Tuesday, April 7, 2015

नमस्ते विहानी: ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ- ...

नमस्ते विहानी: ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ- ...: धेरै पहिला प्रकाशित एउटा अन्तरवार्ता आज ताजा भयो । बुटवल घर भएका विधुर ढकाल  चितवनमा बसेर आमसंचार बिषय अध्ययन गर्नुका साथै चितवन प...

ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ- विधुर ढकाल

धेरै पहिला प्रकाशित एउटा अन्तरवार्ता आज ताजा भयो ।

बुटवल घर भएका विधुर ढकाल चितवनमा बसेर आमसंचार बिषय अध्ययन गर्नुका साथै चितवन पोष्ट राष्ट्रिय दैनिक एवं यसैको अनलाइन संस्करण इ-चितवन पोष्टमा समेत कार्यरत छन् । यसका साथै फेसवुक, ट्विटर जस्ता सामाजिक संजालहरुमा समेत सक्रिय ढकाल ब्लगिङका लागि बिभिन्न नागरिक पत्रकारिता प्लेटफर्महरु मेरोरिपोर्टमिडियामञ्च लगायतमा समेत उत्तिकै सक्रिय देखिन्छन् । आफ्ना ब्लग मार्फत उनी कहिले प्रधानमन्त्री लालध्वजलाई खुलापत्र लेख्छन त कहिले एमाओवादी अध्यक्ष प्रचण्डलाई रंगमञ्चमा नेपालीले तपाईँको नाटक किन हेर्ने भन्दै प्रश्न सोझ्याउँछन् । ट्विटरमा अल्टर-कान्छो भनेर आफुलाई चिनाउने ढकाललाई हामीले यस पटक मेरोरिपोर्टको साताको ब्लगर स्तम्भमा प्रस्तुत गरेका छौं । प्रस्तुत छ मेरो रिपोर्टका लागि पवन न्यौपानेले विधुर ढकालसंग गरेको कुराकानीः
ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो?
मेरो एक जना दाजुले म सानो छँदै माइस्पेसमा खाता खोल्नुभएको रहेछ, मलाई यसबारेमा ज्ञान थिएन । सामाजिक सञ्जालमा पनि त्यति भिजेको थिइन, पछि प्लस टु पढ्दा एउटा ब्लग खोलेको थिएँ तर त्यति चलाइन । अहिलेको व्लग नमस्ते विहानी गत वर्ष २७ डिसेम्बर २०११ बाट थालेको हुँ ।
आफ्नो ब्लगको बारेमा केही भनिदिनुहुन्छ कि?
नमस्ते विहानी एक सिकारु व्लगरको व्लग हो । म सिक्दैछु । पत्रकारितामा पनि सिकारु नै हुँ । मेरो व्लगमा समाचारसँगै मेरा मौलिक रचनाहरुलाई पनि प्रकाशित गर्ने गरेको छु । सामाजिक तथा तात्कालिक विषयमा मेरा लेख तथा गजल र अन्य सामाग्री पोष्ट हुन्छन् । मैले आफूले काम गर्ने पत्रिकाका लागि लेखिएका समाचारहरु पनि यसमा पोष्ट हुन्छन् । सुरुमा त मैले विदेशमा रहनुभएका साथिहरुको आग्रहमा केही कपि पेष्ट समाचार तथा अन्य सामग्री पनि राख्ने गर्थें तर पछि बन्द गरेँ । अहिले मेरा आफ्ना फिचर तथा केही प्रभाव पार्न सक्ने खालका समाचार तथा लेख रचना, फोटोहरु मात्र रहन्छन् ।
ब्लगिङ किन गर्नुहुन्छ?
ठ्याक्कै किन त म भन्न सक्दिन पहिले यसलाई सौखको रुपमा प्रयोग गरेँ, पछि लत नै बस्यो । खाली समय पायो कि व्लगिङमा रमाउँछु । आफ्ना कतिपय समाचारहरु पत्रिकामा छापिँदा सम्पादित भएर आउने तर मैले आफ्नो व्लगमा पोष्ट गर्दा जस्ताको तस्तै राख्न पनि पाउने । आफ्नो रचना काटिँदा चित्त दुख्छ, अनि पत्रिकामा छाप्नुभन्दा अगाडि नै यसमा राख्छु । समाचारको विषयमा त त्यति समय फरक नपर्ला तर मेरा लेखहरु मैले काम गर्ने सञ्चारमाध्यममा भन्दा पहिला नमस्ते विहानीमा आउँछन् । यसमा नै म रमाएको हुन्छु ।
ब्लगका लागि अलग्गै समय खर्चिनुहुन्छ कि अन्य सञ्चारमाध्यमका लागि गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ?
त्यस्तो अलग्गै समय त छुटाएको छैन तर रिपोर्टिंङमा निस्कँदा व्लगमा पोष्ट गर्ने सामग्रीहरु के हुन सक्छन् भनेर पनि सोचिरहेको हुन्छु । पत्रिकामा नआउने समाचारहरु (पत्रिकाको आफ्नै नियम छ, त्यसमा छापिँदैन) पोष्ट गर्नका लागि मेरो व्लग त छ नि, भनेर त्यो कोणबाट पनि समाचार खोजिरहेको हुन्छु । पत्रिकामा छापिने समाचारहरुमा भन्दा आफ्नो ब्लगमा केही फरक पनि दिएको हुन्छु ।
अरुका ब्लग कत्तिको पढ्नु हुन्छ?
नियमित जसो पढ्छु । अनलाइन साइटहरु भन्दा बढि ब्लग नै हेर्छुजस्तो लाग्छ । माइसंसार, चितवन कै दाजु रमेशकुमार पौडेलको व्लग निफिरी विदेश रहनुभएका साथीहरुले चलाउनुभएको व्लग पनि हेर्छु । मेरो रिपोर्टमा साताको व्लगर हुनुभएका सबै जसोको व्लगमा पुगेको छु ।
कस्ता ब्लग तपाईँका रोजाइमा पर्छन्?
म धेरैजसो सामाजिक सञ्जाल फेसवुक तथा ट्वीटरमा रहेका लिंकहरुबाट नै अरुको ब्लगमा जान्छु । केही आफुलाइ ठेगाना थाहा भएका ब्लगहरु नियमित हेर्छु । सामाजिक विषयवस्तु तथा साहित्यिक व्लगहरुमा पुग्ने गरेको छु । बाहिर प्रकाशित भन्दा पनि ब्लगमा प्रकाशित रचनाहरु मलाई स्तरीय लाग्ने गर्छन् ।
तपाईँ त आमसंचारको क्षेत्रमा क्रियाशिल व्यक्ति पनि । आमसंचारको लेखन र ब्लग लेखनमा के फरक पाउनु भयो?
आमसंचारमा लेख्दा त्यसको आफ्नै ढर्रामा दगुर्नुपर्ने हुन्छ । व्लगिङमा आफ्नो मौलिकता देखिन्छ । आमसंचारको माध्यममा देखिने विधुर भन्दा नमस्ते विहानीमा आउने विधुर बढि मौलिक देखिन्छ जस्तो लाग्छ म आफैलाई । ब्लगमा म आफ्नै पहिचान लिएर आएको हुन्छु तर चितवन पोष्टमा त्यहाँको एक कर्मचारीको रुपमा आफूलाई पाउँछु ।
चितवनमा ब्लग लेखन कत्तिको चलेको छ?
केही हदसम्म चलेको छ । यहाँ केही पत्रकार साथीहरुले यसलार्ई चलाउनुभएको छ । रमेशकुमार पौडेलको निफिरी, सूर्यप्रकाश कँडेलको सूर्यको व्लग जस्ता व्लगहरु छन् ।
ब्लग लेखनसंग जोडिएका कुनै सम्झनलायक घटना वा प्रसंग छन?
मैले मेरो ब्लगमा विद्यालयको नाममा चितवनमा अवैध धन्दा भन्ने समाचार पोष्ट गरेको थिएँ । त्यसैको फलोअप स्वरुप अवैध विद्यालय कारबाहीका लागि प्रशासन गुहारिने भन्ने अर्को समाचार पनि लेखेँ, जुन मेरो पत्रिका तथा मेरो रिपोर्टमा पनि हालेको थिएँ । त्यसको कारणले जिल्ला शिक्षा कार्यालय चितवनले २४ घण्टामा नै एक्सन लिएको छ । मलाई कार्यालयबाट सराहना पनि मिलेको थियो । त्यस्तै अर्को समाचार जिशिअकी आमा निरक्षर साक्षर बनाउन जिशिकाको पत्र भन्ने समाचार जुन पत्रिकामा पनि प्रकासित भएको थियो, त्यो समाचार लेखेबापत मैले आफ्नै कार्यालयबाट नगद पुरस्कार पनि पाएको थिएँ ।
तपाईँले ब्लगमा राख्नु भएको सामग्री पहिले तपाईँ कार्यरत संचारमाध्यममा राख्न वा त्यसबाट दिन कत्तिको दबाव आउँछ?
खासै दवाव त होइन् तर पनि पत्रिकाकालाई आफ्नो समाचारले कुनै पनि मुद्दालाई ब्रेक गरोस भन्न चाहना त राख्छन नी !
फेरी तपाइकै ब्लगको सेरोफेरोमा फर्किउँ, तपाईँको ब्लगका भिजिटर कति छन्?
हालसम्म करिब १३ हजार जति भिजीट भएको छ । त्यसमध्ये आफैंले पनि कतिपटक हेरियो यकिन त छैन । तापनि मेरो व्लगलाई विदेशमा रहनुभएका मेरा साथीहरुले नियमित हेर्ने गरेको खबर पाउँछु, उनीहरुको प्रोत्साहन पाउँदा खुसी लाग्छ । त्यस्तै यहाँका साथीहरुले पनि अल्टर कान्छोले के लेख्छ भनेर चासो दिएर व्लगसम्म पुग्ने कष्ट गर्नुहुन्छ ।
तपाइँ सामाजिक संजालहरुमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनु भयो?
ब्लग आफूले लेखेका सामाग्रीहरु पोष्ट गर्नका लागि प्रयोग गरिरहेको हुन्छु भने ट्वीटर र फेसवुकलाई तिनको प्रचारमा प्रयोग गरिरहेको हुन्छु । फेसवुक र ट्वीटर आफ्ना भन्दा पनि अरुका विचारहरुलाई बुझ्नका लागि प्रयोग हुन्छ जस्तो लाग्छ भने ब्लगले आफ्ना विचारलाई बाहिर ल्याउन सहयोग गरेको छ । ट्वीटर र फेसवुकले व्लग लेखनका विषयहरु पहिल्याउन सहयोग पुर्याएको जस्तो लाग्छ । यिनीहरु विविध सामाजिक विषयमा छलफलका लागि प्रयोग गरिन्छन् र टाढाका साथीहरुसँग सम्पर्कको माध्यम पनि बनेका छन् ।
सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या पत्रकारका रुपमा?
मलाई जसले जुन रुपमा चिन्नुहुन्छ त्यसमै म खुशी छु । यहीं पनि मलाई पत्रकार भनेर चिन्ने जमात कम छ । जसरी अरु साथीहरुलाई चिन्छन त्यसरी मलाई चिन्दैनन, किनकी म तिनीहरुलाई आफ्नो परिचय दिँदै हिँड्दिन । मेरो नामलाई चिन्छन्, मलाई चिन्दैनन् । ब्लगमा पनि त्यही हो । सामाजिक मिडियामा म ब्लगर हुँ, जुन जमातसँग मेरो सम्पर्क हुन पाएको छ । पत्रकार भएर पाएको छैन । तर पनि मेरो पेशा पत्रकारिता हो । कामलाई पनि माया गर्छु, पत्रकार भनेर पनि चिनाउन चाहन्छु ।
नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?
म अनलाइनको दुनियाँमा राम्रोसँग भिज्न थालेका करिब सात आठ वर्ष भयो । शुरुका वर्षहरुमा भन्दा अहिले अनलाइनको विकास धेरै भएको छ । पछिल्लो चरणमा व्लग पनि शसक्त माध्यम बनेको छ । अहिलेको अवस्थामा जुन आवश्यकता थियो त्यस अनुरुप भए जस्तो लाग्दैन् तर पनि नभएको भन्न चाँहि मिल्दैन ।
तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग?
सबै नारीलाई म क्लियोपेट्राको संज्ञा दिऊँ?, मलाई कुट्ने मेरा मित्र, मेरो दोष के ?, प्रधानमन्त्री लालध्वजलाई अल्टर कान्छोको खुलापत्र, पछिल्लो समयमा यी ब्लग पोष्टहरु बढि रुचाइए । मलाई विदेशबाट फोन गरेर पनि राम्रो लेख भन्नुभएको छ । साथीहरु माझ मलाई अल्टर कान्छो भनेर भनेर चर्चा गरिन्छ, कार्यालयमा पनि अहिले यही नाम प्यारो हुन थालेको छ ।
ब्लगबाट के पाउनुभयो, के गुमाउनु भयो?
गुमाउन त केही परेको छैन, पर्दैन पनि होला । ब्लगले नाम चाहीँ दिएको हो कि भन्ने लाग्छ ।
ब्लग लेख्न चाहने र लेखिरहनु भएकाहरुलाई के सन्देश दिनु हुन्छ?
ब्लग लेख्न चाहनेलाई मैले के सन्देश दिनु र ! सिकारु न हुँ । तापनि आफूले लेखेको व्लगले केही सकरात्मक प्रभाव पार्छ जस्तो आफैलाई लाग्नुपर्छ भन्छु ।
ब्लग लेखनका बारेमा रहेको आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?
नेपालमा व्लगिङ्को विकास भएको छोटो समयमा नै यति गति लियो कि केही ट्रयाक छाडेको हो कि भन्ने लाग्छ । कतिपय सामाग्रीहरु यति अश्लिल हुन्छन कि, ति हामी कार्यालयमा सहकर्मीहरुसँगै बसेर समेत हेर्न मिल्ने खालका हुँदैनन् । अँझ आजभोली फेसवुकमा त यति अश्लिलता झल्कियो कि जे पनि आउँछ । नेताहरुलाई मुखमा जे आयो त्यहि लेखेका हुन्छन् । यस्तो पोष्टहरुलाई हामी आफैंले नियन्त्रणमा ल्याउनुपर्छ जस्तो लाग्छ ।
अन्त्यमा,
मेरो रिपोर्टलाई धन्यवाद दिन चाहन्छु । यसले नेपालमा छरिएर रहेका व्लगरहरुलाई एकठाँउमा ल्याउन सफल भएको छ । सामाजिक सञ्जालमा नविन प्रयोग गरिरहेको छ । सफलताको कामना व्यक्त गर्दछु ।
http://meroreport.net/page/bow-bidhur-dhakal

बन्द डायरी

मिति २०७१ चैत २४ गते 
बन्दका कारणले कलेज जान नपर्दाको एउटा आनन्द विहान अबेर सम्म सुत्न पाउनु तै पनि अर्को फाइदा पनि छ । आज कलेज जान नपर्ने हुँदा हिजो राती अलिकती सोमरसमा मेहफिल जमाइयो । 
विहान उठ्दा अबेर नौ बजेको थियो । खाना पकाएर खाइयो अनी सुरु भयो कोठाभित्र बन्दको सास्ती । 
गोजि चिसो थियो । मोवाईलमा व्यालेन्स नभएको घरमा फोन गरेर पैसा मगाउँ भने पनि रिचार्ज हाल्न पसल बन्द । हिजो सँगै सोमरसमा जमेको साथीको मोवाईलमा घर रहेको दाजुलाई फोन गरे । 
मः दाई यार पैसा छैन यसो पैसा पठाइ दे न तनाव भो यार । 
दाईः अब बन्दमा कहाँ बाट पैसा पठाइदिने हो र । 
मः झ्याउ नगर न यार बैंक त खुलिहाल्छ नी । 
रुपन्देही हो घर । लुम्बिनीको २१ किलोमिटर उत्तर । त्यहाँ दुई वटा बैंक छन् । मेरो खाता त्यहाँ भएका बैंकमा नभएका कारण आइएमइ गर्न लगाए । 
दाईः ल ल म बैंकमा पुगेर खबर गर्छु ।
दाईले फोन राख्यो । अलिकती गोजी तातो हुने आश आयो । 
केही समयमा फेरी फोन आयो । 
दाईः ए बैंक नै खुलेको छैन् । यार कसरी पठाउने हो र । रविले फोन गरेर बैंक बन्द गर्न भनेको रे उसको अनुमति चाहिन्छ रे । 
मः अब बैंकको खातापाता हेर्न पक्कै रवी आउने होइन होला । भित्रबाट पठाउने हो । 
दाईः हुन्न भन्यो । 
अब के गर्ने यार । तनाव पो भयो । 
मः मेरो नाम ले न । बैंकलाई केही भए भाइले जिम्मा लिन्छ भन् । त्यो रवि को हो ? मेरो नाम ले त  । एकपटक फेरी कोसिस गर न ।
दाईः  ल ल ।
फेरी फोन आयो ।
दाईः यहाँबाट कुनै पनि उपाय भएन् । अर्को बैंकबाट कोसिस गर्छु । 
फोन काटियो । 
फेरी फोन अयो ।
जवाफमा भएन यार । 
मेरो मोवाईलमा व्यालेन्स हाल्दे त म कोसिस गर्छू । 
१९७ मा फोन गरेँ । मुक्तिनाथ बैंकको हरैया शाखाको नं. मागे । 
हेल्लो ।
मः हजुर मुक्तिनाथ बैंक हरैया हो । 
कर्मचारीः हो हजुर ।
मः आज कारोवार भा छ की नाई सर । 
कर्मचारीः छैन सर ।
मः अनी अन्त त भइराछ त ? 
कर्मचारीः गाउँ हो सर  रिस साँध्छन त्यही भएर । 
मः हस्त । 
फोन राखे यो उपाय पनि काम लागेन् । 
यसो सम्झे एउटा साथी । जो त्यही मुक्तिनाथ बैंकमा काम गर्छ । मोवाईलमा नं. हेरे रहेनछ । उसको बहिनी पुजालाई फोन गरे । 
मः बैनी कहाँ ?
पुजाः दाङ् दाई ।
मः दाईको नं. देउ त ।
पुजाः ह्या दाई पनि आज सम्म कति पटक माग्नु भयो दाईको नं. ? अब माग्नु भयो भने दिन्न । सेभ गरेर राख्नुस । नं. ९८६८१.............।
फेरी मोवाईल घुमाए । 
मः मधु तँ कहाँ हो ?
मधुः अपिसमा । 
मः कारोवार भइराछ ?
मधुः छैन यार । पेण्डिङ् काम भइराछ । 
मः एउटा सहयोग गर । मलाई पैसा चाहिएको छ । आइएमी गरिदिनु परो । 
मधुः सिस्टम नै खोलेको छैन् यार ।
मः मेरो दाइले पैसा ल्याइदिन्छ भित्रबाट हाल्देन थोरी तैले हाल्दिस भने कसैले था पाउँछ र ? 
मधुः ल ल । दाईलाई भन्देउ । 
दाईलाई फोन गरे । 
मः ल मधुलाई फोन गरेर पैसा लैदे । उसले फोन गरेर पैसा दे उसले हाल्दिन्छ । 
यती गर्दा । दिउसोको ३ बज्यो । कोठामै बन्दको प्रभाव । 



नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी