Thursday, January 31, 2013

विद्यालयको नाममा चितवनमा अवैध धन्दा


कारबाहीको अन्तिम तयारीमा छाँै ः जिशिअ
भरतपुर । चितवन जिल्लामा अवैध रुपमा विद्यालयको नाम राखी विद्यार्थी तथा अभिभावक ठग्ने धन्दा नै चलिरहेको छ । गत कात्तिकमा पश्चिम चितवनको पार्वतीपुरमा ग्यालेक्सी पव्लिक स्कुलको नाममा विनादर्ता कक्षा चलाइ विद्यार्थी तथा अभिभावकहरु ठगी गरिरहेको पत्ता लागेको थियो ।
जिल्लामा योसँगै थप विद्यालयहरु अनुमतिविना चलेको खुलासा भएको छ । जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार थप सात स्थानमा अनुमतिविना विद्यालय सञ्चालन भइरहेका छन् । अनुमतिविना विद्यालयको नाममा कक्षा सञ्चालन गरिहेका संस्थाहरु चैनपुरमा मात्र तीनवटा रहेको कार्यालयले जनाएको छ । चैनपुरमा आदर्श इंग्लिश बोर्डिङ, बुद्धशान्ति इंग्लिश बोर्डिङ, हिमालय एकेडेमीको नाममा विद्यार्थी तथा अभिभावकहरुलाई ठग्ने काम भइरहेको छ ।
त्यस्तै पिप्लेमा साइनिङ एजुकेशनल बोर्डिङ, दीपज्योति बोर्डिङ स्कुलका नाममा दुईवटा र गर्दासमा चतुर्मुखी र त्रियक इंग्लिश बोर्डिङ स्कुलको नाममा अवैध धन्दा भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अवैधरुपमा विद्यालय चलाउनेलाई कारबाही गर्ने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।
‘यी विद्यालय, विद्यालय नै होइनन्, यिनीहरुलाई एक हप्ताभित्र कारबाही गरिन्छ’, जिल्ला शिक्षा अधिकारी शर्माले भन्नुभयो, ‘अटेर गरे प्रहरी लगाएरै भए पनि बन्द गराइन्छ ।’
थप पाँच विद्यालयमा अनुमति भन्दा बढि कक्षा

त्यस्तै जिल्लामा थप पाँच विद्यालयले अनुमति लिएभन्दा बढी कक्षा सञ्चालन गरिरहेको पाइएको समेत उहाँले जानकारी दिनुभयो । यसअगाडि यस्ता अवैध कक्षा सञ्चालन गर्ने १२ विद्यालय रहेको चितवन पोष्ट दैनिकले समाचार प्रकाशित गरेको थियो ।
यसअगाडि पूर्वी चितवनको वीरेन्द्रनगर–२ को साँकुरा एकेडेमी, वीरेन्द्रनगर–४ को नेशनल आवासीय मावि, खैरहनी–७ को इन्टरनेशनल सेकेन्डरी स्कुल, खैरहनी–६ को मातृभूमि शिक्षा सदन, खैरहनी–८ को जेनिथ इंग्लिश बोर्डिङ स्कुल, कठार–७ को सिर्जनशील शिक्षा निकेतन, पिठुवा–३ को नर्थ प्वाइन्ट एकेडेमी, जुटपानी–१ को जुटपानी जनप्रिय शिक्षा सदन र सोही वडाकै जुटपानी शिक्षा सदनले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरेको पाइएको थियो ।
त्यस्तै मेघौली–७ को नमुना इंग्लिश बोर्डिङ स्कुल र मेघौली–४ को अलमाइटी एकेडमी, माडी बघौडाको पिसल्याण्ड इंग्लिश स्कुलले अनुमतिभन्दा बाहिरका कक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय चितवनले स्पष्टीकरण सोधेको थियो ।
कार्यालयमा चित्त बुझ्दो जवाफ नआएको भन्दै कार्यालयले यी विद्यालयलाई समेत कारबाही गर्ने तयारीमा रहेको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो । थप पाँच विद्यालयका बारेमा भने उहाँले केही बताउन चाहनुभएन । ‘थप पाँच विद्यालयमा अनुमतिभन्दा बाहिरका कक्षा सञ्चालन भइरहेका छन्, तिनीहरुलाई पनि कारबाही हुन्छ’, उहाँले भन्नुभयो, ‘नाम कारबाहीसँगै बाहिर ल्याउँछौँ ।’
जिल्ला शिक्षा कार्यालयले चितवनमा दर्ता भएर कक्षा नचलाएका थप आठ निजी विद्यालयलाई खारेजीको तयारीसमेत गरेको छ । लामो समयसम्म कक्षा नचलाएको भन्दै उनीहरुको दर्ता खारेजीका लागि कार्यालयले पुस २९ गते नै ३५ दिने सूचना जारी गरिसकेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी