Friday, July 6, 2012

देशका सातवटै शिविरमा भर्ना प्रक्रिया स्थगन

लडाकूद्वारा आज मध्यान्हसम्मको अल्टिमेटम  


असन्तुष्ट लडाकूहरुद्वारा तेस्रो डिभिजनबाहिर धर्नाकै क्रममा आन्दोलनको घोषणा गर्दै ।
होमनाथ सापकोटा
शक्तिखोर । पूर्वी चितवनको शक्तिखोरस्थित माओवादी तेस्रो डिभिजनमा सेना समायोजन प्रक्रिया शुक्रबारदेखि अवरुद्ध भएको छ ।
भर्ना र छनौट प्रक्रियाप्रति लडाकूहरुले असन्तुष्टि जनाएपछि सेनामा जाने लडाकूहरुको छनोट प्रक्रिया अवरुद्ध भएको हो । देशका सातवटै शिविरमा लडाकूहरुले असन्तुष्टि जनाएका कारण भर्ना प्रक्रिया स्थगन गरिएको नेपाली सेनाले जनाएको छ ।
अनमिनले प्रमाणित गरेको उमेर र शिक्षालाई नेपाली सेनाले मान्यता नदिई नया“ तथा नियमित भर्ना प्रक्रियाअनुसार माओवादी लडाकूको भर्ना प्रक्रिया थालेपछि लडाकूहरु असन्तुष्ट बनेका हुन् ।
सेनाको नियमित भर्ना प्रक्रियाअनुसार छनोट गर्दा समायोजन कुरेर बसेका ८० प्रतिशत लडाकू फालिने संकेत देखिएपछि लडाकूहरुले समायोजन प्रक्रियामा सहभागी नहुने अधिकारिक घोषणा गरेका छन् । सरकार र राजनीतिक दलका विरुद्धमा आन्दोलन गर्ने असन्तुष्ट लडाकूहरुले बताएका छन् ।
अनमिनले उमेरको हकमा महिना गनेर १८ वर्ष पु¥याएका लडाकूहरुको सेनाले वर्ष गन्दा उमेर नपुगेर तथा प्रमाणीकरणपछि लडाकूले हासिल गरेको शिक्षालाई नेपाली सेनाले मान्यता नदिएपछि अधिकृत पदका लागि योग्य अधिकांश लडाकूहरु छनोटमा फालिएका छन् ।
समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाएका ९० प्रतिशत लडाकूले शुक्रबार तेस्रो डिभिजनको मूलगेटमा दिनभरि धर्ना दिएका थिए । उनीहरुले शिविरको मूलगेटमै पत्रकार सम्मेलन गरी सम्मानजनक समायोजन नभए भर्ना प्रक्रियामा सहभागी नहुने र सशक्त आन्दोलनमा जाने घोषणा गरेका छन् ।
असन्तुष्ट लडाकूहरुले सम्मानजनक समायोजन हुनुपर्ने, अहिले जारी भर्ना प्रक्रिया खारेज हुनुपर्ने, हालको शिक्षालाई मान्यता दिनुपर्ने, उमेरको हदबन्दीमा शान्ति सम्झौता हँुदा १८ वर्ष पूरा भएको लडाकूलाई योग्य मान्नु पर्ने, स्वैच्छिक अवकाशमा जान चाहनेलाई एकमुष्ट रकम उपलव्ध गराउनु पर्नेलगायतका माग राखेर उनीहरु भर्ना प्रक्रियामा सहभागी नभई शिविरबाहिर निष्केका हुन् ।
आफूहरुले पेश गरेको मागहरु आज शनिबार १२ बजेसम्म सरकारले सम्बोधन नगरे सशक्त सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । घर–परिवार छाडेर शिविरमा बस्दा मौलिक अधिकार हनन् भएको र त्यसको क्षतिपूर्ति राज्यले दिनुपर्ने उनीहरुले आवाज उठाएका छन् ।
पत्रकार सम्मेलनमा असन्तुष्ट लडाकुहरुले समायोजनको मोडमा आएर आफ्नै पार्टीले धोका दिएको आरोप लगाए । सातबँुदे सहमतिमै पार्टीले घुडा टेकेर जनमुक्ति सेनाविरुद्ध षडयन्त्र गरेको असन्तुष्ट लडाकूमध्येका बटालियन सहकमाण्डर कवि लामाले बताउनुभयो । जनमुक्ति सेना समग्र समायोजन प्रक्रियाको विधिप्रति असन्तुष्ट रहेको सहकमाण्डर लामाले बताउनुभयो ।
‘ऐतिहासिक परिर्वतनको लागि खेलेको भूमिकाको मूल्याङ्कन नगरी एक दिन उमेर नपुग्दा पनि हाम्रा साथीहरु फालिए’, उहा“को आरोप थियो । ‘धैर्यतालाई कमजोरीको रुपमा लिएर रानजीतिक दल र सरकारले जनमुक्ति सेनाको अस्तित्व मेटाउने षणयन्त्र गरिएको छ’, उहा“ले भन्नुभयो, ‘त्यो हामीलाई कदापि मान्य हुने छैन ।’
विगत तीन दिनदेखि शिविरमा असन्तुष्ट लडाकूका बीच आंशिक रुपमा छनोट प्रक्रिया चल्दै आएपनि शुक्रबार लडाकूहरुले तेस्रो डिभिजनको छनोट प्रक्रियास्थलमै प्रदर्शनसमेत गरेका थिए । समायोजनका नाममा अपमानित तरिकाले भर्ना गर्न लागिएको भन्दै उनीहरुले असहमति जनाएको बताएका छन् ।
अनमिनले प्रमाणित गरेको उमेर, शिक्षालगायतमा अहिले आएर आफूहरुमाथि चरम विभेद भएको सहकमान्डर लामाले बताउनुभयो । अनमिनको प्रमाणीकरणमा भएको शिक्षालाई आधार मान्दै पछिल्लो पटक शिविरमा दुःख गरेर आर्जन गरिएको शिक्षालाई मान्यता नदिएर आफूहलाई अयोग्य सावित गर्न खोजिएको अर्का बटालियन सहायक कमाण्डर रामहरि पराजुलीले बताउनुभयो ।
उहा“ले समायोजनको अन्तिम मोडमा आएर पार्टीले जनमुक्ति सेनाको अस्तित्व मेटाउन खोजेको आरोप पनि लगाउनुभयो । ‘पार्टीले सत्तामा जान जनमुक्ति सेनालाई भ¥याङ बनायो’, सहायक कमाण्डर पराजुलीले भन्नुभयो । सम्मानजनक समायोजन र स्वैच्छिक अवकाशमा जान चाहने लडाकूलाई पटकपटक नभई एकमुष्ट रकम दिनुपर्ने उहा“को भनाइ थियो ।
समायोजन प्रक्रिया रोकिएको विषयमा माओवादी नेतृत्वलाई जानकारी गराएका तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटालाले जानकारी दिनुभयो । उहा“ले पार्टीकै निर्देशनमा छनोट प्रक्रिया रोकिएको बताउनुभयो । समायोजन रोजेर शिविरमा बसेका माओवादी लडाकूको नेपाली सेनामा भर्ना छनौट प्रक्रिया गत बुधबारदेखि सुरू गरिएको थियो ।
देशका सात मुख्य शिविरमा समायोजन रोजेर बसेका ३ हजार १२३ लडाकूमध्ये ६२५ जना चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा रहेका छन् । चैत २८ गते राजनैतिक निर्णयबाट माओवादी लडाकू र शिविरलाई नेपाली सेनाको जिम्मा लगाइएको थियो ।
यसैबीच माओवादी लडाकूहरुको सेनामा समायोजनका लागि सुरू भएको भर्ना छनोट प्रक्रिया मुलुकका सातवटै शिविरमा शुक्रबार स्थगन भएको छ ।
समायोजनका लागि भरेको फाराम सेनाको भर्नाका लागि दलहरुबीच विगतमा भएको सहमति र तोकिएको मापदण्डभन्दा फरक देखिएपछि छनोट प्रक्रिया अचानक स्थगन भएको हो । समायोजनमा जाने कतिपय लडाकूहरुको उमेर मापदण्डभन्दा कम र केहीको बढी देखिएपछि त्यस विषयमा अर्को निर्णय नभएसम्म केही दिनका लागि छनोट प्रक्रिया स्थगन गरेको नेपाली सेनाले जनाएको छ ।
भर्ना छनोटको काम बुधबारदेखि सुरू भएको थियो ।



माओवादी कार्यालयमा सकेट बम फेला 

भरतपुर । माओवादी चितवनको पार्टी कार्यालयमा तीनवटा सकेट बम फेला परेको छ । प्रहरीले बिहानै फेला पारेको सकेट बमलाई शमशेरगण भरतपुरको बम डिष्पोजल टोलीले निष्कृय बनाएको छ ।
भरतपुर व्यारेकका गणपति जोतेन्द्र महतले माओवादी कार्यालयमा फेला परेको बमलाई निष्कृय बनाएको जानकारी दिनुभयो । माओवादी कार्यालयभित्रै रहेको फोहोर फ्याक्ने ठाउँमा सो बम फेला परेको थियो । बम पुरानो भएको बताइएको छ । सो बम कसले राख्यो भन्ने कुरा थाहा हुन सकेको छैन ।
एकीकृत नेकपा माओवादी विभाजनसँगै पार्टी कार्यालयका सम्बन्धमा एमाओवादी र नवगठित नेकपा–माओवादीबीच विवाद उत्पन्न भई झडप भएपछि प्रहरीले अहिले सो कार्यालय नियन्त्रणमा राखेको छ । प्रहरीले सुरक्षा दिइराखेकै बेलामा सो बम फेला परेको हो ।










No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी