Tuesday, October 30, 2012

विद्यार्थीलाई ठग्ने विद्यालयसँग स्पष्टिकरण, नियम मिच्दै कक्षा चलाउँदै विद्यालय

भरतपुर । जिल्ला शिक्षा कार्यालय भरतपुरले अनुमति लिएभन्दा माथिको कक्षा सञ्चालन गरि विद्यार्थि तथा अभिभावक ठग्ने विद्यालयहरुसँग स्पष्टीकरण माग गरेको छ । शिक्षा विभागमा दर्ता भएर सञ्चालनमा रहेको १२ वटा निजी तथा आवासीय विद्यालयहरुलाई स्पष्टीकरण सोधेको हो ।

यसरी स्पष्टीकरण सोधिएका विद्यालयहरुले आफूले अनुमति लिएको भन्दा माथिल्लो तहका कक्षा सञ्चालन गरेको पाइएपछि जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण सोधेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो । उनीहरुलाई अनुमति लिएको तहको कक्षामात्र सञ्चालन गर्न निर्देशन दिइएको समेत उहाँको भनाइ थियो ।

यसरी अनुमति नलिई सञ्चालन गरिएका विद्यालयहरुमा अधिकांश पूर्वी चितवनका रहेका छन् । जिल्ला शिक्षा कार्यालयले स्पष्टीकरण सोधेका १२  विद्यालयमध्ये नौवटा पूर्वी चितवनका रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

पूर्वी चितवन वीरेन्द्रनगर–२ को साँकुरा एकेडेमी, वीरेन्द्रनगर–४ को नेशनल आवासीय मावि, इन्टरनेसनल सेकेन्डरी स्कुल खैरहनी–७ र खैरहनी–६ को मातृभूमि शिक्षा सदनले कक्षा ६ देखि १० सम्मको अनुमति लिए पनि कक्षा एकदेखि १० सम्म नै कक्षा सञ्चालन गरिरहेका छन् ।

त्यस्तै खैरहनी–८ को जेनिथ र्इंग्लिश बोर्डिङ स्कुल र कठार–७ को सिर्जनशील शिक्षा निकेतनले कक्षा एकदेखि पाँचसम्मको अनुमति लिए पनि सातसम्म कक्षा सञ्चालन गरिरहेको छ ।

नर्थ प्वाइन्ट एकेडेमी पिठुवा–३ ले एकदेखि सात कक्षासम्मको अनुमति लिएर १० सम्मको कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिनुभयो । त्यस्तै जुटपानी–१ मा रहेको जुटपानी जनप्रिय शिक्षा सदन र जुटपानी शिक्षा सदनले कक्षा एकको मात्र अनुमति लिएर पाँच कक्षासम्म कक्षा सञ्चालन गरेको अनुगमनका क्रममा पाइएको छ ।

यता एकदेखि पाँच कक्षासम्मको अनुमति लिएको मेघौली–७ को नमुना ईंग्लिश बोर्डिङ स्कुल र मेघौली–४ को अलमाइटी एकेडेमीले आठ कक्षासम्मको कक्षा सञ्चालन गर्दै आएका छन् । माडीको बघौडा–३ मा रहेको पिसल्याण्ड इ. बोर्डिङ स्कुलले कक्षा आठसम्मको अनुमति लिएर नौ कक्षा पनि सञ्चालन गरिरहेको पाइएको छ ।

कक्षा सञ्चालन नगर्न निर्देशन

सम्पूर्ण विद्यालयहरुलाई अनुमतिभन्दा बढी कक्षा सञ्चालन नगर्न र भर्ना भएका विद्यार्थीहरुलाई अन्य विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो ।

यसरी अनुमतिभन्दा बढी कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले २० हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने उहाँले जानकारी दिनुभयो । त्यति गर्दासमेत अटेरी गरेमा जिल्ला शिक्षा कार्यालयले शिक्षा विभागमा अनुमति खारेजीका लागि सिफारिस गर्न सक्ने प्रावधान रहेको उहाँले शर्माले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय चितवनले काटेको स्पष्टीकरणपत्र शिक्षा विभाग सानोठिमी भक्तपुर, क्षेत्रीय शिक्षा निर्देशनालय हेटाँैडा र सम्बन्धित विद्यालय निरीक्षकलाई बोधार्थ दिइएको छ ।

यसैबीच जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गरी भौतिक संरचना तथा प्रक्रिया नपुगे विद्यालयहरुलाई समेत स्पष्टीकरण सोधेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको नियुक्तिपत्र, पोसाक तथा तलबभत्ता नियमानुसार दिनसमेत निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

स्पष्टीकरण सोधिएका विद्यालयहरुले निर्देशनअनुरुप गरेनगरेको अनुगमन गर्न समेत विद्यालय निरीक्षकहरुलाई निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी