Friday, October 19, 2012

चाडपर्वमा उच्च सुरक्षा सतर्कता

नारायणगढ । आपराधिक गतिविधिमा संलग्न तथा अपराध घटाउन सक्ने सम्भावित व्यक्तिहरुको नामावली आफूले सँगै लिएर हिँड्ने गरेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले बताउनुभएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल चितवन शाखाले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान एवम् ‘चाडपर्वमा जिल्लाको शान्ति सुरक्षा’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

आपराधिक घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सचेत रहेको उहाँले बताउनुभयो । ‘शान्ति सुरक्षाको प्रत्याभूति गराउनका लागि दिन रात खटिएका छौँ’, उहाँले भन्नुभयो, ‘प्रहरी प्रशासन चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनालाई टार्न लागी परेको छ ।’ चाडपर्वका बेला जिल्ला सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने उहाँको धारणा थियो ।

सबै सरकारी कार्यालयका गाडि प्रहरीले प्रयोग गर्ने

जिल्लाका सबै सरकारी पिकअप गाडी बिदाका बेला प्रहरीले गस्तीका लागि प्रयोग गर्ने उहाँले जानकारी गराउनुभयो । ‘शनिबारदेखि नै सम्पूर्ण सरकारी कार्यालयका गाडी प्रहरीको गस्तीका लागि प्रयोगमा ल्याइने छ’, प्रजिअ दवाडीले भन्नुभयो, ‘दिनमा आलोपालो गरेर सशस्त्र र जनपथ प्रहरीले एक÷एकवटा सरकारी कार्यालयका गाडी प्रयोग गरी गस्ती गर्ने छन् ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार थापाले कुनै पनि दल वा व्यक्तिको दाबाबमा आएर अपराधीलाई उम्कन नदिने दोहो¥याउनुभएको छ । उहाँले अहिलेसम्म त्यस्तो कुनै दबाबसमेत नआएको दावी गर्नुभयो ।

चितवनमा ठूला डन नै छैनन् ः एसपी थापा

चितवनमा कुनै पनि ठूला डनहरु नभएको उहाँको दावी थियो । ‘यहाँ मैले त्यस्ता कुनै पनि डनहरु पाइनँ’, उहाँले भन्नुभयो, ‘उनीहरु सबै सानातिना गुण्डाहरु हुन्, पाखा लाग्दै छन् ।’

चाडपर्वका बेला आपराधिक घटना हुनसक्ने क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । ‘आपराधिक घटना हुने सम्भावित स्थानहरु सुन पसल, बैंक तथा मनि चेन्जरहरुमा सादा तथा पोसाकका प्रहरी परिचालन गरिएको छ’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो ।

दसैँ र तिहारलाई भनेर भारतीय बजारबाट विष्फोटक पदार्थ पटकालगायतका बस्तु भित्रन सक्ने हुँदा त्यसतर्फ प्रहरी सचेत रहेको उहाँको भनाइ थियो । ‘पटकालगायत विष्फोटक पदार्थ भित्रिने समय भएकोले हामी त्यसतर्फ सचेत छाँै’, उहाँले भन्नुभयो, ‘त्यसलाई नियन्त्रण गर्नका लागि राजमार्गमा भारतीय बोर्डरबाट आउने सवारी चेकजाँचलाई कडा पारेका छाँै ।’

राजमार्गमा यात्रु तथा सवारी लुटिने पनि उत्तिकै सम्भावनालाई ख्यालमा राख्दै राजमार्गमा सशस्त्र र जनपथको छुट्टाछुट्टै चेक प्वाइन्ट स्थापना गरेर चेकिङ भइरहेको उहाँले जानकारी दिनुभयो । दसैँ तथा तिहारलाई जुवातासमुक्त पार्ने उहाँको दावी थियो ।

दसैँ तिहारलाई जुवातासमुक्त बनाउँछाँै


‘दसैँ र तिहारलाई जुवातासमुक्त बनाउने अभियानमा छौँ, यहाँ गरिएको कडाइका कारण जुवाडेहरु बाहिरी जिल्लामा गएको सुनिएको छ तिनीहरुलाई त्यहाँका प्रहरीको सहयोगमा नियन्त्रण लिने छौँ’, उहाँको प्रतिबद्धता थियो ।

जनशक्ति कम हुँदा समस्या उत्पन्न भएको प्रहरी उपरीक्षक थापाको भनाइ थियो । ‘कम जनशक्ति छ, एक जना प्रहरीले एक हजार २२ जनसंख्या हेर्नुपर्ने बाध्यता छ’, उहाँले थप्नुभयो ‘तर पनि हामी सुरक्षाका विषयमा कुनै पनि सम्झौता गर्दैनौँ, पहिले १२ घण्टा खटिन्थ्यौँ अहिले १८ घण्टा ।’

यातायात व्यवसायीले यात्रीलाई ठग्ने गरेको गुनासो आएको भन्दै पुलचोक तथा बसपार्कमा प्रहरी परिचालन गरिएको थापाले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सहनलाल प्रधानलगायतले बोल्नुभएको थियो ।

संघका शाखा अध्यक्ष सूर्यप्रकाश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममाथि कार्यक्रमका संयोजक तथा संघका शाखा उपाध्यक्ष विनोदबाबु रिजालले प्रकाश पार्नुभएको थियो ।

प्रहरी पनि प्रतिबद्ध    

खैरहनी । खैरहनी उद्योग वाणिज्य संघले शुक्रबार चितवनका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत गरेको छ । पूर्वी चितवनको पर्सामा एक कार्यक्रमको आयोजना गरी भर्खरै जिल्लामा सरुवा भएर आएका प्रहरी उपरीक्षक दीपककुमार थापा र गढीमाई गण भण्डाराका गणपति गणेशबहादुर थापालाई स्वागत गरिएको हो ।

कार्यक्रममा जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न चितवनका प्रहरी प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक थापाले आफ्नो पहिलो प्राथमिकता चितवनमा बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्ने रहेको बताउनुभयो ।

जिल्लामा शान्ति सुरक्षा कायम गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उहा“ले गुण्डागर्दी धेरै दिन नटिक्ने बताउनुभयो । दलहरुले गुण्डाहरुलाई राजनीतिक संरक्षण दिइरहेको भन्दै उपरीक्षक थापाले त्यसलाई त्याग्न आग्रहसमेत गर्नुभयो । उहा“ले चाडपर्वलाई मध्यनजर गरी जिल्लामा सुरक्षा संयन्त्र कडा परिएको जानकारी दिनुभयो । 

त्यस्तै गढीमाई गण भण्डाराका गणपति गणेशबहादुर थापाले जनतालाई शान्ति सुरक्षाको महसुस गराउन आफूहरु पनि दिनरात खटिरहेको भन्दै नेपाल प्रहरीसँग मिलेर काम अघि बढाइरहेको बताउनुभयो । प्रहरीले मात्र अपराध न्यूनीकरण गर्न नसक्ने भएकाले सबै पक्षको समन्वयको आवश्यकता रहेकोमा थापाले जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले चितवनमा रहेको प्रहरी प्रमुखहरुको टिम सक्षम भएको र समन्वय गरी अघि बढेकाले शान्ति सुरक्षामा कायम राख्न कुनै कसर बा“की नराखिने बताउनु भयो ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष केशवराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका गोपाल परियार, का“ग्रेसका भजनप्रसाद मुडवरी, एमालेका राजु सेढाईं, मालेका शिवप्रसाद खनिया, हिमालयन बैंक पर्र्सा शाखा प्रमुख शान्ता अधिकारी, उद्योग वाणिज्य संघ खैरहनीका सल्लाहकार समिति संयोजक राजेन्द्र बुर्लाकोटी, सदस्य प्रेम रिमाल, निवर्तमान अध्यक्ष बलराम अर्याललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी