगी रहेछ र त सस्तोमा बेचेका रहेछन् ।’

किनेर लगिसकेको केही समयमा नै कुखुरा मरेपछि फर्काउनेहरु समेत उत्तिकै थिए । आम जनताको स्वास्थमा असर पुग्ने गरी खुला स्थानमा कुखुरा बेच्न नपाइने नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय सदस्य उद्धब तिमिल्सिनाले बताउनुभयो । ‘यसरी खुलेआम रुपमा जिउँदा कुखुरा बिक्रीवितरण गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘के कारणले यसरी बेचिएको हो संघको बैठक बसेर कारबाही गर्छ ।’


यसरी खुला रुपमा संक्रमित कुखुरा बिक्री गर्दा कुखुरा मासु व्यवसायमा नै असर पर्ने हुँदा अनियमित गर्नेलाई कारबाही हुनुपर्ने कुखुरा मासु व्यवसायी संघका अध्यक्ष गणेशप्रसाद कँडेलले बताउनुभयो । ‘जिउँदो प्रतिकिलो १३५ रुपैयाँमा बिक्री भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसरी खुला रुपमा सस्तोमा कुखुरा बेच्नु शंकास्पद छ, यसले हाम्रो व्यवसायलाई समेत असर पार्छ ।’

कुखुरा बेच्न खटिएका ओरिण्टलका कर्मचारी हिमाल कँडेलले भने फार्मबाट कुखुरा नबिकेपछि बजारमा ल्याएर बेच्नुपरेको बताउनुभयो । यता, उक्त कुखुरा स्वस्थ भएको भन्दै डा. रामप्रसाद पौडेलले शुक्रबार नै प्रयोगशाला परीक्षण गरेको प्रमाणपत्र देखाउँदै उहाँले कुखुरा संक्रमित नभएको दावी गर्नुभयो । ‘कुखुरा स्वस्थ हुन्, गर्मीमा राख्दा एक÷दुईवटा मर्नु त स्वाभाविक हो ।’, उहाँले भन्नुभयो ।

शुक्रबारकै मितिमा डा. रामप्रसाद पौडेलले २३० वटा कुखुरा परीक्षण गरेको प्रमाणपत्र दिएका छन् । उहाँसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेन । आफ्नै ह्याचरी, आफ्नै साझेदार फिड्स उद्योग (हिमालय फिड्स) हुँदा समेत ५२ दिनको कुखुराको तौल एक किलो पनि नहुनु शंकास्पद रहेको कुखुरा बजार मासु व्यवसायी संघका अध्यक्ष कँडेलले बताउनुभयो ।

ओरियन्टल ह्याचरी तथा हिमालय फिड्का सञ्चालक उपेन्द्र रिजालले प्रश्न गर्नुभयो, ‘हाटबजार सबैको हो, मेरो उत्पादन बजारमा किन बेच्न नपाउने ।’ उहाँले खोर खाली गर्नुपर्ने भएकाले खोरबाटै कुखुरा नबिक्दा हाटबजार लानु परेको बताउनुभयो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी