Sunday, September 23, 2012

ज्वरोले थप एक जनाको मृत्यु

भरतपुर । केही महिनादेखि चितवनमा फैलिएको भाइरल ज्वरोले थप एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटाँैडाकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालका मेडिकल विभागका फिजिसियन डा. अरुण सेडार्इंले जानकारी दिनुभयो । उनको गत २ गते मंगलबार मृत्यु भएको हो ।
योसँगै चितवनमा भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि फैलिएको ‘इन्फ्लुयन्जा बी’का कारण छ जनाको मृत्यु भएको थियो । विगत केही महिनादेखि फैलिएको ज्वरो केही नियन्त्रणमा आए पनि उपचारका लागि आउने बिरामीहरुको संख्यामा भने कमी नआएको उहाँको भनाइ छ । जाँचका लागि बहिरंग विभागमा आएका दैनिक २५० जना बिरामीमध्ये करिव १०० जना भाइरल ज्वरोका बिरामीहरु हुने गरेको उहाँले जानकारी दिनुभयो ।
‘केही दिन अगाडि बिरामीको संख्यामा कमी आएको भए पनि फेरि दुई दिन यता बिरामीको संख्यामा वृद्धि भएको छ’, डा. सेडाईंले भन्नुभयो । अस्पतालमा रहेको मेडिकल वार्डमा समेत करिब ५० प्रतिशतको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरु रहेको उहाँले बताउनुभयो ।
यता भरतपुर अस्पतालमा समेत भाइरलका बिरामीको चाप उत्तिकै कायम रहेको अस्पतालले जनाएको छ । अस्पतालको मेडिकल वार्डमा भर्ना हुने बिरामीहरुमध्ये ६० प्रतिशतको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरु रहेको अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । मेडिकल वार्डमा बिरामीको चापका कारण बिरामीहरु चिसो भुइँमा नै उपचार गराउन बाध्य भएको उहाँले बताउनुभयो ।
त्यस्तै अस्पतालमा बहिरंग विभागको मेडिकल विभागमा दैनिक १५० देखि २०० को हाराहारीमा बिरामीहरु आइरहेको डा. अधिकारीले जानकारी दिनुभयो । अस्पतालले दिएको जानकारीअनुसार आइतबारमात्र १७० जना बिरामी बहिरंग विभागको मेडिकल विभागमा जाँचका लागि अएका थिए ।
‘अस्पतालमा आएका बिरामीहरुमध्ये अधिकांश सुरुवाती अवस्थाका रहेका छन्’, उहाँले भन्नुभयो, ‘यसरी आएका बिरामीमा उत्पादनशील उमेरका बिरामीहरु बढी रहेका छन् ।’ चितवनमा फैलिएको ज्वरो ‘इन्फ्लुएन्जा बी’ रहेको चिकित्सकहरुले जनाएका छन् । रोगको बारेमा पत्ता लगाउन काठमाडौंमा परीक्षणका लागि नमुना पठाइएको छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी