Tuesday, November 6, 2012

कविता : अपहरित म

करिव नौ वर्ष पहिले रचना गरिएको यस कविता आज फेरी सम्झनामा आयो । यस कविता लेख्दा म कक्षा ८ मा पढ्दै थिएँ । यही कविताका कारण मैले सैनिक हिरासत अनुभव लिने सौभाग्य पनि पाएको छु । अझै पनि मनमा प्रश्न उव्जिरहेको छ, ‘के यो कविताले त्यतिवेला सरकारले भनेजस्तो आतंककारी गतिविधीलाई बढावा दिएको थियो त ?’ यसको जवाफ तपाईँसँग भए कृपया दिने कोसिस गर्नुहोला ।

विद्यालयमा पढ्न गएको
सामान्य परिवारको मान्छे म
जानेको वा बुझेको नभइ
आँफैमा अरुले परिचय थमाएको म
एक सामान्य विद्यार्थी
युद्धको विगविगी गाँऊ भर मच्चिएको वेला
धेरै जसो विद्यालय पुग्न छाडेका बेला
तर पनि म भने
पढ्नु पर्छ ठूलो मान्छे बन्नुपर्छ
भनेर विद्यालय गइरहेको थिए ।

विद्यालय टाढको बस्तीमा
जान तिन घण्टा फर्कन तिन घण्टा
फर्किने क्रममा अबेर भो रात प¥यो ।
अस्ति राती म बीच बाटोबाटै अपहरणमा परेँ ।
घर पुग्नु पर्ने कता पो पुगेँ
म आँफैलाई थाहा भएन्
सुनसान न चिनेका मान्छे
कति हो कति न त गिने मान्छे
कोही कस्ता कोही कस्ता
कोही भने म जस्ता पनि

मैले नबुझ्ने उनीहरुको भाषा
फरक फरक भाषा बोल्ने मान्छे पनि हुँदा रहेछन्
अरे हाम्रो देशमा पनि
कहाँ छु आँफैलाई थाहा भएन
तर पनि रमाइलो लागिरहे छ ।
एक तमास तिनीहरुको चर्तिकला देखेर ।
फरक फरक आकृतिका
फरक फरका लम्वाइका लौरा बोकेका
कोही बाल्टिन कोही गमला,
कोही कुक्कर बोकीरहेका
जे होस खान चाहिँ दिने भए मोराहरुले
भातै पो दिन्छकी ?
मनको लड्डु घिउसँग खान पाएँ केही बेर

अर्काे रात रातभरत के के न तालिम
उफ्राई, घ्रसाई, डौडाई,
कस्तो अचम्मको हिँडाई ।
सुनसान रातमा त्यो लवाई त्यो खवाई
अचम्म त्यो बसाई, त्यो सुताई
सब नौलो सब अचम्मको ।

तेस्रो रात कासन भो
कासन ठूलाको शासन भो ।
सब तयार छस ?
सब कराए !
म पनि कराएँ !
रोलक्रम गन्न थालियो ।
आफ्नो आफ्नो कार्य विभाजन
आफ्नो आफ्नो टुकडी,
अचम्म अझसम्म म परिरहेको,
के हुँदै छ यहाँ ?
आयो मेरो पालो 
कामरेड सग्राम !
फेरी अचच्म !
कसरी फेरीयो मेरो नाम ?
सेक्सन कमाण्डर !
अर्काै अचम्म !
कसरी तोकियो मेरो पद ?

आजको मिसन चौकिडाँडको पुलिस चौकी,
मेरै घर माथिको पुलिस चौकी !
फेरी काशन आयो,
सब रेडि छ ?
सबै चिच्याए !
छ कामरेड !
मेरा पछि पनि म भन्दा तल्लो दर्जाका
अरे म कसरी कमाण्डर भए ?
म अपहरीत्
अपहरीत् म !

1 comment:

  1. समयले आफ्नो परिचय आँफै दिन्छ । सायद यस्तै भयो यहाँ पनि चोको पुग्न नसक्ला तर पुगेको सोच्नु पर्छ विधुर जी तपाइलाई पनि त्यस्त भयो । जो आम नेपालीलाई भएको थियो ।

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी