Monday, October 15, 2012

अनुगमन टोलीद्वारा गुणस्तर मापनको धज्जी

नगरपालिकाका जिम्मेवार अधिकारी अनुपस्थित
भरतपुर । भरतपुर नगरपालिकाले थालेको मासु पसल अनुगमनमा नगरपालिकाका कर्मचारीहरु नै अनुपस्थित देखिएका छन् । गत २६ गते शुक्रबारबाट नगरपालिकाले थालेको अनुगमनलाई कार्यालयले निरन्तरता दिएको देखाउन खोजे पनि सोमबार भएको अनुगमनमा भने नगरपालिकाको तर्फबाट कुनै पनि कर्मचारी देखिएनन् । सिङ्गो भरतपुर नगरपालिकाको उपस्थिति नगर प्रहरीले गरेका थिए ।

भरतपुर नगर क्षेत्रभित्र दसैँ नजिकिँदै गर्दा थालिएको अनुगमन झारा टार्ने काममात्र भएको भान अनुगमनको सुरुवातको दिनदेखि नै भएको हो । नगरपालिकाले गुणस्तर कायम गर्न थालेको भनिएको अनुगमनमा हिँडेको टोलीले गुणस्तर मापनको धज्जी नै उडाएको विश्लेषकहरु बताउँछन् ।

अनुगमनका क्रममा टोलीले मासु पसलमा बासी मासु फेला पारे पनि कुनै कारबाही नै नगरी जुन अवस्थामा थियो त्यही अवस्थामा छाडेर हिँडेको हो । मासु पसलको फ्रिज खोलेर हेर्दा कुहिएको अवस्थामा मासु फेला परे पनि त्यसलाई नियन्त्रणमा लिएर नष्ट गर्नुका सट्टा त्यसलाई तपाईँ आफँै सफा गर्नुस् भनेर टोली फर्किएको हो ।
अनुगमन गरेका सबै पसल अवैध

त्यस्तै टोलीले अनुगमन गरेका सबै २१ मासु पसलहरु सरकारका कुनै पनि निकायमा दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । अनुगमनका लागि पुगेको टोलीले पसल सञ्चालकलाई दर्ता गर्न निर्देशन दिएर छाडेको छ ।

स्मरण रहोस्, चितवन पोष्ट राष्ट्रिय दैनिकमा पहिलो पटकको अनुगमनमा उठाएका अनुगमनको समयलाई यसपटक पनि टोलीले ख्याल गरेको पाइएन । बिहान र बेलुका सञ्चालनमा आउने मासु पसलहरुको अनुगमनका लागि मध्यान्हपछि मात्र टोली पुगेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलहरु स्वस्थ्य नभएको पाइएको छ । पशु बधस्थल फोहोर थियो । अनुगमन जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक नवीन देउजा, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा भएको थियो ।
नगरपालिका नै उपस्थित नहुनु दुर्भाग्य

भरतपुर नगरपालिकाको प्रतिनिधिको उपस्थिति नै नहुनु दुर्भाग्य भएको खाद्य निरीक्षक देउजाले बताउनुभयो । ‘नगरपालिकाको नेतृत्वमा गर्ने भनिएको अनुगमनमा नगरपालिकाका प्रमुख वा प्रतिनिधि त आउनु पर्ने हो नि ?’, उहाँले प्रश्न गर्नुभयो ।

भरतपुर नगरपालिकालाई पटकपटक खबर गरिए पनि उपस्थित नभएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘मैले पटकपटक फोन गरेको छु, नगर प्रहरी पठाएर झारा टार्ने काममात्र गरे’, उहाँले भन्नुभयो ।

पसलहरुमा खाद्य अनुगमन

यसैबीच जिल्ला प्रशासन कार्यालयको खाद्य निरीक्षण टोलीले नारायणगढका केही पसलहरुमा खाद्य अनुगमन गरेको छ । खाद्य निरीक्षक नवीन देउजासहितको टोलीले गरेको अनुगमनका क्रममा क्रेजी इन्टरप्राइजेज तथा जी एण्ड एस इन्टरप्राइजेज पोखरा बसपार्कबाट म्याद गुज्रेको स्टिम चाउमिन नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

त्यस्तै टोलीले लीलाचोकको शप एण्ड गो डिपार्टमेन्टल स्टोर्सबाट म्याद गुज्रेको पेप्सी, ड्रंक अमला जाम नियन्त्रणमा लिई नष्ट गरेको छ । सोही पसलबाट अखाद्य बस्तु मिसिएको आशंकामा खाद्य परीक्षणका लागि जीएमसी मसला उद्योगको यूगोल्ड मिक्स मसला नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी