Wednesday, November 7, 2012

विद्यार्थी सहुलियत दिँदैनन् नगरबस

 नारायणगढ । सरकारले यात्रा गर्दा विद्यार्थीहरुलाई ४५ प्रतिशत भाडामा सहुलियत दिने निर्णय गरेको वर्षाैँ भए पनि नारायणगढ तथा भरतपुर क्षेत्रका विद्यार्थी भने यो सुविधाबाट वञ्चित छन् । यहाँ चल्ने नगरबसहरुले विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा सहुलियत नदिँदा उनीहरु यो सुविधाबाट वञ्चित भएका हुन् ।

नगरबसमा सहुलियत नदिँदा हरेक पटक बसमा झगडा हुने गरेको विद्यार्थीहरु बताउँछन् । ‘विद्यार्थीहरुलाई दिनुपर्ने सहुलियत दिँदैनन्, हरेक पटक किचकिच हुन्छ’, सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी राजेन्द्र भुषालले भन्नुभयो, ‘जति गर्दा पनि नदिएपछि के गर्ने चुप लाग्यो पूरै भाडा दिनु परेको छ ।’ जतिसुकै कराए पनि सहुलियत नपाएको उहाँको गुनासो थियो ।

चितवनबाहेकका जिल्लामा स्थानीय रुटमा चल्ने नगरबसहरुमा सहुलियत दिने गरे पनि चितवनमा मात्र नपाएको अर्का एक विद्यार्थी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्ष पढ्ने कमल पौडेलले बताउनुभयो । ‘अरु जिल्ला जहाँ गए पनि सहुलियत पाइन्छ । तर यहाँ किन दिँदैनन् कुन्नी ?’, उहाँले प्रश्न गर्नुभयो, ‘यो व्यवसायीहरुले सरासर हामीमाथि गरेको अन्याय हो ।’

यता, यातायात व्यवसायीहरु भने विद्यार्थीलाई सहुलियत दिएको बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले विद्यार्थीहरुलाई तोकिएको सहुलियत दिएको दावी गर्नुभयो ।

सहुलियत नदिएको जानकारी नै छैन व्यवसायीलाई

‘हामीले तोकिएको भडादरमा विद्यार्थी परिचयपत्रका आधारमा सहुलियत दिएका छौँ’, उहाँले भन्नुभयो, ‘यदि कसैले नदिएको भए कारबाही गर्छांै ।’ पाण्डेले नगरबसले सहुलियत नदिएको बारे जानकारी नै नभएको बताउनुभयो । ‘चितवनका विद्यार्थीहरु सचेत छन्, सहुलियत नपाएको भए आन्दोलन गरिहाल्थे नि ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘कसैकसैले मात्र नदिएको हुनसक्छ ।’

उता, विद्यार्थी संगठनहरु भने पटकपटक भएको सहमति कार्यान्वयन नभएको बताउँछन् । जिल्ला प्रशासन कार्यालयमा पटकपटक आग्रह गर्दा पनि समस्या समाधान नभएको उनीहरुको भनाइ छ ।

त्यस्तो भएको भए छानविन गरेर कारबाही गर्ने पाण्डेले बताउनुभयो । यता, यातायात व्यवसायीहरुको अटेरीबारे संयुक्त अनुगमन गर्ने भनिएता पनि हुन सकेको छैन । जिल्ला प्रसासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विद्यार्थीहरुबाट यस्तो कुनै गुनासो नआएको बताउनुहुन्छ ।

‘हामीलाई अहिलसम्म यस्तो गुनासो आएको छैन’, उहाँले भन्नुभयो, ‘यदि त्यस्तो हो भने हामीले सम्बन्धित निकायलाई बोलाएर बुझ्ने छौँ ।’

सार्वजनिक यातायात भाडामा विद्यार्थी सहुलियतका लागि भनेर सरकारले यातायात व्यवसायीहरुलाई अनुदानसमेत प्रदान गरेको हुन्छ तर पनि अनुदान लिएर सहुलित नदिने व्यवसायीलाई कारबाही गर्न स्थानीय प्रशासन किन सकिरहेको छैन ? सबैको एउटै प्रश्न छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी