Thursday, November 8, 2012

अब सुर्तीजन्य बस्तु सेवन गर्ने प्रहरी फन्दामा

भरतपुर । यदि तपाईं सुर्तीजन्य बस्तु सेवनकर्ता हुनुहुन्छ र सार्वजनिक स्थानमा सुर्तीजन्य बस्तु सेवन गर्नुहुन्छ भने अब तपार्इंलाई कानुनबमोजिम कारबाही हुने पक्का छ । चितवन प्रहरीले दिएको जानकारीअनुसार सार्वजनिक स्थानमा सुर्तीजन्य बस्तु सेवन गर्ने जो कोही अब कानुनी फन्दामा पर्ने भएका छन् ।

सरकारले डेढ वर्षअघि ल्याएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन चितवनमा कार्यान्वनमा ल्याउन लागिएको चितवनका प्रहरी प्रमुख दीपककुमार थापाले बताउनुभयो । प्रहरी प्रमुख थापाका अुनसार चितवन प्रहरीले तिहारलगत्तै यस ऐनमा व्यवस्था भएअनुसार कामकारबाही अगाडि बढाउने निर्णय भएको छ । सर्वसाधरणबाट व्यापक गुनासो आएपछि गुनासो सम्बोधन गर्न ऐनलाई प्रभावकारी ढंगले प्रयोगमा ल्याउन लागिएको थापाको भनाइ छ । 

यस ऐन २०६८ वैशाख २६ गते प्रकाशित राजपत्रमा प्रकाशित भएको हो । सुर्तीजन्य बस्तु भन्नाले चुरोट, बिँडी, गुट्खा, कच्चा सुर्ती, तमाखु, सुल्फा, कंकट, खैनी वा यस्तै प्रकारका बस्तु मानिने ऐनमा परिभाषित गरिएको छ ।

ऐनमा व्यवस्था भएअनुसार सार्वजनिक स्थानमा सुर्तीजन्य बस्तु सेवन गर्ने जो कोहीलाई पहिलोपटक थप यस्तो नगर्न सचेत गराउने र सार्वजनिक ठाउँबाट बाहिर निकालिने छ । सोही व्यक्तिबाट पुनः त्यस्तो काम भएमा रु. एक सय जरिवाना गर्ने प्रावधान छ । यससम्बन्धी मुद्दा हेर्ने अधिकारीका रुपमा प्रमुख जिल्ला अधिकारी रहने छन् ।

त्यस्तै सार्वजनिक स्थानमा सुर्तीजन्य बस्तु सेवन गर्ने व्यक्ति सरकारी कर्मचारी भएमा अनुशासनमा रही काम गर्न सचेत गराउने र त्यसो गर्दा पनि अटेर गरेमा विभागीय कारबाहीसम्म गर्न सकिने ऐनमा स्पष्ट व्यवस्था छ ।

ऐनमा उल्लेख भएअनुसार सार्वजनिक स्थान भन्नाले, राज्यका निकायहरु, शिक्षण संस्था, स्वास्थ्य संस्था, विमानस्थल क्षेत्र, सवारीसाधन, यात्रु प्रतीक्षालय, टिकट काउण्टर, बालकल्याण गृह, बालउद्यान, क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना रहेका छन् ।

त्यस्तै अन्य ठाउँहरुमा होटल, रिर्सोट, लज, भोजनालय, चमेनागृह, छात्राबास, रंगाशाला, कभर्डहल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, मिनी मार्केट, धर्मशाला आदि रहेका छन् । ऐनमा व्यवस्था भएअनुसार १८ वर्ष मुनिका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य बस्तु बेच्न पाइने छैन । त्यस्तै १८ वर्ष मुनिका र गर्भवतीले पनि यस्ता बस्तु बिक्री गर्न नपाउने ऐनमा उल्लेख छ । कुनै पनि स्थान वा सञ्चारमाध्यबाट सुर्तीजन्य बस्तुको विज्ञापन तथा प्रायोजन गर्न नपाइने पनि ऐनमा उल्लेख छ ।

‘ऐन पहिले नै कार्यान्वयनमा आए पनि चितवनमा यसको प्रभावकारिता देखिएको थिएन, अब यस ऐनबमोजिम हामी काम गर्ने छौं’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रशासन, महिला सेल एवम् सामुदायिक सेवा फाँट हेर्ने प्रहरी निरीक्षक किशोर श्रेष्ठले बताउनुभयो । चितवनमा गुण्डागर्दी नियन्त्रणपछि आफूहरुको दोस्रो अभियान सुर्तीजन्य बस्तु सार्वजनिक स्थानमा सेवन गर्न रोक लगाउने भएकाले यसका लागि प्रहरी पूर्ण रुपमा सक्रिय हुने प्रहरी प्रमुख दीपककुमार थापाले बताउनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी