Wednesday, November 28, 2012

समयको मागलाई सम्बोधन गर

प्रिय सिर्जन,
लाख लाख सम्झना र समर्पणका पुष्पगुच्छाहरु स्वीकार गर ल...!
अनेकौँ प्रश्नहरु मनमा उत्पन्न भए तिमीले कोरेको पत्र पढ्दा । सिर्जन, तिमी त आजभोलि सहरका गल्लीगल्लीमा हराएका रहेछौै । सहरबाट तिमीले कोरेको पत्र मेरो हातसम्म पर्न पनि कति गाह्रो हुन थालेछ, र त आज थाहा पाएँ तिमी मबाट कति टाढा पुगिसकेका रहेछौ । मैले त ठानेकी थिएँ, तिमी मेरै नजिक छौ अर्थात् मेरै आसपास तर यो त मेरो कल्पनामात्र पो रहेछ...!

हुन त, तिमीले हाम्रो प्रेमका बारेमा पत्रिकामा नै प्रश्न उठाएर पत्र नै प्रकाशित गरेका रहेछौ तर पनि मैले तिम्रो पत्र ढिलोमात्र प्राप्त गरेँ । तिमीलाई आफ्नो ठानेकी थिएँ तर तिमी त आज मेरोभन्दा पनि धेरै पर आफ्ना आफन्तको पो हुन पुगेछौ ।

सुनेकी थिएँ, तिमी आजभोलि आफ्ना आफन्त तथा सहयोगीका लागि मात्र काम गर्न थालेका छौ, मलाई विश्वास थिएन किनकी मलाई लाग्थ्यो, मेरो सिर्जन म देखि टाढा हुनै सक्दैन । मेरो सिर्जनले कदापि पनि ती वाचाहरु भुल्न सक्दैन, जो दुनियाँका सामु मेरा निम्ति गरेको थियो । तर आज सब यी मेरा दिवास्वप्नमात्र हुन पुगेका छन् । सारा वाचाहरु आज बालुवामा पानीसरी भएका छन् । किन हो कुन्नि आजभोलि तिमीलाई म आफ्नो सिर्जन भन्न पनि लाज लागेर आउन थालेको छ । ‘तिमी कुन दुनियाँमा फस्यौ ?’ यो सोध्न मन छ । केवल यही सोध्नका निम्ति मात्र यो पत्र कोर्ने चेष्टामा कलमहरु दौडिँदा मनलाई बाँधेर भावनामा बग्न पुगेकी हुँ ।

तिमी ठान्दा हौ, अझ पनि यो सिर्जना मेरो मोहजालबाट उम्किन सकेकी छैन र सक्ने पनि छैन तर तिमी यो झूटो कल्पनामात्र गरिरहेका छौ किनकि म समयलाई मूल्याङ्कन गरी हिँड्न सिक्ने नारी हुँ, तिमीले नै मलाई यति सक्षम बनाएका हौ र तिमीले बनाएकी सिर्जना आज तिम्रै विरूद्ध बोल्न आवाज ओकलिरहेकी छ । असत्यका विरूद्ध तिमीले नै बोल्न सिकाएका हौ मलाई तर आज त्यही बोली तिम्रो विरूद्ध बोलिरहेकी छु । तिमीलाई दुःख पनि लाग्दो हो, आज यसरी तिम्रै प्रेमिकाले तिम्रै विरूद्धमा आवाज ओकलिरहेकी छ । यो मेरो बाध्यता हो । तिमीले ती वाचा÷कसमहरु भुल्नसके पनि म तिमीले गरेका वाचा÷कसमहरु भुल्न सकेकी छैन र भुल्ने पनि छैन ।

हिजोमात्र ती बूढीआमा भेट भएकी थिइन् र सोध्दै थिइन्– तेरो सिर्जनले आजभोलि के गरिरहेको छ ? म अवाक् भएँ, के जवाफ दिँऊ ? राम्रो या नराम्रो...! मैले केही बोल्न सकिनँ, किनकि म तिम्री प्रेमिका न हुँ । राम्रो पनि त भन्न सकिनँ, किनकि ती बूढीआमासँग पनि तिमीले वाचा गरेका थियौ । हामीसँगै हाम्रो प्रेमलाई सफल पार्न तिमीले वाचा खाएका थियौ । तर आज तिमी ती सबै वाचा भुलेको बेला म कसरी ती बूढीआमाको विश्वासको धागोलाई चुँडाउन सक्थेँ र जसरी तिमीले चुँडाएका छौ । 

आज तिमी जनताको संविधान बनाउन भनेर गएको पनि त चार वर्षले नेटो काट्ने तरखर गर्दैछ । तर तिमी जुन वाचा गरेर गएका थियौ, त्यो पूरा गर्न त कता हो कता तिमी आफ्ना स्वार्थहरु पूरा गर्ने तर्खरमा पो लागेको सुन्दा आज अचम्म लागिरहेको छ मलाई ! सँगै लडेर आएका साथीहरुलाई तिमीले भुलेको देख्दा मन कताकता अमिलो हुन थालेको छ । सिर्जन, तिमीले ती सहिदका सपनाहरु साकार पार्नुपर्ने थियो तर तिमी त आफ्नो स्वार्थका निम्ति आफ्ना आसेपासेहरुको झुन्ड खडा गर्दै हिँडेका छौ...! 

सिर्जन, हाम्रो प्रेम त सिद्धान्तको आडमा लगाइएको थियो होइन र ? तर तिमीले त्यही सिद्धान्तलाई बिर्संदै दक्षिणपन्थी भासमा फस्दा कसरी हाम्रो प्रेम सफल हुन सक्छ र ? यो मेरो मात्र प्रश्न होइन, यो सारा हाम्रा प्रेमका साक्षीहरुको मनमा उव्जिएको प्रश्न हो तर तिमीले यी अनेक प्रश्नलाई नै अराजकता ठान्दै हाम्रो प्रेमलाई नै अराजकताको उपजको रुपमा परिभाषित गर्दै गर्दा कसरी अझ पनि म तिम्रो प्रेमको अन्धोभक्त भएर तिम्रो नै आरति उतार्न सक्छु र ?

यहाँ म मात्र होइन, तिमीप्रति अनेकौँ प्रश्नका तरवारहरु खडा भइराखेका छन् । जब तिमीले गरिएका वाचाहरुलाई तोड्यौ, तब तिमीप्रति रहेका सकारात्मक सोचहरु नै सब बेकार लाग्न थालेका छन् । तिमीलाई तिम्रै आफन्तले पनि शङ्काको दायरामा राख्दा म त को नै हुँ र तिम्रो ! खाली एक यात्राको क्रममा भेटिएकी अपरिचित यात्री जसको समान उद्देश्य थियो, समान चाह थियो र समान विचार पनि थियो । तर आज ती समान विचारहरुका कोपिलाहरुलाई तिमीले गोड्ने काम गरेका छौ । हाम्रा उद्देश्यहरु पूरा नहुँदै तिमी बिसाइ मार्न खोजेका छौ तर म त उद्देश्य पूरा नहुँदासम्म यात्रामा हिँडिरहने कठोर कसम खाएर हिँडेकी यात्री न हुँ, अनि थकाइले लखतरान तिमीलाई यो बीचबाटोमा म कति समय नै पर्खिरहन सक्छु र ? केवल दुई पल न हो, ती पलहरु पनि समाप्त भइसके ।

सिर्जन, यो पनि नठान्नु कि म तिमीलाई यो यात्रामा चाहेर भुल्न खोजेकी पनि होइन । यो समयको आवश्यकता बन्न पुगेको छ आज । तिमी पनि समयको मागलाई सम्बोधन गरेर आउँछौ भने म तिम्रै हुनेछु र तिम्रै छु, रहने छु पनि तर तिमी आत्मसमीक्षा त गरेर आउनैपर्छ खाली एक पलको लागि मात्र म तिमीलाई पल्लो मोडमा पर्खिरहने छु । 

बाँकी तिम्रो इच्छामा भर पर्नेछ, हाम्रो भेट हुनेछ या हुनेछैन ! भए पनि कुन मोडमा कसरी हुनेछ, त्यो न मैले नै कल्पना गर्न सक्छु, न तिमी नै कल्पना गर्न सक्छौ । ल त आजलाई बिदा...! तिम्रा धेरैभन्दा धेरै प्रेमपत्रहरु प्राप्त गर्ने प्रतीक्षामा बस्छु म, तिमीले पनि आफ्ना प्रेमपत्रहरुका जवाफ अवश्य पनि पाउने छौ । 

उही तिम्री
प्रेयसी सिर्जना



love letter from unknown . यो पत्र एक अनजान सिर्जनाले मेरो प्रेमपत्र माथि प्रतिक्रिया स्वरुप प्रेशेति गर्नुभएको हो । उहाँलाई म धन्यवाद दिन चाहन्छु ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी