Friday, July 6, 2012

अशक्तले केही गर्न सक्दैनन् भन्नेलाई चुनौती


स्पाइनल कर्ड इन्जुरी सेन्टरमा परामर्शदाताको रुपमा खटिएका समिर ठकुरी ।
विधुर ढकाल
भरतपुर । आफूजस्तै अशक्त बिरामीको सेवामा तल्लीन हुन पाउँदा मंगलपुर–८ विजयनगरका २२ वर्षीय समिर ठकुरीलाई खुसी लागेको छ । अशक्तले केही गर्न सक्दैनन् भन्ने सामाजिक मानसिकताको लागि चुनौती हुन् उनी । त्यसमा पनि मेरुदण्ड पक्षघात तथा भाँचिएकाहरु उठ्न र हिँडडुल गर्नसमेत सक्दैनन् भन्ने धारणालाई उनले नकारिदिएका छन् ।
छ महिनाअगाडि गाडी दुर्घटनामा परी मेरुदण्ड भाँचिएका उनी साँगास्थित ‘स्पाइनल कर्ड इन्जुरी सेन्टर’बाट उपचार लिएर मेरुदण्ड पक्षघात भएकाहरु पनि केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न सक्षम भएका हुन् । उनलाई साँखुबाट असार १ गते भरतपुर अस्पतालपरिसरमा स्थापना भएको स्पाइनल कर्ड इन्जुरी सेन्टरमा परामर्शदाताको रुपमा काममा खटाइएको हो ।
‘आफूजस्तै बिरामीको सेवामा तल्लीन हुन पाउँदा अत्यन्तै खुसी लागेको छ । मैले यस्तो कल्पनासमेत गरेको थिइन’, ह्वील चेयरको साहरामा हिँडडुल गर्ने उनले भने । मेरुदण्ड पक्षघात भएका बिरामीले उपचार पाए केही गर्न सक्ने उनको भनाइ छ । ओभरसियरको पढाइलाई दुर्घटनाकै कारण बीचमा छाडेका उनी पढाइलाई निरन्तरता दिने सोचमा छन् । ‘सरहरुसँग कुरा गरिरहेको छु, पाँचौ सेमेस्टरको पढाइलाई बीचमा नै रोक्नुप¥यो, मिले फेरि निरन्तरता दिन्छु’, उनले भने ।
उनीमात्र होइन, केन्द्रले उपचार सुरू गरेपछि बिरामीका आफन्तहरुलाई पनि उत्साह मिलेको छ । पाल्पाबाट उपचारका लागि आएकी ३० वर्षीया नमिता गौतमका श्रीमान् शिव गौतमले आफ्नी श्रीमतीले नयाँ जीवन पाएको अनुभव गरेका छन् । ‘हामी निकै खुसी छौं, यसले मेरी श्रीमतीलाई पुनर्जीवन नै दिएको छ । यसपछि हामी पछि फर्केर हेर्न चाहन्नौं’, उनले भने । घटनालाई बिर्सन चाहेको बताउने उनले दुर्घटनाका बारेमा केही बताउन चाहेनन् ।
भरतपुर अस्पताल र स्पाइनल कर्ड इन्जुरी पुनस्र्थापना केन्द्र सागुको संयुक्त लगानीमा रोटरी क्लब र फ्रेन्डशीप सोसाइटी अफ स्पाइनल कर्ड इन्जुरीको पहलमा स्थापना भएको केन्द्रले बिरामीहरुलाई फिजियोथेरापीका साथै दैनिक जीवनमा गर्ने क्रियाकलापमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने गर्दछ ।
यसका साथै सो केन्द्रले बिरामीलाई व्यावसायिक तालिम पनि दिने गरेको केन्द्रका इञ्चार्ज अर्थाेपेडिक सर्जन डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपालमा यसको समस्या भएपनि सरकारसँग बजेट र नीति नै नभएको डा. पौडेलले आरोप लागाउनुभयो ।
‘चितवनमा मात्र दर्ता भएका करिब २०० यस्ता बिरामी छन्, कति गाउँतिर थाहै नभएका बिरामी पनि होलान् तरपनि सरकारले नत यसलाई बजेटमा नै सम्बोधन गरेको छ न कुनै नीति नै बनाएको छ’, उहाँले भन्नुभयो । अव्यवस्थित राजमार्गका कारण पनि यसका बिरामी बढ्ने गरेको पौडेलले बताउनुभयो ।
‘त्यतिमात्र होइन, मेरुदण्डको क्षयरोग तथा क्यान्सरका कारण हाड कुहिँदा यो समस्या देखा पर्दछ’, उहाँले भन्नुभयो । चितवनमा नेपालकै ठूलो क्यान्सर अस्पताल भएका कारण पनि यहाँ यसको प्रभावकारिता बढी भएको उहाँको भनाइ छ ।
हरेक बिरामीबाट दैनिक शøया शुल्कवापत १५० रुपैयाँ र पुनस्र्थापना सेवा शूल्कवापत १५० रुपैयाँ केन्द्रले लिने गर्दछ । साँगाले केन्द्रलाई तीन जना कर्मचारी दिएको छ भने भरतपुर अस्पतालका चार जना कर्मचारी र डाक्टरले यसमा उपचार दिने गरेका छन् । केन्द्रलाई अपाङ्गमैत्री बनाउने काम जारी रहेको डा. पौडेलले जानकारी दिनुभयो ।
यसरी मेरुदण्ड पक्षघातका बिरामीलाई सम्बोधन नगर्दा नीजि क्षेत्र तथा गैरसरकारी क्षेत्रले गरेको कार्यलाई हेरेर सरकारले पनि केही सिक्ने हो कि ?



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी