Sunday, October 14, 2012

सप्तगण्डकी क्याम्पस फेरि बन्द

भरतपुर । पटकपटक राजनीतिक तथा प्रशासनिक विवादका कारण बन्दको मार खेप्दै आएको भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस पुनः अनिश्चितकालका लागि बन्द भएको छ ।

गत शुक्रबार क्याम्पसको आन्तरिक परीक्षामा कडा गरेको निउँमा व्यवस्थापन संकायमा १२ कक्षामा पढ्ने विद्यार्थी विकास भन्ने शुकदेव काप्रीले परीक्षा क्याम्पसका शिक्षक जगदिस बराललाई हानेको आरोप लगाउँदै क्याम्पसले काप्रीलाई एक वर्षका लागि निस्कासन गरेको थियो । सोही विषयलाई लिएर एमाले निकट अनेरास्ववियुले अनिश्चितकालका लागि बन्द गरेको हो । काप्री अखिलका क्याम्पस कमिटि सचिवालय सदस्य हुन् ।

विद्यार्थीलाई कारबाही गर्दा विद्यार्थी संगठनहरुसँग छलफल नै नगरी कारबाही गरिएको भन्दै आन्दोलनमा उत्रन परेको अनेरास्ववियुका केन्द्रीय सदस्य ऋषिकेश रेग्मीले बताउनुभयो । उहाँले कारबाहीलाई पुनरावलोकन नगर्दासम्म क्याम्पस बन्द रहने उहाँले बताउनुभयो ।
विद्यार्थी संगठन र प्रशासनबीच आज वार्ता   

यता क्याम्पस प्रशासन भने विद्यार्थीहरुको अराजक  गतिविधिलाई नियन्त्रणमा ल्याउन समेत कारबाही गर्नुपरेको बताउँछन् । सहायक क्याम्पस प्रमुख नन्दलाल पौडेलले कारबाहीस्वरुप एक वर्षका लागि निस्कासन गरिएको बताउनुभयो । उहाँले विद्यार्थी संगठनहरुसँग आज सोमबार वार्ता हुने जानकारी दिनुभयो ।

यसअघि शुक्रबार नै सो संगठनले क्याम्पसका केही शिक्षकसहित क्याम्पस प्रमुखलाई चार घण्टा थुनेको थियो । शुक्रबार राति अबेरसम्म सहमतिका लािग प्रयास भए पनि सहमति हुन सकेको थिएन ।

यस अगाडि पनि पटकपटक बन्द हुँदा विद्यार्थीको पढाइमा अवरोध आउने गरेको थियो । शैक्षिक मागभन्दा विद्यार्थीहरु बढी रुपमा राजनीतिक माग राखेर आन्दोलनमा उत्रनुले समस्या उत्पन्न भएको क्याम्पसका एक शिक्षकले बताउनुभयो ।
आन्दोलन अराजक बन्दै गयो

‘विद्यार्थीहरुको आन्दोलन शैक्षिकभन्दा पनि अराजक बन्दै गएको छ, यसले विद्यार्थीको पढाइमा नकरात्मक असर पारिरहेको छ’, क्याम्पसमा आमसञ्चार विषयका शिक्षक मधुसुदन दवाडीले भन्नुभयो । विद्यार्थी संगठनहरुको माग शैक्षिकभन्दा पनि बाहिरी विषयले प्रेरित भएको उहाँको भनाइ थियो ।

आन्दोलनलाई बार्गेनिङ्को रुपमा लिने क्रम बढेको उहाँले बताउनुभयो । यता क्याम्पसमा गरिएको अनिश्चितकालीन बन्दको क्याम्पसका क्रियाशील विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । उनीहरुले पटक पटक क्याम्पसमा हुने अराजक गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई माग गरेका छन् ।

क्याम्पसको शैक्षिक वातावरण धुमिल पार्ने काम भइरहेको भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न उनीहरुले क्याम्पस प्रशासनसँग माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्नेहरुमा दुबै माओवादीनिकट अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल छैटाँै रहेका छन् ।
त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय इकाइ समिति सप्तगण्डकी बहुमुखी क्याम्पसले उपप्राध्यापक जगदिश्वर बरालमाथि भएको हातपातको घटनाप्रति घोर आपत्ति व्यक्त गरेको छ । संगठनका अध्यक्ष शोभाकर अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा दसैँको मुखमा अनिश्चित कालीन क्याम्पस बन्दले कर्मचारीमाथि आर्थिक संकट पर्ने भन्दै सबै निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा विद्यार्थी संगठनहरुको यस्ता कार्यले शोभनीयता नदिने उल्लेख गरिएको छ । यसअघि पनि अनेरास्ववियुले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी