घरको कमाइ गर्ने १२ बालबालिकाका एकमात्र मूली थिए धनबहादुर परियार । जसोतसो गरेर ती बालबालिकाका आवश्यकता टार्दै आएका थिए परियारले ।
परिवारको बाँच्ने आम्दानीको स्रोत उनैमात्र थिए । तर गरिबीका कारण दसैँजस्तो महान चाडमा समेत आफ्ना परिवारलाई मासु किनेर खुवाउन नसकेको पीडामा धनबहादुरले सदाका लागि यस संसारबाटै बिदा लिएपछि अहिले ती बालबालिकाको अवस्था अत्यन्त नाजुक बनेको छ ।
दसैँको विदाइसँगै कति नेपाली तिहारको स्वागतका लागि दियो बालेर कुरिरहेका होलान तर धनबहादुरको घरमा भने रुवाबासी चलेको छ । घरमा अन्नपात केही छैन, गाउँलेले दिएकै भरमा कति दिन गुजारा चलाउने यो परिवारले ।
गरिबीका कारण उनले मृत्युको बाटो रोजेपछि अहिले माडीको अयोध्यापुरी गाउँ नै शोकमा डुबेको छ । स्थानीयहरू भन्छन्– ‘उनीहरूका लागि दीर्घकालीन आम्दानीको बाटो हुनसके ती लालाबालाका लागि केही राहत मिल्थ्यो कि ।’
घरमै मादल, सिलौटो, लोहोरो र जाँतो बनाउने काम गर्दैआएका धनबहादुरको दसैँको गर्जाे पनि जाँतो र सिलौटो बेचेर नै टार्ने विचार थियो । उनले दसैँको मुखमा श्रीमतीसँग पनि जाँतो बेचेरै दसैँका लागि मासु किन्ने सल्लाह गरेका थिए ।
तर त्यो सल्लाह अन्तिम सल्लाह हो भन्ने कुरा विचरी गीतालाई के थाहा । महानवमीको दिन बिहान जाँतो बेचेर दसैँ मान्ने योजनाका साथ भान्छाभित्र छिरेका उनी एक्कासि श्रीमान्को झुन्डिएको लास देखेपछि छाँगाबाट खसेजस्तो भइन् ।
अघिल्लो दिनका आफ्ना सबै सपना त्यहीँ चकनाचुर हुन पुग्यो । दसैँमा बालबालिकालाई मासु खुवाउनु त कता हो कता, त्यसैको पीडामा श्रीमान्ले भान्छामा आत्महत्या गरेको देख्दा गीताको होस नै रहेन ।
दसैँका लागि भनेर बनाइएको जाँतो नबिकेपछि रकम अभावमा मासु खोज्न गाउँभरि भाँैंतारिए । धनबहादुरले अष्टमीको दिन उधारोमा मासु पाउन सकेनन् ।
नवमीको दिनमा पनि जाँतो बेचेर मासु किन्ने योजना बुनेर सुतेको भोलिपल्ट यस्तो घटना हुन पुग्यो–३६ वर्षीया श्रीमती गीताले भावविह्वल हुँदै भनिन्– ‘हामीबीच कुनै झैझगडा भएको थिएन् घरसल्लाह राम्रै थियो ।’
‘केही दिन अघिदेखि नै पैसा छैन, कसरी दसैँ मनाउने होला भन्दै हुनुहुन्थ्यो, पछि एक्कासि यस्तो पो गर्नु भएछ–श्रीमती गीताले आँसु झार्दै भनिन्–अब यी लालाबालाको पेट कसरी भर्ने होला भन्ने चिन्ता छ ।’ उनका घरमा पाँच महिनाको शिशुदेखि २६ वर्षसम्मका गरी १२ जना छन् ।
धनबहादुरका तीन पत्नीमध्ये दुईवटीको गरिबीकै कारण मृत्यु भएको स्थानीय देवु सुनारले बताइन् । बिरामी अवस्थामा रहेकी जेठी श्रीमतीको उपचारकै अभावमा ज्यान गएको तीतो अनुभव देवुसँग छ ।
हाल कान्छी श्रीमतीले परिवार सबैको हेरबिचार गर्दै आएकी छिन् । कान्छीका छ, जेठीका पाँच र माइलीतर्फका एक सन्तान जन्मिएका छन् । २६ वर्षकी कोपिला, १९ वर्षका दिलीप, १७ वर्षकी शान्ति, १५ वर्षकी जुना र १३ वर्षका बुद्धि जेठी श्रीमतीपट्टिका हुन् ।
माइली श्रीमतीका २२ वर्षीय नवराज छन् भने कान्छीका तर्फबाट १२ वर्षकी सीमा, आठ वर्षका सुरज, सात वर्षका किरण, चार वर्षका सुदीप, डेढ वर्षका अमृत र पाँच महिनाका गणेश छन् । ‘बच्चा नजन्माउँ पुग्यो’ भनेर आपूmले बारम्बार भनेको तर नमान्दा अहिले यतिका धेरै सन्तानको बोझ आपूmलाई भएको गीताले बताइन् ।
गाउँलेले पनि धेरै बच्चा नजन्माउन सल्लाह दिए तापनि सफल हुन सकेन । जसले गर्दा अहिले ती लालाबालाको अवस्था बिजोग बनेको छ ।
दुई जनाको मजदुरीले नपुगेपछि कति दिन बालबालिकाले भोकै रात बिताउनु परेको अनुभव जेठी छोरी कोपिला परियारसँग छ । अब बुवा हुनुहुन्न कसरी परिवार पाल्ने भन्नेमा उनी पनि चिन्तित छिन् ।
परिवारको कमाइ गर्ने मूली नै ढलेपछि उनीहरूमा सङ्कटमाथि सङ्कट थपिएको छ । जसोतसो गाउँलेले अहिलेसम्म सहयोग गरिरहेका छन् ।
यस्तो सहयोग अस्थायी भएकाले उनीहरूका लागि स्थायी आयस्रोत बनाउन जरुरी रहेको अयोध्यापुरी गाविसका सचिव देवप्रसाद पौडेल बताउनुहुन्छ । धनबहादुरले गरिबीकै कारण आत्महत्या गरेको समाचार विभिन्न सञ्चारमाध्यममार्पmत थाहा पाएपछि काभ्रेपलाञ्चोक घर भई हाल अमेरिकामा बस्दै आएका अर्जुन मैनालीले उनका परिवारलाई रु १५ हजार आर्थिक सहयोग गरेका छन् ।
गाउँलेले मृतकको काजकिरियाका लागि केही रकम सङ्कलन गरेका छन् । गरिबीकै कारण धनबहादुर मकवानपुरको दुवीचौरबाट २५ वर्षअघि चितवनको माडीस्थित जङ्गल छेउको ऐलानी जग्गामा झरेका हुन् ।
अहिलेसम्म परिवारका सदस्य कसैको नागरिकता छैन । आर्थिक अभावकै कारण मजदुरी गर्न बाहिर गएका दिलीप दसैँ पनि मान्ने र नागरिकता पनि बनाउने सोचमा घर आएका थिए । तर उनको योजना पनि अधुरै बन्न पुगेको छ ।
No comments:
Post a Comment
Thanx for your comment