Sunday, October 14, 2012

चाडपर्वमा पनि सुनचाँदी पसल सुनसान


नारायणगढ । अघिल्लो वर्ष यसै समयमा सुन प्रतितोला ३७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष उही समयमा सुनको भाउ बढेर प्रतितोला ५९ हजार ७ सय ५० पुगेको छ ।

यसमा झण्डै २२ हजार ५० रुपैयाँको फरक देखिन्छ । चाँदी प्रतिदस ग्रामको १ हजार ३७ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ तलमाथि हुँदा विश्व बजारमा नै सुनको कारोबारमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।

ग्राहकको किन्ने क्षमता नबढ्नु तर सुनको भाउ भने दैनिकजसो लगातार उकालो लाग्दा ग्राहकहरु सुनचाँदी किन्न सकिरहेका छैनन् । बजारमा मागभन्दा कम सुन आउनु र पछिल्लो समय सुनको भाउ उच्च रहनुले व्यापारमा प्रभाव पारेको छ ।

नारायणगढमा हाल हप्तामा ४ किलोमात्र सुन आउने गरेको छ । नारायणगढ बजारमा सुनचाँदी किन्न नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्लाबाट ग्राहकहरु आउने गरेका छन् ।

चाडपर्वमा दिनमा विस किलो सम्म विक्थ्यो


त्यसो त गरगहनाको मारामार व्यापार हुने समयमा पनि नारायणगढका सुनचाँदी व्यवसायीहरु फूर्सदिला देखिन्छन्् । सुन किन्नका लागि ग्राहकहरु नआउँदा व्यवसायीहरु फुर्सदिला बनेका हुन् ।

अघिल्लो वर्ष चाडबाडको समयमा ग्राहकलाई सुन बेचेर भ्याइनभ्याइ हुन्थ्यो न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्यले भने, ‘यस वर्ष चाडबाडको समयमा पनि हामी फुर्सदिलो भएर बसेका छौं ।’

‘चाडबाडबाहेकका समयमा पनि दैनिक ५ किलो सुन किनबेच हुन्थ्यो र चाडबाडको समयमा १५ देखि २० किलोसम्म सुन किनबेच हुन्थ्यो तर अहिले चाडबाडको समयमा पनि कममात्र सुन किनबेच भएको छ’ नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष एवम् हालका केन्द्रीय सदस्यसमेत रहनुभएका शाक्यले बताउनुभयो ।

राज्यले सुन आयातमा कडाइ गरेपछि सुन व्यवसायीहरु चर्को मारमा परेका छन् । सिँगो नेपालमा हाल दैनिक १५ किलो मात्र सुन भित्रन्छ । यो पनि राजधानीमै खपत हुन्छ ।

यस्तै रहे व्यवसायबाट हात धुने पक्का


जसले राजधानी बाहिरका ठाउँमा सुन नपुग्दा व्यवसायीहरु चिन्तित बनेका छन् । ‘थप केही महिना यो अवस्था उस्तै रहे चितवनका मात्र एक दर्जन सुनचाँदी व्यवसायीले यो व्यवसायबाट हात धुने पक्का छ’, शाक्यले भन्नुभयो ।

सुनचाँदी कारोबारमा गिरावट आउनुमा देशको शान्ति सुरक्षाको अवस्था जिम्मेवार रहेको व्यवसायीको प्रतिक्रिया छ । ‘न सुन किनेर लगाउनेको सुरक्षा छ, न त सुन व्यवसायीको नै सुरक्षा छ’, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष विपिन रामुदामुले भन्नुभयो ।

राज्यले शान्ति सुरक्षाको प्रत्याभूत गर्न सकेमा मात्र पनि सुनचाँदीको व्यापार बढ्ने बु्रनाई सुनचाँदी पसलका सञ्चालक अर्जुन रसाइलीले बताउनुभयो । चितवन शाखाअन्तर्गत हाल तीन सय जति सुनचाँदी पसल सञ्चालनमा रहेको संघले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी