Tuesday, October 30, 2012

स्वर्ग जाने आश थियो पिचास पो भइन्छ की.......?

भरतपुर । बाँकी जीवन धार्मिक क्षेत्र देवघाटमा बिताउने उद्देश्यले रोटरी करुणालय वृद्धाश्रममा बस्दै आउनुभएकी ७९ वर्षीया वृद्धा उमादेवी खनाललाई बाँदरले चिथोरेर ज्यान लिने हो कि भन्ने चिन्ता छ । नजिकैको वन क्षेत्रबाट वृद्धाश्रममा दैनिक आउने बाँदरबाट उहाँ त्रसित हुनुभएको हो ।

‘केही दिनअघिमात्रै मैले नै शरीरमा लगाएको मेक्सी सबै च्यातिदियो’, उहाँको दुःखेसो छ, ‘बूढेसकालमा धार्मिक क्षेत्रमा मर्न पाए स्वर्ग गइन्छ भन्ने थियो तर बाँदरको आक्रमणबाट मरेर ‘पिचास’ पो भइन्छजस्तो लाग्न थालेको छ ।’

‘रातभरी÷रातभरीसमेत टिनको छानामा हिँडेर बसीखानु दिएन’, खनालले गुनासो गर्दै भन्नुभयो, ‘के गर्ने त्यसलाई धपाउन गयो, उल्टै उसैले हामीलाई चिथोर्न खोज्छ । अनि डराएर भाग्नुपर्ने बाध्यता छ ।’


वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुमात्रै हैनन्, देवघाट क्षेत्रमा बाँदर आतङ्क छ । बाँदरले अहिलेसम्म दर्जनभन्दा बढीलाई आक्रमण गरिसकेको छ ।

बाँदरले बढी मात्रामा बालबालिका र महिलाहरुलाई बढी आक्रमण गरिरहेको छ । वृद्धाश्रमका कर्मचारी असिनकुमार सापकोटा विशेषतः दिनमा र बिहान बेलुका खाना खानेबेलामा बाँदरले बढी दुःख दिने गरेको बताउनुहुन्छ ।

स्थनीयलाई पनि सास्ती


‘उसको प्रतिरोध गर्नै प¥यो, अनि के गर्ने उसैले आक्रमण गर्छ । वृद्धाश्रममा रहेका मात्रै हैनन् । देवघाट क्षेत्रका बासिन्दाहरु पनि बाँदर आतङ्कले धेरै सास्ती भोग्नु परेको छ’, सापकोटाले भन्नुभयो ।

देवघाट क्षेत्रका बासिन्दालाई  २०६३ सालबाट बाँदरले बढी दुःख दिन लागेको हो । ‘सन्ताउन्न अन्ठाउन्न सालबाटै एक÷दुईवटा बाँदर देखिन्थे तर बढीचाहिँ २०६३ पछि भएको हो’, उहाँले भन्नुभयो ।

अझै पछिल्लो समय स्थानीयले बाँदरको आतङ्क बढी खेप्नु परेको छ । रोटरी करुणालयका अध्यक्ष उपेन्द्र रिजाल पनि बाँदर नियन्त्रणका लागि सरकारी निकायबाट कुनै पहल नभएको गुनासो गर्नुहुन्छ ।

‘हामीले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिलाई पनि सहयोग माग गरेका छांै । तर समस्या समाधान हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘बाँदर आतङ्क नियन्त्रण नगर्ने हो भने देवघाटमा रहेका वृद्ध बुबा–आमालाई धेरै समस्या पर्नेछ ।’

स्थानान्तरण गरे समस्या हट्थ्यो की

सो क्षेत्रका बाँदरलाई नियन्त्रणमा लिएर अन्यत्रै स्थानान्तरण गर्ने व्यवस्था मिलाउने हो भने पनि समस्या समाधान निस्कने अध्यक्ष रिजालको भनाइ छ । ‘कमसेकम चितवन राष्ट्रिय निकुञ्जभित्रमात्रै लगेर छाड्न सकियो भने केही राहत हुने थियो कि ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘जसरी पनि बाँदर आतङ्कको अन्त हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

बीस÷पच्चीसवटासम्मको समूहमा बाँदरहरु आउने र घरमा भएका फलफूल तथा खाद्यान्न बस्तुहरु खाइदिने गरेका छन् । बाँदरको प्रतिरोध गर्नेलाई नै उसले बढी आक्रमण गरिरहेको छ ।  मानिसलाई बादरले बढी आक्रमण गर्ने गरेको छ ।

देवघाट क्षेत्रमा अहिले दुई हजारभन्दा बढी बाँदर भएको अनुमान गरिएको छ । पछिल्लो समयमा देवघाट क्षेत्रमा बाँदर एक्कासि बढेका छन् । ती बाँदर कहाबाट आए भन्ने यकिन गर्न सकिएको छैन ।

पशुपतिका दुई ट्रक बाँदर देवघाटमा

तर पनि स्थानीय बासिन्दाहरु पाँच वर्षअघि काठमाडांैको पशुपति मन्दिर क्षेत्रबाट दुई ट्रक बाँदर ल्याएर देवघाट क्षेत्रको वनमा छाडिएको र अहिले त्यसको संख्या बढ्दै गएर गाउँमा बढी दुःख दिएको स्थानीयहरु बताउँछन् ।

बाँदरलाई मानवबस्तीमा आउनबाट रोक्न सक्ने उपाय अपनाएर देवघाटवासीलाई मात्रै हैन, त्यहाँ कल्पवासमा बस्ने वृद्धवृद्धाहरुलाई समेत बाँदर आतङ्कबाट जोगाउन जरुरी छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी