Friday, July 6, 2012

लागूऔषधविरुद्ध एक भएर लाग्नुपर्ने

भरतपुर । लागूऔषध नियन्त्रणका लागि सरोकारवालाहरु एक भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लागूऔषध दुव्र्यसनको क्षेत्रमा काम गर्ने सपोर्ट एण्ड केयरले शुक्रबार भरतपुरमा गरेको लागूऔषधको क्षेत्रमा काम गर्ने संस्था तथा सरोकारवालाहरुबीच भएको समन्वयात्मक बैठकमा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले लागूऔषधको क्षेत्रमा काम गरिराखेका संस्थाहरुले राम्रो काम गरेकोले यसलाई अन्य संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले संस्थाको लागूऔषध प्रयोगकर्ताहरुलाई पुुनस्र्थापना गर्ने काम राम्रो भए पनि त्यसलाई रोक्न दुव्र्यसनमा फस्न दिन नहुने बताउनुभयो ।
‘हामीले कुलतमा फस्न नदिन के गर्न सकिन्छ भन्ने सोच्नुपर्दछ, हाम्रा कार्यक्रमको लक्ष्य युवालाई कुलतमा फस्न नदिनेतर्फ लक्षित हुन जरुरी छ’, उहाँले भन्नुभयो । कार्यक्रममा केन्द्रका निर्देशक दीपक पौडेलले लागूपदार्थबाट मुक्त भएका पूर्व दुव्यसनीहरुलाई आवासीय सुविधासहित व्यावसायिक एवम् रोजगारमूलक सीप प्रदान गर्ने गरेको जानकारी दिनुभयो ।
चितवन जिल्लामा करिब चार हजारको हाराहारीमा लागूपदार्थ दुव्र्यसनी रहेको अनुमान रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म ६९ जना पूर्व दुव्र्यसनीहरुले केन्द्रबाट सेवा लिएको पौडेलको भनाइ छ ।
केन्द्रबाट तालिम लिएका उनीहरुमध्ये चार जना एनजीओमा कार्यरत, २० जना स्वरोजगार, २१ जना समाजमा पुनस्र्थापित, आठ जना अध्ययनमा फर्किएको, सात जना वैदेशिक रोजगारमा रहेको, चार जना पुनस्र्थापना केन्द्रमा स्वयम्सेवकको रुपमा काम गर्दै आएको र पाँच जना पुनः दुव्र्यसनमा फर्केको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै केन्द्रको क्षमता बढाएर जाने योजना रहेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकाल, नेपाल परिवार नियोजन संघका कार्यक्रम अधिकृत बालकृष्ण श्रेष्ठ, साना तथा घरेलु उद्योगका उद्योग अधिकृत बसन्त भट्टराई, नमुना एकीकृतका कार्यक्रम संयोजक विनोदकान्त शर्माले बोल्नुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी