Wednesday, July 4, 2012

कारखानाबाट १२७ बालश्रमिकको उद्धार

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा प्रहरी र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसहितको टोलीले मध्यपुरथिमिको बोडे क्षेत्रमा सञ्चालित ३५ वटा जरी भर्ने कारखानामा छापा मारी १२७ जना बालश्रमिकको उद्धार गरेको छ ।
भक्तपुरको बोडे क्षेत्रको पाँच स्थानमा सञ्चालित साडी, कुर्थाको सल र अन्य कपडामा जरी भर्ने कारखानामा काम गर्ने बालश्रमिकको उद्धार गरी ३५ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मैया कँडेलको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पुस्कर केसी र सशस्त्र प्रहरी बल गुह्ेश्वरी गणको सुरक्षाकर्मीसहितको टोलीले यहाँ सञ्चालित कारखानामा आज बिहान ८ः३० देखि १० बजेसम्म छापामारी कारखानामा कार्यरत बालश्रमिकको उद्धार गरेको हो ।
छापामारी ल्याइएको १५७ जना श्रमिकको थिमिकै कृषि विकास तालिम केन्द्रमा राखी भक्तपुर जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरेको थियो । स्वास्थ्य परीक्षणमा उनीहरुलाई आँखा पाक्ने समस्या, छातीको समस्या, दम, खोकीलगायतको सङ्क्रमित रोग देखापरेको चिकित्सक टोलीले बताएका छन् ।
उद्धार गरिएका बालश्रमिकमध्ये १६ वर्ष मुनिकाको छनोट गरी १२४ जना बालश्रमिकलाई आजै कार्नेट नेपाल नामक गैरसरकारी संस्थाको जिम्मा लगाइएको छ । बाँकी ३३ जना भने १६ वर्ष उमेर नाघेका र बाबुआमासँगै रहेकालाई उनीहरुकै जिम्मा लगाइएको छ ।
अनुसन्धानका क्रममा आठदेखि १३ वर्ष उमेर समूहका बालश्रमिकलाई बिना पैसा काम सिकाउने नाममा तलब नदिई शुद्ध खानाको भरमा राखेको, र १४ वर्षदेखिका श्रमिकलाई मासिक रु दुई हजारदेखि रु चार हजारसम्म तलब दिने गरेको पाइएको छ ।
बालश्रमिकले बिहान ९ बजेदेखि राति ११ बजेसम्म र सिजनको समयमा बिहान ८ बजेदेखि राति २ बजेसम्म काममा लगाइने गरेको यसक्षेत्रमा दुईवर्षदेखि बालश्रमिकको उद्धारका लागि काम गर्दै आएको बालविकास समाजका निर्देशक युवराज रोक्काले बताउनुभयो ।
विगत दुई वर्षदेखि समाजले यस क्षेत्रमा लगाइएको बालश्रमिकको अनुगमन गर्दै बालश्रमिक नराख्न निर्देशन दिँदा नमानेको भन्दै उहाँले अहिले समाजकै पहलमा छापामारी उद्धार गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र भण्डारीले बोडे क्षेत्रमा सञ्चालित जरी कारखानालाई पटकपटक सचेत गराउँदा पनि बालश्रमिक राख्न नमानेपछि बुधबार उद्धार गर्नेगरी छापा मारिएको बताउनुभयो ।
कारखानालाई पनि दर्ता गरी कर तिरेर कानुनी दायरामा आउन निर्देशन दिएको जानकारी दिनुभयो । उद्धार गरिएका बालश्रमिकको हकमा उनीहरुको परिवारसम्म पुनःस्थापना गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली बनाइएको उहाँले बताउनुभयो ।
उद्धार गरिएपछि प्रतिक्रिया दिँदै सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले उद्धार गरिएको १५० जना बालश्रमिकलाई कार्नेट नेपाल नामक संस्थाको जिम्मामा लगाइने र संस्थाले एक महिनासम्म ती बालश्रमिकलाई पालनपोषण गर्ने बताउनुभयो ।
त्यसपछि विश्व शिक्षा, बालविकास समाज, सेभ द चिल्ड्रेनलगायतका विभिन्न सङ्घसंस्थासहितको टोलीले ती बालश्रमिकलाई उनीहरुको घरमै लगेर परिवारलाई बुझाउन र आयमूलक कार्यक्रमसमेत सञ्चालन गरिदिने बताउनुभयो ।
बालश्रमिक राख्ने कारखानाका मालिकलाई भने बालश्रम ऐन शोषण नियमन गर्ने २०५६ को ऐनअनुसार कारबाही गर्ने बताउनुभयो । यसअन्तर्गत उनीहरुलाई तीन महिना कैद र रु १० हजार जरिवानासमेत लाग्ने कँडेलले बताउनुभयो ।
कार्नेट नेपालका राष्ट्रिय निर्देशक धनराज घिमिरेले जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा उद्धार गरिएका बालश्रमिकलाई आफ्नो संस्थाको जिम्मामा राखेर खान बस्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
त्यसपछि विभिन्न संस्थाको पहलमा उनीहरुलाई आफ्नै घरमा फर्काइने र उनीहरुका परिवारलाई आयआर्जनसम्बन्धी परियोजना चलाउने एवम् शिक्षाको व्यवस्था गरिने जानकारी गराउनुभयो ।
जरी कारखानामा लगाइएका अधिकांश बालश्रमिक बारा, पर्सा, महोत्तरी, मलङ्गवा, सर्लाही, सिरहालगायतका जिल्ला र भारतबाट समेत ल्याएर लगाइएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी