Thursday, October 18, 2012

कसरी मनाउने खै देवहरुको विजय भएको मानेर यो दसँैलाई ?

विधुर ढकाल
नेपालीले बडादसैँ राम्रोसँग मनाउन नपाएको पनि अहिले करिब १८ वर्षभन्दा बढी भइसकेको छ । सम्पूर्ण नेपालीको चाहना सुन्दर, सुसंस्कृत नेपालमा नयाँ र लोकतान्त्रिक दसैँ मनाउने थियो तर पनि यो चाहना पूरा हुन सकेको छैन । दसैँ असुर शक्तिको पराजय तथा दैवी शक्तिको विजयका रुपमा मनाउने गरिन्छ । नेपालमा भने ठीक उल्टो भएको छ ।



नेपाली सबैले यसको उत्सव मनाउन पाउनुपर्छ तर यस्तो मान्यता राख्दैमा कहाँ पूरा हुन्छ र ? यहाँ कतिले आफ्ना वेदनाहरुका कारणले यसलाई ‘आयो र गयो’ का रुपमा मात्र लिएका छन् । नयाँ बिहानीको पर्खाइमा बसेकाहरुले कसरी बिहानी र दिनको उत्सव मनाउन सक्थे र ! त्यस्तै भएको छ दसैँ, नेपालीका लागि सुन्दर कल्पनामा हराएका मनहरु यतिबेला सुन्दरताको धरातलमा नपुग्दै भासिएका छन् अन्धकार भुमरीमा ।
खुशीका लागि घर बाहिरिएको छोरो आउने आशामा कयौँ आमाहरुले घटस्थापनाका दिन छरेका जमरा छोराको शिरमा चढाउन नपाउँदै ओइलिन थालेका छन् । कतिका खुशीका रङहरुले रङ्गिंने बेलामा ती बूढीआमा पीर र व्यथाले थला पर्दै छोरोले एक बचन ‘आमा ढोग छ है’ भन्ने–सुन्ने आशामा दमले घुट्किएका छन् । यस्तो बेलामा सहरमा बसेर गाउँलाई राज गर्नेलाई दसैँ आए पनि वास्तविक नेपालीलाई यो कसरी आउन सक्छ ?

मलाई सम्झना छ, अहिलेसम्म कति वर्ष भयो पल्लाघरकी आमाले दसैँमा जमरा छरेर कोजाग्रत पूर्णिमाका दिन घरछेउको जुठेल्नामा सेलाउने गरेकी ! उनलाई यो रहर पक्कै पनि थिएन नै होला । तर के गर्नु, आफ्नो बुढेसकालको सहारालाई पर्खंदा पर्खंदा टीकाको साइत नै बितिसक्छ । कति साइत बिते र अझ कति साइत बित्ने हुन्, थाहा छैन । ‘आमा, सुन्दर बिहानीका लागि जान्छु । म आउँदा सुन्दर बिहानी तिम्रो ओठमा मुस्कानसहितका लालिमा लिएर आउन छ’, भनेर गएका दाइ (उनका एकमात्र छोरा) ती वाणी मैले पनि त सम्झन्छु । न त तिनका छोरा नै आए, न त उनले कबुल गरेझैँ ती बूढीआमाको ओठमा लालिमासहितको बिहानी नै आयो, सब सपना सपनामात्र रहे ।

सपनाको सुन्दरतामा मात्र विलीन भएका कल्पनाहरुले ती आमाका आँखाका कापबाट सोझै चाउरिएका गालालाई स्पर्श गर्दै ओठलाई नुनिलो पार्दै आँसुहरु कति बगे, लेखाजोखा नै छैन । सायद आँसुको मूल नै रित्तियो कि राता आँखाबाट आँसु त झर्दैनन् तर पनि चाउरिएका गालामा आँसुले बनाएको बगर भने स्पष्ट नै देखिन्छ । यसपालिको दसैँमा पनि दाजु आउने सुर छैन । खोइ, उनको खबर ल्याएर कोही पनि आएन अहिलेसम्म । बिहानीपख सुकेको बाँसमा आएर कराउने कौवालाई उनले सधैँ नै हकार्ने गर्छिन् । मलाई थाहा छ, त्यो रिस कौवाप्रतिको होइन । उनको मातृत्व हो, आफ्नो एक्लो छोराप्रतिको स्नेह ।

आज कयौँ नेपाली आमाबाबाहरु आफ्नो गुमेको छोरोको प्रतीक्षामा बसेका छन् तर पनि उनीहरुको प्रतीक्षा व्यर्थ बनेको हो र त्यो व्यर्थ पनि छ । उनीहरुका लालाबालाहरु फर्केर नआउने निश्चित छ तर एउटा झीनो आशाको त्यान्द्रो लिएर बाँच्नुबेगर अन्य विकल्प नै के रह्यो र ! बेपत्ता छोरोभन्दा पहिले त उनीहरुलाई लिन मृत्यु आउने छ । हराएको छोरोको खोजीमा उनीहरुका कति दसैँ खाली निधार बिते, त्यसको मूल्याङ्कन कसले गर्ने !

याद आउँदा यदाकदा म पुग्छु ती बूढीआमाको घर, भक्कानिँदै उनी मलाई अँगालो हाल्छिन् । पहिले त मलाई केही सम्झाउने हिम्मत आउँथ्यो यो छ महिनामा, त्यो पनि हराएर गएको छ । ‘आमा सब ठीक हुन्छ ।’ मैले सम्झाउँदा उनले प्रश्न गर्थिन्, ‘खै के ठीक होला र बाबु ?’ ‘हुन्छ आमा, अवश्य हुन्छ ।’ मैले गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सम्झेर उनलाई सम्झाइरहेको हुन्थेँ । ‘बाबु, त्यो आउने छ । हुरी बनेर, तिमी पात बनेर पछ्याउने छौ ।’ यी तिनै आमाकी प्रतिनिधि पात्र हुन्, जसले आफ्ना सन्तानलाई सुन्दर बिहानीको कल्पनामा सपनाको क्रान्तिपुरूषको पछाडि पात बनेर पछ्याउन लगाएकी थिइन् । तर न त त्यो बिहानी आयो, न त पात बनेर पछ्याएको उनको छोरो नै फिर्ता भो ।

कस्तो विडम्बना, तिनै क्रान्तिवीरकी आमा नै आफ्नो हराएको छोरोको पछाडि दौडिरहेकी थिइन् । आज ती सुन्दर बिहानीको कल्पनाको खेती गर्ने क्रान्तिपुरूष कहाँ छन्, जसको पछाडि यी आमाले आफ्नो छोरोलाई हुरीको वेगमा पात सरी पछ्याउन प्रेरणा दिएकी थिइन् ! हिजो मलाई सम्झाउने ती आमालाई मैले सम्झाउन के हिम्मत राख्न सक्थेँ र ? यदि जेठ १४ को कालो रात नै आएको भए त त्यो पनि सम्भव हुने थियो होला तर त्यो आयो । सुन्दर बिहानीको पर्खाइमै बसेका नेपालीलाई कालो रातपछि बिहानी झुल्कन नै पाएन अनि यस्तो हालतमा कसरी मनाउने त देवहरुको विजय भएको दिन मानेर यी १० दिनलाई ! कसैसँग उत्तर होला ?
आमा त्यो आउँछ, जेठ १४ को मध्यरातपछि बिहानीमा नवकिरण लिएर तिम्रो चेहरामा नूतन लालिमा छर्दै भन्ने मेरा ओठ आज ती बूढीआमाको छेउ पर्नासाथ काँप्न थाल्छन् । अझ म नै पुग्न सक्दिनँ उनको छेउमा । मलाई याद यतिखेर के आएको छ भने ती आफ्नो सुन्दर बिहानीको कल्पनामा जीवनलाई लाहाछाप लगाएको दिन । आमा आउनुहोस्, एउटा सुन्दर बिहानीका लागि क्रान्तिपुरूषलाई अगाडि बढाउनुपर्छ । मेरो हात समाएर गएकी थिइन् उनी आफ्नो छोरो फिर्ता आउने आशमा बुथसम्म र डामेकी थिइन् स्वस्तिक छाप मतका रातो र नीलो पत्रमा तर खोइ ? मलाई अझ पनि याद छ, सुन्दर बिहानीको पर्खाइमा चार वर्ष बिताएकी ती आमाले फेरि १० दिनसम्म रमाउन पाउने कि नपाउने ? भन्ने प्रश्न जगजाहेर रहेको छ । यो दसैँ पनि त खाली निधार रहेर नै बित्ने भो ती आमाको ।

अहिलेसम्म पनि कयौँ बेपत्ताको अवस्था सार्वजनिक हुन सकेको छैन । हजारौँ सहिदको सपना साकार भएको छैन । सहिदका लालाबालाको चेहरामा खुसीको चमक नदेखिएको अवस्थामा दसैँको रौनकता कसरी आउन सक्छ हाम्रो गाँउमा ! घरमा पुगको बेला मलाई अर्काे प्रश्नले पनि सताइरहन्छ । ‘अंकल, मेरो बाबु कहिले आउनुहुन्छ ?’ एउटा अबोध बोलीले मलाई पछ्याइरहन्छ । यसको जवाफमा म के दिऊँ ? म आफैँलाई पनि थाहा छैन । तिम्रो बाबु सहिद भयो भनेर जवाफ दिने ठाउँ पनि मैले पाउन छाडेको छु, किनकि परिवर्तनका लागि भनेर आफ्नो प्राण उत्सर्ग गरेको मेरो साथी ! तर परिवर्तनको आभाष ती सिंदूर पुछिएकी भाउजूले गर्न पाएकी छैनन् भने कसरी सहिद भो भनौँ र !

‘बाबु, के यही हो र परिवर्तन भनेको ?’ यस्ता प्रश्नहरुले म थिचिन्छु, ममा सामथ्र्य नै छैन यी प्रश्नको रासबाट उम्किने । म आफैँले पनि जानेर वा नजानेर आफ्नो मनलाई पनि झूट बोलेको छु, कति पटक त मैले आफ्नै मनलाई पनि ढाँटेको छु । यही झूटको सपना मैले ती बूढीआमा, त्यो अबोध भतिज, ती भाउजूलाई पनि बाँडेकै हुँ, जानेर वा नजानेर । मैले पनि भनेकै हुँ– अब केही हुन्छ, केही सुधार हुन्छ । नेपाली सबैले कल्पना गरेकै हुन् । कुनै न कुनै ठाउँबाट, कुनै न कुनै कोणबाट हरेक नेपालीले कसै न कसैलाई यो झूट बोलेकै हुन् । त्यो झूट सायद झूटको रुपमा होइन, आफ्नो भित्री मनको चाहनाको रुपमा बाँडेका थिए । तर ती सुन्दर सपनाहरु बिपनामा परिणत हुन नपाउँदा तीतो यथार्थबीच सबैको मन खिन्नताले भरिएको छ । यस अवस्थामा दसैँको रौनक कति नै पो छाउन सक्छ र ? सपनाहरु पूरा हुँदा मनाउन चाड र सपनाहरु टुक्रिँदा आउने चाडहरुमा कतिको फरक हुन्छ, त्यो नेपालीले महसुस गरिरहेका छन् । सुन्दर सपनाको खोजीमा यथार्थको देशबाट सपनाको प्रदेशमा पसेका हाम्रा दाजुभाइ, दिदीबहिनीको बिछोडमा मनाउने दसैँमा के रौनक रहला र !

तर पनि कामना त गर्नु नै छ, ती सपनाको प्रदेशमा प्रदेशिएका हाम्रा चाहनाहरु फर्केर आउने छन् । यो विजयादशमीको नूतन बिहानीसँगै फेरि नेपालीले परिवर्तनको महसुस गर्न पाऊन्, यही कामना छ यतिबेला । ‘बाबु, तिम्रो बाबु सहिद भए यो देशका लागि– तिम्रो लागि, मेरा लागि, हामी सबैका लागि ।’ ‘आमा, दाजु महान् हुनुहुन्छ– हाम्रो खुसीका लागि, हाम्रा सपनालाई साकार पार्नका लागि ।’ यो भन्न पाऊँ, ‘भाउजू, तपाई महान् हुनुहुन्छ, दाजु परिवर्तनका संवाहक हुनुहुन्छ ।’ यो सालको दसैँमा सबैलाई शुभकामना छ मेरो । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी