Wednesday, August 29, 2012

अझै व्यवस्थित हुन सकेन नारायणगढ बजार

विधुर ढकालनारायणगढ । पटकपटको निर्णय र प्रयास गर्दासमेत नारायणगढ बजार अझ व्यवस्थित हुन सकेको छैन । बजार क्षेत्रलाई सुन्दर बनाउने अभियान बेलाबखतमा सञ्चालन गर्ने भरतपुर नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी निकायहरु केही समय तातिने र फेरि सेलाउने गर्दा बजारलाई व्यवस्थित गर्ने कार्य पूरा हुन नसकेको हो ।
पछिल्लो पटक नगरपालिकाले गत आर्थिक वर्ष २०६८÷०६९ को चैत १ गतेदेखि प्र्रशासन, सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालय भरतपुरको सहयोगमा सडक अतिक्रमण गरेर बनेका भौतिक संरचनाहरु भत्काउने काम थालेको थियो ।
नगरपालिकाले सडक किनारका संरचना भत्काएसँगै सडक किनारमा हुने अव्यवस्थित पार्किङलाई रोक्न जिल्ला ट्राफिक कार्यालयले यातायात रोक्ने स्थान निर्धारण गरेको थियो । केही समयसम्म उक्त स्थानको प्रयोग भएपनि सो कार्य कडाइका साथ कार्यान्वयनमा आउन सकेको छैन ।
सवारीसाधनका चालकहरु नारायणगढको पुलचोक, सहिदचोक, लायन्सचोकलगायतका स्थानमा पार्किङ निषेधित लेखिएका स्थानमा गाडी रोकेर यात्रु ओराल्ने, चढाउन काम गर्दै आएका छन् । नजिकै रहेका ट्राफिक प्रहरी भने मुकदर्शक बनेर उभिनेभन्दा केही गरेको पाइँदैन ।
जिल्ला ट्राफिक कार्यालयले विभिन्न स्थानमा ट्राफिक चिन्ह राखे पनि न त यात्रुले पालाना गरेको पाइन्छ, न यातायात चालकहरुले नै । कार्यालयले पार्किङ व्यवस्थित गर्ने भन्दै निश्चित संख्या तोकेर पार्किङ गर्न पाउने व्यवस्था गरे पनि तोकिएको संख्याभन्दा बढी ट्याक्सीहरु रोकिएको पाइन्छ ।
तर यो कुरा जिल्ला ट्राफिक कार्यालय भने स्वीकार्दैन । कार्यालयका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र अधिकारीले त्यस्तो पाइए कारबाही गरिने बताउनुभयो । ‘त्यस्तो भएको छैन, यदि त्यस्तो भए कारबाही गरिन्छ’, उहाँले भन्नुभयो ।
ट्राफिक कार्यालयले अव्यवस्थित पार्किङ रोक्न ट्राफिक नियम उल्लङ्घन पुर्जी (टीभीटी) गत चैतदेखि नै लागू गरेको भएपनि यस अभियानअन्तर्गत चार महिनाको अन्तरालमा जम्मा आठवटा यातायातका साधन कारबाहीमा परेका छन् । अभियानअन्तर्गत दुई हजार २०० रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायव निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
नरगरपालिकाको पहलमा पटकपटक यस्तो पहल हुँदै आएका भएपनि पूर्णता भने पाउन सकेको देखिँदैन । निर्णयहरु कार्यान्वयन नहुनु स्थानीय राजनीतिक दल तथा सरोकारवालाको सहयोग मुख्य कारण भएको नगरपालिका श्रोत बताउँछ । ‘सहमति त हुन्छ, तर कार्यान्वयनका बेला दबाब आउँछ, त्यसैले काम गर्न सकिँदैन’, नाम नछाप्ने सर्तमा नगरपालिका एक कर्मचारी बताउँछन्  ।
सडक सीमाभित्र बनेको भौतिक संरचना भत्काएपछि त्यसलाई व्यवस्थित गर्नतर्फ नलाग्दा भत्किएका सामग्रीले सडकलाई जीर्ण बनाउँदै गएका छन् ।
यसअघि २०५८ साल जेठ ३१ गते भरतपुर नगरापालिकामा भएको सर्वपक्षीय बैठकले नारायणगढ बजारको सडक व्यवस्थित गर्ने निर्णय गरेको थियो । सोही क्रममा तत्कालीन ट्राफिक प्रमुख प्रहरी निरीक्षक छत्र गुरुङले सडकको २० मिटर सीमाभित्र पार्किङमा रोक लगाउने घोषणासमेत गर्नु भएको थियो ।
आजभन्दा ११ वर्ष अगाडिको निर्णय कार्यान्वयन हुन नसकेको अवस्थामा अहिले भरतपुर नगरपालिका र ट्राफिक कार्यालयले सञ्चालन गरेको यो अभियान पनि पूर्ण हुनेमा विस्वस्त हुने ठाउँ देखिदैन ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी