Thursday, April 26, 2012

रकम रोकिँदा संरक्षणको काम प्रभावित

 होमनाथ सापकोटा
सौराहा । निकुञ्ज र जनताबीचको मध्यस्थता गर्ने उद्देश्यले गठन भएका मध्यवर्ती उपभोक्ता समितिहरु झण्डै पा“च महिनाअघिदेखि सुस्ताएका छन् । सरकारले मध्यवर्तीलाई प्रदान गर्दै आएको रकम रोकिएपछि मध्यवर्ती उपभोक्ता समितिहरु सुस्ताएका हुन् ।
संरक्षणमूलक कार्यक्रम संचालन गरेर मध्यवर्तीका बासिन्दालाई संरक्षणमा जागरुक बनाउने मध्यवर्ती उपभोक्ता समितिहरु नै सुस्ताएकाले संरक्षणमा थप जटिलता उत्पन्न हुने संकेत देखिएको वरिष्ठ संरक्षणविद् रामप्रित यादवले बताउनुभयो ।
‘उपभोक्ताको निष्क्रियताले राम्रो संकेत गर्दैन’, उहा“ले भन्नुभयो, ‘समस्या समाधान गरेर संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने तत्कालको आवश्यकता हो । संरक्षणमा उपभोक्ता समितिले ठूलो भूमिका खेलिरहेका छन् । यस्ता निकाय निष्क्रिय पार्ने काम राज्यले पनि गर्नु हँुदैन’, उहा“को भनाइ छ ।
उपभोक्ता समितिहरु सुस्ताएपछि चितवनमा वन्यजन्तु संरक्षणको काम प्रभावित बनेको छ । मध्यवर्तीको अवधारणा सुरू भएपछि चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत चितवन र नवलसरासीमा २२ वटा मध्यवर्ती उपभोक्ता समितिहरु गठन भएका थिए ।
आर्थिक अभावले उपभोक्ता समितिहरु निष्क्रियजस्तै भएकाले संरक्षणको लागि उपभोक्ता समितिहरुले गर्ने सामुदायिक विकास, लक्षित वर्गहरुका लागि आय आर्जनको कार्यक्रम, समुदायमा आधारित संरक्षण शिक्षा, जनचेतनामूलक कार्यक्रमहरु हुन सकेका छैनन् ।
चोरीसिकारीको बढ्दो सक्रियताले वन्यजन्तु संरक्षणको काम निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ । संरक्षणमा आइपर्ने चुनौतीको सामना गर्न मध्यवर्तीका बासिन्दाको सक्रियता उत्तिकै आवश्यक हुने गरेको छ ।
२२ वटा उपभोक्ता समितिमा २२ वटै वन्यजन्तु चोरीसिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति गठन गरिएको छ । उपभोक्ता समितिको आर्थिक सहयोगमा युवा जागरण अभियानले संरक्षणमूलक कार्यक्रम गर्ने गरेका छन् । उपभोक्ता समितिहरु सुस्ताएकाले युवाहरुलाई वन्यजन्तु संरक्षणमा सक्रिय बनाउने र समुदायमा संरक्षणमूलक कार्यक्रम संचालन गर्ने युवा जागरण अभियान पनि निष्क्रिय बनेका छन् ।
‘उपभोक्ता समितिको सहयोगमा हामीले काम गर्ने हो, समितिसँगै पैसा छैन । त्यही भएर कार्ययोजनाअनुसार काम गर्न नसकिएको हो’, युवा जागरण अभियान बछौलीका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो । ‘संरक्षणको लागि निरन्तर समुदायलाई सचेत गराउनु पर्छ, आर्थिक अभावले सचेतनासम्बन्धी कार्यक्रम अहिले रोकिएका छन्’, उहा“ले भन्नुभयो, सरकारले दिने रकम रोकेकाले त्यसको असर युवा जागरण अभियानमा पनि परेको छ ।’
सरकारले चार वर्षदेखि मध्यवर्तीलाई दिनुपर्ने आठ करोड रुपैयाँ रोकेको छ । रकम निकासाको लागि झण्डै तीन महिनाअघि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आन्दोलन गरेको थियो । आन्दोलनपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारीबीच ५० प्रतिशत अर्थात् चार करोड रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो ।
मध्यवर्ती उपभोक्ता समितिले सहमतिअनुसार एक हप्ताभित्र रकम नदिए फेरि आन्दोलन गर्ने तयारी गरेको छ । ‘आर्थिक अभावले सारा संरक्षणसम्बन्धी काम रोकिएका छन्’ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षसमेत रहेका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्य बासुदेव चापागार्इंले भन्नुभयो, ‘मध्यवर्तीका बासिन्दा निष्क्रिय भएको अवस्थामा सिकारीले गैँडा मारे त्यसको दोष राज्यले लिनु पर्छ ।’
‘मध्यवर्तीका हरेक कार्यक्रम गैँडा संरक्षणमा केन्द्रित हुने गरेको भन्दै  उहाँले आर्थिक अभावले कार्यक्रम गर्न नसके संरक्षणमा गम्भीर असर पुग्ने बताउनुभयो । एक हप्ताभित्रमा रकम निकासा नभए आन्दोतल गर्ने तयारी भइरहेको अध्यक्ष चापागाईंले भन्नुभयो । ‘हामी एक हप्ता कुर्छांै, रकम नदिए पहिलाको भन्दा पनि कडा आन्दोलनमा जान्छौं’, उहा“को भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जले सन् २०११ लाई गैँडा संरक्षणमा शून्य चोरीसिकार वर्षको रुपमा मनाएको थियो । तर सन् २०१२ मा भने त्योक्रम कायम हुन सकेन । झण्डै एक महिनाअघि निकुञ्जमा सिकारीले एउटा गैँडा मारेका छन् ।
अबका वर्षहरुलाई पनि शून्य चोरीसिकार वर्षको रुपमा मनाउन सरकारी निकायले संरक्षणमा बाधा पुग्ने कुनैपनि काम गर्न नहुने सरोकारवालाहरुको भनाइ छ । हरेक वर्षलाई शून्य चोरीसिकार वर्षको रुपमा मनाउन मध्यवर्तीलाई सरकारले संरक्षणमूलक कार्यक्रममा रोकावट हुने वातावरण सिर्जना हुन दिन नहुन् अध्यक्ष चापागाईंले बताउनुभयो ।

दुर्घटनामा तीन घाइते

भरतपुर । भरतपुुरको चौबीसकोठीमा बिहीबार भएको मोटरसाइकल  दुर्घटनामा तीन जना घाइते भएका छन् ।
ना.३ ख ९१५० नम्बरको ट्रकले ना.८ प २६९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–९ बस्ने शौभाग्य थापा, ट्रकका चालक देवीलाल कुमाल र सहचालक नन्दलाल सापकोटा घाइते भएका छन् । घाइतेमध्ये थापाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
टेम्पो दुर्घटनामा छ घाइते
हेटाँैडाबाट पूर्व–पश्चिम राजमार्गको लोथर बजारतर्फ जाँदै गरेको ना१त ५६८ नम्बरको टेम्पो नारायणगढतर्फ गइरहेको ना१ख ५४६१ नम्बरको ट्रकसँग बिहीबार मध्याह्न राप्ती पुलनजिक ठोक्किँदा टेम्पोमा सवार नौ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाँकी घाइतेको हेटौँडा अस्पतालमा स्वाथ्योपचार भइरहेको छ । अनुसन्धानका लागि ना१ख ५४६१ को ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।



ब्रिज कोषको विज्ञापन बढी ः अनुगमन शून्य

नारायणगढ । प्रवेशिका परीक्षाको समाप्तीसँगै सहरका गल्लीगल्ली र चोकचोकका पर्खालहरु ब्रिज कोर्ष र प्रवेश परीक्षा तयारी कक्षा पढाउने संस्थाका विज्ञापनले भरिएको पाइन्छ । त्यतिमात्र होइन पत्रपत्रिका, टिभी र रेडियोमा समेत तिनै विज्ञापनले स्थान ओगटेका छन् ।
तिनै विज्ञापनका भरमा आफ्नो भविष्यको गोरेटो कोर्न हिँडेका विद्यार्थीहरु अगाडि बढिरहेका छन् । आफँैमा ब्रिज कोर्ष नराम्रो होइन तर पनि यसलाई जसरी व्यापारको रुपमा अगाडि बढाइएको छ, त्यो भने घातक हुनसक्ने सर्वत्र चर्चाको विषय बनेको छ ।
सरकारले यस्ता संस्थाको अनुगमन गर्नुपर्ने प्याव्सनका केन्द्रीय सदस्य श्रीप्रसाद ढुङ्गानाले बताउनुभयो । ‘बगे्रल्ती खुलेका यस्ता संस्थाले विद्यार्थीलाई कस्तो शिक्षा र कस्तो उत्पादन दिने हुन् त्यसको अनुगमन र छानविन हुनुपर्छ’, उहाँ भन्नुभयो, ‘तर त्यस्तो देखिँदैन सरकार नै मौन छ ।’
‘कतिपय संस्थाहरु विनाइजाजत पनि सञ्चालनमा छन्, कतिको लाइसेन्स छ कतिको छैन, त्यसको अनुगमन नै भएको देखिँदैन । विद्यार्थीहरु पनि विज्ञापनका भरमा डौडिरहेका छन् । के गर्ने यो विज्ञापनकै युग हो’, ज्ञानदर्शन बोर्डिङ् स्कुलका प्राचार्यसमेत रहनुभएका ढुङ्गानाले भन्नुभयो ।
यस्ता संस्थाहरुले राम्रो काम नगरेका भने होइनन् तर पनि यिनीहरुलाई नियममा ल्याउनु जरुरी रहेको उहाँले बताउनुभयो । ‘खाली समयमा विद्यार्थीहरुलाई शैक्षिक गोरेटोमा हिँडाउन सहयोग गरिरहेका छन्, केही नयाँ ज्ञान पनि थपिदिएका छन्’, ढुङ्गानाले भन्नुभयो ।
विद्यार्थीहरु खाली समयमा गलत क्रियाकलाममा समावेश हुनपनि सक्थे, त्यो नियन्त्रण गर्न यस्ता संस्थाले सहयोग गरिरहेको उहाँको भनाइ थियो । यता,  यस्ता संस्थाले भविष्यको अन्यौल गोरेटोलाई मत्थर पार्न साथ दिएको विद्यार्थीहरुको भनाइ छ ।
तनहूँबाट कृषि अध्ययनका लागि प्रवेश परीक्षाको तयारीका लागि आएकी सुशीला गुरुङ भन्छिन्, ‘एसएलसी त राम्रो भएको छ, कृषि पढ्न तयारीका लागि कोठा भाडामा लिएर बसेकी छु ।’ विज्ञापनका भरमा धेरै संस्था चहारेको उनको अनुभव छ । ‘अनेक विज्ञापन गरेका छन् तैपनि राम्रो छान्नु प¥यो नि’ उनले भनिन् ।
विद्यार्थीहरुलाई विज्ञापनभन्दा पनि गुणस्तर हेरेर संस्था रोज्न आग्रह गर्नुहुन्छ शिक्षक नवराज पाण्डे । ‘विज्ञापन होइन, गुणस्तर र आफूले के पढ्न चाहेको हो, विषय हेरेर विद्यार्थीले पढ्ने स्थानको छनोट गर्नु पर्दछ’ उहाँले भन्नुभयो ।
यता, यस्ता संस्थाहरु कति छन् भन्ने तथ्याङ्क न त सरकारी निकायसँग छ न यिनको अनुगमनमा ध्यान पु¥याउन सकेको देखिन्छ । विद्यालय तथा शिक्षा क्षेत्रको अभिभावक भनिने जिल्ला शिक्षा कार्यालयसँग पनि यस्ता कति संस्थाहरु छन् यकिन तथ्याङ्क छैन । अनुगमनका कुनै पनि कार्यक्रम नभएको कार्यालयले जनाएको छ ।


पूर्वरक्षामन्त्रीलाई हेलिप्याड उद्घाटनमा रोक

गैँडाकोट । नवलपरासीको गैँडाकोट–१ मा निर्माण गरिएको मौलाकालिका हेलिप्याडको पूर्वरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । जिल्लामा रहेका छ राजनीतिक पार्टीले मन्दिर समितिलाई बुझाएको सजगतापत्रका कारण सो कार्यक्रम स्थगित गरिएको हो ।
गँैडाकोटमा रहेका राजनीतिक दलको आग्रहअनुसार तत्कालका लागि उद्घाटन कार्यक्रम स्थगित गरिएको धार्मिक सेवा समितिले जनाएको छ । समितिका अध्यक्ष विष्णुहरि रिमालले बिहीबार जारी गरेको विज्ञप्तिमा मन्दिरको परिपाटीअनुसार सहयोग गर्ने पूर्वरक्षामन्त्री शरतसिंह भण्डारीलाई उद्घाटन गर्न बोलाइए पनि दलहरुको आग्रहपछि तत्कालका लागि स्थगित गएिको जनाइएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर आगामी शनिबार मौलाकालिका हेलिप्याडको उद्घाटन गर्ने तयारी गरेको थियो । यसअधि गैँडाकोटका राजनीतिक दलहरुले मधेशका २२ जिल्ला टुक्र्याउने अभिव्यक्ति दिएर मन्त्री पदबाट हटाइएका व्यक्तिले हेलिप्याडको उद्घाटन गर्ने अधिकार नरहेको भन्दै बिरोध गरेका थिए ।
नवलपरासीमा रहेका छवटा राजनीतिक दल तथा नेपाल आदिवासी जनजाति महासंघले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी मधेश टुक्र्याउने अभिव्यक्ति दिई मन्त्री पदबाट बर्खास्त भएका भण्डारीले मन्दिरजस्तो धार्मिक र सामाजिक मह¤व बोकेको संस्थाको उद्घाटन गराउन नहुने तर्फ मन्दिरलाई सजग बनाएको बताएका छन् ।
विज्ञप्ति जारी गर्ने छ दलहरुमा एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राजमो, राप्रपा नेपाल र जनमुक्ति पार्टी रहेका छन् ।


बायो ब्रिकेट निर्माण तालिम सकियो

पटिहानी । पश्चिम चितवनको पटिहानी–१ बोटेटोलमा संचालित तीन दिने बायो ब्रिकेट निर्माण तालिम बिहीबार सकिएको छ ।
वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा संचालित सो तालिम बिहीबार एक कार्यक्रमका बीच समापन भएको हो । बोटेटोलका बोटे समुदायलाई लक्षित गरी संचालित सो तालिममा स्थानीय २६ जना बोटेहरुको सहभागिता रहेको थियो । तालिममा मौसम खनालले प्रशिक्षण दिनुभएको थियो ।
सोही अवसरमा निर्माण सामग्री संघका कार्यक्रम अधिकृत नवीन वैद्यले राप्ती आयआर्जन समितिकी प्रतिनिधि विना बोटेलाई बायो ब्रिकेट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वन्यजन्तु संरक्षण संघ चितवन शाखाका संयोजक रामचन्द्र अधिकारीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


क्षितीशजयन्तीमा सत्सङ्ग समारोह

नारायणगढ । अद्वैत संस्था संरक्षण मञ्च नेपालद्वारा आद्य गुरू शंकराचार्य जयन्ती एवम् ब्रह्मज्ञानी श्रीगुरुदेव डा. क्षितीशचन्द्र चक्रवर्तीज्यूको ११४ औं जन्मजयन्तीको उपलक्ष्यमा पाँच दिने क्षितीशजयन्ती बृहत् सत्संग समारोह सम्पन्न भएको छ ।
समारोहको प्रमुख अतिथि जनकपुर एवम् बराहक्षेत्र पीठाधीश जगद्गुरू शान्तमूर्ति हस्तामलक सरस्वतीले उद्घाटन गर्नुभएको थियो ।
अद्वैत संस्था संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ऋषिराम सरस्वतीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बाह्मण वर्गबाट वैदिक स्वस्तिवाचन, पवित्रादेवी घिमिरेबाट गुरूवन्दना, रत्नप्रसाद श्रेष्ठबाट गुरूदेवको जयगान र प्रेमराज राजभण्डारीबाट स्वागत मन्तव्य प्रस्तुत भएको थियो ।


मेलमिलापकर्ताहरु छनौट

नारायणगढ । सुशासन तथा विकास प्रतिष्ठानको आयोजनामा र बघौडा गाविसको समन्वयमा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गर्नको लागि बिहीबार मेलमिलापकर्ताहरु छनौट भएको छ ।
भूपू गाविस अध्यक्ष भवानीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बघौडा गाविस सचिव यज्ञप्रसाद कोइराला, आईजीडीका जिल्ला संयोजक बन्धुराज पौडेल रहनुभएको थियो । कार्यक्रमको सहजीकरण कविता अधिकारीले गर्नुभएको थियो ।


फुटबलको उपाधि पुरानो पर्सालाई

पर्सा । स्वर्णतारा युवा क्लब पर्साको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि खैरहनी–६ पुरानो पर्साले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा डा“फे युवा क्लब मझुई खैरहनीलाई २—० गोल अन्तरले पराजित गदै पुरानो पर्साले उपाधि जितेको हो । खेलको ‘म्यान अफ दि म्याच’ कृष्ण श्रेष्ठ भएका छन् ।
प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ लोकबहादुर पुन हुनुभएको छ । यस्तै अनुशासित टिमको रुपमा खैरहनी–४ पुरस्कृत भएको छ ।
यसैबीच क्लबको २८ औ वार्षिकोत्सवअन्तर्गत भएका अन्य खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा समूहलाई पनि बिहीबारै पुरस्कार वितरण गरिएको छ । क्लबले वार्षिकोत्सवको अवसरमा बैशाख ८ गतेदेखि नै विभिन्न प्रतियोगिता संचालन गरेको थियो ।
साइकल स्लो रेसमा अविरल भण्डारी, मोटरसाइकल स्लो रेसमा अनिल श्रेष्ठ, गोरा जम्पमा महिलातर्फ आचल गिरी, पुरूषतर्फ रोशन अन्सारी प्रथम भएका छन् ।
यस्तै म्युजिकल चियर पुरूषतर्फ दिपेश बतौला, महिलातर्फ ललिता श्रेष्ठ प्रथभ भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा नेपाल आदर्श विद्या सदन, डोरी तान्ने प्रतियोगितामा खैरहनी–४ नयाँरोड समूह प्रथम भएको छ ।


Wednesday, April 25, 2012

नेपाली काँग्रेस चितवनमा चरम विवाद , एक अर्काे पक्षबीच आरोप प्रत्यारोप

  भरतपुर । ‘सभापतिज्यू तपाइँ सर्वमान्य नेता बन्ने हो भने पार्टी सभापतिबाट राजीनामा दिएर पार्टीलाई निकास दिनुस्’, काँग्रेस चितवनका सचिव देवेन्द्र गुरुङले नारायणी कला मन्दिरमा बुधबार आयोजित कार्यक्रमममा बोल्दै गर्दा आफ्नै सभापति विकास कोइरालालाई भन्दै हुनुहुन्थ्यो, ‘तपाइँले पार्टीलाई एक बनाएर लैजान सक्नु भएन । अब पार्टी बलियो बनाउने हो भने तपाइँको राजीनामाको विकल्प छैन । स्वतःफुर्त राजीनामा दिनूस् । पार्टीको अवरोध नबन्नुस् ।’
काँग्रेस चितवनभित्र विवाद चर्कदै गएका बेला अहिले काँग्रेसले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न थालेका छन् । सभापति कोइरालाभन्दा फरक मत राख्नेहरुले काँग्रेस चितवनको व्यानर राखेर नारायणी कला मन्दिरमा कार्यक्रम आयोजना गरेको हो ।
नेपाल तरुण दल चितवनका अध्यक्ष भएकै बेला हत्या भएका शिव पौडेललाई मरणोपरान्त सम्मान तथा जेलमुक्त भएका तरुण नेता कार्यकर्ताहरुको स्वागतमा काँग्रेसले सो कार्यक्रम आयोजना गरेको हो । तर सो कार्यक्रममा सभापति कोइरालासहित उहाँ निकटका काँग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थिएन ।
यसअघि बैशाख ११ गते परेको लोकतन्त्र दिवसको अवसरमा सभापति कोइरालानिकट काँग्रेस चितवनको आयोजनामा द्वन्द्वकालमा माओवादीद्वारा हत्या गरिएका काँग्रेस कार्यकर्ताहरुको परिवारलाई सम्मान कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सचिव गुरुङसहित फरक मत राख्नेहरुको सहभागिता रहेको थिएन ।
तर दुबै कार्यक्रममा बोल्ने काँग्रेस नेता कार्यकर्ताहरुले काँग्रेस मिल्नुको विकल्प नभएको बताउँदै गर्दा कार्यक्रममा पक्ष विपक्षमा लाग्नेहरुले भने एक अर्कोलाई आरोप प्रत्यारोप गर्न पनि पछि परेका थिएनन् ।
‘काँग्रेसलाई बलियो बनाउने हो भने पहिला पार्टीभित्रको विवाद मिलाउनु पर्छ’, दुबै कार्यक्रममा सहभागी हुनुभएका प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठले भन्नुभयो । उहाँले समस्याको समाधान खोज्नका लागि पहिला सबैले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
श्रेष्ठ बुधबारको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो भने सोमबारको कार्यक्रममा विशेष अतिथि हुनुहुन्थ्यो । काँग्रेसले अहिले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । एक पक्षले अर्काे पक्षलाई कार्यक्रममा निम्तो दिएको भए पनि कार्यक्रममा नआएको प्रतिक्रिया पनि दिने गरेका छन् ।
काँग्रेसभित्रको विवादका कारण लामो समयदेखि जिल्ला कार्यसमितिले बिस्तार पाउन सकेको छैन भने विभागहरु पनि पार्टीले निर्माण गर्न र जिम्मेवारी दिन सकेको छैन । यतिसम्म कि विवादकै कारण काँग्रेसको जिल्ला समितिको बैठकसमेत बस्न नसकेको अवस्था छ ।
‘एउटै पार्टी दुई कार्यनीति लिएको माओवादीले त आफ्नो कार्यक्रम लिएर एकै दिन दुईवटा कार्यक्रम गरेका हुन् तर काँग्रेसले एउटै नीति लिएर पनि कुर्चीमोहले आफ्नै ढङ्बाट अगाडि बढेका हुन्’, काँग्रेसनिकट एक प्राध्यापकले चितवन पोष्टसँग भने, ‘जित्नेहरुमा अहम्को मोह र हार्नेहरुले हार स्वीकार गर्न नसक्दा अहिले पार्टीभित्र विवाद चरमोत्कर्षमा पुगेको हो ।’
जिल्लाको पार्टी संस्थापन पक्ष पनि १२ आंै महाधिवेशनमा हार नस्वीकार्ने पक्षबाटै पार्टी नेतृत्वलाई असफल बनाउन खेल खेलिएको टिप्पणी गरिरहेको छ । सोमबारको कार्यक्रममा बोल्ने संस्थापन पक्षका जिल्लास्तरीय नेता कार्यकर्ताले पनि यो कुरालाई जोड दिइरहेका थिए ।
कार्यक्रममा बोल्नेक्रममा सभापति कोइरालाले त आफूले के गल्ती गरेका कारण पार्टीभित्र विवाद बढेको हो भन्ने सम्बन्धमा अनभिज्ञता प्रकट गर्दै हुनुहुन्थ्यो ।
‘मैले गल्ती के गरेँ त्यो थाहा पाउनु पर्छ’, कोइरालाले भन्नुभएको थियो । पार्टीभित्रको विवाद आ–आफ्नो ढङ्गको होला । आफ्नै परिभाषाहरु पनि होलान् तर सामान्य काँग्रेस कार्यकर्ताहरु भने पार्टीभित्रको विवाद मिलाउन माग गर्छन् । भन्छन्, ‘पार्टी बचाउने हो भने अब झगडा हैन, मिलेर अगाडि बढ्नुस् । विवाद र झगडा हैन, कार्यकर्ताको भावनाअनुसार चल्नुस् ।’

पौडेललाई मरणोपरान्त सम्मान

नारायणगढ । नेपाली काँग्रेस चितवनले बुधबार एक कार्यक्रमको आयोजना गरी नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेललाई मरणोपरान्त सम्मान गरेको छ ।
नारायणगढमा आयोजित एक कार्यक्रममा पौडेल पत्नी विनु पौडेललाई सो सम्मानपत्र प्रदान गरिएको हो । सो अवसरमा कारागारबाट छुट्कारा पाएका तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राईलगायतकालाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।
सरकारको निर्णयअनुसार अदालतले मुद्दा फिर्ता लिएका १२ जना काठमाडांैबाट छुटेर बुधबारमात्रै चितवन आएका हुन् । जिल्ला सचिव देवेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ, पूर्वसांसद जगन्नाथ पौडेल, विनु पौडेल, प्रमिश राई, सरिता केसी, सुवोध प्रधान, निर्मलकुमार श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

गैँडाकोट प्रहरीद्वारा पाँच हजार अवैध मदिरा नष्ट


गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले विभिन्न समयमा बरामद गरेको करिब पाँच हजार लिटरभन्दा बढी परिमाणको मदिरा नष्ट गरेको छ ।
कार्यालय परिसरमा स्थानीय समाजसेवी तथा पत्रकारहरुको माझमा सो परिमाण बराबरको मदिरा नष्ट गरिएको हो । १५ दिनभित्रमा बरामद गरिएको ३० देखि ५० लिटर परिमाणका १४८ ग्यालिन मदिरा नष्ट गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी गराउनुभयो ।
उहाँका अनुसार गैँडाकोट क्षेत्रबाट विभिन्न समयमा चितवन जिल्लाका विभिन्न स्थानमा निकासीका लागि लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो । गैँडाकोट तथा मुकुन्दपुर गाविसका विभिन्न स्थानबाट मदिरा मरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
‘अवैध रुपमा उत्पादन गरी निकासीका लागि लैजाँदै गर्दा मदिरा नियन्त्रणमा लिइएको हो’, उहाँले भन्नुभयो । स्थानीयस्तरमा मदिराको उत्पादन र बिक्रीवितरण बढेपछि नियन्त्रणमा लिन अभियान नै सञ्चालन गरेको उहाँको भनाइ थियो ।
गैँडाकोट गाविसको ढोडेनीमा अधिकांश मदिरा उत्पादन हुने गरेको बताउँदै त्यसलाई नियन्त्रणमा लिन अभियानलाई अझ सशक्त रुपमा अगाडि लैजाने पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मदिरा नियन्त्रण गर्न स्थानीयको सहयोग आवश्यक छ, तर पनि स्थानीय राजनीतिक दल तथा नागरिक समाजको साथ पाएका छैनौँ ।’
यसैबीच गँैडाकोट गाविसदेखि चितवनका विभिन्न स्थान तथा तनहूँको देवघाट क्षेत्रमा समेत मदिराको निकासी भइरहेको बताउँदै तनहूँतिरको निकासीलाई पनि नियन्त्रणमा लिइने प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । कतिपय स्थानीयवासी मदिरा उत्पादन र बिक्रीमा नै आश्रित भएकाले पनि कमी आउन नसकेको उहाँको भनाइ थियो ।
‘कतिपय परिवार त वैकल्पिक रोजगारको व्यवस्था गरिदिन माग गर्दै पनि आएका छन्, हामीले सरकारी निकायसँग माग राख्नुस् भनेर फर्काउने गरेका छौँ’, पाण्डेयले भन्नुभयो । त्यस्तै प्रहरीले गैँडाकोट क्षेत्रमा मापसे नियन्त्रण अभियानलाई पनि सशक्त ढङ्गले अगाडि बढाएको कार्यालयले जनाएको छ ।
अभियानअन्तर्गत अहिलेसम्ममा कार्यालयले २५ हजार राजस्व संकलन गरेको जनाएको छ । विभिन्न मितिमा मापसे नियन्त्रण अभियानअन्तर्गत गरिएको चेकजाँचका क्रममा २५ जना कारबाहस्मा परेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय भरतपुरले पनि १४० लिटर अवैध मदिरा नियन्त्रणमा लिई बुधबार नै नष्ट गरेको छ । कार्यालयले मंगलबार नारायणगढ तथा भरतपुरका विभिन्न होटलबाट सो परिमाणको मदिरा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताउनुभयो ।
अवैधरुपमा बिक्रीवितरण गर्ने मदिरा कुनै पनि हालतमा नियन्त्रण गरिछाड्ने उहाँले बताउनुभयो ।

चोरिएका मोटरसाइकल धनीलाई फिर्ता

भरतपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा चोरी गरी चितवन भित्र्याइएका तीनवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
यसरी बरामद गरिएका मोटरसाइकलहरुमा काठमाडांै नयाँवानेश्वर थापागाउँबाट २०६८ फागुन १० गते राति हराएको सुजन बस्नेतको बा.४७प ६६३१ नम्बरको ‘आर वान फाइभ’, काठमाडौं सुविधानगरबाट २०६८ मंसिरमा  १२ गते राति हराएको सुुजन अर्यालको बा.४८प १९४८ नम्बरको ‘आर वान फाइभ’, तथा धादिङ बैरेनीबाट २०६८ चैत्र १९ गते हराएको दिलमान श्रेष्ठको बा.४७ प १३७१ नम्बरकोे कालो पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
कालो पल्सरसँगै रनपा १३ चितवनका सुजन अर्याललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
बरामद गरिएका मोटरसाइकलमा नक्कली नम्बर राखी प्रयोग गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकलमा क्रमशः ना.१८प १२८७, ना.१९प ८७८४ र ना.१९प ८७७४ नक्कली राखी प्रयोगमा ल्याइएको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो ।
बरामद गरिएका मोटरसाइकललाई सम्बन्धित सवारी धनीलाई बुधबार नै फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल माओवादी जनसेनाका लडाकूबाट लिएको पक्राउ परेका सुजन अर्यालले बताएका छन् ।

स्वरोजगार व्यवसायीद्वारा आन्दोलन घोषणा

भरतपुर । आफूहरुलाई विनाविकल्प हटाइएको भन्दै भरतपुर नगरपालिकाका फुटपाथ व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति नारायणगढले बुधबार पत्रकार सम्मेलन गरी आगामी १५ गतेदेखि २५ गतेसम्म गरिने विरोधका कार्यक्रमबारे जानकारी गराएको हो । समितिले चितवन बन्द गर्नेसम्मको कार्यक्रम तय गरेको छ ।
१५ गते नगरपालिका कार्यालयमा र १७ गते प्रशासन कार्यलयमा धर्ना दिने बताएकोे संघर्ष समितिले १९ गते खुद्रा तथा थोक व्यापार बन्द गर्ने घोषणा गरेको छ । यस्तै २२ गते कोणसभा, २३ गते पुलचोकमा चक्काजाम, २४ गते फुटपाथमै व्यवसाय संचालन गर्ने  र २५ गते चितवन बन्द गर्ने, संघर्ष समितिले बताएको छ ।
गत चैत १ गतेबाट थालिएको बजार व्यवस्थापन अभियानअन्तर्गत फुटपाथ व्यवसायीहरुलाई हटाइएको थियो ।


विविध कार्यक्रम गरी औलो दिवस मनाइयो

विविध कार्यक्रम गरी औलो दिवस मनाइयो
भरतपुर ।  विश्व औलो दिवस, ‘उपलब्धि जोगाउँदै जीवन रक्षा गर्न औलोमा लगानी गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी बुधबार मनाइएको छ ।
दिवसको अवसरमा विभिन्न संघसंस्थाले जनचेतनामूलक ¥याली, गोष्ठीलगायतका कार्यक्रम गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००७ अप्रिल २५ देखि विश्व औलो दिवस मनाउन थालिएको हो ।
नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिए पनि बर्सेनि करिब तीन हजार औलो रोगी भेटिने गरेका छन्  । नेपालको तराई क्षेत्रका १३ जिल्ला औलोको उच्च जोखिममा छन्  ।
सङ्क्रमित एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइले लाग्ने यो रोगबाट गर्भवती र पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । औलो रोगको मुख्य लक्षण एक दिन बिराएर कामज्वरो आउनु हो ।
स्वास्थ्य मन्त्रालयले सन् २०१६ सम्म हालको औलो रोग सर्नेे दर ९० प्रतिशतले घटाउने र सन् २०२६ सम्म नेपाललाई औलो उन्मूलन राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ । नेपालमा खुला सिमानाबाट आयातित औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभावी प्रयोग र आवश्यक कानुनको अभाव औलो उन्मूलनका प्रमुख चुनौती रहेका छन् ।
यसै दिवसको सन्दर्भमा पत्रकार सम्मेलन गरी जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा औलो रोगीको संख्या घट्दै गएको जानकारी गराएको छ । जनचेतना र लामखुट्टे नियन्त्रणको अभियान प्रभावकारी भएपछि चितवनमा औलो रोगको संक्रमण कम गर्न सकिएको हो ।
औलो दिवसका अवसरमै बुधबार भरतपुरमा जनचेतनामूलक ¥यालीसमेत आयोजना गरियो ।


सम्मेलनमा जानकारी दिनुभयो ।

सामुदायिक सभा भवन निर्माणार्थ कन्सर्ट 
चनौली । चितवनको पश्चिम क्षेत्र गुञ्जनगर गाविस चनौलीमा सामुदायिक सभा भवन निमाणार्थ यही बैशाख ३० गते लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।
चनौली बजार व्यवस्थापन समिति चनौली गुञ्जनगरको आयोजनामा हुन लागेको कन्सर्टमा नेपाली मूलका भारतीय गायक तथा इण्डियन आइडल तेस्रो संस्करणका विजेता प्रशान्त तामाङका साथै नेपाली राष्ट्रिय कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम संयोजक दीपक लामाले बुधबार आयोजित पत्रकार गाविसमा विभिन्न कार्यक्रम भइरहने तथा कार्यक्रमस्थलको अभाव चनौलीवासीले सधँै भोगिरहनु पर्ने बाध्यताका कारण पनि भवन निर्माण गर्न अपरिहार्य ठानी कन्सर्टको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । कन्सर्टमा तामाङका साथै दि एक्स व्याण्ड, डीजे तेञ्जिङ शेर्पालगायतको प्रस्तुती रहने प्रचारप्रसार संयोजक विष्णु ढकालले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न गर्नका निम्ति दीपक लामाको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन गर्नुका साथै आर्थिक, स्वयम्सेवक, महिला परिचालन तथा स्वागत उपसमितिहरु समेत गठन गरिएको ढकालले जानकारी दिनुभयो ।
कन्सर्टबाट २५ लाख रुपैयाँ बराबर संकलन गर्ने लक्ष्य राखिएको आर्थिक समितिका संयोजक होमराज रेग्मीले बताउनुभायो । उहाँका अनुसार १ हजार रुपैयाँका १ हजार थान, तथा २०० रुपैयाँका ११ हजार टिकट बिक्री गरिने जानकारी दिनुभयो ।
त्यस्तै कन्सर्ट सम्पन्न गर्नका लागि करिब पाँच लाख रुपैया खर्च हुने अनुमान गरिएको रेग्मीले बताउनुभयो । केही वर्षअगाडि महायज्ञ सञ्चालन गरी किनिएको दस कठ्ठा जग्गामा भवन निर्माण गरिने समितिले जनाएको छ ।
चनौली बजार आपैmँमा ऐतिहासिक र सांस्कृतिक स्थान भएको बताउँदै बजार व्यवस्थापन समितिका अध्यक्ष गौतमराज पोखरेलले जनकविकेशरी धर्मराज थापाले चनौली बजारकै बारेमा गीत रचेको बताउनुभयो । कन्सर्ट सफल पार्नका निम्ति जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध गरिदिन अनुरोध गरिएको उहाँको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीको परिचालन गरिने स्थानीय चनौली प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भानुभक्त आचार्यले जानकारी दिनुभयो । स्थानीय युवा र प्रहरीको सहकार्यमा सुरक्षा राम्रो प्रबन्ध मिलाइने उहाँको भनाइ थियो ।


Tuesday, April 24, 2012

कति बस्ने बुर्काभित्र ः

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति चितवनले मंगलबार जिल्ला प्रशासन कार्यालय भरतपुरमा धर्ना दिने क्रममा नारा लगाइरहेकी एक मुस्लिम महिला । फोटोः विधुर ढकाल,

२० माइक्रोन तलका झोला प्रयोगमा रोक

नारायणगढ । साउन १ गतेबाट भरतपुर नगरपालिकाभित्र २० माइक्रोन भन्दा कम गुणस्तरका प्लाष्टिकका झोला प्रयोग गर्न नपाइने भएको छ ।  प्लाष्टिकको झोला नियमन तथा नियन्त्रण निर्देशिका–२०६८ को कार्यान्वयन गर्न यो नयाँ व्यवस्था लागू गर्न लागिएको हो ।
भरतपुर नगरपालिकाले आयोजना गरेको सरोकार निकायहरुबीचको छलफलले पनि २० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला पूनः प्रयोग गर्न नसकिने भएकाले पनि त्यो रोक्न सहमत भएका हुन् ।
‘साउनबाटै मापदण्ड बाहिरका प्लाष्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय भयो’, भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत रामजीप्रसाद बरालले भन्नुभयो । यस्तै प्लाष्टिकको प्रयोगका बारेमा अनुगमन गर्न नगर पालिकाका कार्यकारी अधिकृत बरालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, प्लाष्टिक व्यवसायी संघ चितवन, उद्योग वाणिज्य संघ चितवन, घरेलु तथा साना उद्योग कार्यालय र नागरिक समाज चितवनको सहभागिता रहने गरी अनुगमन समिति समेत गठन गरिएको छ ।
यस्तै प्लाष्टिकको पुनः प्रयोग गर्नका लागि आवश्यक प्लान्ट निर्माणका लागि नगरपालिकाले नै सम्बन्धित व्यवसायीहरुलाई जग्गा उपलब्ध गराउने पनि कार्यक्रममा जानकारी दिइयो ।

‘प्लाष्टिकले मानव स्वास्थ्यमा गम्भीर समस्या’

गत वर्ष भएको चितवन बन्दको क्रममा नारायणगढ बजारमा थुप्रिएको फोहोर । फोहोरको थुप्रोमा अधिकांश प्लाष्टिकजन्य वस्तुहरु छन् ।


 भरतपुर । प्लाष्टिक निर्माणका लागि प्रयोगमा ल्याइने रासायनिक तत्व क्रोमियम र कप्परले मानिसलाई क्यान्सरसम्म हुने भएकाले प्लाष्टिक जथाभावी फाल्न नहुने बताइएको छ ।
भरतपुर नगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले जथाभावी फालिएका प्लाष्टिकहरुलाई व्यवस्थित ढङ्गबाट नष्ट गर्न आग्रहसमेत गरेका थिए । 
वातावरणीय इन्जिनियर शालिग्राम पौडेलले जथाभावी फालिएका प्लाष्टिकले ढलहरु पुरिने, जीवजन्तुले खाने गरेकाले गम्भीर असर पर्ने बताउनुभयो । ‘प्लाष्टिक नकुहिने वस्तु हो, यसले गम्भीर असर गर्छ । बिरुवाको जरामा प¥यो भने यसले बिरुवा हुर्कन रोकी मारिदिन्छ’, उहाँले भन्नुभयो, ‘जीवजन्तु र प्रकृति सबैलाई असर गर्ने भएकाले पनि प्लाष्टिकको जथाभावी प्रयोग रोक्नु पर्छ ।’
फोहोर व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि क्रियाशील मेघनाथ अधिकारीले गम्भीर समस्या हुने सवालमा सामुदायिक स्तरबाट बहस हुन नसकेको बताउनुभयो । ‘प्लाष्टिकले जीव तथा जैविक क्षेत्रमा नकरात्मक प्रभाव पार्छ’,उहाँले भन्नुभयो, ‘यो फाल्दा पनि समस्या नै छ, पोल्दा वा गाड्दा पनि समस्या छ ।’
अत्यावश्यक अवस्थामा प्रयोग गर्ने र त्यसलाई पुनः प्रयोग वा प्रशोधन गर्ने गरेमा पनि प्लाष्टिकजन्य फोहोर नियन्त्रण गर्न सकिने उहाँको तर्क छ ।
भरतपुर नगरपालिकामा मात्रै हरेक दिन २० टन घरेलु फोहोर निस्कन्छ । जसमध्ये ७० प्रतिशत कुहिने खालका छन् भने ३० प्रतिशत नकुहिने खालका छन् । नकुहिने फोहोरमध्येमा पनि झण्डै साढे आठ प्रतिशत प्लाष्टिकजन्य फोहोर रहेको भरतपुर नगरपालिकाले जनाएको छ ।  
प्लाष्टिकको झोला नियमन तथा नियन्त्रण गर्नका लागि २०६८ मै निर्देशिका बनेर कार्यान्वयनमा आएको छ, तर चितवनमा यो लागू भएको छैन । यो ऐन लागू नहँुदा अहिले जथाभावी रुपमा फालिएका र प्रयोगमा ल्याइएका प्लाष्टिकले वातवरणीय प्रभाव त पारेको छ नै यसले मानवीय स्वास्थ्यमा पनि गम्भीर असर गरेको छ । 
ऐनले पनि प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा नियन्त्रणको जिम्मेवारी स्थानीय निकायलाई छ, तर भरतपुर नगरपालिकाले यसको कार्यान्वयन गर्न सकेको छैन । नगरपालिकामा सरसफाइ तथा वातावरण कार्यक्रम हेर्ने इञ्जिनियर विराट घिमिरेले दण्ड लगाएर मात्रै नियन्त्रण गर्नेतर्फ नगरपालिका नलागेको बताउनुभयो ।
‘नगरवासीले आफँै आफ्नो बानीमा सुधार ल्याएर प्लाष्टिक प्रयोगमा कमी ल्याए भने मात्रै पनि समस्याको समाधान त निस्कने छ नि !’ उहाँले भन्नुभयो । प्लाष्टिक व्यवसायी संघका अध्यक्ष राजेन्द्र ओलीले प्लाष्टिक समस्याभन्दा पनि यसको व्यवस्थापन समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्लाष्टिकको ‘मिसयुज’ घटाऊ र ‘रियुज’ बढाऊ ।’

पहिचान सुनिश्चितताको माग गर्दै प्रशासनमा

भरतपुर । राज्य पुनर्संरचना एवम् संविधान निर्माण गर्दा आफूहरुको पहिचान सुनिश्चितताको माग गर्दै मंगलबार दुई छुट्टाछुट्टै समुदायले जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका छन् । उनीहरुले धर्ना दिँदा जिल्ला प्रशासन कार्यालय चितवनमा काम गर्न आएका सर्वसाधारणले कठिनाइ भोग्नु परेको थियो ।
संविधान जारी हुने मिति जेठ १४ नजिकिँदै गर्दा आफ्ना मागलाई संविधानमा सुनिश्चितताका लागि विभिन्न समुदायहरु आन्दोलित भइरहँदा चितवनका ब्राह्मण तथा मुस्लिम समुदाय पनि आन्दोलित भएका हुन् । उनीहरुले मंगलबार छुट्टाछुट्टै रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै कार्यालयमार्फत नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउन गएका ब्राह्मण समाज चितवनका प्रतिनिधिले अपरान्ह १२ बजेदेखि दुई बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । त्यसलगत्तै गेटबाहिर धर्नाका लागि कुरेर बसेका मुस्लिम समुदायका प्रतिनिधिहरुले धर्ना दिँदा सेवाग्राहीहरु कठिनाई बेहोर्न बाध्य भएका हुन् ।
माडीबाट नागरिकताको प्रतिलिपि बनाउन आएका कुमार थापाले भने, ‘जनतालाई कति दुःख दिन जानेका हुन्, यिनीहरुले आफ्नो काम पनि गर्दैनन् अरुलाई पनि गर्न दिँदैनन् ।’ उनीजस्ता कार्यालयमा काम गराउन आएका धेरैको भनाइ उस्तै थियो ।
यता, संविधान निर्माणमा आफ्ना माग सुनुवाइ नभएपछि बाध्य भएर यस्तो गर्नु परेको आन्दोलनरत पक्षहरुको भनाइ छ । अझ यी दुबै पक्षहरुले आन्दोलनलाई चक्काजाम र बन्दसम्म लैजाने घोषणासमेत गरिसकेका छन् ।
ब्राह्मण समाजले बहुसंख्यक खस ब्राह्मणलाई अन्यमा राखेर विभेद गरेकोले आदिवासीको रुपमा सूचीकृत गर्नुपर्ने तथा जातीय आधारमा संघीय एकाइ निर्माण गर्न नहुने भन्दै आन्दोलन गरिरहेको छ ।
त्यस्तै मुस्लिम समुदायले मुस्लिमलाई सरकारले मधेसी मुस्लिम र पहाडिया मुस्लिमलाई अन्यमा राखेको भन्दै दुबैलाई एकै रुपमा राख्नुपर्ने माग गरेको छ ।
सो अवसरमा ब्राह्मण समाज नेपाल चितवनका अध्यक्ष काशीनाथ पौडेल तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति चितवनका संयोजक सलिम महम्मद सेखले सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाघको आक्रमणबाट मृत्यु

भरतपुर । पश्चिम चितवनको मेघौली गाविस–२ पटिहानीघाटको कंगाहामा बाघको आक्रमणबाट मंगलबार एक महिलाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सदावहार सामुदायिक वनभित्र घाँस दाउरा लिन गएका समयमा बाघले आक्रमण गर्दा मेघौली–५ की ३५ वर्षीया राधिका भण्डारीको मृत्यु भएको हो । बाघको आक्रमणबाट भण्डारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सोमबार पश्चिम चितवनको पटिहानी–१ मा गैंडाको आक्रमणबाट ७८ वर्षीय नरबहादुर मगरको मृत्यु भएको थियो ।


औलो दिवस विविध कार्यक्रम गरी मनाइने

भरतपुर । विश्व आंैलो दिवस चितवनमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । दिवसको अवसरमा आज बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय परिसरदेखि नारायणगढको पुलचोकसम्म ¥याली गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन राम केसीले दिवसको अवसरमा यही १४ गते माडीको बगौडामा ‘औलो रोग नियन्त्रणमा समुदायको भूमिका’ विषयक अन्तरमावि तथा उच्चमावि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले औलो रोग उच्च प्रभावित चितवनका १२ गाविसमध्ये ६ वटा गाविसमा विषादीयूक्त झुल वितरण गरिएको जानकारी दिनुभयो । झुल वितरण गरिएका गाविसहरुमा गुञ्जनगर, शारदानगर, पदमपुर, जुटपानी, शिवनगर र बगौडा रहेका उहाँको भनाइ थियो ।
नेपालमा ७५ जिल्लामध्ये ६५ वटा औलो प्रभावित जिल्ला मानिन्छन् । जसमध्ये चितवन प्रभावित १८ जिल्लामध्ये एक रहेको कार्यालयले जनाएको छ । चितवन आफँैमा औलो प्रभावित जिल्ला भएकोले उच्च सतर्कता अपनाउनुपर्ने केसीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६६÷०६७ मा २१ औलो रोगी फेला परेकोमा २१ रोगी जटिल किसिमका रहेका थिए भने २०६७÷०६८ मा २५ जना औलो रोगीमध्ये ६ जना जटिल किसिमका रहेका थिए ।
त्यस्तै यस आर्थिक वर्ष २०६८÷०६९ को पहिलो आठ महिनामा फेला परेका २१ औलो रोगीमध्ये दुई जना जटिल प्रकृतिका रहेको कार्यालयले जनाएको छ । नेपालमा पाइने दुई किसिमका औलोका परजीवीमध्ये प्लाजमोडियम फाल्सिपारम परजीवीको संक्रमणले लाग्ने औलोलाई जटिल प्रकृतिको लिने गरिन्छ ।
हरेक वर्ष अप्रिल २५ मा मनाइने विश्व औलो (मलेरिया) दिवस यस वर्ष आज बैशाख १३ गते परेको छ । नेपालले यसलाई सनः २००७ देखि मनाउन थालेको हो ।


धार्मिक महोत्सवमा दुई करोड संकलन

नारायणगढ । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित विराट महायज्ञ धार्मिक महोत्सव मंगलबार सकिएको छ । बैशाख १ गतेबाट १२ दिनसम्म सञ्चालन भएको सो महायज्ञमा नगद र जिन्सी गरी करिब दुई करोड रुपैयाँ बराबरको रकम संकलन भएको आयोजकले जनाएको छ ।
यज्ञबाट बचेको रकमले राधाकृष्ण मन्दिर देवघाट तनहूँको जीर्णोद्धार, गरिब किरियापुत्री, शवयात्री, अतिथि निवास, भागवत भवन, सन्तआश्रम निर्माण तथा नारायणी नदीकिनार संरक्षणमा खर्च गरिने यज्ञ सम्पादन मूल समितिले जनाएको छ । राष्ट्रशान्तिको कामना गर्दै नेपालमै पहिलो पटक सो महायज्ञ सञ्चालन गरिएको हो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै संस्कृति राज्यमन्त्री सुश्मा शर्मा घिमिरेले आध्यात्मवादभित्र पनि ठूलो विज्ञान भएको भन्दै भौतिकवादी र आध्यात्मवादी दुबै दर्शनलाई सँगै लिएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूजस्ता कयौं आमाहरुले समाज रुपान्तरणका लागि पाठेघर हवन गरिरहनुभएको छ, महिलालाई धार्मिक कार्यमा संलग्न नगराउने परिपाटीको अन्त्य हुनुपर्दछ ।’
समाज रुपान्तरणका लागि मानव मस्तिष्कलाई परिवर्तन गर्न धार्मिक मस्तिष्कले मात्र सक्ने राज्यमन्त्री शर्माको भनाइ थियो । कार्यक्रममा बोल्दै बालव्यास ईश्वरकृष्ण महाराजले नेपालको विकासको लागि धार्मिक क्षेत्रको व्यापक प्रचारप्रसार हुनु जरुरी भएको बताउनुभयो ।
उहाँले हिन्दू धर्मावलम्बीहरुले नै हिन्दूधर्मको विरोध गरेको भन्दै धर्मलाई नबुझिकन विरोध गर्दै हिँड्नु मुर्खतामात्र भएको स्पष्ट पार्नुभयो । महायज्ञ मूल समारोह समितिका संयोजक ऋषिराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महायज्ञका उपवाचक तपेन्द्र रिजाल, उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष ऋषिराम लामिछाने, सहसंयोजक खेम भण्डारीलगायतले बोल्नुभएको थियो ।


मापसे गर्ने दुई कारबाहीमा

भरतपुर ।  जिल्ला प्रहरी कार्यालय चितवनले मादक पदार्थ सेवनविरुद्ध चलाएको अभियान जारी राखेको छ ।
पछिल्लो समय सोमबार राति सञ्चालित यो अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट मादक पदार्थ सेवन गरेका दुई जना चालकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
यस्तै,जिल्ला प्रहरी र ट्राफिक प्रहरी चितवनको संयुक्त चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट सोमबार मात्रै १८ हजार २ सय ५० राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।


शुल्क वृद्धिको विरोधमा तालाबन्दी

भरतपुर । चितवनका चार विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिले मंगलबार जिल्लाका सम्पूर्ण निजी विद्यालयहरुको लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
प्याव्सन चितवनले २३ प्रतिशत शुल्क वृद्धि गरेको विरोधमा समितिले तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष उत्तम जोशीले बताउनुभयो । समितिले सबै पक्षको सहभागितामा वैज्ञानिक तरिकाले शुल्क निर्धारण गर्न माग गरेको छ ।
आफूहरुको मागको सुनुवाइ नभए आगामी १५ गते जिल्लाका सम्पूर्ण निजी विद्यालयका प्रिन्सिपलको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।


स्थापना दिवसमा चियापान

भरतपुर । लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार भरतपुरमा चियापान कार्यक्रम भएको छ ।
एकीकृत नेकपा माओवादी चितवन क्षेत्र नम्बर–३ इलाका ‘क’को आयोजनामा भएको कार्यक्रममा माओवादी चितवनका सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’, सेक्रेटरी रमेश रेग्मी ‘अमर’, ईश्वर सापकोटा, रामध्वज डल्लाकोटीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम इलाका सेक्रेटरी रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


घरेलु मदिरा बरामद

भरतपुर । इलाका प्रहरी कार्यालय गैँडाकोटले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ । नवलपरासीका विभिन्न क्षेत्रबाट गैँडाकोट ल्याउँदै गर्दा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
मुकुन्दपुर र गँैडाकोट क्षेत्रबाट करिब ६ हजार लिटर मदिरा बरामद गरेको प्रहरीको भनाइ छ ।


स्व. पौडेलसहित १२ जनाको मुद्दा फिर्ता


भरतपुर । हत्याको अभियोग लागेका नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलसहित १२ जनाको मुद्दा फिर्ता भएको छ । सरकारको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले आइतबार सो मुद्दा फिर्ता लिने निर्णय गरेको हो । 
गत वर्षको भदौ १० गते कविलास गाविसको केराबारीमा संजय लामाको गोली हानी हत्या भएको अभियोगमा उनीहरुमाथि मुद्दा दायर गरिएको थियो । फागुन ११ गतेको सरकारको निर्णयअनुसार कानुन मन्त्रालयले महान्यायाधीवक्ताको कार्यालय हुँदै जिल्ला न्यायाधीवक्ताको कार्यालयमार्फत एक महिनाअघि नै अदालतमा उनीहरुको मुद्दा फिर्ताको निवेदन दर्ता गराएको  थियो । 
हत्यापछि पौडेलसहित १२ जनालाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको थियो । थुनामा रहेकैबेला पौडेलको मंसिर २० गते कारागारभित्रै आक्रमण हँुदा त्यसको केही दिनमा काठमाडांैमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो । 
पौडेलको मृत्युपश्चात् काँग्रेसले उनलाई सहिद घोषणा गर्न र मुद्दा फिर्ता लिन माग गरेको थियो । सो मागअनुसार नै सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो । पौडेलबाहेकका अन्यलाई पौडेलमाथिको आक्रमणपछि चितवन कारागारबाट केन्द्रीय कारागारमा पुर्पक्षका लागि राखिएको छ । सम्भवत उनीहरु प्रक्रिया पु¥याएर सोमवार सार्वजनिक विदा परेकाले मंगलबार छुट्ने सम्भावना रहेको छ । 
मुद्दा फिर्तासँगै तरुण दलका भरतपुर नगर समितिका उपाध्याक्ष प्रमिश राई, साजन गुरुङ, यमबहादुर कार्की, चन्द्रबहादुर तामाङ, राजकुमार लामा, अनिल परियार छुट्ने अवस्थामा छन् । राजु गुरुङ, कुमार गुरुङ, सुरेन्द्र गुरुङ, रिजन कौडेल, धनबहादुर गुरुङको पनि मुद्दा फिर्ता भएको छ । उनीहरुमाथि मुद्दा दायर भएपनि अदालतमा हाजिर नभई फरार अवस्थामा छन् । 
विरोधमा चक्काजाम
यसैबीच संजय लामा हत्याका आरोपीहरुमाथि लागेको मुद्दा राज्यले फिर्ता लिएको भन्दै युवा संघका कार्यकर्ताहरुले आइतबार चितवनका विभिन्न ठाउँमा दुई घन्टा चक्का जाम गरेका छन् । 
शिव पौडेललगायत १२ जनामाथि लागेको मुद्दा राज्यबाट फिर्ता भएको विरोध गर्दै युवासंघले नारायणगढ तथा केन्द्रीय बस टर्मिनललगायतका क्षेत्रहरुमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म चक्काजाम गरेको हो ।
राज्यले प्रजातन्त्र दिवसको अवसरमा संजय लामाको हत्याका आरोपीसहित ३६७ जनालाई कैदबाट मुक्त गराएको थियो । 

भाइको हत्याराको खोजीमा द्वन्द्वपीडित अधिकारी


विधुर ढकाल, २०६९ वैशाख ११


नारायणगढ । आफ्नो गृहजिल्लाका कार्यकर्तालाई महिनामा एक पटक गृहजिल्लै पुगेर भेट्ने प्रतिबद्धता गरेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका रुपमा देशको बागडोर समालिरहेका बेला तिनै भट्टराईको गृहजिल्ला गोरखाका एक जना भने न्यायको खोजीमा चितवनका सरकारी कार्यालय तथा न्यायालयहरुमा भौतारी रहेका छन् ।
गोरखा जिल्ला फुलजेल गाविस वडा नं. ४ चमतीका नुरप्रसाद अधिकारी आफ्ना १७ वर्षे भाइका हत्यारालाई कारबाहीको माग गर्दै चितवनका सरकारी निकायका ढोका ढक्ढक्याइरहेका छन् । उनले न्याय पाउने झिनो आशाका साथ आफ्नो लडाइँमा साथ दिन सोमबार पत्रकारहरुलाई गुहार्दै थिए । 
२०६१ जेठ २४ गते गोरखाबाट आफ्ना वृद्धवृद्धा हजुरबुबा हजुरआमा भेट्न  हिँडेका उनका भाइ कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीका कार्यकर्ताहरुले पूर्वी चितवनको रत्ननगर बकुलहरचोकदेखि अपहरण गरी चरम यातना पश्चात् पुनः बकुलहरमा ल्याई हत्या गरेको उनको आरोप छ ।
तिनै भाइका हत्यारालाई कारबाहीको माग गर्दै हिँडेका नुरप्रसादले न्याय पाउने आशा देखेका थिए । आफ्नै जिल्लाका व्यक्ति प्रधानमन्त्री बन्दा उनको आशा केही पलाए पनि जब उनलाई सिंहदरबारमा नै रोक लगाइयो, उनका सारा आशा खरानी भएको उनको गुनासो छ । 
गोरखाको आफ्नो जायजेथा पनि लुटिएपछि उनी काठमाडांैमा विस्तापित जीवन बिताउन बाध्य भए । वृद्धवृद्धा व्यवस्थापन गुठीबाट पनि आमाबुबा विस्तापित हुनु परेको कारण गुठीका सञ्चालक प्रधानमन्त्री डा.भट्टराई पत्नी हिसिलाकी साथी भएको उनको थप आरोप छ । ‘बुबा आमालाई पनि आश्रमबाट निकालियो, म बस्ने डेराको साहूलाई पनि धम्की आएर डेरा छाड्नु प¥यो’, उनले दुखेसो पोखे । 
आफ्नो भाइका हत्यारालाई कारबाही नभएसम्म चितवनबाट नफर्कने बताउँदै उनले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा बालुवाटार गएको थिएँ, इन्सपेक्टर हरिबहादुर बस्नेतले तपार्इं मसँग हिँड्नुस् भने, चार दिनसम्म आफ्नै मेसमा राम्रोसँग ख्वाए ।’ पछि हनुमानढोका लगेर २५ दिन थुनामा राखियो उनको भनाइ थियो । 
राष्ट्रिय मानवअधिकार आयोगले अधिकारी परिवारलाई तीन लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गरेपनि राहत नपाएको उनको भनाइ छ । न्यायको खोजीमा भौतारिएका उनी झुस्स लामो कपाल बढेको दारी लिएर चितवनका सरकारी कार्यालयमा पुग्दा भाइका हत्याराले कार्यालय प्रमुखकै सामु अपराध स्वीकारे पनि कारबाहीको कुनै पहल नभएको उनको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयमा २०६८ साल चैत्र १८ गते निवेदन दिएका उनलाई माथिको आदेश छैन भन्दै फर्काइने गरिएको छ । त्यस्तै फागुनको १९ गते नै बाँकी जीउधनको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनको भनाइ छ । राज्यको नागरिकसरहको व्यवहार नभएको भन्दै आफूले नागरिकतासमेत गृहमन्त्रीलाई बुझाएको उनको भनाइ छ ।  

शैक्षिकसत्र सुरू ः पाठ्यपुस्तक छैन


बसन्त पराजुली, २०६९ वैशाख ११
भरतपुर । चितवन र यस आसपासका जिल्लाहरुमा जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयतर्फ विभिन्न विषयका पाठ्यपुस्तकहरु पर्याप्त उपलब्ध नगराउँदा विद्यार्थीहरु समस्यामा परेका छन् । शैक्षिकसत्र सुरू भइसक्दा पनि विद्यार्थीको हातमा समयमा किताब नआइपुग्दा विद्यार्थी मर्कामा परेका हुन् । 
‘पढाइ सुरू भइसक्यो अझै पूरै किताब छैन’, नारायणी उमाविमा कक्षा नौ पढ्दै गरेका एक विद्यार्थीले चितवन पोष्टसँग गुनासो गरे, ‘किताब नभएपछि स्कुलमा पनि पढ्न समस्या हुँदो रहेछ ।’
मुख्यतया अहिले कक्षा ३ को सामाजिक र अंग्रेजी, कक्षा ४ को नेपाली, कक्षा ६ को सामाजिक, जनसंख्या, अंग्रेजी र विज्ञान, कक्षा ७ को नेपाली र गणित, कक्षा ९ को सामाजिक, अनिवार्य गणित, विज्ञान, स्वास्थ्य र कक्षा १० को अंग्रेजी विषयका पुस्तकहरु बजारमा पर्याप्त रुपमा उपलब्ध हुन सकेका छैनन् ।
‘मुख्य विषयको नै पुस्तक पाइएनँ’, चितवन उमाविको कक्षा ९ की एक छात्राले भनिन् । शैक्षिकसत्र सुरू भई विद्यालयहरुमा पठनपाठन सञ्चालन भइसक्दा पनि विद्यार्थीहरुले पुस्तकहरु पाउन नसकेका हुन् । चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले पुस्तकको अभाव हटाउन पहल भइरहेको बताउनुभयो । 
सामुदायिक विद्यालयका पुस्तकहरु जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गर्ने र साझा प्रकाशनले वितरण गर्दै आएका छन् । साझा प्रकाशनको क्षेत्रीय कार्यालय भरतपुरमा मागअनुसारको पुस्तक नआउँदा चितवनसहित रुपन्देही, पाल्पा, मकवानपुर, पर्सा, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाची, बारा, रौतहट, गोरखालगायतका क्षेत्रका विद्यार्थीहरु प्रभावित भएका छन् ।
‘हामीले पनि पहल गरिरहेका छौं’, साझा प्रकाशन क्षेत्रीय कार्यालयका प्रमुख बाबुराम पराजुलीले भन्नुभयो, ‘पाठ्यपुस्तक नै नआएपछि हामीले कसरी पु¥याउने ।’ साझा प्रकाशकनको भरतपुरस्थित क्षेत्रीय कार्यालयले गत वर्ष एउटा किताब ६५ हजार थान बिक्री गरेको थियो । 
यो वर्ष पनि त्यै हाराहारीमा खपत हुने अनुमान सो कार्यालयको छ । तर अहिले त्योभन्दा ज्यादै न्यून किताब आएकाले पनि समस्या भएको हो । कार्यालयका अनुसार सो कार्यालयमा सबैभन्दा बढी कक्षा ९ को नेपाली किताब ३२ हजार १५० र सबैभन्दा कम कक्षा ९ कै अनिवार्य गणित विषयको पुस्तक नौ हजार १५० मात्रै आएको छ । 
अहिले सामुदायिक विद्यालयहरुले जनक शिक्षा सामग्रीको अनिवार्य ६ वटा र दुईवटा ऐच्छिकका लागि ११ वटा ऐच्छिक विषयको पुस्तक चितवन पठाएको छ तर त्यो मागभन्दा धेरै कम देखिएको छ । जनक शिक्षा सामग्रीले भने यो पुस्तक सहज हुन अझै एक हप्ता लाग्न सक्ने बताएको छ । 
पुस्तक प्रकाशनको काम भइरहेकाले ढिलाइ भएको जनक शिक्षाले जनाएको छ । 

Wednesday, April 11, 2012

प्रचण्ड र डा.भट्टराईको पुत्ला दहन


नारायणगढ । माओवादी जनसेनालाई नेपाली सेनामातहत लैजाने निर्णयलाई आत्मसमर्पणवादी निर्णयको संज्ञा दिँदै माओवादीभित्रको असन्तुष्ट वैद्य खेमाले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पुत्ला जलाएको छ ।
नारायणगढको लायन्सचोकबाट पुत्लासहितको मसाल जुलुस पुलचोकमा पुगेर पुत्ला दहनपछि कोणसभामा परिणत भएको थियो । कोणसभालाई माओवादी जिल्ला सहइञ्चार्ज शोभा कट्टेलले प्रचण्ड र बाबुरामले आफूलाई गद्दार सावित गर्दै आत्मसमपर्णवादी ढङ्गले समायोजनको निर्णयमा सहमति जनाएको आरोप लगाउनुभयो । जनसंविधान निमार्णको मुखमा आएको अवस्थामा सेनाको आत्मसमपर्णवादी ढङ्गले समायोजन गरिनु जनसंविधान निर्माण नगर्ने सड्यन्त्र भएको उहाँको आरोप थियो । कार्यक्रममा माओवादी राज्य समिति सदस्य एवम् मजदुर फ्याक्सन इन्चार्ज घननाथ सापकोटाले सर्वहारावर्गको संविधान निर्माण नगर्ने षडयन्त्र भएको आरोप लगाउनुभायो । ¥यालीमा जनयुद्ध जारी छलगायत प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध चर्का नारा लगाएका थिए । यसअघि बुधबार नै उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म पुलचोकमा चक्काजाम गरेका थिए ।

शिविरका सबै हतियार नेपालीले सेनाले बुझ्यो : शान्ति प्रक्रियाको पाँच वर्षपछि माओवादी निशस्त्र


होमनाथ सापकोटा शक्तिखोर । शान्ति प्रक्रिया सुरू भएको पा“च वर्षपछि माओवादी लडाकू बुधबारदेखि निशस्त्र भएका छन् । पूर्वी चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन मुख्यालयमा रहेका सबै हतियार माओवादी लडाकूले नेपाली सेनालाई बुझाएपछि माओवादी निशस्त्र भएको हो । सरकार र सेना समायोजन विशेष समितिको निर्णयअनुसार तेस्रो डिभिजनका कमाण्डर धनबहादुर मास्कीले कन्टेनरमा रहेका सबै हतियार सरकारी मातहतको विशेष समितिको उपस्थितिमा बुधबार नेपाली सेनालाई बुझाउनुभएको हो । कन्टेनरमा रहेका ६६७ वटा हतियार र ती हतियारमध्येकै पेरिमिटर सुरक्षाका लागि राखिएका ६७ र डिभिजन कार्यालयको सुरक्षाको लागि प्रयोग भएका ४४ वटा हतियारसहितका गोलीहरु सचिवालयको नेपाली सेनाले बुझेर कन्टेनरमा राखेको छ । सेना सामायोजन विशेष समितिको अर्को निर्णय नआउन्जेलसम्म हतियारको सुरक्षा नेपाली सेनाले गर्नेछ । माओवादी लडाकू, हतियार र शिविर नेपाली सेनाको मातहतमा ल्याउने सरकार, राजनीतिक दल र सेना समायोजन विशेष समितिको मंगलबारको निर्णयबमोजिम तेस्रो डिभिजनको सुरक्षाको लागि नेपाली सेना खटाइएको छ । भरतपुरस्थित समशेर दल गणका सेनानी विजय श्रेष्ठको कमाण्डमा १२७ जनाको नेपाली सेनाको एउटा गुल्म मुख्यालय तेस्रो डिभिजनको सुरक्षाको लागि खटिएको गणका प्रमुख सेनानी ज्योतिन्द्र महतले जानकारी दिनुभयो । ‘मंगलबार बेलुकादेखि नै शिविरको सुरक्षा जिम्मा हामीले लिएका छांै’, प्रमुख सेनानी महतले भन्नुभयो, ‘हतियार र शिविरको सुरक्षा दुबै पक्षको समन्वयमा गरिने छ ।’ नेपाली सेना र माओवादी लडाकू दुबै शिविरमै बस्ने र सुरक्षा व्यवस्था नेपाली सेनाले मिलाउने सर्कुलर आएको उहाँले जानकारी दिनुभयो । माओवादीका लडाकूहरुको शिविरमा आफूहरुले हार्दिकता व्यवहार पाएकोले असहज अवस्था नआएको बताउनुभयो । सेना समायोजन विशेष समितिअन्र्तगतको सचिवालयका संयोजक बालानन्द शर्माले माओवादीले हतियार बुझाएपछि शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संकेत देखापरेको बताउनुभयो । हतियार बुझाएपछि पुनर्वर्गीकरण र समायोजनको काम सहज रुपले अगाडि बढ्ने आफूलाई लागेको उहा“को भनाइ रहेको थियो । ‘नेपाली सेनाको मापदण्डअनुसार समायोजन प्रक्रियामा उत्र्तीण हुनेलाई समायोजनमा पठाउँछौं’, शर्माले भन्नुभयो, ‘अनुत्र्तीण हुनेलाई स्वैच्छिक अवकाशमा पठाउँछौं ।’ उहा“ले सेना समायोजन विशेष समितिले अर्काे निर्णय नगरेसम्म शिविर र हतियारको सुरक्षा नेपाली सेनाले गर्ने जानकारी दिनुभयो । संयोजक शर्माले देशभरका १५ वटा शिविरमा रहेका ३६ सय ७६ हतियार बुधबारै नेपाली सेनाले जिम्मा लिइसक्ने बताउनुभयो । तेस्रो डिभिजनका डिभिजन कमाण्डर धनबहादुर मास्कीले विशेष समितिको निर्णयलाई सकारात्मक रुपले लिएको बताउनुभयो । ‘समायोजनमा जाने साथीहरुको दर्जा मिलान, तालिमलगायतको विषयमा असहमति कायमै रहेको भएपनि पार्टीले उपयुक्त निर्णय लिने विश्वासमा सबै कुरा स्वीकारेका छौं’, उहाँले भन्नुभयो, ‘हाम्रो लचकता शान्ति र संविधानका लागि हो ।’ पार्टीभित्रको विवादका कारण केही समस्या देखिएपनि त्यसलाई आफूहरुले सहजरुपमा शिविरभित्र मिलाउने मास्केको भनाइ छ । हतियार हस्तान्तरण भइरहँदा घाइते अपाङ्ग लडाकूहरुले आजीवन उपचार र आप्रवासको व्यवस्था हुनुपर्ने माग गर्दै शिविरभित्रै धर्ना दिएका थिए । धर्नामा बसेका घाइते अपाङ्ग लडाकूहरुलाई सम्बोधन गर्दै सचिवालयका संयोजक शर्माले घाइते अपाङ्गको मागको विषयमा दुई दिनअघि नै विशेष समितिलाई जानकारी गराएको र अब एक÷दुई दिनभित्र प्याकेज कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । चौथो डिभिजन पनि सेनाको जिम्मा त्यसैगरी सेना समायोजन विशेष समितिको निर्णय र सरकारको निर्देशनमा नेपाली सेनाले नवलपरासीस्थित माओवादी लडाकूको चौथो डिभिजनका मुख्य र सहायक दुबै शिविर मंगलबार रातिदेखि नै आफ्नो जिम्मामा लिएको छ । नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी कर्णबहादुर चन्दको कमाण्डको १२७ जनाको टोलीले चौथो डिभिजन मुख्यालय भm्यालटुङ्गडाँडा र बज्रदल गण परासीका सहसेनानी विनयकृष्ण खड्काको नेतृत्वमा रहेको ४५ जनाको टोलीले परिवर्तन स्मृति ब्रिगेड हात्तीखोरको जिम्मेबारी सम्हालेको छ । लडाकूहरुले सरकारी निर्देशनको स्वागत गर्दै दुबै शिविरमा रहेका हतियारहरु सेनाको जिम्मा लगाइएको बताएका छन् । लडाकूहरुले मुख्यालयमा सहजताका साथ नेपाली सेनाको आगमनलाई स्वीकार गरेका थिए भने हात्तीखोर शिविरमा भने लडाकूहरुले आफ्नै आन्तरिक हरहिसाब कमाण्डरहरुबाट पारदर्शी नभएको भन्दै शिविरमा आगजनी तथा तोडफोड गरेका कारण राति अबेरमात्र सेनाले जिम्मेबारी सम्हालेको थियो ।

हावाहुरीले डेढ करोडबढीको केराखेती नष्ट

विधुर ढकाल ठिमुरा । आइतबार राति गएको हावाहुरीका कारण भरतपुर—१, ठिमुराका कृषकहरुको चालिस बिघामा लगाएको केराखेती नष्ट भएको छ । हुरीले गर्दा कृषकहरुको करिब एक करोड ६२ लाख २० हजार बराबरको क्षति भएको जिल्ला कृषि कार्यालय चितवनले जनाएको छ । बुधबार कृषि कार्यालयका अधिकारी, कृषक तथा पत्रकारहरुको संयुक्त टोलीले ठिमुरा पुगी केराको क्षतिको अनुगमन गरेको थियो । कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले दिएको जानकारीअनुसार ठिमुरामा ४० बिघा १० कठ्ठामा लगाइएको केराका बोटलाई हावाहुरी तथा असिनाले नष्ट पारेको हो । हावाहुरीले बारीमा भएको ६४ हजार ८८० बोटमध्ये ५१ हजार ९०४ बोटलाई क्षति पु¥याएको पौडेलले बताउनुभयो । प्रतिबोटले दिने उत्पादनका आधारमा क्षतिको मूल्याङ्कन गरिएको भन्दै उहाँले भन्नुभयो, ‘प्रतिबोटले दिने उत्पादनका आधारमा एक कोसा केरा बराबर दुई रुपैयाँ पचास पैसाका दरले हुन आउने एक करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको क्षति पु¥याएको देखियो ।’ सरकारसँग क्षतिको विवरण पठाएर राहतका लागि पहल गर्ने उहाँको भनाइ थियो । तर किसानहरुले भने करिब चार करोडभन्दा बढीको क्षति भएको जनाएका छन् । किसान देवेन्द्र पौडेलले भन्नुभयो, ‘अहिले केराको बजार मूल्य प्रतिकोसा तीन रुपैयाँको दरले बिक्री भइरहेको छ, यसको आधारमा करिब साढे चार करोड बराबरको क्षति भएको छ ।’ हावाहुरीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उचित राहत दिएर सरकारले व्यवसायीको मनोबल गिर्नबाट बचाउनुपर्ने पौडेलले बताउनुभयो । ‘चार÷पाँच वर्ष विदेशमा बसेर नेपाल फर्किएपछि स्वदेशमा नै केही गर्नुपर्छ भनेर व्यावसायिक केराखेती थाले पनि सरकारले हामीलाई प्रोत्साहन गर्ने कुनै काम गरेको छैन’, उहाँले गुनासो गर्नुभयो । किसानहरुले पटकपटक दैविक प्रकोपबाट क्षति ब्यहोरे पनि सरकारबाट राहत भने नपाएको गुनासो गरेका छन् । सरकारले दिने राहतको कुनै आशा नभएको भन्दै केरा व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञप्रसाद सुवेदीले भन्नुभयो, ‘हाम्रो क्षति करोडौँको हुन्छ तर सरकारले हजार पनि दिँदैन, अघिल्लो पटक क्षति हुँदा सरकारले प्रतिबोट एक रुपैयाँ पचास पैसाका दरले राहत दिएको थियो, जबकी हाम्रो क्षति प्रतिकोसा तीन रुपैयाँ पचास पैसा बराबरको क्षति हुन्छ ।’ हावाहुरीले सबैभन्दा बढी जयअम्बे मल्टी एग्रो फर्म प्रालिको ११ बिघामा लगाएको केराखेती नष्ट गरेको छ । त्यस्तै भरत भण्डारीको आठ बिघा, देवेन्द्र पौडेल र प्रेम पौडेलको नौ बिघालगायत १५ जना कृषकको केराखेती नष्ट गरेको हो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले नै सिधै राहत दिन नमिल्ने कृषि कार्यालयले जनाएको छ । ‘हामीले मातहतको मन्त्रालय र जिल्ला विपद व्यवस्थापन समितिमा राहतका लागि सिफारिस गर्ने हो’, कार्यालयका वागवानी विकास अधिकृत खटकबहादुर थापाले भन्नुभयो । चितवनमा कार्यालयको प्रविधिक सहयोगमा २६० कृषकहरु व्यावसायिक केराखेतीमा संलग्न रहेको उहाँले बताउनुभयो ।

‘बैशाख २ बाट विद्यार्थी भर्ना अभियान’

भरतपुर । जिल्ला शिक्षा कार्यालय चितवनले शैक्षिक सत्र २०६९ सालको विद्यार्थी भर्ना अभियान बैशाख २ गतेबाट सञ्चालन गर्ने भएको छ । बुधबार जिल्ला शिक्षा कार्यालय भरतपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले यस्तो जानकारी दिनुभएको हो । चितवनमा अहिले विद्यालय जाने उमेरका चार प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको जनाउँदै विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा ल्याउनका निम्ति कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । विकट पहाडी नौ गाविसमा बालबालिका भर्ना गर्न समस्या देखिएको बताउँदै उहाँले भन्नुभयो, ‘विकट पहाडी गाविसहरुमा यो समस्या बढी रहेको पाइएको छ, विद्यालय भर्ना भएपनि नियमित गराउन सकिएको छैन ।’ यी विकट गाविसमा ९९ विद्यालय रहेका छन् । यसैबीच जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई वर्षमा पाँच दिनभन्दा बढी स्थानीय बिदा नदिन परिपत्र जारी गर्न लागेको जनाएको छ । ‘वर्षमा विद्यार्थीहरुले न्यूनतम २२० दिन विद्यालयमा बिताउन पाउनुपर्छ’, जिल्ला शिक्षा अधिकारी शर्माले भन्नुभयो । शुक्रबार पनि ४ बजेसम्म विद्यालय सञ्चालन गराउन आदेश दिने उहाँको भनाइ थियो । महिनाको मसान्तमा गरिने आधा दिनको पढाइलाई पनि पूरा सञ्चालन गराउने उहाँले बताउनुभयो । उहाँले विद्यालयमा नियमित क्रियाकलाप गराउन लगाउनेसमेत दावी गर्नुभयो । आधुनिक सूचना प्रविधिसँग विद्यालयलाई पनि जोड्न लागिएको समेत कार्यालयले जनाएको छ ।

हावाहुरीले खानेपानीको समस्या

भरतपुर । आइतबार राति गएको हावाहुरीले विद्युत् पोल भाँच्चिएका कारण भरतपुरको ठिमुरामा विद्युत् आपूर्ति बन्द हुँदा खानेपानी आपूर्तिमा समस्या भएको छ । खानेपानी आपूर्तिका लागि विद्युत् नहुँदा स्थानीय बासिन्दाहरु खानेपानीका लागि डेढ घण्टा हिँड्न बाध्य भएको बताएका छन् । स्थानीय सीता पौडेलले खानेपानीका लागि डेढ घण्टा हिँड्नु परेको बताउनुभभयो । ‘बिहानबिहानै उठेर डेढ घण्टा हिँड्नु परेको छ, धारामा पानी नआउँदा परको ठूलो ढुङ्गा पुगेर पानी ल्याउँदै आएका छौँ’, उहाँले दुखेसो पोख्नुभयो । पानीका लागि कि त नारायणीको भर पर्नु परेको छ, कि त डेढ घण्टा हिँड्नुपर्ने उहाँको भनाइ थियो । हावाले ठिमुरामा विद्युत्का छवटा पोल ढालेपछि आपूर्ति बन्द भएको स्थानीय बासिन्दाको भनाइ छ ।

शान्ति निर्माणसम्बन्धी अन्तक्र्रिया

भरतपुर । गाउँबाट शान्ति निर्माण मोडेलसम्बन्धी क्षेत्र स्तरीय अन्तक्र्रिया कार्यक्रम बुधबार भरतपुरमा भएको छ । आरआरएन, एफएफपी, गैर सरकारी संस्था महासंघ चितवन, मानव अधिकार एलायन्स जिल्ला शाखा चितवनले उक्त कार्यक्रमको आयोजना गरेको थियो । प्राध्यापक डा. मथुरा श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा डा. अर्जुन कार्की विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा बाँदरमुढे घटना पीडितहरुले द्वन्द्वले आफूहरुमा पारेको प्रभावबारे बोलेका थिए । शान्तिका लागि सहकार्यका कार्यकारी निर्देशक डा. पद्यमा खतिवडाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कोषाध्यक्ष अम्बिका गजमेहर, मानवअधिकार एलायन्सका केन्द्रीय सचिव केशवप्रसाद रेग्मीलगायतले मन्तव्य दिएका थिए । मानव अधिकार एलायन्स जिल्ला शाखा चितवनका अध्यक्ष सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गैसस महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष खगराज ओझाले गर्नुभएको थियो ।

शुल्क वृद्धि खारेजको माग

नारायणगढ । अनेरास्ववियु क्रान्तिकारी जिल्ला समितिले प्याव्सन चितवनले २३ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष रुद्र भट्टराईले निकालेको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क तत्काल खारेज गर्न जोडदार माग गरिएको छ । विज्ञप्तिमा सम्पूर्ण विद्यार्थी अभिभावकलाई कुनै पनि वाहनामा शुल्क नबुझाउन अपिल गरिएको छ ।

पुर्पक्षका लागि थुनामा

भरतपुर । हातहतियार र खरखजानासम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको एकल इजलासले सो आदेश दिइएको हो । भरतपुर–४ बारघरेका अमृत परियारलाई कार्यालयले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । परियारबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको थियो ।

फोटो तथा पुस्तक प्रदर्शनी

फोटो तथा पुस्तक प्रदर्शनी भरतपुर । नेपाल क्रान्तिकारी विद्यार्थी संघ चितवनको आयोजनामा बुधबार नारायणगढमा फोटो तथा पुस्तक प्रदर्शनी सम्पन्न भयो । पुल्चोकमा सञ्चालन भएको सो प्रदर्शनीमा ३०० फोटो र सय पुस्तक प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म जारी रहेको थियो । सो अवसरमा विभिन्न प्रकाशनका पुस्तकहरु पनि बिक्रीवितरण गरिएको थियो । चितवन र यस आसपासका सर्वसाधारणले सो प्रदर्शनी अवलोकन गरेका छन् । नेवाःपुचःको अधिवेशन नारायणगढ । नेवाःपचः नारायणगढको दसौं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष बद्रिलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

बसमा आगलागी

नारायणगढ । नारायणगढस्थित न्यूरोडको प्रकाश अटो ग्यारेजमा राजु रसैलीको ना ३ ख ८१२० नम्बरको बसमा आगलागी हुँदा बस क्षतिग्रस्त भएको छ । बिग्रिएर बनाउन ग्यारेजमा ल्याएको सो बसमा अचानक आगलागी हँुदा ईन्जिनबाहेक सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ ।

Tuesday, April 10, 2012

शिविर र हतियार मंगलबारबाटै नेपाली सेनाको मातहतमा

काठमाडौं । माओवादी लडाकू, उनीहरु बस्दै आएको शिविर र हतियार मंगलबारबाटै नेपाली सेनाको मातहतमा आएको छ ।
प्रमुख तीन दलका शीर्È नेताहरुसहित सेना समायोजन विशेÈ समितिको मंगलबार बसेको आकस्मिक बैठकले सरकारको मातहतमा रहेको लडाकूहरुको १५ वटै शिविर, हतियार भण्डारण गरिएको कन्टेनर र लडाकूलाई सेनाको मातहतमा ल्याउने निर्णय गरेको हो । बैठकले यही चैत मसान्तसम्म सेना समायोजनको काम अगाडि बढाउने भनेकामा ३० गतेसम्म नपर्खी मंगलबारबाटै समायोजनको प्रक्रियालाई अगाडि बढाएको अर्थमन्त्रीसमेत रहनुभएका समितिका सदस्य वर्षमान पुनले बताउनुभयो । मन्त्री पुनका अनुसार क्यान्टोनमेन्ट र हतियारको सुरक्षालगायत जिम्मा नेपाली सेनाले लिने र आज बुधबारबाटै समायोजनमा जाने तथा स्वैच्छिक अवकाशमा जानेहरुको वर्गीकरण थालिने छ । उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियामा देखिएका सबै डेटलकहरु खुलेका छन्, अब माओवादीले शान्ति प्रक्रिया टुङ्ग्याएन भनेर आरोप लगाउनेहरुको मुख बन्द भएको छ र अब सबै राजनीतिक दलहरु संविधान निर्माण गर्ने कार्यमा क्रियाशील हुनुपर्दछ । मन्त्री पुनले सरकार मातहत आएको माओवादी लडाकूका अस्थायी शिविर, हतियार र त्यसका आसपासको सुरक्षाको जिम्मासमेत नेपाली सेनाले लिने बताउनुभयो । उहाँले समायोजनको प्रक्रिया र स्वैच्छिक अवकाशको प्रक्रियामा कुनै अवरोध नहुने बताउनुभयो । समायोजन र अवकाशमा जाने लडाकूहरुको पुनर्वर्गीकरणका क्रममा विभिन्न शिविरमा वैद्य पÔीय लडाकूहरुले अवरोध गरेपछि माओवादी अध्यÔ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख तीन दल र मधेशी मोर्चाको बैठकमा हतियार र लडाकूलाई सेनाको मातहतमा ल्याउने प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको प्रस्तावअनुसार नै विशेÈ समितिको आकस्मिक बैठक बसेर निर्णय भएको हो । विशेÈ समितिको बैठकले समायोजनका लागि निर्धारण केन्द्रमा समायोजन कार्य प्ररम्भ हुनुअघिसम्म अवकाश तथा रोज्ने मौका दिने र विविध कारणले समायोजनमा जान नसक्ने लडाकूहरुलाई पनि स्वैच्छिक अवकाश वा पुनःस्थापना रोज्न मौका दिने निर्णय गरेको छ । यस्तै सचिवालय संयोजक बालानन्द शर्मास“ग परामर्श गरी लडाकूहरुका लागि आचारसंहिता बनाउने निर्णयसमेत भएको छ ।

शिविरबाट बाहिर निकालेका सामग्री बरामद

शक्तिखोर । पूर्वी चितवनको शक्तिखोरस्थित माओवादी तेस्रो डिभिजनका लडाकूहरुले शिविरभित्र प्रयोगमा रहेका सामानबाहिर निकालेर लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको छ । भित्र प्रयोग भएका सामान अवैध रुपमा लडाकूले लैजान थालेपछि सुरक्षाको लागि शिविरबाहिर सुरक्षाकर्मी परिचालन गरिएको थियो । लडाकूहरुले शिविरभित्र रहेका काठ, ड्रम पानीका पाइपलगायतका सामग्रीहरु लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सेना समायोजन विशेष समितिले पुनर्वर्गीकरणको काम थाल्ने निर्णय गरेकै समयदेखि लडाकूहरुले शिविरभित्रका सामान बाहिर निकाल्न सुरू गरेका थिए । लडाकूले घर बनाउँदा प्रयोग गरिएका काठका फलेक भत्काएर लगेको बताइएको छ । बरामद गरिएको सामान जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । लडाकूले शिविरभित्र प्रयोग भएका सामान लैजान थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । वहिर्गमित लडाकूको शिविर बाहिर भएको प्रदर्शन र लडाकूले शिविरका सामान बाहिर निकाल्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो । तेस्रो डिभिजनमा भएको आर्थिक अनियमितता पारदर्शी हुनुपर्ने माग गर्दै आइरहेका वहिर्गमित लडाकूहरुले शिविर पछाडिपट्टिको गेटबाट भित्र छिरेर प्रदर्शन गरेको समाचार श्रोतले जनाएको छ । शिविरको हरहिसाबको पारदर्शी र आफूहरुलाई लागेको अयोग्यको बिल्ला खारेजीको माग गर्दै सोमबारदेखि तेस्रो डिभिजन अगाडि प्रदर्शन गर्दै आएका पूर्व लडाकूहरु शिविरभित्रै प्रवेश गरेका हुन् । मंगलबार शिविरवरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि उनीहरु पूर्व पश्चिम राजमार्ग बन्द गर्ने भन्दै नारायणगढ पुगेका थिए । उनीहरुलाई तिरवितर पार्दै प्रहरीले नेतृत्व गरेका ज्वाला नेपाललाई नियन्त्रणमा लिएपछि बाँकी रहेका लडाकूहरु तेस्रो डिभिजन शक्तिखोर पुगेका थिए । उनीहरुको मागको विषयमा छलफल भइरहेको तेस्रो डिभिजनका प्रवक्ता कुवेरले जानकारी दिनुभयो । तेस्रो डिभिजनमा कमान्डरले सेना समायोजनको काम अघि बढाउन सहमति जनाएपनि सेनामा समायोजन हुने संख्या यसअघिको सम्झौताविपरीत भएको भन्दै लडाकू विरोधमा उत्रिएपछि मंगलबार पनि पुनर्वर्गीकरणको काम प्रभावित भएको छ ।

अझै तय हुन सकेनन् सहकारी वर्षका कार्यक्रम

भरतपुर । संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउन आह्वान गरेको छ । तर सहकारीको जननी चितवनमा कुनै प्रकारका कार्यक्रम तय भएका छैनन् । जिल्लामा एक पटक बैठक बस्नुबाहेक अरु कुनै काम हुन सकेको छैन । अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउन सरकारले राष्ट्रियस्तरमा कृषि तथा सहकारीमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समिति तथा मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रीय कार्यान्वयन समिति गठन गरेको छ । केन्द्रले जिल्ला कार्यान्वयन समिति पनि गठन गरेर पत्र पठाएको छ । ‘केन्द्रले गठन गरेर पठाएका पदाधिकारीबीच पुस १४ गते बैठक बसेको हो’, सहकारी डिभिजन कार्यालयका सूचना अधिकारी श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । सो बैठकले चार जना सदस्य मनोनयन गर्ने तय गरे पनि अझैसम्म नाम छनौट हुन नसकेको बुझिएको छ । केन्द्रले जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला कार्यान्वयन समिति गठन गरेको थियो । जसमा जनजाति, दलित, पिछडा वर्ग, मुस्लिम, अपागङ्गता भएका व्यक्तिबाट चार जना छनौट गरेर मनोनय गर्नु पर्छ । यो काम नै अझ हुन सकेको छैन । सन् १८४४ मा बेलायतको रोचडेलबाट सुरू भएको सहाकारीले हाल विश्वको करिब आधा जनसंख्यालाई समेटेको संयुक्त राष्ट्रसंघको अनुमान छ । नेपालमा विसं २०१० सालमा सहकारी विभाग स्थापना भएको थियो । विसं २०१३ साल चैत्र २० मा चितवनमा दर्ता भएको बखान सहकारी नेपालकै पहिलो सहकारी संस्था हो । डिभिजन सहकारी कार्यालयबाट प्राप्त जानकारीअनुसार चितवनमा हालसम्म ६०८ वटा सहकारी संस्था गठन भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका प्राचार्य बलराम निरौलाका अनुसार नेपालमा २३ हजार तीन सय सहकारी संस्थामा ३० लाख मानिस आवद्ध छन् । ५० हजारले रोजगारी पाएका छन् । १२२ अर्ब रुपैयाँ संकलन भएको छ भने १०५ अर्ब लगानी भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्षको उपलक्षमा सहकारीलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रम बनाउने योजना छ भन्छन् कार्यालयका सूचना अधिकारी नेपाल । सहकारी नभएका ठाउँमा खोल्ने धेरै भएका ठाउँमा गाभिन प्रेरित गर्ने र निष्क्रिय भएकालाई सक्रिय पार्ने योजना छ । जिल्लाले गर्ने कार्यक्रम राष्ट्रिय समितिबाट स्वीकृत हुनुपर्ने परिपत्र आएको छ । त्यसैले जिल्लाले कार्यक्रम तय गर्ने हो या केन्द्रबाट कार्यक्रम बनेर आउनुपर्ने हो भन्ने अन्यौल पनि खडा नभएको होइन । केन्द्रबाट जिल्ला कार्यान्वयन समिति गठन नहुँदै सहकारी कार्यालय र जिल्ला सहकारी संघको पहलमा अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउन समिति गठन गरेर तयारीका केही कामसमेत भएका थिए । तर केन्द्रले अर्कै कार्यदल बनाएर पठाएपछि कार्यक्रममा सुस्तता देखिएको छ ।

मेची–महाकाली दबाब ¥याली चितवनमा समयमै संविधान देऊ ः जेसीज

नारायणगढ । समयमै संविधान निर्माण तथा शान्ति प्रक्रिया टुङ्ग्याउन दबाब दिने उद्देश्यले नेपाल जेसीजले सञ्चालन गरेको मेची महाकाली दबाब ¥याली मंगलबार चितवन आइपुगेको छ । दुईदुई पटकसम्म संविधानसभाको म्याद थप्दासमेत जनतालाई संविधान दिन नसकेको भन्दै राजनीतिक दल तथा संविधानसभा सदस्यहरुलाई दबाब दिने उद्देश्यले पूर्वी नेपालको धुलाबारी काकडभिट्टाबाट २६ गते आइतबार सुरू भएको ¥यालीका सहभागीहरुलाई मंगलबार नारायणगढ जेसीजले चितवनमा स्वागत गरेको थियो । स्वागतपछि आयोजित कोणसभामा नेपाल जेसीजका पूर्वअध्यक्ष दिनेश कोइरालाले समयमा नै संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले मेची–महाकाली यात्रामा निस्किएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई वर्षमा संविधान बनाउछाँै भनेर संविधानसभा छिरेका दलका नेताहरु संविधान निर्माणभन्दा पनि दलगत तथा व्यक्तिगत स्वार्थमा लागेर बसेकाले आन्दोलन गर्नु परेको बताउनुभयो ।’ त्यस्तै जेसीजका अध्यक्ष तेजशंकर भट्टले दलका नेताले जनताले दिएको म्याण्डेट पूरा गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले जुन म्याण्डेट दिएर चुनेका थिए, त्यो पूरा हुन सकेको छैन । अझ पनि समयमा नै संविधान निर्माण गर्न नसके दलका नेतालाई आगामी चुनावमा मत नदिन जनतासँग अपिल गर्दै हिँड्ने छाँै ।’ देशभरबाट जेसीजले समयमा नै संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत देशभरका १०३ शाखाले संविधानसभा दलका कार्यालय तथा सरकारसमक्ष ज्ञापनपत्र बुझाएको थियो । मेची– महाकाली यात्रामा निस्किएको टोलीलाई स्वागत गर्न २०४६ सालको जनआन्दोलनका सहिद गणेश पौडेलकी पत्नी दुर्गादेवी पौडेल पनि नारायणगढको पुलचोक पुग्नुभएको थियो । यसैबीच मेची–महाकाली यात्रामा निस्किएको टोली मंगलबार नै बुटवलतर्फ प्रस्थान गरेको छ । टोलीले बुटवल तथा भैरहवामा आज बुधबार कोणसभा गरी बुद्धको जन्मभूमि लुम्बिनीमा पुगी ६०१ शान्ति दीप प्रज्ज्वलन गर्ने नेपाल जेसीजका अध्यक्ष भट्टले जानकारी दिनुभयो । यात्रामा निस्किएको टोली लुम्बिनीबाट कोहलपुर नेपालगञ्ज हुँदै बैशाख १ गते महेन्द्रनगरमा पुगी यात्राको समापन गर्ने छ ।

पौडेलका परिवारलाई रेडियोबाट एक लाख

सौराहा । ब्रोडकास्टिङ एसोसिएसन नेपाल ‘बान’को चितवनमा बसेको बैठकले झापाका पत्रकार यादव पौडेलका परिवारलाई देशभरका निजी रेडियोहरुको सहयोगबाट एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । चितवनको सौराहामा सोमबार सा“झ बसेको बैठकमा निर्धारित समयमा शान्ति र संविधानको कामलाई पूर्णता दिन सञ्चार अभियानलाई प्रभावकारी ढंगले अगाडि बनाउने पनि निर्णय गरेको ब्रोडकास्टिङ एसोसिएसन नेपालकी केन्द्रीय सचिव मण्टेश्वरी राजभण्डारीले जानकारी दिनुभयो । बानले श्रमजिवी पत्रकार ऐन पूर्णरुपमा लागू गर्न सकिने अवस्था नभएको भन्दै लागू गर्न सकिने अवस्था बनाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

राजमार्गछेउमा एक हजार बढी यौनकर्मी

भरतपुर । चितवन र नवलपरासीको राजमार्गछेउछाउमा एक हजार १६७ जना यौनकर्मी महिला रहेको तथ्याङ्क सार्वजनिक भएको छ । देह व्यापारका क्षेत्रमा क्रियाशील सहभागी नामक गैरसरकारी संस्थाको १६ औँ स्थापना दिवस समारोहमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो संस्थाको भरतपुरमा केन्द्रीय कार्यालय रहेको छ । परियोजनाले राजमार्गछेउमा देह व्यापार गर्ने महिलाहरुलाई बानी सुधार गरी पेसा परिवर्तनमा लागेको छ । परियोजनाले विगत एक वर्षमा सात जना महिलाले देह व्यापार परिवर्तन गरी अन्य पेसा अबलम्वन गरेको पनि बताइएको छ । ‘राजमार्गको वरपरका क्षेत्र बढ्दो मानवीय चाप हुने क्षेत्र हो । सवारीसाधन पनि बढी ओहोरदोहोर गर्ने भएकाले यात्रुहरु पनि बढी नै हुने हँुदा यौनजन्य गतिविधि पनि बढी नै हुने गरेको छ’, संस्थाका कार्यकारी निर्देशक शालिग्राम शर्माले भन्नुभयो । पछिल्लो समय चितवन र यस आसपासका क्षेत्रमा असुरक्षित यौनजन्य क्रियाकलाप बढ्दै गएको पनि सो संस्थाले जनाएको छ । चितवन र नवलपरासीको राजमार्ग आसपासका क्षेत्रलाई संस्थाले देह व्यापारका दृष्टिले उच्च जोखिममा राखेको छ ।

सरकारले बेवास्ता गरेको व्यवसायीको गुनासो

भरतपुर । चितवनको पोल्ट्री व्यवसायमा फैलिएको संक्रमणयुक्त रोग नियन्त्रणमा सरकारले बेवास्ता गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । केन्द्रीय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरको आयोजनामा भरतपुरमा सम्पन्न अन्तक्र्रियामा बोल्ने पोल्ट्री व्यवसायीले सरकारले पोल्ट्रीमा देखिएको संक्रमणतर्फ ध्यान नदिएको आरोप लगाए । कार्यक्रममा बोल्दै वरिष्ठ कुखुरा व्यवसायी गुणचन्द्र विष्टले जैविक सु्रक्षाले मात्र अहिले चितवनमा फैलिएको रोग नियन्त्रण गर्न नसकिने भएकाले सरकारले नै पहल गर्नुपर्ने बताउनुभयो । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले केन्द्रीय प्रयोगशालालाई पब्लिक प्राइभेट पार्टनरशीपमा व्यवसाय संचालन गरेर रोगको पहिचान गर्नुपर्ने बताउनुभयो । पशुसेवा विभागका कार्यक्रम निर्देशक डा.रामकृष्ण खतिवडा, मञ्चका केन्द्रीय उपाध्यक्ष डा. होमबहादुर बस्नेत र केन्द्रीय पंक्षी प्रयोगशालाका प्रमुख डा. बोधनाथ अधिकारीले कुखुरामा लाग्ने गरेका रोग र निदानबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गैँडाकोट गाविसको ताला अझै खुलेन

गैँडाकोट । गत आइतबार गंँैडाकोट आदर्श गाविसको कार्यालयमा गरिएको तालाबन्दी अझ पनि खुल्न सकेको छैन । सोमबार दिनभर प्रमुख दल तथा आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, दलित सेवा समाज, दलित एकता महिला समाजबीच गाविसमा वार्ता भए पनि सहमति हुन नसक्दा गाविसमा लागेको तालाबन्दी कायम रहेको हो । गत आइतबार ती समूहले गाविसमा खोलिएको विज्ञापनअनुरुप कर्मचारी नियुक्त नभएको भन्दै गाविसमा तालाबन्दी गरेका थिए । गाविसले खरिदार पदका निम्ति विज्ञापन निकालेकोमा आदिवासी जनजाति दलित तथा महिलालाई प्राथमिकता दिनुपर्नेमा सफल महिला उम्मेद्वारलाई समेत अनुत्तीर्ण गराइ अर्कै व्यक्तिलाई नियुक्ति दिएको आरोप उनीहरुले लगाएका छन् । यता, सोमबार र मंगलबार प्रमुख राजनीतिक दलहरुले आन्दोलनरत पक्षले चाहेअनुरुप जनजाति महिलालाई पनि नियुक्ति दिइने बताए पनि उनीहरुले पहिले गरिएको नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी जारी राखेको आदिवासी जनजाति महिला संघ गैँडाकोटकी अध्यक्ष सावित्री श्रेष्ठले जानकारी दिनुभयो ।

बाल विकाससम्बन्धी प्रशिक्षण

बाल विकाससम्बन्धी प्रशिक्षण रत्ननगर । बाल विकास केन्द्र व्यवस्थापनसम्बन्धी एक दिने प्रशिक्षण मंगलबार रत्ननगरमा सम्पन्न भएको छ । सहयोगी महिला विकास प्रतिष्ठान रत्ननगरको आयोजनामा रत्ननगर नगरपालिकाभित्र सञ्चालन हुँदै आएको ४० वटा बाल विकास केन्द्रका शिशु शिक्षिकाहरुको लागि प्रतिष्ठानले प्रशिक्षण दिएको हो । बाल विकास केन्द्रलाई अझ व्यवस्थित बनाउनेबारे तथा बालबालिकाहरुको वौद्धिक, मानसिक, शारीरिक विकासका लागि अपनाउन सकिने उपायका बारेमा कार्यक्रममा गोपाल भण्डारी र भक्तबहादुर सेन्चुरीले सहजीकरण गर्नुभएको थियो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष अनिता अधिकारीको अध्यक्षतामा भएको थियो ।

भवन शिलान्यास

भरतपुर । नारायणी उच्च मावि भरतपुरको दुई कोठे भवनको शिलान्यास गरेको छ । सुस्त मनःस्थिति भएका बालबालिकालाई पढाउने उद्देश्यले विद्यालयले सो भवन निर्माण गर्न लागेको हो । सभासद् नारायण दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गनुभएको हो ।

नगरलाई बालमैत्री बनाउन जोड


भरतपुर । भरतपुर नगर क्षेत्रलाई बालमैत्री नगरका रुपमा विकास गर्न सहयोगी कार्यकर्ताहरुको मह¤वपूर्ण भूमिका रहने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।
युनिसेफ नेपालको सहयोग तथा भरतपुर नगरपालिका कार्यालयको आयोजनामा आयोजित सहरी बाल शिक्षासम्बन्धी सहयोगी कार्यकर्ता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा भरतपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत टीकाराम कंडेलले विपन्न बालबालिकाहरुलाई बालबालिकाका आधारभूत अधिकारको बारे सचेत गराइ भरतपुरलाई बालश्रम मुक्त नगरको रुपमा लैजान सहयोगी कार्यकर्ताहरुले उल्लेख्य भूमिका निभाउन आग्रह गर्नुभयो ।
समापन समारोहमा युनिसेफ नेपालका क्षेत्रीय संयोजक मदन जोशी, भरतपुर नगरस्तरीय टोल विकास संस्था समन्वय समितिका अध्यक्ष हीरामणि अधिकारी, दियालो परिवार नारायणगढका अध्यक्ष सुरेश अधिकारी, युथ क्लव नारायणगढका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले भरपुरलाई बालश्रम मुक्त नगरको रुपमा विकास गर्न आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको थियो ।

मुलुककै दोस्रो ठूलो अस्पताल घोषित भरतपुर अस्पतालमा विरामी यसरि मुईमा नै उपचार गराउन विवस छन् ।


आमालाई भनिदिनु कान्छो आजका मितिसम्म सकुसल नै छ ।


प्रेयषी सिर्जना,        
                     अमिट सम्झनाका तरेलीहरुमा एकपटक पुनः तिम्रो यादमा जलिरहेको यो मनलाई तिम्रो प्रेमका निम्ति समर्पित गर्न पठाउँदै छु यो पत्रको सहारामा तिम्रो बस्तीतिर स्वीकार ल..........................!
आराम रही आरामताको कामना गर्दछु । घरतिर सबै आरामै होलान् । सपनाको हाम्रो रहर फूलिरहेकै होला ? ती मेरी बूढी आमालाई पनि आरामै होला । कान्छाको ढोग छ रे भनेर सुनाइ दिनु । बिदा मिले चाँडै नै आउने छु । गाउँका साथीसंगीहरुको पनि हाल आरामै होला । मेरोतर्फ देखिको सम्झना र माया सुनाइदिनू, अनी तिमीलाई कस्तो छ ..........................?
सिर्जना, यो माहोलमा गाउँतिर नयाँ वर्षको माहोल छाइरहेको होला । साथीसंगीहरु नयाँ वर्षको उदीयमान दिनहरुको स्वागतका निम्ति हातमा पुष्प गुच्छाहरु लिएर पर्खिरहेका होलान् । यता सहरतिर पनि नववर्षको स्वागतका निम्ति सहरका गल्लीगल्ली र चोकहरु रंगीन थालेका छन् । नववर्षको नुतन बिहानीमा सबैले आफ्ना आफन्त प्रियजनको सम्झना र शुभकामनामा दिनहरु कटाइरहेका छन् । तरपनि आज यो मन भय र त्रासको बीचमा आतंकको कालो बादलबीच मडारिरहेको छ ।

तिमीले सहरका यी खबरहरु सुनिरहेकी अवस्य पनि हुन्छ्यौ होली । आज यो सहरबीच घट्ने घटनाहरुले पनि तिम्रा मन छुन्छन् होला .! आज नववर्षको शुभकामना दिनुपर्ने ठाउँमा म तिम्रासामु काँतर तरपनि यथार्थताको खाडलमाँझबाट पीडाका स्वरहरु सुनाइरहेको छु । सिर्जना तिमीले पक्कै पनि सुनी हौली बुधबार बिहानै एकजना पत्रकार यादव पौडेलको झापामा हत्या भयो । सायद निडर रुपले कलम चलाएकै आधारमा हत्या भएको हो । हत्याहरु बहादुर सिपाहीलाई कायरतापूर्वक हत्या गर्ने गर्दछन् भन्ने तिमीलाई थाहा नै छ, हो त्यस्तै तवरले हत्या गरियो पौडेलको । कस्तो विडम्बना समाचार लेखेकै भरमा हत्या गरिन्छ यहाँ पत्रकारको भने कसरी आफ्नो जीवन सुरक्षित भएको महसुस गर्ने आमसर्वसाधारणले ।

तिमीले यो खबर सुन्नासाथ मलाई फोन गर्ने प्रयास गरेकी रहिछौ तर म तिम्रो फोन उठाउन भने सकिन किनकि म त्यतिखेर शोकको घडिमा थिएँ । र हामी साथीहरु मिलेर हत्यारामाथि कारबाहीको माग राख्दै जुलुसमा निस्किदै थियौँ । कस्तो विडम्बना तिमीले गरको फोन मैले उठाउन पाइन, पछि मैले फोन गर्न खोज्दा तिमी फर्किसकेकी रहिछौ । मलाई पीसीओवाला दाइले भन्दैथिए, ‘उनी त फर्की सकिन्, एकदम निरास चिन्तित देखिन्थिन् खोई के भएको हो । भनिन् फोन आए चिठी कोर्न लगाइदिनु होला भनेर गइन् ।’ उनले यो पनि भनेका थिए भाइ, आमा पनि एकदम चिन्तित देखिन्थिन के भएको हो तिम्रोबारेमा सोधिरहेकी थिइन्, मैले घट्टमा भेट्टाएको थिएँ ।
यो सुनेर मलाई साह्रै नै ती बूढी आमाको याद आयो र तिमीलाई यो पत्र कोर्दै छु । आमालाई सुनाइदिनु ‘कान्छो आजका मितिसम्म आरामै र सकुशल नै छ’ । खाली आमाको आशीर्वादको खाँचो छ । तिमीले हिजो फोन गर्न हतारिएर आउनुको कारण पनि यही होला होइन ? झापाका पत्रकार यादव पौडेलको हत्या भएको खबरले तिमीलाई झस्कायो होला । यी यस्ता खबर आमालाई चाहिँ नसुनाउनु ल ..........................!
दमकी बिरामी आमा त्यसैमाथि यो खबरले झन् दम बल्झेला । अहिलेसम्म त मलाई त्यस्तो केही भएको छैन, हुने पनि छैन । चिन्ता पनि नलिनू ल । फेरि काम नै यस्तो रोजेको छु त सत्यको उजागर र असत्यको पर्दाफास गर्दा हत्याजस्तो अमानवीय व्यवहारको सिकार हामीजस्ता पत्रकार पर्दा सिर्जना तिम्रो मन आत्तिनु स्वभाविक नै हो तर पनि यसरी सानातिना घटनाले हामी नै अत्तालिएर पछाडि हटे झन् ती हत्यारालाई आफ्नो कर्तुतको कुनै पछताब नहोला नि होइन ? त्यसैले सिर्जना तिमी त केही बुझ्ने छौ नि, राम्रोसँग आमाको ख्याल राख्नु फेरि यस्तो बेलामा तिमीले मेरोभन्दा पनि आफ्नो चिन्ता लिनु पर्दछ ।

सुन्दर बिहानीको कल्पनामा हराउँदा पनि डरको महासमरमा किन हेलिनु छ र ? त्यसैले त सिर्जना आफूलाई सम्हाल्नू । समाज परिवर्तनको नवीन लक्ष्य बोकेर हिँडेको तिम्रो सिर्जन कहीँकतै दोबाटोमा हेलिन पुगे पनि तिमीले नै बाटो बिराएको मलाई सही बाटोमा डो¥याउनु पर्दछ । यो अवस्थामा तिमी एक निडर योद्धा बनेर मेरो साथमा रहनु पर्दछ । र रहने पनि छौ भन्ने मलाई पूर्ण विश्वास छ ।
यहाँ तिम्रो सिर्जनजस्ता अनेकौँ सिर्जन छन्, जसलाई उनीहरुका सिर्जनाले यसैगरी साथ दिइरहेका छन् । फेरि सबै सिर्जनाहरु आफ्नो सिर्जनको चिन्ता गरेर यो पथबाट नै पछाडि हटाउन चाहने हो भने सिर्जना, सोंच त हामीले कल्पना गरेको समाज कहाँ र कहिले प्राप्त होला । त्यसैले पनि त यो मार्गमा दगुरिरहेका अनेकाँै सिर्जनहरुलाई तिमीजस्ता सिर्जनाहरुले साहस जुटाइदिनु पर्दछ । उनीहरुको हौसला बढाइदिनु पर्दछ । सोच तिम्रा हरेक साहसले मेरा पाइलालाई यो मार्गमा निडर रुपमा अगाडि बढ्न प्रेरणा प्रदान गर्ने छन् । तिमीलाई थाहै होला नि यो सिर्जन तिम्रो साहसविना, तिम्रो प्रेरणाविना एक कदम पनि अगाडि बढ्न सक्दैन ।

सिर्जना, किनकिन आज मलाई पनि तिम्रो यादले सताएको छ । तर पनि त्यो यादलाई फेरि पत्रकार यादव पौडेलको हत्याको खबरले भुलाइ दिएको छ यतिखेर मनमा योमात्र कल्पना बाँकी छ कि पौडेलको हत्या गर्ने हत्यारालाई कारबाही हुनु पर्दछ । हामीले यो पहल गर्नुपर्ने अवस्था आएको छ । त्यसैले त तिमीले पनि हाम्रो यो अभियानमा साथ दिनु पर्दछ भनिरहेको छु म । फेरि तिमीे यतिबेला पौडेलकी शोकमा डुबेकी जीवनसंगिनीको आँशुलाई पुछ्न सक्नु पर्दछ । हुन त, तिमी कहाँ उनी कहाँ तर पनि तिम्रो साहसले उनका आँशुका बुँदहरुलाई पुछ्न सक्दछन् ।

सिर्जना यो अवस्थामा म र मेरा सबै प्रियजनहरु नै शोकमा डुब्दा तिमीले यो अवस्थामा हाम्रा हरेक आँशुका बुँदहरुलाई पुछ्ने छौ भन्ने आशा राख्दछु । प्रेयषी आजलाई यत्ति नै ल ! पुनः अर्काे पत्रमा अवश्य नै भेट हुनेछ । अन्त्यमा सिर्जना, नयाँ वर्ष २०६९ सालको उपलक्ष्यमा शुभकामना । सम्पूर्ण प्रियजनहरुलाई पनि नवीन बिहानीमा नुतन शव्द गुच्छाहरुसहित सफलताको कामना सुनाइदिनु ल .....................!
उही तिम्रो
प्रिय सिर्जन,
भरतपुर, चितवन ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी