Friday, July 6, 2012

दोस्रो बिहे गर्न खोज्ने श्रीमान्लाई श्रीमतीले पकडाइन्

प्रहरीले पक्राउ गरेका अभियुक्त रुपक पाठक ।
भरतपुर । श्रीमान्ले अर्की युवतीलाई बिहे गर्न लागेको आरोपमा कल्याणपुर–७ की २४ वर्षीया उमा सुवेदीले प्रहरीमा उजुरी दिएपछि कल्याणपुर–३ का श्रीमान् रुपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
दाइजो नल्याएको निहुँमा बिहे भएको केही दिनपछि नै सासू गोमा र ससुरा लक्ष्मीप्रसाद पाठकसँग मिलेर श्रीमान्ले मानसिक तथा शारीरिक यातना दिएको भन्दै माइतीमा बसिरहेकी उनले प्रहरीमा न्यायको लागि उजुरी दिएकी हुन् ।
तीन वर्षअगाडि उमासँग बिहे गरेका पाठकले दाइजो नल्याएको भन्दै कुटपिट गरी माइतीबाट सम्पत्ति ल्याउन दबाब दिन थालेको उनको आरोप छ । ‘मलाई दिनहुँ सासू ससुरासँग मिलेर कुटपिट गर्न थाले, घाँटी अँठ्याएर मार्न खोजिरहे’, उनले भनिन् । बिहेको छ महिनासम्म घरमा बसेकी उनले अत्याचार बढ्दै गएपछि माइतीको शरण लिन पुगेको बताइन् ।
‘केही दिन त सहेर बसँे, अति भएपछि के गर्नु, छाड्नुको विकल्प भएन, माइतीकोमा आएर बसँे’, उनले थपिन्, ‘विदेश गएपछि केही कम हुन्छ कि भन्ने सोचेकी थिएँ तर विदेशबाट पनि फोन गरेर धम्काइरहन्थ्यो ।’ श्रीमान्ले विदेशबाट फर्किएपछि थाहै नदिई गौरीगञ्जकी एक युवतीलाई कुमार भएको भन्दै बिहे गर्न थालेकोले प्रहरीको शरणमा पुगेको उमाको भनाइ छ ।
‘गौरीगञ्जकी केटीलाई मेरो बिहे भएको छैन भनेर झुक्याएर बिहे गर्न लागेको रहेछ, थाहा पाएर आफन्तको सहयोगमा पक्राउ गर्न लगाएकी हुँ’, उनले पत्रकारहरुमाझ भनिन्, ‘आजै (शुक्रबार) बिहेको लागि जन्ती आउँदै रहेछन् । अहिले बिहे हुन लागेकी केटीको परिवारसँग मिलेर प्रहरीसम्म आइपुगेँ ।’
अहिले रुपकले बिहे गर्न लागेकी युवती पनि संयोगले उनको आफन्त पर्ने भएको उनले बताइन् । प्रहरीमा आफ्नो उपचार, लालन–पालन र अंश दिलाइ पीडक पतिलाई कारबाहीको लागि भन्दै उनले शुक्रबार नै उजुरी दर्ता गराएकी छन् ।
यता, उनका पति पाठक भने पत्रकारहरुसँग बोल्न चाहेनन् । यसरी २१ औं शताब्दीको युगमा पनि महिलामाथि दाइजो नल्याएको निहुँमा हिंसा भइरहे पनि महिलाअधिकारको पक्षमा मञ्चमा ठूला भाषण गर्नेहरुको औचित्य के रहला ? प्रश्न खडा भएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी