Monday, October 29, 2012

चालीस पक्राउ, पौने दुई लाख राजस्व संकलन

चाडपर्वसँगै प्रहरी सक्रियता बढ्दो 


भरतपुर । चाडपर्वसँगै चितवन प्रहरीले आपराधिक क्रियाकलाप न्यूनीकरणको कारबाहीलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालयले यस सालको दसँैको सुरुवातदेखि अन्त्यसम्ममा विभिन्न आरोपमा चालीस जनालाई पक्राउ गरेको जनाएको हो ।

गत असोज ३० गते घटस्थापनाको दिनदेखि फूलपातीको अघिल्लो दिन आइतबार कात्तिक १२ गतेसम्म प्रहरीले विभिन्न आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमध्ये छ जना कौडा खेल्ने रहेका छन् भने ३२ जना लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने रहेका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । कौडा खेल्नेहरुसँगबाट प्रहरीले नगद ७२ हजार ६५० रुपैयाँ र एक सेट कौडासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

मुद्दा चलाउने तयारी

कौडा खेल्दै गर्दा पक्राउ परेका छ जनालाई जुवातासअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । ‘उनीहरुविरुद्ध दसैँ बिदा खुलेपछि (मंगलबार) नै जिल्ला अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ’, प्रहरी नायव उपरीक्षक पौडेलले भन्नुभयो । बाँकी ३२ जनालाई भने सामान्य सोधपुछ गरी आइन्दा यस्तो नखेल्ने÷नखेलाउने सर्तमा छाडिएको उहाँले जानकारी दिनुभयो ।

जाडपर्व नजिकिँदै गर्दा जुवातास खेल्ने खेलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न प्रहरी लागिपरेको उहाँको भनाइ थियो । दसैँ सकिएसँगै विष्फोटक पदार्थ पटका भित्रिने हुँदा त्यसतर्फसमेत प्रहरी सचेत रहेको उहाँको भनाइ छ ।

प्रहरीले जिल्ला भित्रिने नाकामा सवारी चेकजाँचलाई समेत कडा पारेको छ । चितवनको लोथर, नारायणी पुल तथा माडी क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

नाकाहरुमा कडाका साथ चेकजाँच

‘विष्फोटक पदार्थ भित्रिने सम्भावित नाकाहरु लोथर, नारायणी पुल र माडी क्षेत्रमा कडाइका साथ कारबाहीलाई अगाडि बढाइएको छ’, प्रहरी नायव उपरीक्षक पौडेलले भन्नुभयो । चाडपर्वका बेला चोरी डकैतीका घटना बढ्ने हुँदा साधा पोसाकका प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षकको नेतृत्वमा साधा पोसाकका प्रहरी परिचालन गरेको उहाँले बताउनुभयो ।

यता, प्रहरीले तिहारलाई मध्यनजर गरी विशेष सुरक्षा योजना लागू गरेको छ । हरेक प्रहरी दैनिक १८ घण्टा खटिने भन्दै त्यसका लागि हरेक जवान फरक लक्ष्यका साथ उत्रिने उहाँको भनाइ छ । ‘हामी ‘वान् मेन वान् टिम, वान् मिसन’को नाराका साथ काम गर्दैछौँ’, पौडेलले थप्नुभयो, ‘त्यसका लागि हामी चौबीसै घण्टा खटिन तयार छाँै ।’

चोरीको मोटरसाइकलसहित दुइ पक्राउ


त्यस्तै प्रहरीले चोरीको मोटरसाइकलसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ । गत असोज २८ गते भरतपुर बेलटाँडीबाट चोरी भएको केदार सिवाकोटीको नाममा रहेको ना १२ प २२५८ नम्बरका मोटरसाइकलसहित भरतपुर–११ बस्ने १६ वर्षीय निशान राई र भरतपुर–५ बस्ने २८ वर्षीय विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

४१ चालक कारवाहीमा पौने दुई लाख राजस्व

यता, सोही अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सावारी नियम उल्लङ्घन गर्ने एक हजार ४१ जना चालकलाई कारबाही गरेको छ । उनीहरुबाट कार्यालयले एक लाख ७१ हजार ६५० रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले जानकारी दिनुभयो । सोही अवधिमा ६१ जना ‘मापसे’ काराबाहीमा परेको समेत उहाँले जानकारी दिनुभयो ।

अन्य १० दिनको तुलनामा चितवन भएर चल्ने यातायातका साधनहरु दसैँको १० दिनमा बढेको उहाँले जानकारी दिनुभयो । दैनिकजसो यस जिल्लाबाट करिब छ हजारको हाराहारीमा सवारीसाधन आवतजावत गरेको उहाँको भनाइ थियो ।


दस युवा दैनिक तारेखमा   

भरतपुर । आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा दस जना युवाहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले दैनिक हाजिरी तारेख तोकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार थापाले भन्नुभयो, ‘आपराधिक गतिविधिमा संलग्न दस जना डन भनिने फ्याउरे गुण्डाहरु अहिले हामीकँहा दैनिक तारेख धाइरहेका छन् ।’

यसरी दैनिक तारेख धाउनेहरुमा नीति राई, कुमार गुरुङ, सन्तोष गुरुङ, सञ्जीव लामा, उमेश कोइराला, सुरज शाही, प्रकाश गुरुङ, विनय लामा, गगन केसी, र मनोज तामाङ रहेका छन् ।

यसअघि जिल्लामा आपराधिक घटना गराई गुण्डागर्दी मच्चाउने आरोप लागेका उल्लेखित व्यक्तिहरुबाट कुनै थप घटना नदोहोरियोस् भन्नका लागि दैनिक तारेख तोकिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यी नाम गरेका व्यक्ति फ्याउरे गुण्डा हुन्, उनीहरुलाई डन भनेर उपाधि दिनु हास्यास्पद हुन्छ ।’ चितवनमा प्रहरी प्रमुख भएदेखि नै गुण्डागर्दी नियन्त्रणलाई मुख्य काम बताउँदै आउनुभएका प्रमुख थापाले आपराधिक गतिविधि गर्ने गराउने जोकोहीलाई प्रभाव र दबाबको भरमा नछाडिने बताउनुभयो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी