Sunday, December 2, 2012

चितवनमा मतदाता नामावली संकलनमा कमी

राजनीतिप्रति वितृष्णा बढ्दै                  
भरतपुर । राजनीतिक असन्तोषका कारण नागरिकमा राजनीतिक वितृष्णा बढ्दै गइरहेको छ । योसँगै चितवनमा मतदाता नामावली संकलनमा समेत कमी आएको छ ।

असोज मसान्तसम्म कार्यालयले संकलन गरेको मतदाता नामावली संकलनका क्रममा गत २०६४ सालमा संविधानसभाको निर्वाचनका बेला संकलित मतदाता नामावलीभन्दा करिब डेढ लाखले कम आएको हो । निर्वाचन कार्यालयले गरेको फोटोसहितको मतदाता नामावली संकलनका क्रम उक्त संख्या कमी आएको हो ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गत असोज मसान्त सम्ममा दुई लाख ४३ हजार ४५ जनालेमात्र मतदाता परिचयपत्रका लागि फोटो खिचाएका हुन् । यो संख्या गत संविधानसभाको निर्वाचनका बेला रहेको संख्याभन्दा एक लाख ३९ हजार ५२५ कम हो । उक्त समयमा चितवन जिल्लामा तीन लाख  ८२ हजार ५७० थियो ।

मुलुकमा भएको राजनीतिक अन्यौलतासँगै यस्तो कमी आएको हुनसक्ने कार्यालयले जनाएको छ । ‘कति यहाँ नभएर पनि नामावली संकलनमा नआएका होलान, यही भएकाहरु पनि यसप्रति चासो दिएका छैनन्’, जिल्ला निर्वाचन आयुक्त हरिप्रसाद ढकालले भन्नुभयो ।

ढकाललका अनुसार यो कमी विदेशिएकाहरुको नामावली नपरेका कारण पनि भएको हो । ‘पहिले विदेश गएकाहरुको नाम परिवारले लेखाइदिन्थे तर अहिले त्यस्तो हुँदैन स्वयम् नै उपस्थित भइ फोटो खिचाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘दोहोरो नामावलीसमेत हटेको छ, मृत्यु भइसकेकाहरुको नाम हटेको छ ।’

पुरानो नामावलीमा एकै व्यक्तिको दुई वा बढी स्थानमा समेत नाम रहेने गरेको ढकालको भनाइ छ । आम मतदाताहरु समेत निर्वाचनमा सहभागी भएर दुःख मात्र पाएको उपलव्धि केही नभएकोले नाम दर्ता गर्न चासो नदिएको बताउँछन् ।

कुवाको भ्यागुतो कुवामै

‘बेकारमा दिनभर लाइनमा बसेर भोट हाल्यो, उपलब्धि शून्य, जाने माथि जान्छ हामी कुवाको भ्यागुतो कुवामै’, पश्चिम चितवन गुञ्जनगरका राजेन्द्र भुषालले व्यग्य गर्दै प्रश्न गर्नुभयो, ‘संविधानसभाको निर्वाचनमा भोट हालेर के भयो र ?’ जनतालाई नेताहरुले घात गरेको उहाँको प्रतिक्रिया थियो । निर्वाचनमा सहभागी हुनु र नहुनु एउटै भएको उहाँले बताउनुभयो ।

यता कार्यालयले मतदाताहरुलाई जागरुक बनाउनका लागि जिल्लाबाट २५ जनालाई मतदाता स्रोत शिक्षकको रुपमा तीन दिने अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । आज सोमबारदेखि तालिम सुरु हुने कार्यालयले जानकारी दिएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले सबै निर्वाचन केन्द्रहरुको स्थलगत अध्ययन गरी केन्द्रको विवरण इन्टरनेटमा राखिसकेको छ । सम्पूर्ण केन्द्रहरुको भौगालिक बनावट, वस्तुस्थितिको बारेमा जानकारी इन्टरनेटमा राख्ने काम सकिएको जिल्ला निर्वाचन प्रमुख ढकालले जानकारी दिनुभयो ।

जिल्लामा १४० वटा निर्वाचन केन्द्र छन् भने पाँच वटा निर्वाचन क्षेत्र कायम रहेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी