Tuesday, October 16, 2012

नक्कली परिचयपत्र बनाउने पक्राउ

भरतपुर । भरतपुरका नाम चलेका कलेजको नक्कली विद्यार्थी परिचयपत्र बनाउने काममा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार भरतपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसअगाडि लिंक साइबरका सञ्चालक भरतपुर–११ का प्रदीप गौतम र बालकुमारी कलेजअगाडिको ज्ञानज्योति पुस्तक पसलका सञ्चालक खैरहनी–७ का शिव सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको साथबाट रंगीन प्रिन्टरसहित दुईथान कम्प्युटरसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच मादक पदार्थ सेवनविरुद्धको अभियानमा असोज महिनाभरि चितवनमा १३१ जना कारबाहीमा परेका छन् । प्रहरीले उनीहरुबाट एक लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रहरी सोही अवधिमा चितवनका विभिन्न स्थानमा अवैध रुपमा बिक्रीवितरणका लागि बनाएको एक हजार ८२० लिटर घरेलु मदिरा नष्ट गरेको समेत कार्यालयले जनाएको छ ।
तीन सय १६ चालक कारवाहीमा

त्यस्तै सोही महिनामा ट्राफिक प्रहरीसँगको सहकार्यमा गरिएको यातायात चेकजाँचका क्रममा ३१६ चालक कारबाहीमा परेको भट्टराईले जानकारी दिनुभयो । सोक्रममा ट्राफिक प्रहरीले पाँच लाख ५२ हजार २०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैबीच दसैँ तिहारको नाममा जुवा तास खेल्ने २० जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

गत महिना प्रहरीले अवैधरुपमा देहव्यापार सञ्चालन गराउँदै आएको अवस्थामा दुईवटा होटलका मालिकसहित चार पुरूष र पाँच जना महिलालाई नियन्त्रणमा लिई सार्वजनिक अपराधअन्तर्गत कारबाही चलाएको उहाँले बताउनुभयो ।
सामान चोरेको आरोपमा दुई पक्राउ

यसैबीच नवलपरासी जिल्लाको मुकुन्दुपुर गाविसस्थित जनशक्ति निमाविका विभिन्न सामान चोरेको आरोपमा दुई जना पक्राउ परेका छन् । विद्यालयको ढोका फोरेर कम्प्युटरलगायतका सामग्री चोरेर फरार भएकाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको इलका प्रहरीक कार्यालयका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा नवलपरासी जिल्लाको मुकुन्दपुर–१ बस्ने रमेश महतो र नवलपरासी जिल्लाकै अमरापुरी–४ बस्ने पारस महतो रहेका छन् । प्रहरीले उनीहरुसँग चोरी गरी लगेको सामान पनि बरामद गरेको छ ।

प्रहरी प्रमुख पाण्डेले पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गँैडाकोटले दसँै तिहारजस्ता ठूला चाडपर्व सुरू भएसँगै आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी