Monday, December 3, 2012

जिशिअकी आमा निरक्षर साक्षर बनाउन जिशिकाको पत्र

जिल्ला शिक्षा कार्यालयले जिल्ला शिक्षा अधिकारिी शर्मालाई काटेको पत्र ।
भरतपुर । चितवनका जिल्ला शिक्षा अधिकारीको परिवारका सदस्य नै साक्षर नभएको पाइएको छ । उहाँलाई जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव गोपालप्रसाद कँडेलले एक पत्र काटी सम्भव भएसम्म एक वर्षभित्र साक्षर बनाइ प्रमाणसहित पेस गर्न पत्र काट्नुभएको छ ।

आइतबारमात्र एक कार्यक्रममा शिक्षा क्षेत्रमा काम गर्ने हरेकका परिवार साक्षर हुनुपर्ने त्यस्तो भएनभएको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्ने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताउनुभएको थियो । तर जिल्ला शिक्षा अधिकारी शर्माकी ६८ वर्षीया आमा चन्द्रकला उपाध्याय नै निरक्षर रहेको भन्दै जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव कँडेलले शर्मालाई पत्र काट्नुभएको हो ।

कार्यालयले काटेको पत्रमा शर्मालाई सम्भव भएसम्म एक वर्षभित्रमा साक्षर बनाइ कार्यालयमा साक्षर भएको प्रमाणित गराइ पेस गर्न अनुरोध गरिएको छ ।

नेपाल सरकारले घोषणा गरेको ‘साक्षर नेपाल’ कार्यक्रमलाई सार्थक बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले कार्यालयका कर्मचारीहरुको विवरण फाराम भरेको थियो । सो विवरण भराउनेक्रममा शर्माकी आमा चन्द्रकला निरक्षर रहेको पाइएपछि जिल्ला शिक्षा कार्यालयले पत्र काटेको कार्यालयका विद्यालय निरीक्षक बाबुराम दवाडीले जानकारी दिनुभयो ।

नेपाल सरकारले पूर्ण साक्षर नेपाल बनाउने भन्दै साक्षरता अभियान सञ्चालन गरेको छ । सोहीअनुरुप चितवनमा पनि अभियान थालिएको हो । सरकारले ६० वर्षभन्दा कम उमेरकालाई अनिवार्य साक्षर बनाउने तथा ६० देखि ७० वर्ष उमेर समूहकालाई संभव भएसम्म साक्षर बनाउने नीति लिएको छ ।

आमालाई साक्षर बनाउन प्रयास गर्छु ः जिशिअ

यता, जिल्ला शिक्षा अधिकारी शर्माले सोमबार नै यहाँका सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई इमेल गर्दै आफ्नी निरक्षर आमालाई साक्षर बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘आफू र आफ्नो परिवारलाई शिक्षित बनाउन मरिमेट्ने आफ्नी आमालाई साक्षर बनाउने विषमा मैले खासै प्रयास गरेन छु’, जिल्ला शिक्षा अधिकारी शर्माले प्रेशित गर्नुभएको इमेलमा भनिएको छ, ‘आज मेरै कार्यालयले मलाई सम्झाएको छ, म जस्तै राष्ट्रसेवक कर्मचारी तथा सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुले परिवारका सबै निरक्षर सदस्यलाई साक्षर बनाउने विषयमा पक्कै सोच्नु हुनेछ ।’

कार्यालयले प्रयोजन नखुलाइ लिएको विवरणमा कार्यालयका अन्य कर्मचारीहरुका परिवार पनि निरक्षर रहेको पाइएको छ । विवरण लिनेक्रममा कार्यालयकी कार्यालय सहायक तुलसी तिवारीकी आमासमेत निरक्षरण भएको पाइएको हो ।

कार्यालयले तिवारीलाई एक वर्षभित्रमा अनिवार्यरुपमा आमालाई साक्षर बनाइ साक्षर भएको प्रमाणित गराइ कार्यालयमा पेस गर्न अनुरोध गरेको छ । उहाँकी आमा ६० वर्षभन्दा कम उमेरकी रहेको समेत कार्यालयले जनाएको छ ।

त्यस्तै कार्यालयका नायव सुव्बा हरिशचन्द्र घिमिरे, खरिदार विष्णु लामिछाने, विद्यालय निरीक्षक चन्द्र खड्का र कार्यालयका चालक नकुल गुरुङलाई पनि कार्यालयले पत्र काटेको छ । उनीहरुलाई सम्भव भएसम्म एक वर्षभित्र साक्षर बनाइ साक्षर भएको प्रमाणित गराइ पेस गर्न अनुरोध गरेको छ ।

उनीहरुमध्ये घिमिरे, लामिछाने, खड्काका आमा तथा चालक गुरुङका दुबै आमा–बा नै निरक्षर भएको विद्यालय निरीक्षक दवाडीले जानकारी दिनुभयो । उनीहरु सबै साठी वर्षभन्दामाथि उमेर समूह भएकोले सम्भव भएसम्म साक्षर बनाउन अनुरोध गर्दै पत्र काटिएको उहाँले बताउनुभयो ।

कार्यालयका सबै कर्मचारीका परिवार साक्षर हुनुपर्ने मान्यता राख्दै जिल्ला शिक्षा अधिकारीलाई पत्र दिएर अभियान थालिएको कार्यालयका उपसचिव भक्तबहादुर सेञ्चुरीले चितवन पोष्टलाई जानकारी दिनुभयो ।
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी