Saturday, December 1, 2012

सचेत हुँदै यौन व्यवसायी महिलाहरु

भरतपुर । यौन व्यवसायी महिलाहरु सुरक्षित यौन सम्पर्कप्रति जागरुक देखिएका छन् । उनीहरुमा सुरक्षित यौनका बारेमा चेतना जागेसँगैै ग्राहकहरुसँग सुरक्षित यौन व्यवहारको प्रस्ताव राख्ने गरेका छन् । 
 
यौन सम्पर्कका बेला कन्डम प्रयोग नगर्नेसम्म उनीहरु यौन सम्पर्क नराख्ने गरेको बताउँछन् । ‘पहिला त्यस्तो चेतना थिएन, अहिले कन्डम प्रयोग नगर्नेसँग यौन सम्पर्क राख्दिनँ’, भरतपुरको पुलचोकमा एक साँझ भेटिएकी लमजुङ घर बताउने यौन व्यवसायी निर्मला (नाम परिवर्तन)ले भनिन् ।

कन्डमविना यौन सम्पर्क गर्न चाहनेहरु पनि आउने गरेको उनको भनाइ छ । ‘आउँछन् ठूला घरानाका, कन्डमविना नै यौन सम्पर्कको प्र्रस्ताव राख्छन्’, उनले थपिन्, ‘त्यसको लागि बढी पैसा दिने प्रस्तावसमेत आउने गर्छ ।’ तर आफूले त्यस्तो प्रस्ताव नस्वीकार्ने उनले बताइन् । 

‘जीवनभन्दा ठूलो पैसा त होइन नि ?’, निर्मलाले प्रश्न गर्दै भनिन्, ‘कण्डम नलगाउने भए जानुस् भन्दिन्छु ।’ भर्खर कलेज पढ्नेदेखि लिएर उमेर ढल्किसकेका ग्राहकहरु आउने गरेको उनको अनुभव छ । ‘भर्खर १८ लागेका ठिटाहरु आउँछन् कण्डमविना नै सम्पर्क राख्न जबरजस्ती गर्छन्’, निर्मलाले भनिन्, ‘कतिलाई सम्झाएर पठाउँछु कतिलाई थर्काएर ।’ गरिबीले यस्तो पेसामा आउनुपरेको उनको भनाइ थियो ।

‘बाबु आमाले पढाउन सकेनन्, आफ्नो जीवन धान्नसमेत यस्तो पेसा अँगाल्नु प¥यो’, २५ वर्ष पुगेको बताउने निर्मलाले भनिन् । पहिले एक्लै भए पनि अहिले यही पेसामा लागेका अरु तीन जना साथीहरुसँग सँगै बस्ने गरेको उनको भनाइ छ । ‘साथीबीच एकले अर्काेलाई सहयोग गर्छाैं, फेरि हाम्रो लागि काम गर्ने संघसंस्थाहरु पनि छन् ।’

पहिलेजस्तो अस्पतालहरुमा लुकिलुकी जानुपर्ने अवस्था नआएको उनको भनाइ छ । ‘बेलाबेलामा अस्पतालमा गएर चेकअप गर्ने गरेको उनले बताइन् । यौन व्यवसायी महिलाहरुको क्षेत्रमा कार्यरत संस्था सहभागीबाट समेत उनले सेवा लिएकी छन् । 

चितवन जिल्लामा यकिन रुपमा तथ्याङ्क नभएको जिल्ला एड्स समन्वय समितिका रामहरि न्यौपानेको भनाइ छ । अनौपचारिक रुपमा अस्पताल र विभिन्न संस्थाहरुसँग सेवा लिनेहरुको संख्या हेर्दा करिब ७०० को हाराहारीमा यौन व्यवसायी रहेको हुनसक्ने उहाँले जानकारी दिनुभयो । 

भरतपुर अस्पतालमा रहेको एआरटी क्लिनिकमा सेवा लिन आउने एचआईभी संक्रमितहरुमध्ये यौन व्यवसायी महिलाहरु न्यून रहेको क्लिनिकले जनाएको छ । क्लिनिकमा दर्ता भएका कुल ८१७ जना एचआईभी संक्रमितमध्ये यौन व्यवसायी महिलाहरु एक प्रतिशत पनि छैनन् । 

यसले पनि यौन व्यवसायी महिलाहरु सचेत हुँदै गएको पुष्टि हुने न्यौपानेले बताउनुभयो । 

यो पेसामा संलग्नहरुको यकिन तथ्याङ्कबारेमा अनुसन्धान नभए पनि संस्थामा सेवा लिन आउनेको आधारमा २० वर्षदेखि ३० वर्ष उमेरका महिलाहरु बढी रहेको सहभागीका कार्यक्रम संयोजक युवराज सापकोटाले जानकारी दिनुभयो । 

संस्थाले निःशुल्क रुपमा कन्डम वितरण गर्नुका साथै उनीहरुलाई परामर्श दिँदै आएको छ । ‘अहिले यौनकर्मी महिलाहरुमा एचआईभी संक्रमण दर कम हुनु पनि उनीहरुमा फैलिएको चेतना हो’, सापकोटाले भन्नुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी